Tuesday, April 28, 2026

अस्तित्वबाट उडेको प्वाँँख



मान्छेहरु 

यसकारण 

बोलिरहन्छन् कि,

कसैले 

उनीहरुको मौनता नसुनोस् 

सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँग छ । शब्दमा  जीवनको खालीपनलाई सम्बोधन गर्नु, बन्धनभन्दा  पर अनुभूतीका आयामहरुलाई बोलिदिनु, अन्तरहृदयको आवाजलाई सबैभन्दा सुन्दर भाषामा ब्यक्त गर्नु सायद कवि हुनु हो । कवि बन्न सजिलो छैन, न कविझै अनुभूत गर्न सजिलो छ । कवि भनेर चिनिएका तर कवि कवि झै नलाग्ने, कविता कविता झै नलाग्ने समयमा नवीन प्राचीन यस्तो नाम हो जसले बिना हल्ला, बिना नाम कविताको सुनसान यात्रा छाडेका छैनन्  । पछिल्लो समय आफ्नो कृति प्वाँख लिएर काब्यको यात्रामा अघि बढेका छन् ।

जब कवि शब्दभन्दा पर भावमा बोल्छ तब कविताले गर्ने यात्रा अनुभूतिको यात्रा बन्न पुग्छ । नवीन  प्राचीनको पछिल्लो कविता कृति प्वाँखमा तिनै अनुभूतिका तंरगहरु भ्ोटिन्छन् । ब्याख्याभन्दा पर, शब्दभन्दा माथि जब कविताले हामीलाई लग्छ तब त्यो यात्रा जैविक यात्रा होइन अस्तित्वको यात्रा बन्न पुग्छ  । उनका कविताले अस्तित्वको अर्को मैफिलमा हामीलाई पुर्याउँछ ।

नवीन प्राचीन कविताको क्षेत्रमा नयाँ नाम होइन तर नवीन नाम अवस्य हो । उनका कविता उनको नाम झै नौला लाग्छन् । आकारले उनका कविताले बोल्ने बिषयको गहनतालाई प्रतिनिधित्व गदैनन् । कम शब्दमा उनी धेरै कुरा बोल्छन् ।  छोटा र चसक्क बिझाउँने उनको शैलीले उनका कवितालाई अझ सुन्दर बनाउँछ ।

नामझै प्वाँख शब्द र आकारको हिसाबले हलुका लाग्छ तर बुझाई र बोधका हिसाबले उनको यो ओजीलो कृति हो । कवि आफूले बाचेको समयभन्दा पर र अझ गहिराइमा पुग्न सक्छ् भन्ने कुरा उनका कविता पढेपछि पत्यारिलो लाग्छ । बर्षौको अनुभबले जीवनलाई बुझेझै प्वाँखमा जीवनका कठिनाई र कठिनाई प्रश्चात त्यसले ल्याएको जीवनको बोध दुबै भेटिन्छ । 

शब्दमा अस्तित्व र अनुभूतिलाई बोल्न सजिलो छैन । तर उनका कविताले त्यो दुबै गरेका छन् । भोगाईका तहहरुमा अति कठिन लाग्ने यी कुरालाई उनले बिम्बमा सजिलै उतारीदिएका छन् । उनी लेख्छन् 

के तिमीलाई पनि 

कहिलेकाहीँ

कसैले सोधिदिए

संसारकै सबैभन्दा भारी चीज

जवाफमा

मन भनिदिन्थे

जस्तो हुन्छ ?

