सपनाहरु साझा होइनन् । सायद भोगाइहरु पनि । अरुझै म पनि सामूहिकतामा आफूलाई भेट्दिन । सायद त्यसैले लेख्छु । लेख्नु मेरो लागि सोख थिएन यो त केबल म पनि छु भनेर आफ्नो अस्तित्वको रुपान्तरण मात्र थियो । तँ पनि छस् है भनेर कसैले भन्दिएको भए सायद आफैँँले आफैँलाई म पनि छु भनेर भन्ने थिइन होला । यी कथाहरु ब्यक्तिगत भएर पनि कहिलेकाही ब्यक्तिगत मात्र भनेर छोड्दिन सक्दिन ।
सायद लेख्नेहरुले धेरै पटक आफैलाई दोहोर्याउँछन् । दोहोरीनु एक प्रक्रिया मात्र होइन नियती पनि हो । शुष्मता र भब्यताका अनौठा मानक बिच मानिसले आफैँलाई खोजिरहन्छ । कतिलाई लाग्दो हो उसको उपस्थितीलाई सबैले अपनाउँछन् । तर मलाईझै धेरैलाई लाग्छ उसको उपस्थिती संसारको बृहतताभित्र एक नदेखिने बिन्दुझै हो । तर यो अनुभूतीसम्म आइपुग्न सजिलो थिएन आफैँलाई कोर्दै मेट्दै यो केही होइन भन्दै अरुलेझै मैले पनि धेरै वर्षहरु बिताएँ । सायद आज पनि त्यही प्रश्नमा रुमलिरहछु ।
केटाकेटी बेला जगले बाल्टिले छोपिन्ने म धेरैका लागि एक सानी मानिस मात्र थिएँ । बुवा अहिले पनि भन्नुहुन्छ, धेरैको प्रश्नको जवाफ उहाँ यसरी दिनुहुन्थ्यो “यो यस्तै भै राखी भने म यसलाई झोलामा बोकेर हिड्नेछु” । सायद आफूहुनुको झिनोपन त्यहीबाट आयो । स्कुलमा पनि छोपिन्थे । सायद अरुको अगाडी म पनि छु भनेर देखाउँन मैले लेखेँ । मैले सम्झने बेलादेखी म लेख्थेँ । मैले नलेखीकन बसेका दिनहरु मलाई याद छैन ।
सायद कलाहरु यसरी नै जीवनमा भित्रन्छन्, लेख्नेहरुल,े गाउँनेहरुले वा कलाको कुनै पनि माध्यम रोज्नेहरुले कुनै समय यसरी हिनताबोधमा बाचेका हुन्छन् जसलाई रोज्नु अरु कुनै पेषा रोज्नुझै होइन आफैलाई पोख्ने माध्यम रोज्नु मात्र हो । आज पनि कहिलेकाही लाग्छ अरुको अगाडी म पनि म पनि छु है भन्न म लेख्छु । सायद आफूजस्तै मानिसहरु भेट्न म पढ्छु । धेरैको भिडमा आफूलाई नपाउँनुको एक खाले पिडाबोध आज पनि हुन्छ । स्कुले पिक्नीकहरु साथी नभएकाले नगएको कुरा सम्झदा एदाकदा आज पनि दुख्छ । भिडमा आज पनि डराउँछु । नजिकिएका मानिसहरु समातेर राखौँ झै आज पनि लाग्छ । तँ पसले हुन्छेस् भनेको सम्झदा आज पनि चिडचिडाउँछु । सायद अनुभूतीहरुका यीनै श्रीङ्खलाहरु बिच आफैलाई खोज्ने गुमाउँने प्रकृया जारी छ । सायद यीनै चिजहरु थिएँ जसले आज पनि अगाडी बढ भन्छ र कहिलेकाही पडाडी पनि धकेलिदिन्छ ।
यो बिन्दुझै बाच्नेहरुको कथा हो । संसारको बृहतता भित्र उनीहरु हराउँन पनि सक्छन् । तर अस्तित्वको लडाइले सानो ठूलो भन्दैन । आफ्नो संसारको मालिक मानिस आफैँ हो । उसलाई कसैले सुनोस् झै लाग्छ, कसैले उसको लागि बोलिदियोस् जस्तो पनि लाग्छ । आज सम्बोधनहरुको भिडमा आफैँलाई सम्बोधन गर्दैछु......
प्रिय सानी मान्छे,
पानी परिरहेको यो धमिलो दिनमा सायद आफैँसँग धमिलिँदै छु । एक खाली पानामा आफैँलाई लेखेकी छु सायद पहिचान र अस्तित्वको भागदौडमा म यहि बिन्दु नै हो । स्कुले एक साथी भन्ने गथ्र्यो म तँलाई झ्यालबाट फालिदिन्छु, थाहा छैन उ कहाँ छ तर कहिलेकाही लाग्छ उसले त्यो सानो मानिसलाई त्यो नभनी दिएको भए मैले आफैलाई अरु कसैको झ्यालबाट कहिल्यै हेर्ने थिइन । मैले आफैँले आफैँलाई उनीहरुको झ्यालबाट मात्र हेरेँ । सायद शुष्मताको बिन्दुबाट हेरिराखेँ ।
बृहत के शुष्ष्म के यो आज आएर कहिलेकाही आफैँलाई सोध्ने गर्छु । कमिलाको लागि उ सानो की बृहत । सायद यो बारे सोचीरहनु त्यही सानो मानिस हुनु हो । त्यो सानो मानिस अझै म भित्र छ ।
त्यो त्यस्तो प्रतिबिम्ब बन्यो जो होइन भन्दा पनि हो भन्ने जिकिर बेलाबखत गरीरहन्छ ।
थाहा छैन कहिलेसम्म तिम्रो प्रतिबिम्ब बोकेर हिड्नेछु । मानकहरु फेरीए, मष्र्याङ्दीको पानीले कति रंगहरु फेर्यो, रंग फेरीयो,अंक्षहरु फेरीए तर कसैले तँ यो होस् भनेर भनिदिएको प्रतिबिम्बले मलाइृ कहिल्यै छोड्न सकेन । कयौ दिन र कयौ रातहरु मैले त्यही प्रतिबिम्ब बोकेर बाचेकी छु ।.....
कहिलेकाही लाग्छ उसले किन मलाई झ्यालबाट फालिदिन्छु मैले त कहिल्यै भनिन । किन त्यो दिन उसलाई मैले उसलाई किन फाल्छु भनिस् भन्न सकिन । किन म चुपचाप रहेँ । किन उसँग त्यसपनि शिर उठाएर बोलिन । किन उसले दिएको निर्मम प्रतिबिम्बमा आज पनि म आफूलाई हेरीरहन्छु । आफ्नै शब्दहरुमा आफैँलाई निरिह प्रमाणित गरिरहन्छु .....
प्रिय सानी मान्छे यो सानोको बिम्बबाट म तिमीलाई मूक्त गर्न चाहन्छु । तर किन र कसरी त्यो त म पनि खोज्दैछु । भेटिएको दिन म फेरी तिमीमाझ आउँनेछु .........
No comments:
Post a Comment