Sunday, October 4, 2026

.. धुमिलता


बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहरुको बास्ना अब सहरमा चाहेर पनि भेटिँदैन । भएका नदीहरु नदी होइन नाला जस्ता लाग्छन् । केही हुनेको अंहम पर बाट देखिन्छ । संजाल र्छिनुस् हुनेले नहुनेलाई भन्छ तँ जस्तो होइन भाइ म । नहुने चुप लाग्छ । अब त कागहरु पनि देखिन छोडेका छन् । चराहरुमा केबल परेवा र भगेरा भेटिन्छन् । 

शरद ऋतु शहर छिरेको छ । बजार छिर्नुस् सयको माल दशमा पनि भेटिन सक्नेछ । तर सहर भित्र छ त, यीनै चिज छ । गत महिना साथी गैइन । गएपछि मात्र थाहा भयो उनलाई नभेटेको त दश बर्ष भएछ । गएपछि पछुतो लाग्यो । सायद सम्झने सबैले गएपछि नै हो । हुदा छ भन्ने  हुँने रहेछ गएपछि लाग्दो रहेछ नहुनुको खालिपन । गत हप्ता त्यही गुनासोलाई जम्मा गर्दै हामी भेट्यौ । 

हिजो मात्र त हो कसैलाई मैले भने तिमी आएनौ । केही समयको लागि भएनी आएको भए हुने । त्यो केही थिएन आत्मियता थियो । अब सहरमा आत्मियता पनि दूलर्भ भैसक्यो । उसले भन्यो अब तेरो बिहेको दिन भेटौला । मैले उसलाई म बिहे गर्दैछु भनेकी पनि थिइन । आफ्नो बिहेको दसौ दिनमा उसले फोन गरेर मेरो लागि चिना मागेको थियो । त्यो अनौठो थियो । कुनै समय मायाझै लागेर उसलाई मैले बिहे गर्छस् त मसँग भनेकी पनि थिएँ । उसले मलाई म उसको टाइपको नभएको बताएकोे थियो । र आफ्नो बिहेको दसौ दिनमा अनायास मेरो फोनमा उसले मेरो लागि अरु खोजेको थियो । त्यो सबै अनौठो थियो । जे थियो सुन्दर थिएन । करिब एक सवा बर्षपछि मैले त्यसरी नै पहिलेझै किन आइनस् भनेर सोधेकी थिएँ । बदलामा उसले बर्षौ देखी समाजले लगाएको कुनै रंगको अर्को निख्खर भर्सन मलाई लगाइदिएको थियो । मेरो लागि बिहे भन्ने शब्द कुनै ट्रिगर ओड जस्तै हो । मलाई डोलिमा रातो रंगमा सजिएर हिडेकाहरु कोही खुसी र सुन्दर लाग्दैनन् । बिहेमा बज्ने बाजाले मेरो मुटुको चाल सधैँ बढ्छ । सुन्नेको लागि यो अचम्म लाग्ला तर मेरो भर्सनको सत्य यही हो ।

समाजका कसैका लागि पनि सजिलो पक्कै छैन झन् त्यसका लागि जो समाजको मानकभित्र पर्न सक्दैन । जो जीवनको हरेक तहमा अन्यको भुमिकामा रह्यो उसको लागि जीवन अझ फरक हो । जसलाई अरु कसैले सजिलै आएर त किन यस्तो भैनस भनेर भन्दिन सक्छ । प्रतिउत्तरमा उसले केही नभन्न पनि सक्नेछ । सायद मेरा लागि यी सबै सबै चिजहरु म जे भए त्यसका सुस्म स्वरुपहरु हुन् ।

जन्मदा सानु हुनु । हुर्कदै गर्दा यो त कस्ति भै भदिदिनु । बढ्दै गर्दा तँ कसैको लायक छैनस् भनेर समाजले सुनाउनु । हरेक दिन स–साना चिजहरुले टिर्गर हुनु । लेख्न खोज्दा म जे लेख्न चाहन्छु त्यो लेख्न सक्दिन । सायद अफ्ठ्यारा कथाहरु हामी लेख्न मात्र खोज्छौ तर कहिल्यै लेख्न सक्दैनौ । म जे होइन त्यो लेख्न सक्दिन । जे हुँ त्यो पनि लेख्न सक्दिन । आज जे महशुस गरेँ त्यो लेख्न चाहन्थे तर मलाइृ थाहा छ म अरुलाई म जे महशुस गर्छु त्यो बुझाउँन सक्दिन । सायद मेरो भर्षनको कथा म मात्र लेख्न सक्छु ।

