प्रिय तिमी ,
बर्षौ देखी पत्रहरुको प्रतिक्षामा तिमी थाक्यौ होला । पत्रमञ्जुषा बोकी हिड्ने हृदयहरु तिम्रा नजिक परेनन् होला । बादलका अक्षरहरु मेटिए होलान् । नदि किनारामा कसैले तिम्रा लागि कोरेका तिम्रा नामका डोबहरु छालसँगै मेटिए होलान् । परेवाहरुले तिम्रा नामका चिठिहरु भेटेनन् होला । हुलाकमा तिम्रा नामहरु लेखिएनन् होला । सायद अक्षर बोकि हिड्ने काँगजका पानाहरुले तिमीलाई चिनेनन् होला ।
तर कोही त होला तिम्रा लागि नै भनेर मौनतामै सहि केही लेखिरहेछ । हिउँमा तिम्रमो नाम लेखेर फेरी मेटेको पनि हुनसक्छ । पत्रहरु लेख्दालेख्दै उसका हाँतहरु कापेर रोकिएका पनि हुनसक्छन् । पर दुर देशको कुनै रुखमा खोपिएको तिम्रो नाम हुनसक्छ । कोही त होला जसले तिम्रै लागि लेखिरहेछ । वा तिमी आफैँ आफ्नै लागि लेखिरहेछौ ।
कसैले नलेख्दैमा तिमी नलेखिने पनि त होइन । आज नै त हो मैले मेरा र तिम्रा दुबैको लागि लेखेको । यो चिठि ति सबैका लागि हो जसको नाममा हुलाकमा चिठिहरु आएका छैनन् । यो सबैका लागि हो जसको नाम हिउँमा लेखिएको छैन । यो सबैका लागि हो जसको नाममा कविताहरु कोरीएका छैनन् ।
हो, यो चिठि नलेखिएका का लागि हो । आज मैले कोरेका अस्तित्वका यी बेमेल अक्षरहरु ति सबैका लागि हो जसले अहिलेसम्म प्रेमले भरिपूर्ण पत्रहरु भेटेका छैनन् । थाहा छैन कसरी यी बेमेलहरुकोे पनि मेल हुने रहेछ । आज बेमेल बेमेलहरु एक भएर सामूहिकताका पत्रहरु लेखरहेछौ । स्विकार आज यी अक्षरहरुले तिमीलाई नै सम्बोधन गरिरहेछ ।
थाहा छैन यी बिना बिषयको पत्रलाई हुलाकले स्विकार्छ स्किार्दैन । यो अस्विकृत र असम्बोधितहरुको सामूहिक आवाज हो । प्रेसक र प्रापक बनेकोमा म आफैँलाई धन्यवाद भनिरहेछु । मौनतामा लेखिएका, नदिकिनारामा मेटिएका, हिउँले छोपिएका यी सबै सबै नाममा यो पत्र लेख्दैछु । आशा छ तिमीले यी कर्कष आवाजहरुलाई े सुमधुरताका साथ स्विकार्नेछौ ।
उहि
पत्रहरु बिनाको म
No comments:
Post a Comment