Saturday, April 19, 2025

धुमिल डायरी



“ताराहरु आकाशमा चम्किदैछन् । चम्केकासँग म प्रश्नहरु गर्न सक्दिन । मलाई लाग्छ धेरै चम्किलो चकमन्न अध्यारो नै हो । अध्यारोझै देखिनेले अध्यारोलाई नै प्रश्न गर्नु आफ्नै परिधिलाई आफैँ  प्रश्न गर्नु जस्तै हो । म चाहन्न मेरो उपस्थितिमाथि म आफैँले प्रश्न गरुँ । यतिका बर्ष म प्रश्नहरुको गन्जागोलमा रुमलिएकी थिएँ । त्यो दुखोद् थियो । र म दुखको निरन्तरता अबश्य चाहन्न । चाहन्छु त केबल एक सुकुन, मूक्ति र एक शान्त शून्यता ।”

यो उसको डायरीको अन्तिम पाना हो । ऊ को हो म चिन्दिन । कसैको अभिब्यक्तिको अन्त्य यति कठोर र यति सुन्दर पनि हुनसक्छ मलाई कहिल्यै लागेको थिएन । उसको डायरी एक धुमिल रंगको छ । सायद धुमिलता नै उसको परिचय  हो ।  म उसलाई चिन्दिन र चिन्दछु पनि । चिन्दछु त केबल डायरी मार्फत । त्यो खैरो रंगको डायरी मैले माइक्रो बसको अन्तिम सिटमा फेला पारेको थिएँ । बिना नामको त्यो डायरी कसको थियो र हो म बेखबर छु ।

किन आफ्नै डायरीमा पनि आफ्नै नाम लेख्दैन मानिस ? मलाई ऊ देखेर किनकिन रिस उठ्छ । उसले प्रयोग गरेको भाषा हेर्दा लाग्छ यो कुनै छोरीमान्छेको डायरी हो । तर रंग..... भने खैरो छ लाग्छ यो कुनै उदास बेरंग पुरुषको डायरी हो । तर किनकिन ऊ पुरुष हो भनेर म मान्न तयार छैन । उसका अक्षरहरु खिरिला छन् ..... उदासीले बेरंगीएका कुनै आधुनिक फकिरका अक्षरहरु जस्ता ।

मलाई ऊ कस्ती होली भन्ने लागिरहन्छ र सदा लागिरहनेछ । उसले प्रयोग गरेको क्रियापदले म ऊ कुनै छोरीमान्छे हो भन्नेमा प्रष्ट छु । तर डायरी भएर पनि किन यो डायरी जस्तो छैन । किन उसले ऊ को हो ? कहाँ बस्छे ? कस्ती छे ? भनिन् । किन उसले आफ्नो उपस्थितिलाई आफ्नो परिचयसँग  जोडिन ? म अचम्ममा छु ।

  एक अपरिचित डायरीको पाठक बनेको छु । उसका अक्षर र शब्दहरुले मलाई तान्दैछन् ।

करिब सय पेजको डायरी पढिसक्दा पनि म उस्लाई अझ पढ्न चाहिरहेको छु । उसको डायरीको

सुरुवात र अन्त्यमा अनौठो सामञ्जस्यता छ । पढ्दा यस्तो लाग्छ यो कुनै बिम्बमा बाच्ने कविको कवितात्मक डायरी हो ।

बन्द कोठामा बेस्सरी निस्सासिएझैँ

कहिलेकाही आफैँसँग निस्सासिन्छु

हेर्छु वरपर आफ्नै उडानमा मस्त चराहरु

आफ्नै खुसीमा मस्त फूलहरु 

किन कुण्ठित हुन्छु आफैँसँग ?

किन बिर्सन सक्दिन बिर्सनेहरुलाई?

किन मानिस यतिधेरै साँघुरो छ ?

आफ्नै पदचापले आफैँलाई थिचेजस्तो 

आफ्नै शब्दभित्र आफ्नै अक्षर लुकेजस्तो 

यतिधेरै बिरोधाभाष

अह! म चाहन्न तिम्रो आँगन मेरो बनोस्

म तिम्रो बनुँ

तिमी मेरो बन

आफ्नै लागी आफ्नै मूक्तिको घोषणा गर्दैछु

अबबाट मेरा शब्दहरु केबल मेरा हुनेछन् ।

यो असोज १ को पहिलो दिनको डायरी थियो । मैले भेटेको उक्त डायरीको पहिलो पाना । उसको डायरीको रंगझै उसको लेखाईमा पनि एक खालको धुमिलता भेट्टिन्थ्यो जसले मलाई ऊ बारे अझ जिज्ञासु बनाउँदै थियो । मैले निरास र गम्भिर  बहस गर्ने छोरीमान्छे पट्टकै भेटेको थिइन । उसको डायरीले मैले बुझेको छोरीमान्छेको सामान्यकृत परिभाषालाई नराम्ररी तोडिदिएको थियो । हुनतः म आफैँ गम्भिर बहसमा रमाउँने छोरामान्छे पट्टकै होइन र पनि उसले जे लेखेकी छ त्यसले मलाई गम्भिर बन्न बाध्य बनाएको छ ।

मैले गम्भिर भएर केही लेखेको छैन । उसका आफ्नै भावना माथीका ति निर्मम अक्षरहरु किनकिन मलाई अमूर्ततका अर्को अध्याय जस्तो लाग्छ । हुन त भावनामाथी कलमको सहायता लिनुको कला अर्कै होला । म त्यो कला बेगरको मानिस हो । मैले आफ्ना लागि कहिल्यै लेखिन । 