जसको बाल्यकाल सजिलो थिएन उसको यूवाअवस्था पनि सजिलो पक्कै हुँदैन । मिल्ने भए म मेरो बाल्यकाल मेटाइदिने थिएँ । मेरो किशोरअवस्था फेरी बाच्ने थिएँ तर मलाई थाहा छ त्यो सम्भव छैन । आज पनि अरुझै नहुनुले मलाई यदाकदा दुखी बनाउँछ । मानिसलाई लाग्छ जे उनीहरुको भागमा पर्यो त्यो मात्र सत्य हो । तर कतिपय सत्यहरु ब्यक्तिगत हुन्छ । तिम्रो सत्य मेरो भ्रम पनि हुन सक्छ । कुनै दिन तँ मेरो टाइपको होइनस् भनेको मानिसले किन अरु कसैको जीवनबारे त्यती धेरै चासो गर्नु । म चाहेर पनि उसलाई माफि दिन सक्दिन । सायद आफैँलाई पनि ।

धेरैले सधैँ भन्छन् त किन अध्यारो लेख्छेस् । जसले जीवनमा अध्यारोबाट मात्र उठेको छ उसको संसारको आधि भाग अध्यारो नै हुन्छ । म शब्दमा पनि दोहोरिन्छु । किनकी ट्रमाहरु सधैँ त्यस्तै त्यस्तै स्वरुपमा दोहोरीन्छन् ।  सायद अध्यारोबाट उज्यालोको खोजोमा छु । हुनसक्छ जीवनमा म झै अरु पनि अलमलिएका छन् । वा त्यही धुमिलाभित्र केही उज्यालो खोजिरहेछन् । कहिलेकाही अनुभुतिहरुले बिरोल्छ । मलाई राम्रोस्ाँग थाहा छ मैले जे महशुस गरेँ त्यो सत्य होइन । तथापी हरेक पटक म त्यही नै अनुभूत गर्छु । 

यो बुझ्न  सजिलो कुरा होइन र म बुझाउँन पनि चाहन्न । मलाई लाग्छ म जे हुँ त्यो भन्दा पर उठ्न सकुँ र अरुलाई भन्न सकुँ अरुझै नहुनु आफू नहुनु होइन ।

Thursday, October 1, 2026

.... एक मुस्लो बादल


झ्यालबाट आकाश हेर्छु । छ त केबल बादल । तर बादलमात्र कहाँ छ र त्यहा, त्यहाँ त आकृतिहरु छन् । कुनै कलाकारले कोरेका छाँया र प्रतिछाँयाझै,  रेखाहरु कतै गुजुल्टिएका छन् । कतै फिजारिएका छन् । र कतै कलाकारको आफ्नै मनझै,  अमिलो भएर एउटा सानो डल्लो भएर बसेका छन् । कहिलेकाही त लाग्छ यो आकाश पनि, यो बादल पनि तिमी नै पो हौ कि ।  

हिजो दिनभर सहर डुलेँ । सायद तिम्रो जस्तै कुनै कथाको खोजीमा । थाहा छ आजकल कथा खोज्दा पनि सहरमा कथा भेटिँदैन । मान्छेहरु बाधिएका छन् । बाधिएका मान्छेले कहाँ कथा भन्न सक्छन् र । दिनभर सहर डुलेर पनि बिना कुनै कथानक म घर फर्के । र आफैँलाई फेरी अर्कोपटक जसरी बिहान निस्किनुअघि हेरेकी थिएँ त्यसरीनै ऐनामा हेरेँ । लाग्यो सहरको सुनसान बािधएको चित्रभित्र मेरो चित्र पनि रहनेछ । सहर हुनु र कथा हुनु फरक हो । तर बिना कथाको सहर के सहर । बिना कथाको मानिस के मानिस । 

