सुन्दरता र कुरुपता यस्ता विषय हुन् जसलाई सुन्न बहस गर्न अझै समाज खुल्ला भएजस्तो मलाई लाग्दैन । पत्रपत्रिका , अनलाइन पोर्टल वा जुनकुनै सञ्चार माध्यममा पाएको केही स्थानले छलफलको थालनी त भएको छ तर सुन्दरता र कुरुपताकै नाममा आज पनि हामी बिभेदको नमिठो जन्जिरमा पिल्सिएका छौं । अझै पनि हामी कस्तो देखिन्छौं कै आधारमा हामी बिभेद र एकप्रकारको सामाजिक प्रेसरमा पर्छौ भन्दा कतिलाई अपत्यारिलो पनि लाग्न सक्छ , लाग्नु अर्को कुरा तर यर्थाथलाई नर्कान गाह्रो नै हुन्छ, आज पनि गुगलमा अत्याधिक सोधिने प्रश्नमध्धे “ कसरी सुन्दर बन्ने” भन्ने प्रश्न एक हो । यसले जनाउँछ हामी सुन्दर बन्ने भिडका एक पात्र हौं । तर सुन्दरता केलाई भन्ने यो अर्मूत प्रश्न अर्मूतताको अर्को वृत्तमा एक्लै घुम्दै छ ।
भर्खरै सुरक्षा देबकोटाको “कसलाई सुन्दर भन्ने” आलेख सेतोपाटिमा देखेपछि मलाई लाग्यो अब बहस र बिमर्शमा म किन सुन्दर भैन, कसलाई सुन्दर मान्दैछ समाज वा बाहिरी सुन्दरता भन्दा किन .भित्रि सुन्दरता चाहिन्छ भन्नेजस्ता बिषय भन्दा अझै पर गएर छलफल गर्न पो आवश्यक छ की ! थाहा छैन नेपालमा सुन्दरताका मापदण्ड त्यसको बिकासक्रम बारे केही बौद्धिक छलपल भएका छन् कि छैनन् । मैले एदाकदा आफ्नै अनुभब लेख्दा पनि म बाचेको समाज र मेरा आफ्नै आफन्त पनि कम्फरटेबल नभएको हो कि भन्ने मैले महशुस गरेको छु । धेरैलाई लाग्दो रहेछ मैले आफ्नो कुण्ठामात्र बढी बोलें । तर बिषयको हिसाबले यो मेरो कुण्ठामात्र हो भन्ने मलाई कहिल्यै लागेन । आज पनि संसारमा केही बिक्छ भने त्यो सुन्दरता र ग्लयामरको नाममा बढी बिक्छ । जसको उदाहरण फेयरनेस क्रिम पनि एक हो । त्यसैले त हामी जस्तो देखिन्छौ त्यसमा खुसी र सन्तुष्ट हुन कठिन छ ।
मानिसको सुरुवाति बिकासक्रमलाई हेर्ने हो भने सुन्दरता र कुरुपताको केही धारणा नै थिएन । मानिसको जीवनमा आधारभूत आवश्यकता परिपूर्ति बाहेक परको कुनै गन्तब्य थिएन । स्त्री र पुरुषको आकर्षणको आधार पनि जनावरमा झै यौनिक आबश्यकता थियो त्यो भन्दा पर पुरुष भनेको यस्तो हुनुपर्छ अथवा स्त्री भनेको यस्तै हुनुपर्छ भन्ने अबधारणहरु थिएनन् । समाज सरल थियो एकतरिकाबाट बिभेदहरु कम थिए । शक्तिको स्रोत शरिर नै थियो जसको शक्ति उसको भक्ति भनेझै ।
बिस्तारै मानब बिकास र समबृद्धिका आधारहरु थपिंदै गए । हाम्रो जीवन भौतिक र बौद्धिक रुपमा बढि बिकसित र सरल तर अर्कातर्फबाट हेर्दा बढी कठिन बन्न पुग्यो । मानब जीबनमा अनौठा आधारहरु थपिए धर्म , ज्ञान , बिकास र सत्ताका नाममा । जति यस्ता आधारहरु थपिँदै गए मानव जीवन अझै सरल बन्नुको साटो अझ कठिन बन्न पुग्यो । आज हामीले बहस गर्ने सुन्दरता र कुरुपता यी यस्तै आधारहरुका अति बिकसित स्वरुपहरु हुन् ।
समाज र सभ्यताको बिकाससँगै हाम्रो दैनिक जीबन सरल त बन्दै गयो तर बिस्तारै शक्ति र सत्ताको नाममा आमीले अनौठा अबधारणाहरु बनाउँदै गयौं । शक्ति र सत्ताको पहिलो स्वरुप सायद पृत्रिसत्ता थियो । पृत्रिसत्ताले पुरुष जातिलाई सत्ताको केन्द्रमा राख्यो फलस्वरुप महिलाहरु साइमन दि बुबाको भाषामा भन्दा अन्य “ द अदर” भए । बिस्तारै अन्यको भूमिका भोग्याको रुपमा बिकसित हुँदै गयो । महिलाहरु पुरुषको भोग्या बने । जब कोही कसैको भोग गर्ने चिज बन्छ भने ऊ एउटा सामग्री जस्तो बन्न पुग्छ । महिलाहरुको हकमा पनि त्यही बन्यो । पुरुषले भोग गर्दा जस्ता स्त्रीहरु चाहन्थे कालान्तरमा ति सुन्दर ठहरिए अरु कुरुप । महिलाको हकमा सुन्दरता र कुरुपताको अबधारणा यसरीनै बन्यो ।
