Friday, March 14, 2025

जो थिएन पनि जो थियो पनि


यो बिहानीको कथा हो । कथालाई कथा मात्र मान्दा हुन्छ । वा यो कथा भन्दा पर केही हो मलाई थाहा छैन । बिहानै उज्यालो छ । नानीहरु झोलाहरु बोकेर सडकमा निस्किसकेका छन् । एक दर्जन पदचापहरु सडकको यात्रामा छन् । सायद हिड्रदैछन् वा हिडेझै गर्दैछन् । म झ्रयालबाट उनीहरुलाई हेर्दैछु । फूलहरु फूलीसकेका छन् । घाम उदाइसकेको छ । हातमा चियाको कप छ । टेबलमा इस्परेन्जा बसेकी छ । म उसँग वार्तालापमा छु ।

मनु मन्जिलको कविता “यो सहर कसको हो” पढिरहेको छु । सहरबारे म त्यती सोच्दिन यो कसको हो मलाई थाहा थिएन । हुन त गाउँ पनि मेरो थिएन म कहिको पनि थिइन । गाउँबारे मैले भन्ने, मेरा जस्ता लाग्ने दुई चिज मात्र छन् । ति हुन् नदी र हिमाल । त्यो बाहेक गाउँ मेरो थिएन । मस्र्याङ्दी किनारामा मेरा पदचाप पनि थिए तर केही समयमै मेटिए । त्यो मेरो माटो हो भनेर म दावी गर्न सक्दिन । न मेरा पूर्खाले मेरो नाम लिनेछन् न त्यो माटो मेरो हुनेछ । त्यो त मेरो आमाको पनि थिएन । त्यो त मेरो हजुरआमाको पनि थिएन । थियो त अरु कसैको थियो । आफ्नो नबनेको त्यो माटोमा म किन दावी गरुँ । त्यसैले यदाकदा भन्ने गर्छुृ म कहिको पनि थिइन र होइन ।

मसँग दावी नै गर्न मिल्ने केही छैन । स्परेन्जाले भनेझै घरको कल्पना म पनि गर्छु जुन कविता अघिको कागजझै शान्त हुनेछ । तर त्यो कल्पना मात्र हो । त्यो मेरो घर कल्पनाको घर हो । जो कुनैदिन मसँग हुनेछ वा हुनेछैन थाहा छैन । तर यो निराशाको कथा होइन । केही नहुनु सबैचिज हुनु पनि हो । कहिलेकाही लाग्छ मसँग नभएर नै पनि सबैचिज छ । खुल्ला आकास छ । म आकासको हु । मेरो लागि यो आकाश नै घर हो ।

आज के थियो मसँग र के थिएन मसँग भन्नेबारे बुझ्रदैछु । तर सबैचिज नभएर पनि धेरै चिज थियो । जब कोहीसँग अटाउँनको लागि बा भनौ आफ्नो हो भन्नको संरचनात्मक कुनै बक्स रहदैन तब उड्नको लागि खुल्ला मैदान रहन्छ । म कहिको थिइन भन्दाभन्दै पनि कहिलेकाही लाग्छ म जताततैको थिएँ । छोरी मान्छे हुनुका कतिपय यर्थाथहरु विश्वब्यापि हुन्छन् । हामीसँग पूर्खाले दिने बिरासत कहिल्यै रहँदैन । हामीले गरेको यात्रा हाम्रो मात्र हो । हाम्रो यात्रा पूर्खाको कुलिन इतिहासमा अटाउँनेछौ । हाम्रो यात्रा एक मजदुर यात्रा हो । ज्यालादारी पछि त्यो पदचाप कसको थियो कसैले सम्झनेछैन । 

कहिलेकाही लाग्छ सिकागोबाट स्परेन्जाले जे भन्छे त्यो मेरो पनि हो । मैले लेख्ने कथाहरु मेरा मात्र हुन् । मेरो इतिहास मेरो मात्र हो । छोरीमान्छे हुनु भनेको मजदुरी गर्नु हो । तपाईका पाखुराहरु चलुन्जेल त्यो तपाईको हो । त्यसपछि तपाइ एक बिर्सिएको कथानक हो । वा भनौ सम्झन अलाएक कथानक । 

बिना संरचनाका कथाहरु बोकेर म हरेक दिन किबोडमा आफ्ना औलाहरु दौडाउँछु । म मनमनै भन्छु यी औलाहरु र यी अक्षरहरु मेरा हुन् । यो मेरो इतिहासलाई मैले आफैँले गरेको अर्काइभ हो । म चाहन्छु यसमाथि मेरो पूर्णअधिकार रहोस् । अक्षरको इतिहासलाई मेट्न गाह्रो । यो एक मजदुरको दावी गर्न मिल्ने डायरी हो ।

No comments:

Post a Comment

अन्तिम दिन

बर्षहरु चाडै बिदा लिन्छन् । तर दिनहरु बाकी रहन्छन् । थाहा छैन कुनै दिन दिनहरु सिद्घिए भने के रहनेछ ? घाम उदाउँने छ वा छैन । आकाश रहने छ वा...