म फेरी बादल हेर्छुृ । बादलभित्र अझै धेरै चित्रहरु छन् जो कथा बन्न सक्छन् । चित्र त सहर भित्र पनि छन् । थाहा छ, आज बिहानै मेरो झ्याल छेउ एक जोर परेवाहरु आए । परेवाको जोडिले केही भनेझै गरेँ अनि फर्के । परेवाहरुले मानिसलाई केही भन्न खोज्नु तर मानिसले मानिसलाई नै केही भन्न नखोज्नु अचम्म होइन । तर थाहा छैन, आजकल मानिसहरु मानिस देखेर खै किन हो लुक्न खोज्छन् । हो सहरमा कथा खोज्न निस्किए पनि म मानिस भेट्छु तर कथा भेट्दिन । हो आजपनि कुनै मूर्दाघरमा पुगेझै दिनभर सहर डुले पनि मैले मानिसभित्रको मौनता र निस्सारता बाहेक केही बाकेर आएकी छैन । 

हिजो सपनामा तिमी आयौ । कुनै बादलझै । एक्कासी । अचानक । म सपनामै अर्को पटक खुसी भएँ । तर खै किन सपनामा तिमी झुल्किनु र म कथाको खोजीमा सहर डुल्नु उस्तै उस्तै भयो । तिमी सपनामा त आयौ तर केही नभनी फक्यौ । थाहा छैन आजकल किन सबै मानिस जब म छेउँ आइपुग्छन् केही नभनी झर्कन्छन् ।

प्रिय डायरी, यो हिजोको दैनिकी थियो । सायद आजको दैनिकी पनि यस्तै हुनेछ । तिमीलाई लाग्ला हरेक दिन म किन डायरी पल्टाउँछु र केही नलेखी फर्कन्छु । सायद यो सहरको चित्र मेरो चित्र हो । मसँग अब तिमीलाई हरेक दिन सुनाउँनका लागि कथाहरु बाकी छैनन् । जसरी उ सपनामा नबोली फर्कयो यो सायद हामी सबैले बोल्ने साझा कथा हो । हामी शब्द बिहिन भएका छौ । मैले हरेक दिन तिम्रा पानाहरुमा भर्ने कथाका लम्बाइहरु प्नि छोटिँदै गएका छन् । सायद अब कथा लेख्ने पालो बादलको हो । हुनसक्छ परेवाका जोडिहरुको हो ।

डायरी पल्टाउनु पनि अब कुनै कामझै बनेको छ । मलाई लाग्छ तिमीलाई मनपर्ने चिज काममा रुपान्तरण हुनु राम्रो होइन । यसले कुनै अर्थ पनि राख्दैन । तथापी मन शून्य छ । म सहरभित्र केही चलेको भेट्दिन । थाहा छैन कुनै दिन आशुहरु जमेर ठिक्का बन्ने छन् वा छैनन् । मानिस नबोल्नु उसले बोल्न छाडिदिनु मात्र होइन मानिस मानिस नरहनु पनि हो । हुनसक्छ अब कसैले बसन्तपुरलाई कुनै क्यानभाषमा पोख्यो भने पनि त्यहाँका परेवाहरु एड्न छोड्नेछन् । म निराश कथाहरु बोकेर सधैँ डायरी भर्न चाहन्न । सायद त्यसैले उ सपनामा आएर पनि केही नभनी फर्कन्छ ।

यो एक अमूक डायरीको शब्द चित्र हो । यो कुनै सहरको चित्र पनि हो । यो तिम्रो र मेरो चित्र पनि हो । हिजो रातभर तिमीलाई कुरेँ तिमी यसरी आयौ मानौ मैले काम जसरी डायरी लेखिरहेछु । अहँ मलाई मनपर्ने चिजलाई म काम भन्न सक्दिन । तिमी त कुनै मन्दिरमा छिरेझै प्रफूल्ल भएर आएको भए तिमी आएको मान्न सकिन्थ्यो । तिमी आयनौ जसरी दिनभर सहर डुलेर पनि मेरो छेउ कथाहरु आइपुगेनन् । 

प्रिय डायरी,  म तिम्रा पानाहरु भर्न मात्र मेरा कथाहरु भन्न चाहन्न । यो सहरमा म शब्दबिहिन भएकी छु । केही भन्न लागि पनि तिमी रित्तो हुनु हुँदैन । रित्तो मानिसले कथा लिएर घर फर्कन सक्दैन । हो यो सहरझै म पनि रित्तिएकी छु ।

प्रिय डायरी,

 प्रिय डायरी, आज पनि हिजोझै फेरी फर्किएकी छु । केही दिनदेखी सायद सन्चो छैन । देख्दा केही छैन तर पनि सन्चो छैन । सहर उस्तै छ, चिसो । सायद मन ...