आज जीवनको अर्को मोडमा छु । आफ्नै छायाँले आफैलाई तर्साउँदैछु । तिमी जीवनमा आयौ वा आएनौ । म निर्कोल गर्ने मूडमा छैन । तिमी थियौ या थिएनौ म उपस्थितिका प्रश्नहरु गर्न सक्दिन । भरीएकी पनि छु र खाली पनि छु । यो कस्तो अनुभूती म भन्न सक्दिन ।
यतिका बर्षहरुलाई फेरी फर्केर हेर्दै छु । आफैँलाई हेर्दैछु तर बिलकुल अपरिचित । थाहा छैन कुनै मैले आफ्नै चित्रलाई कोर्न खोजेँभने कस्तो बनाउँनेछु । सायद संसारको सबैभन्दा शुस्म रेखाहरु मेरा लागि हुनेछन् । केही धुमिल रंगहरु म आफ्ना लागि राख्नेछु र कुनै अमूर्त चित्रझै जीवनका सबै मानकहरुलाई अपरिभाषित गरिदिनेछु ।
चाहेर पनि मैले खोजेको अर्थको कुनै मूल्य छैन । भरिएको हृदयलाई पोख्न पनि चाहेको हो । तर म सदाझै आफैँलाई दावी गर्न सक्दिन । म जे चाहन्छु भन्न पनि सक्दिन । सदाझै कोमल हृदय बोकेर र्हेर्छु र पोखिन्छु मात्र ।
सायद शब्दहरु थिएनन् भने म सँग केही रहेनछ । मैले बुझेको र मैले बुझ्न नसकेका जीवनका अनुभूतीहरु पनि अक्षरमा मात्र जीवीत रहेछन् । कहिलेकाही लाग्छ मृत्यू त केबल एक बिम्ब थियो र रहनेछ । मृत्यु नभएर पनि मृत्यूझै लाग्ने हजारौ मृत्यूहरुको घोषणा गरीदिउँ । आज यति भने जुन भन्न सजिलो छैन । कुनै दिन कथामा यी शब्दहरु ा ब्यक्त गरेँ भने बुझिदिनु यो सजिलो कथा होइन । सायद बर्षहरु चाडै बित्नेछन् आज गह्रौ लाग्ने चिजहरु केही हलुका पनि लाग्न सक्नेछन् । तर मेरा कथा पढ्दै गर्दा कसैले पनि मेरो जीवनलाई एक सरल रेखा नठानिदिनु ..........
No comments:
Post a Comment