बर्षहरु चाडै बिदा लिन्छन् । तर दिनहरु बाकी रहन्छन् । थाहा छैन कुनै दिन दिनहरु सिद्घिए भने के रहनेछ ? घाम उदाउँने छ वा छैन । आकाश रहने छ वा छैन । फूलहरु फुल्ने छन् वा छैनन् । चराहरु गीत गाउँनेछन् वा छैन । प्रिय बर्ष, तिमी जाँदै गर्दा सम्झनको लागि म सँग यती मात्र छ ।
आज बर्षको अन्तिम मध्धेको एक दिन हो । बर्षभरी म दिनहरु जोगाउँन चाहन्थे । तर थाहा छैन किन दिनहरु उराठ मानेर मेरो जीवनवाट गए । गएका दिनहरुलाई म समेट्न चाहन्थेँ । तर सकिन । तर उनीहरु जाँदेमा गएका पनि त थिएनन् । आज नगएका चिजबारे बोल्दै छु ।
नगएका मेरा प्रिय चिजहरु,
प्रिय फूयूको,
कावाकामीले जन्माएको तिमी सबैभन्दा निराश प्रेमी थियौ । कुनै दिन, कुनै रात तिमीझै कोही अरु भेटेँ भने अङ्गाल्नेछु । तिमी म पनि हौ । आफूझै किताबका पानाहरुमा तिमीलाई भेटेर म खुसी थिइन । तर दुखी पनि थिइन । थाहा छैन तिमी कहिल्यै भेटिने छौ वा छैनौ । वा मेरा निराश दिनहरुको तिमी सधैँ साक्षी बन्नेछौ । आशा छ कुनै तिमीले आफैँलाई भेट्नेछौ । आफूलाई प्रेम गर्नेलाई पनि भेट्नेछौ । यो मैले तिम्रो र मेरो लागि देखेको साभmा सपना हो ।
प्रिय संवत,
दिन महिना र बर्षहरुसँगै तिमीले बुझेको घरको परिभाषा एक कठोर परिभाषा थियो । घर कुनै स्वप्न संसार थिएन र हुँदैन पनि । बाले सानिआमा रोजे । आमाले तिमी रोजिन् । तिमीले इस्बी रोज्यौ । रोजाइहरु बिच सम्बन्धका पर्खालहरु भत्किए । तिमी जो थियौ त्यो रहेनौ । तिमी जे भयौ तिनै सम्बन्धहरु बन्यौ । कहिलेकाही लाग्दैन भत्केका मानिसहरु भत्केका घरका प्रतिबिम्बहरु हुन् तिमी जस्तै ।
प्रिय इमरोज,
प्रेम गर्न त कसैले तिमीबाट सिकोस् । सायद संसारमा कथाहरु बाचिन्जेल तिमी प्रेमको पर्याय बन्नेछौ । वा भनौ तिमी बाच्नेछौ । कसैले भन्ला अमृताको लेखाइले लामो यात्रा गर्नेछ तर किनकिन लाग्छ अमृताको लेखाइ भन्दा लामो त तिम्रो प्रेमले गर्नेछ ।
प्रिय बेक सी,
आफूले आफैँलाई अध्यारोमा छु भन्न तिमीलाई पक्कै सजिलो थिएन । सायद दुखी छु भन्न खुसी छ भन्न जस्तो सजिलो छैन । तिम्रा अध्यारा दिनका साक्षि शब्दहरुमाफृत म पनि भएकी छु । तिमी जस्तै अलिअलि निराश भैराख्ने मेरो पनि बानि छ । म पनि तिमी जस्तै आफ्ना निराशाहरुलाई शब्द मार्फत ब्यक्त गर्छु । सायद त्यसैले हामी लेख्छौ । र लेखेको कुरा नलेखेझै पनि गर्छौ । अन्त्यमा तिमीले भनेकै कुरालाई दोहोर्याउँन चाहन्छु, “महत्वपूर्ण कुरा तिमीले माया पाउँछौ वा पाउँदैनौ भन्ने होइन, प्राप्त मायालाई कसरी लिन्छौ भन्ने हो ।”
प्रिय म,
माथिका पात्रहरुझै, यसबर्ष म पनि पात्रहरुझै टुङ्गिएँ । दशैँ दशैँ जस्तो भएन । तिहार तिहार जस्तो पनि भएन । मंशिरमा जानेहरु रहेनन् । कथाझै जीवनको पल्टमा म पनि रुमलिएँ । रुमलिनु सजिलो थिएन । आफैँलाई भेट्न पनि सजिलो थिएन । समाज परिवार सबैबाट एक्लोझै भएँ । जीउन र जुध्न दुबै सिकेँ । मेरो कथाहरु मेरा मात्र रहेछन् भन्ने अनुभूती पनि भयो । यीनै यीनै चिजहरु भएँ । आफैँलाई गुमाएँ । आफैँलाई पाएँ । दह्रो र कमजोर दुबै भएँ । सायद अर्को बर्ष पनि यसरी आफ्नो बन्न चाहन्छु । बिन्दु र पहाड दुबै म हुँ । सिमितता र असिमितता पनि । जानेहरुलाई रोक्न सकिन । फेरी फर्कनेहरुलाई पनि अपनाएँ । सायद बर्षहरुले मलाई आफ्नै क्षितिजमा रमाउँन सिकाउँदै छ । जे छु र जे भोगे त्यसमा कुनै गुनासो रहनेछेन ।
प्रिय तिमी ,
जाँदै गर्दा धन्यवाद ..................
No comments:
Post a Comment