“यो अंकको कथा होइन । तर मानिस पनि त अंक नै हो । के मानिसलाई अंक मान्दिँदा हुन्छ ? वा भनिदँदा हुन्छ तिमी अंक होइनौ अरु केही हौ ।” उ भन्छ– “मानिस कथा हो । मात्र कथा । एक मानिस एक कथा”
उ सपनामा यस्तै यस्तै भन्छ । म सपनाबाट बिउँझन्छु । सोच्छु मानिस कथा हो वा अंक हो । वा केही होइन । उसले दिएका मानिस र जीवनका प्रतिकहरु बारे म किन सोचौ । तर उ सपनामा आइरहन्छ र यस्तै कुरा गर्छ । उ सपनामा किन आउँछ र किन यस्ता कुरा गर्छ । कयौ पटक सपनामै उसले मलाई तर्साएको पनि छ । म उ देखी डराएकी पनि छु । उ सपनाको मानिस हो । म यस्ता कुरा गने मानिस बिपनामा भेट्दिन । बिपनामा भेटौ भेटौ भन्ने नलागेको पनि होइन । तर भेट्दिन । दुखी छु उ सपनामा मात्र आउँछ ।
आज दिनभर घाम लागेन । कामबाट फर्के । लाग्यो बिना घामको दिनलाई साथ दिनु भन्दा बिना सिमानाको सपनालाई साथ दिउँ । आज दिउसै सपनामा उ आयो र यस्तै यस्तो कुरा गर्यो । किन किन आज मलाई सपनामानै लाग्यो किन तिमी बिपनामा आउँदैनौ । मैले उसलाई बिपनामा आउँन आग्रह गरेँ । उसले मेरो आग्रहलाई नकार्यो र भन्यो “एक सपना एक मानिस, म सपनाको मानिस हुँ “ । यति भनिसकेपछि म बिउँझे तर उ मसँग थिएन । उ त सपनाको मानिस थियो । उ सपनाबाटै बिदा भयो ।
फेरी सोचे किन उ सपनामा मात्र आउँछ र यस्तै यस्तै कुरा गर्छ । किन म बिपनामा उ झै अरु भेट्दिन । तर सोचिबस्छु किन उ सपनामा आउँछ भनि । सायद उसले भनेको ठिकै हो । उ कथा हो । उ कथाकै स्वरुपमा आउँछ र कथाकै स्वरुपमा बिदा हुन्छ । तर बिपना किन सपना झै हुँदैन । म उसलाई बिपनामा नभेटेको मा दुखी छु । दुखी भन्दा बढी बेखुस छु ।
प्रिय सपनाको मानिस,
सपनामा मात्र होइन बिपनामा पनि तिम्रो पर्खाइमा छु । सायद पर्खनु मेरो नियती हो । सायद पर्खाउँनु तिम्रो नियती हो । हुनसक्छ पर्खाउँनु पर्खिनु हामी दुबैको नियती हो । तिमीझै अरु कोही बिपनामा नभेटेकोमा दुखी छु । तिमीलाई सपनामा भेटेकोमा खुसी छु । म जीवनलाई अंक मान्छु । तिमी जीवनलाई कथा मान्छौ । थाहा छैन कुनै दिन मेरो अंक र तिम्रो कथा जोडिनेछ र हामी एक कथा बन्नेछौ कि छैनौँ । म अंकको पर्खाइमा छु । हुनसक्छ तिमी कथाको पर्खाइमा छौ । तर म तिम्रो जीवनको कथा बन्न चाहन्न । म त अंक बनेर जोडिन चाहन्छु ।
नोट टु बि नोटेड्– यो कथा पनि होइन । उ सपनामा आएको पनि होइन । तर लेखिका चाहन्छीन उ सपनामा आओस् । लेखिका त उ बिपनामा आएको पनि देख्न चाहन्छीन् । यो लेखिकाको आफैँभित्रको मनोभाव मात्र हो । न जीवन अंक हो । न जीवन कथा हो ..............
No comments:
Post a Comment