Thursday, October 1, 2026

.... एक मुस्लो बादल


झ्यालबाट आकाश हेर्छु । छ त केबल बादल । तर बादलमात्र कहाँ छ र त्यहा, त्यहाँ त आकृतिहरु छन् । कुनै कलाकारले कोरेका छाँया र प्रतिछाँयाझै,  रेखाहरु कतै गुजुल्टिएका छन् । कतै फिजारिएका छन् । र कतै कलाकारको आफ्नै मनझै,  अमिलो भएर एउटा सानो डल्लो भएर बसेका छन् । कहिलेकाही त लाग्छ यो आकाश पनि, यो बादल पनि तिमी नै पो हौ कि ।  

हिजो दिनभर सहर डुलेँ । सायद तिम्रो जस्तै कुनै कथाको खोजीमा । थाहा छ आजकल कथा खोज्दा पनि सहरमा कथा भेटिँदैन । मान्छेहरु बाधिएका छन् । बाधिएका मान्छेले कहाँ कथा भन्न सक्छन् र । दिनभर सहर डुलेर पनि बिना कुनै कथानक म घर फर्के । र आफैँलाई फेरी अर्कोपटक जसरी बिहान निस्किनुअघि हेरेकी थिएँ त्यसरीनै ऐनामा हेरेँ । लाग्यो सहरको सुनसान बािधएको चित्रभित्र मेरो चित्र पनि रहनेछ । सहर हुनु र कथा हुनु फरक हो । तर बिना कथाको सहर के सहर । बिना कथाको मानिस के मानिस । 

म फेरी बादल हेर्छुृ । बादलभित्र अझै धेरै चित्रहरु छन् जो कथा बन्न सक्छन् । चित्र त सहर भित्र पनि छन् । थाहा छ, आज बिहानै मेरो झ्याल छेउ एक जोर परेवाहरु आए । परेवाको जोडिले केही भनेझै गरेँ अनि फर्के । परेवाहरुले मानिसलाई केही भन्न खोज्नु तर मानिसले मानिसलाई नै केही भन्न नखोज्नु अचम्म होइन । तर थाहा छैन, आजकल मानिसहरु मानिस देखेर खै किन हो लुक्न खोज्छन् । हो सहरमा कथा खोज्न निस्किए पनि म मानिस भेट्छु तर कथा भेट्दिन । हो आजपनि कुनै मूर्दाघरमा पुगेझै दिनभर सहर डुले पनि मैले मानिसभित्रको मौनता र निस्सारता बाहेक केही बाकेर आएकी छैन । 

हिजो सपनामा तिमी आयौ । कुनै बादलझै । एक्कासी । अचानक । म सपनामै अर्को पटक खुसी भएँ । तर खै किन सपनामा तिमी झुल्किनु र म कथाको खोजीमा सहर डुल्नु उस्तै उस्तै भयो । तिमी सपनामा त आयौ तर केही नभनी फक्यौ । थाहा छैन आजकल किन सबै मानिस जब म छेउँ आइपुग्छन् केही नभनी झर्कन्छन् ।

प्रिय डायरी, यो हिजोको दैनिकी थियो । सायद आजको दैनिकी पनि यस्तै हुनेछ । तिमीलाई लाग्ला हरेक दिन म किन डायरी पल्टाउँछु र केही नलेखी फर्कन्छु । सायद यो सहरको चित्र मेरो चित्र हो । मसँग अब तिमीलाई हरेक दिन सुनाउँनका लागि कथाहरु बाकी छैनन् । जसरी उ सपनामा नबोली फर्कयो यो सायद हामी सबैले बोल्ने साझा कथा हो । हामी शब्द बिहिन भएका छौ । मैले हरेक दिन तिम्रा पानाहरुमा भर्ने कथाका लम्बाइहरु प्नि छोटिँदै गएका छन् । सायद अब कथा लेख्ने पालो बादलको हो । हुनसक्छ परेवाका जोडिहरुको हो ।

डायरी पल्टाउनु पनि अब कुनै कामझै बनेको छ । मलाई लाग्छ तिमीलाई मनपर्ने चिज काममा रुपान्तरण हुनु राम्रो होइन । यसले कुनै अर्थ पनि राख्दैन । तथापी मन शून्य छ । म सहरभित्र केही चलेको भेट्दिन । थाहा छैन कुनै दिन आशुहरु जमेर ठिक्का बन्ने छन् वा छैनन् । मानिस नबोल्नु उसले बोल्न छाडिदिनु मात्र होइन मानिस मानिस नरहनु पनि हो । हुनसक्छ अब कसैले बसन्तपुरलाई कुनै क्यानभाषमा पोख्यो भने पनि त्यहाँका परेवाहरु एड्न छोड्नेछन् । म निराश कथाहरु बोकेर सधैँ डायरी भर्न चाहन्न । सायद त्यसैले उ सपनामा आएर पनि केही नभनी फर्कन्छ ।

यो एक अमूक डायरीको शब्द चित्र हो । यो कुनै सहरको चित्र पनि हो । यो तिम्रो र मेरो चित्र पनि हो । हिजो रातभर तिमीलाई कुरेँ तिमी यसरी आयौ मानौ मैले काम जसरी डायरी लेखिरहेछु । अहँ मलाई मनपर्ने चिजलाई म काम भन्न सक्दिन । तिमी त कुनै मन्दिरमा छिरेझै प्रफूल्ल भएर आएको भए तिमी आएको मान्न सकिन्थ्यो । तिमी आयनौ जसरी दिनभर सहर डुलेर पनि मेरो छेउ कथाहरु आइपुगेनन् । 

प्रिय डायरी,  म तिम्रा पानाहरु भर्न मात्र मेरा कथाहरु भन्न चाहन्न । यो सहरमा म शब्दबिहिन भएकी छु । केही भन्न लागि पनि तिमी रित्तो हुनु हुँदैन । रित्तो मानिसले कथा लिएर घर फर्कन सक्दैन । हो यो सहरझै म पनि रित्तिएकी छु ।

No comments:

Post a Comment

.... एक मुस्लो बादल

झ्यालबाट आकाश हेर्छु । छ त केबल बादल । तर बादलमात्र कहाँ छ र त्यहा, त्यहाँ त आकृतिहरु छन् । कुनै कलाकारले कोरेका छाँया र प्रतिछाँयाझै,  रे...