Saturday, April 18, 2026

खालीपन


  हाम्रा बिच नियमहरु कहिले पो थिए र ! एक खाली जमिनझै हामीले एक अर्कालाई समेट्यौ मात्र । तिमी तिमीजस्तै थियौ । म मजस्तै थिएँ । दुई पन्छिहरुका उड्नुपर्ने आ–आफ्नै उडानहरु थिए । नियमहरु थिएनन् । पुरा गर्नुपर्ने अपेक्षाहरु थिएनन् । एक अर्कालाई आफूजस्तो बनाउनुपर्ने बाध्यताहरु थिएनन् । त्यसैले तिमी पर भाग्दा पनि तिमी किन भाग्यौ मैले भनिन ।

तिमी गयौ । मैले बिदाइका हातहरु हल्लाए । किन जान्छौ भनेर प्रश्नहरु सोधिन । तिमी गएपछि खाली जमिन पनि भेट्छु । खालीपन पनि भेट्छु । कतै बाटामा कोही देख्दा तिमी नै हौ कि भनेर फर्केर पनि हेर्छु । तर समेटिदिने कोही भेट्दिन । खालीपन त छ नि । तिमी नभएको खालीपन कहिलेकाही शब्दहरुमा उर्ताछु । कहिलेकाही सपनिमा पुरा गर्छु । कहिलेकाही आशु बनेर पनि पोखिन्छन् । यदाकदा याद बनेर पनि आइदिन्छ । तिमी नहुनुको अपुरोपन त छ नि !

जाँदै गर्दा तिमीले भनेका थियौ – यो यात्रामा भेटिएकी तिमी सबैभन्दा बिशेष ब्यक्ति हौ । मैले ती शब्दहरुलाई हृदयमा लुकाएर राखेकी छु । कतै पानामा लेखेकी पनि छु । डायरीझै कहि कतै साँचेर राखेकी पनि छु । तिमी गएको, तिमीलाई गुमाएको पिडा छैन । तर तिमी नहुनुको खालीपन त छ नि । 

यदाकदा बाटो छेउ हरियो चौर देख्छु । कुनै दिन हामी बस्ने त्यो चौरमा कोही अरु बसेको पनि देख्छु । सम्झन्छु तिमीलाई । हुन त हामीले एक एकालाई केही दिएका थिएनौ न मन, न हृदय । न शरीर । तथापी तिमीले खालीपन त दिएका रहेछौ नि । कहिलेकाही लाग्छ म बिदाइलाई गुमाएको ठान्दिन । र पनि किनकिन कहिलेकाही गुमाएझै पनि लाग्छ ।

के यो कठोर कुरा हो ? के म कुनै नियमझै कठोरताका सिमानाहरु बोल्दैछु । थाहा छ बग्नु त नियती हो । तिम्रो बगाइले मलाई खुशी दिनुपर्ने ? तर किन दिएन । म आफैलाई सोध्छु र अनुत्तरीत भेट्छु ।  

प्रिय खालीपन, 

यो कुनै गुनासो होइन । यो कुनै दुखेसो पनि होइन । यो उदासी पनि होइन । जीवन कहाँ सजिलो छ र !  महशुस गर्न कहाँ सजिलो छ  र ! हरेक अनुभूती झै तिमी नहुनुको अनुभूती पनि कठोर बनेर मसँगै अडिएको छ । बग्न पनि खोजेको हो । तर अनुभूती हरु कहाँ हलुका हुन्छन् र ! म चाहेर पनि तिमी नहुनुको अपु।ोपनलाई बिर्सन सक्दिन । जे छ गहिरो छ । जे छैन त्यो नहुनु पनि सजिलो छैन । केही हुनु र नहुनुबिच कुनै कथा ठानेर कहाँ जीउँनु सजिलो छ र । 


No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...