अन्तरहृदयको अनुभूतीलाई उनी सजिलै कवितामा बोलिदिन्छन् यस्तो लाग्छ उनी भोगाइले निचोर्रिएका छन्, शब्दभन्दा पर अनुभूतीमा बिश्वास गर्छन् । उनका कविता चर्का छैनन्, नाराझै यीनले भिडलाई सम्बोधन गदैनन् तर हृदयका ठूलाठूला उथलपुथललाई सुन्दर शैलीमा कहन्छन् । शब्दमार्फत उनले गरेको यो शालिन बिद्रोहले उनको यो कृतिलाई अझ भिन्न र पृथक बनाएको छ ।

उनी संवेदना र भावनालाई नाजुकताकासाथ प्रस्तुत गर्छन् ।  सायद कविता अनुभूतिको त्यही नाजुकताबाट जन्मन्छ । सायद यो कविको सफलता हो । हुनसक्छ राम्रो कवि हुन इमान्दार मानिस हुन आवश्यक छ । उनको यो कृति पढ्दा यस्तो लाग्छ उनका कविताले उनको अनुभूतिको इमान्दारितालाई  बोल्छन् । उनी लेख्छन्–

जिन्दगीलाई भने 

मलाई तँसँग केही गुनासो छैन 

जिन्दगीले भन्यो –

माफ गर् यार्

म तँजति 

महान हुन सकिनँ 

माथिको कविताझै पुस्तकभरीनै उनले आफैसँग संवाद गरेझै लाग्छ । जीवनको रित्ततालाई नजिकबाट देखेझै उनका कविताले जीवनका तिता यर्थाथलाई बोल्छन् । 

नवीन प्राचीनले प्वाँखमा शब्द र शिल्पको नविन  यात्रा मात्र गरेका छैनन्, शब्दभन्दा पर भाव र भाव भन्दा पर मोक्षको यात्रा पनि गरेका छन् । पढ्दा यो ध्यानको अलौकिक यात्रा झै लाग्छ । दुख, पिडा र क्रोध भन्दा पर उनका कविताले जीवनका असिमित आमायहरुलाई कहन्छन् । सिमितता भन्दा पर असिमितितका यात्रामा हिडेका उनका कविता भिडको कोलाहाल होइन भिडभन्दा पर उठेर जीवनको रिक्ततालाई कहने प्रतिछायाका रेखाहरु हुन्, जीवनका धुनहरु हुन् ।  उनलाई पढिरहँदा यदाकदा उनका कविताले जीवनको अब्यक्त दर्शनलाई ब्यक्त गरेझै लाग्छ ।

सतहमा बगेको आवाजले हल्ला मात्र गर्छ । उनी हल्ला गर्दैनन्, सुनसान गोरेटोमा यात्रा गरेझै आफ्नो उपस्थितिको गहनलाई प्रतिनिधित्व गर्छन् । सायद उनको यो कृति कविले आफ्नै हृदयसँग गरेको संवाद हो । कविता पढिरहदा यस्तो लाग्छ उनी आफैसँगको गहिरो सम्बादमा  छन् 

आकाशमा उड्छन्

सपना

जमिनमा अड्किएका छन्

पैताला

थाहा छ 

आफ्ना पखेटा मैले 

पैतालासँग कहिले साटेँ 

यसरी आफ्नै उपस्थितिसँग सम्वाद गरेझै लाग्ने उनका कविताले मानिस भएर जीवीकाका लागि सपनासँग गरिएका सौदाबाजीका कुरा गर्छन्, बजारमा बिकेको मानिसको अस्तित्वको आवाज बोल्छन् , छोडिजानेका पैतालाले बनाएका डोबका कुरा गर्छन् र आफ्नै माटोबाट बिस्थापित भएर परपर उडेर यायावर बनेका भूईमानिसहरुका कुरा उठाउँछन् । साथै प्रेममा चुलुम्म डुबेर उठ्न खोजीरहेका प्रेमिल हृदयहरुका उथलपुथलका संवेदनाहरुलाई कहन्छन् । उनले गर्हौ हृदयका भारहरुलाई भावनाको प्वाँख बनाएर बिम्बको आकाशमा छाडिदिएका छन् ।

उनी हल्ला गदैनन्, सायद उनी कविताको ध्यानमा छन् । बिना प्रचार, बिना उत्तेजना, शब्दको र बिम्बको मधुर धुनमा कविताको यात्रा गर्नु सायद कवित्वमा बाच्नु हो । उनका कविता हेर्दा उनी कवितामा जीएझै लाग्छ । बिना शिर्षकका साना झिल्काझै लाग्ने उनका कविताले हामीभित्र बर्षौ जमेर रहेका भावना, संवेदनालाई पगाल्छ । उनले कवितामार्फत गरेको यो संवाद सायद हामी सबैले आफैँसँग गर्न नसकेको वा गर्न छुटेको वा गर्न लजाएको संवाद हो ।

उसले 

मेरो  खुसीको हिमालबाट 

एक मूठी हिउँ उठाएर

अचम्म मान्दै भनी–

अरे ! न्यानो हिउँ ?

