दिनभर बादल लाग्यो । मैले आफ्नो ओछ्यानलाई छोड्न सकिन । म चाहन्थे बादलझै म पनि बताससँगै बहकिउँ र रमाउँ । तर त्यस्तो भएन म रमाउँन सकिन । मलाई बादल मननपर्ने पनि होइन । बादलले कोर्ने चित्रहरु कहिलेकाही मलाई जीवनका चित्रहरुझै नलागेका पनि होइनन् । तर बादल लागेको दिन मलाई मन पर्दैन ।
यो फूटनोट हो यसलाई महत्वपूर्ण ठान्दा पनि हुन्छ नठान्दा पनि हुन्छ । कहिलेकाही लाग्छ जीवन एक फूटनोट हो । कसैलाई लाग्न सक्छ उसको जीवन महत्वपूर्ण छ कतिलाई नलाग्न सक्छ ।
कहिलेकाही फूटनोट सहितका पानाहरु पल्टाउँछु । लाग्छ यीनीहरुको उपस्थिति किन महत्वपूर्ण भएर पनि अमहत्वपूर्ण झै छ । लाग्छ जीवनका अधिकांश कुराहरु फूटनोट झै हुन् । चाहेर नचाहेर हामी अरु कसैको जीवनमा फूटनोट झै उपस्थित छौ र आफ्नो जीवनमा सिँगो टेक्स्ट झै ।
यो फूटनोट झै लाग्ने दिनको ब्याख्या मात्र हो । ब्याख्या गर्नको लागि गरिएको ब्याख्या मात्र । यसलाई ब्याख्या नगर्दा पनि हुन्थ्यो । यसको उपस्थितिले केही अर्थ राख्दैन । जसरी हाम्रो मृत्यु र जन्मले राख्दैन । मलाई सधै बिना मतलब जन्मोत्सव मनाएको देख्दा अचम्म लाग्छ । फूटनोट झै लाग्ने जीवनलाई मानिस किन सिँगो टेक्स्ट सोच्छ ।
किनकिन लाग्छ आफ्नै जीवनको पनि फूटनोट बनिदिउँ । बिनाअर्थ बाचिँदिउ । के फूलले उसको जीवनको अर्थ खोजको छ ? के घामले खोजको छ ? के उनीहरु झै हामी पनि जीउँदा हुँदँैन ? कहिलेकाही लाग्छ उनीहरु झै बाचिदउँ । र उनीहरु झै बिदा भैदिउँ । किन अर्थ खोजूँ । अर्थ खोजेर के नै हुने बाला छ र ? के बाचेको नाउँमा बाँचिदिँदा हुँदैन र ? यस्तै सोचिरहेछु फूटनोट, बादल जीवन ।
साचैँ भन्दा यस्तै यस्तै सोच्नु म हुनु हो । सायद यस्तै यस्तै लेख्नु नै बाच्नु हो । किन लेखेको पनि थाहा छैन । किन बाचेको पनि थाहा छैन । तर सोचिबस्छु । र जे सोच्छु त्यही लेखिदिन्छु । लेख्न मनपर्छ त्यसैले लेख्छु । लेखिबस्ने कारण साच्दिन । सोचिबस्ने पनि कारण साच्दिन ।
सायद यसै यसै जीवन सक्किनेछ । कुनै दिन कथा झै अथवा कथा नभैकन संसारबाट बिदा लिने छु । बिनाअर्थ बिदा लिने यो संसारबाट किन अर्थ खाजिराख्नु । म फूटनोट हो र हुन पनि चाहन्छुु । किनारामै बस्न चाहन्छु । मलाई केन्द्रले पोल्छ । मलाई केन्द्रको मानिस हुनु पनि छैन । मेरा सपनाहरु बेअर्थका छन् । म बेअर्थमै अर्थ खोज्न चाहन्छु.........................................................................................
No comments:
Post a Comment