रातो गुलाफ चाहेको दिन 

कालो बादल उपहार दियौ 

कालो बादलले मात्र बिनास गराउँछ

भो प्रिय मलाई छोडिदेउ। 

स्कुले जीवनमा आफूले बनाउँन नसकेको प्रेमिकालाई मैले लेखेको यी पहिला र अन्तिम हरफहरु थिए । मलाई लाग्थ्यो लेखक भनेकै प्रेम लेख्नेहरु हुन् । तर बिना प्रेम पनि कोही किन त्यति गम्भिर बन्न सक्छ भन्ने कुरा उसको डायरी बुझाएको छ मलाई । डायरीको बिच पानामा ऊ लेख्छे, “ म बिम्बझै अपब्याख्याको पुरानो फेरिस्त बन्न चाहन्न ।  आज पनि मेरा कलमका मसिहरुले कालो रंग मात्र लेख्न सक्छ । मान्छेहरुले बुझ्लान् यो बिरोधको रंग हो । तर होइन म निराश छु । यो शून्य निराशा यदाकदा मलाई ठिकै लाग्छ तर सधै होइन । कहिलेकाही  लाग्छ म सामान्य भैदिउँ । तर म बन्न सक्दिन । सामान्य बन्न चाहिने ति असामान्य  गुणहरु मसँग छैनन् । भ्यानगग झै कोही कसैले मलाई मनपराउँन सक्छ भन्ने बुझेको दिन मलाई लाग्नेछ म सामान्य नै हुँ । तर उसले झै म मनपराउँछु भन्नेलाई असामान्य उपहार पक्कै दिने छैन । म सामान्य नै बन्नेछु । म त्यो दिन जीवनलाई गुलाफी रंगले ब्याख्या गर्नेछु । म मेरो कालो मसिको अन्त्य चाहन्छु । तर यो सामान्य इच्छा मेरा लागी असामान्य बन्दैछ किन म बुझ्न सक्दिन ।”

  यो कुनै कथाको द्वन्द्धझै उसको जीवनको द्धन्द्ध हो की भन्ने मलाई लाग्दैछ । तर नहुन पनि सक्छ । तर किन उसलाई मनपराउँछु कसैले भनेको छैन मलाई किनकिन लाग्छ ऊ मनपराउँन लायक छ । उसको कालो मसिले उसको निख्खरतालाई यसरी पोतिदिएको छ लाग्छ ऊ कुनै जादुवी परी हो जसको भाषामा मजस्ता धेरै डुब्न सक्छन् । तर किनकिन म उसको निराशाले चिन्तित भएको छु । जीवनका तमाम रसमध्धे नबरस भित्र नअटेको यो जीवन एक धुमिल रस हो । तर ऊ निराशाको रंगमा यसरी पोतिएकी छ लाग्छ त्यो नै ऊ हुनु हो । बिनाकारण म उस्लाई ब्याख्या गर्न खोज्दैछु किन गर्दैछु मसँग उत्तर छैन ।

डायरीका पानाभित्र बिना परिचय, बिना कुनै नाम, र बास्तबिक घटना विवरण  नै ऊ आफ्नैपनको भाषामा परिचित छ । के ऊ लेखक हो सायद होइन मैले निराशा लेखेर लेखक बनेको कोही भटेको छैन । उसको लेखाइमा सत्य र झुटका परिधिहर भेटिदैनन् । म उसलाई सत्य र झुट दुवै मान्न सक्छु । उ कुनै अक्षर होइन सायद कुनै बिन्दु हो आकारको स्पष्टताले उसलाई ब्याख्या  गर्न मिल्दैन । सायद अनुभूतिका तहहरुमा ऊ एक अनुभुती मात्र हो, कस्तो म भन्न सक्दिन ।

ऊ चाहन्छे जीवनलाई गुलाफी रंगले ब्याख्या गर्न । किन किन म पनि चाहन्छु उसको गुलाफी जीवन ब्याख्या पढ्न । तर के गुलाफी रंगले ऊ जीवनलाई ब्याख्या गर्न सक्लि ? यीनै प्रश्नहरु मसँग उसका लागि बाकी छन् । ऊ के भेटिएली ? अथवा हराएको पुरानो डायरी खोज्दै मेरो छेउ आइपुग्लि । के म उसँग म अनिल तपाईको डायरीको पाठक भन्दै परिचय दिन सकुँला ? यी सोचाइका तरंगहरुले मलाई रोमाञ्चक र निराश दुबै बनाएको छ । 

कसैको डायरी पढेर ऊ बारे यति धेरै गम्भिर बन्नु सहि हो कि गलत हो म बुझ्न सक्दिन । सहि गलतको सम्बन्धले मानव सम्बन्धलाई बिरलै ब्याख्या गर्न सक्छ । तर म उसको डायरी पढेपछि किनकिन नराम्ररी बिरक्तिएको छु । बिरक्तिनुको आफ्नै कारण छ । किनकिन म उसँग भेटेर भन्न चाहन्छु , “म तिमीलाई मनपराउँछु । तिमीसँग नभेटी नबोली पनि मनपराइदिन सक्छु । तर कृपया जीवनलाई कालो मसिले नै ब्याख्या गर अन्ततः तिमी धुमिलतामै सुन्दर देखिन्छेउ । “

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...