अनि थोरै मुखमा राख्दै सोधी–

कसरी नुनिलो 

कसरी भनूँ ?

मैले यो खुसीको हिमाल 

आँसुको सिङ्गो सागर जमाई 

उभ्याएको हुँ 

दुख र पिडाको गहिरो सागर बोकेर हामी मानिस बाँचेका छौ । उनका कविताले तिनै असम्बोधित पिडा र दुखलाई कहन्छन् । दिनदिनैका दुख, कहर त हामी कहौला तर बर्षौ आफैँसँग सम्हालेर राखेका चोड र पिडालाई प्राचीन यस कृतिमा प्रस्तुत गर्छन् । पढ्दै गर्दा यस्तो लाग्छ उनी भित्र भावना र सम्बेदनाको कहिल्यै नरित्तिने घडा छ । 

उनको यो कृतिले अस्तित्वको आवाजहरुलाई बोल्छ ।  त्यसैले यस पुस्तकलाई हामी भित्र सधै एकान्तमा गुन्जने अस्तित्वको कोलाहल मान्दा हुन्छ । यसले संवादको आशा गर्छ तर अरु कोहीसँग होइन आफैँसँग ।

हृदयको भार पन्छाइ

पानाहरुमा राखिदिन्छु

तिमी छौ एक 

शब्दप्रेमी

तिनलाई 

कविता भनिदिन्छौ 

यसरी 

प्रेमले

पत्थरलाई 

कवितामा बदलिदिन्छ ।

सायद उनले भनेझै हृदयको भारलाई हलुका बनाएकाले यो कविताझै लाग्छ । तर पुस्तक पढिरहँदा यस्तो लाग्छ कविले आफ्नो हृदयको भार साझा बनाएर हामीमाझ पस्केका छन् । र त्यो हृदयको भार हामी सबैसँग छ ।

मैले उसलाई 

मेरो हत्याको

सजाय माफ दिए

र आफू थूनामूक्त भएँ ।

उनका कविता कोमल छन् । सायद कविताले गराउने यात्रा कोमलताको यात्रा नै हो ।  उनी कठोर बनेर कवितामा प्रस्तुत भएका छैनन् । बिना शिर्षक, बिना कुनै बिभाजन प्राचीनको यस कृति हृदयका असिमित आवाज झै लाग्छ । सतहमा देखिने कुरालाई कवितामा उर्तान सजिलो छ तर उनी सतहबाट पर गहिराइमा पुगेका छन् । बिशेषतः मानिसका हृदयको गहिराइमा । यसले कवितालाई अझ पठनिय र अझ मधुर बनाएको छ ।

अन्तयमा नवीन प्राचीनको यस कृति कविताको यात्रा भएपनि कविताझै लाग्ने अस्तित्वको यात्रा हो । सुन्दर, सटिक शिल्प र शैलीमा उनले हामीलाई मानिसका हृदयका उतारजडाब र कठिनाइसम्म पुर्याएका छन् । यसले हामीलाई संवेदना र भावनाको चरम अनुभुतीसम्म पुर्याउँछ । आफैसँग संवाद गर्न बाध्य बनाउँछ । प्वाँखले हामीलाई बिम्बको यात्रामा मात्र लग्दैन जीवनमा छुटेका असिमित आयामसँग साक्षात्कार पनि गराउँछ । सायद यो कविको हातबाट पाठकको हृदयसम्म पुगेको अस्तित्वको प्वाँख हो ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...