एका बिहानै घाम लाग्यो । चराहरु उडानमा निस्के । फूलहरु मुस्कुराए । बाटामा मानिसहरुको पदचाप पर्न थाल्यो । बादलले आकाश छोड्यो । आकाश आफ्नै रंगमा फर्कयो । के सबै खुसी भए ?
टेबलमा चियाको कप र औलाहरु किबोडमा छन् । के म खुसी छु ? कुनै अर्को दिनझै मेरो मन खाली छ । सायद कविता अघिको सेतो कागजझै । मलाई अहिलेसम्म कसैले तँ खुसी छस् कि छैनस् भनेर सोधेको छैन । मैले पनि त सोधेको छैन ........
दौडनु हिड्नु आफैँमा फर्कनु । फर्केर पनि आफैमा चिहाउँनु । मेरो लागि संसार मेरै वरिपरि घुम्छ । सायद चाहेको पनि यही हो । यहाँ पाबन्धी छैन । कसैले सिमारेखाहरु तोकिदिएको छैन । हिड्नु पनि आफ्नै लागि छ । कहि पुग्नु पनि आफ्नै लागि छ । फर्कनु पनि आफ्नै लागि छ । र पनि म खुसी छु वा छैन थाहा छैन । बस् बाचेझै गरिदिन्छु ।
कोठाका किताबहरु चिहाउँछु । कहि मिलेका, कहि अलपत्र, कहि धुलो जमेका, केहीमा बुकमार्क भएका, केहीमा नभएका । कहिलेकाही यी किताबहरु मेरा प्रतिबिम्बहरु झै लाग्छ । कहि सम्मालिएको म कहि अलपत्र म । सान्द्राले कुनै दिन भनेकी थिइन – म मेरो पिताको र लोग्नेको घर चाहन्न, मेरो घर मेरो आफ्नो मात्र बनोस् । सायद उनलाई पछ्याउँन चाहेको पनि हो । यदाकदा एक्लोपनले निस्सासिएको पनि हो । तर यो बिग्रिएका सप्रिएका सबै चिज मेरा हुन् । यसमा कुनै गुनासो छैन ।
एक्लो भएर पनि कयौ दिनहरु मेरा लागि एक्ला छैनन् । के यसरी एक्लै खुसी भैदिन मिल्छ । यति धेरै टुक्रिएर फेरी जोडिन मिल्छ । कहिलेकाही आफैँलाई चिहाउँदा त्यस्तै लाग्छ ।
याी दुरीहरु थिए । अमिल्दा दुरीहरु । आफ्नै लागि बचाएका । कहिलेकाही आफैँबिच पनि म दुरीहरु राख्ने गर्छु । एक शब्द अर्को शब्द बिच झै । दिनदिनै केही हुँदैन । र पनि भएभmै लाग्छ । हिजोको म आज छैन । आजको म भोली हुने छैन ।
खुसी त म झै अरु पनि नहोलान् । र पनि आफैलाई पोख्ने र आफैसँग बोल्ने स्वतन्त्रता छ । जुन मेरी आमा र हजुरआमासँग थिएन । उनीहरु चडेको पहाडको देउरालीमा कहिलेकाही आफू नाचेझै लाग्छ । कृतज्ञ छु र रहनेछु । मैले प्रेम गरेका किताबहरुसँग । मैले प्रेम गरेका मानिसहरुसँग । कहिलेकाही लाग्छ म जे हुँ उनीहरुको कारण हुँ । र पनि कहिलेकाही लाग्छ म खुसी छैन । मलाई कहि पुग्नु थियो जहाँ म पुगेको छैन । तिमी खुसी त छौ नि भनन......
No comments:
Post a Comment