प्रिय तिमी,
चराहरुझै उड्नु र बादलहरुझै घुम्नु । यो खुल्ला आकाश र सिमाबिहिन नदीहरु तिम्रा हुन् । उड्रे पनि उत्रनु । पौडेर पनि डुब्न । हिमालझै अगल्नु र नदीझै डुब्नु । गहिराइ र उचाइ दुबै तिम्रा हुन् । यो धरती, आकाश यी खलीयानहरुले तिमी र मलाई नबाधेकोमा दुखी नहुनु । तिमी तिम्रो हृदयको राजा बन्नु म मेरो हृदयको रानी बन्नेछु ।
कुनै दिन लागेको थियो तिमी बेगरको म के म ? अहिले लाग्छ तिमी बेगरको म पो म । कहिलेकाही तिमीलाई नचाहिने बन्धनहरुमा बाधेझै गरेँ हुला त्यसको लागि माफी दिनु । म त आफूले आफैँलाई बाधेकोमा त दुखी छु तिमीलाई बाधेकोमा त कता कता । हृदयमा छौ र रहनेछौ । भेटेकोमा र छुटेकोमा पनि कुनै गुनासो रहनेछैन । तिम्रा क्षितिजहरु तिम्रा बनुन मेरा क्षितिजहरु मेरा बनुन् । यो दुर देशबाट क्षितिजहरु नाघेर मेरा सुभेक्षाहरु तिमीमाझ पुगुन् ।
तिमी तिम्रो हृदयको मालिक हौ । असिमितताको साम्राज्य । म मूर्ख थिएँ मैले बाध्न खोजेँ । तर मलाई तिमी नबाधिएको नै मनपर्छ । एक खुल्ला आकाशझै तिमी मेरो हृदयमा पस्यौ मलाई लाग्यो प्रेमलाई बन्धनहरुले बाध्नपर्छ । तर आकाशलाई समेट्नको लागि पनि आकाश नै चाहिन्छ म आकाश थिइन । तिमीलाई समेट्न सकिन । तर हृदयको आकाशमा तिमी सधैँ रहनेछौ ।
यो एक बिन्दुले एक असिमितताको साम्राज्यलाई गरेको प्रेम थियो । मेरा सिमानाहरु थिए । सिमितताहरु थिएँ । मैले मेरो स्वार्थको तिमी रोजेँ । तर तिमी त एक अर्को युग हौ । धेरै फराकिलो युग । मैले तिम्रो त्यो फराकिलो यूगलाई एक सिमित भूगोलमा समेटिरहन सकिन । र सक्दिन पनि । आफ्नै यूगमा बाच ।
तिमीलाई भेटेकोमा सधै कृतज्ञ हुनेछु । नबाधेकोमा अझ कृतज्ञ । तिमीले मलाई पखेटाहरु दियौ लाग्छ म अब उड्न सक्छु । कुनै दिन उडेर तिम्रो भूगोलमा आएँ भने अगाल्नु । तिम्रो अगालोले म फेरी उड्न सक्नेछु । उडेको म तिमी पनि हो । यीे प्रेमका अक्षरहरुले पनि म तिमीलाई बाध्न सक्दिन । यो भूगोल तिम्रो हो जस्तो बाच्न चाहन्छौ त्यस्तै बाचँ ।
उही म.......
No comments:
Post a Comment