समयसँगै हरेक अबधारणा र विचारहरु परिवर्तित हँुदै गए । महिलाको सुन्दरता सम्बन्धी पनि समाज र भूगोलको आधारमा केही अबधारणाहरु त परिबर्तन भए तर महिला र सुन्दरता एक अर्काका पर्याय हुन् भन्न समाज छोडेन । महिलालाई भोग्या भन्दा परको स्थानबाट हेर्न अझै समाज तयार भैसकेको छैन त्यसैले त अझै महिलालाई हेर्ने पहिलो दृष्ठिकोण उसको शरीर बन्छ । सुन्दा अनौठौ र कुरुप लाग्ने यही बिकासक्रमको उपज नै सुन्दरताको आजको परिभाषा हो ।
किन महिलालाई यस्तै स्वरुपको हुनुपर्छ भन्न्ने दबाब बढी दिन्छ समाज तर पुरुषलाई कम दिन्छ उत्तर सजिलो छ किनभने पुरुषको स्थान कहिल्यै भोग्याको रुपमा रहेन । पुरुषको परिचय उसले आर्जन गर्ने धन र उसले भोग गर्ने सामग्रीसँग गाँसिन पुग्यो । फलस्बरुप आज पनि पुरुषको प्रतिष्ठा उसको शरीर होइन कि उसले भोग गर्ने शरिर हो । त्यसैले त महिलाको शरिर पुरुष र परिवारको प्रतिष्ठा बन्यो ।
समयसँगै सुन्दरताको स्बरुप त बद्लियो तर सुन्दरताको परिभाषा बद्लेन । हामी सबैलाई थाहा छ सुन्दरता भाबबाचक नाम हो जसको गणना संख्या र स्बरुपमा हुँदैन , जसको मात्रा बाहिरी स्बरुपले निर्धारण गर्दैन । तर ठिक बिपरित आजको सुन्दरताको परिभाषा कसैकौ सुगठित शरीर र शारिरिक बनावट बन्न पुगेको छ । जसले सुन्दरताको अर्थ र त्यसबारे निर्माण गरिएको अबधारणमा रहेको अमिल्दो बिरोधाभाष देखाउँछ ।
यसरी बिकसीत सुन्दरताको अबधारणमा बिस्तारै पुँजिबाद र आधुनिकताको प्रभावले अझै अर्कै स्बरुपमा रुपान्तरित गर्यो । हामीलाई लाग्न सक्छ अब त समाज परिबर्तित छ पुरुष र महिलाको बौद्धिक स्तरमा खासै अन्तर छैन , महिलाको अस्तित्व अब पुरुषको भोग्याको रुपमा मात्र छैन र पनि किन आज पनि किन महिलानै सुन्दर र कुरुपको नाममा बिभेदको सिकार भएका छन् । यस्तो हुनुमा पुँजिबादको महत्वपूर्ण हात छ । जसले सुन्दरलालाई बजारको एउटा अभिन्न अंगको रुपमा बनायो र भनिदियो यदि तिमी स्वतन्त्र र आत्माबिश्बासी बन्न चाहन्छौ भने तिमी यस्तो स्बरुपको हुनुपर्छ । त्यसैकौ आधारमा अहिलेका कस्मेटिक उध्योगहरु फस्टाए । त्यहि बजारले बिश्ब शक्तिको केन्द्रमा रहेका सेता छालाधारीहरुलाई सुन्दर र शक्तिबाट पर रहेका धुमिल छालाधारीहरुलाई कुरुपको नामले परिभाषित गर्यो ।
आज हामी जति नै शिक्षित भएपनि पृत्रिसत्ता र पुँजिबादको जन्जिरबाट टाढा छैनौ त्यसैले त आमी आफ्नै शरिरबारे बढी चिन्तित छौ गोरो हुनको लागी क्रिम लगाउँछौ दुब्लो हुनको लागी स्लिम टि पिउँछौ । अहिले बिश्वब्यापि रुपमा चलेको बिउटी बिजनेस, स्लिम टि, ग्रिन टि, लेजर थेरापी यसैका उपज हुन् । त्यसैले हामी जानकार त छौ तर स्वतन्त्र छैनौ । हामीलाई थाहा छ हामी जे देखिन्छौ त्यो सुन्दरता होइन र पनि काला गोराको नाममा, अग्लो होचोको नाममा , मोटो दुब्लोको नाममा बिभाजित छौ ।
अन्त्यमा सुन्दरता एक आम शब्द हो । सुन्दर भनेर सम्बोधन हामी कला, साहित्य, प्रकृति सबैलाई गर्छौ तर सुन्दर भन्नु अघि यस्तै चिजलाई सुन्दर भन्नुपर्छ भन्ने अरु चिजहरुमा कुनै मापदण्ड छैन । तर मानिसमा अझै भन्नुपर्दा महिलाको हकमा हामीसँग सुन्दरताका यस्ता मापदण्डहरु छन् जसले अधिकांसलाई सुन्दर होइन कुरुपको दर्जामा धकेल्छ । केलाई सुन्दरता मान्ने केलाइ नमान्ने यी यस्ता अर्मूत प्रश्नको किन हामी ठोस उत्तरलाई सर्बमान्य ठान्ने बैचारिक बिमर्श पो आबश्यक छ की ?
No comments:
Post a Comment