Saturday, March 1, 2025

प्रिय फागुन,

 

यो सम्बोधनहरु बिचको सम्बोधन मात्र हो । म तिमीलाई अप्रिय पनि भन्न सक्थेँ तर भनिन । मलाई हुरी र बतासहरु कथा र सिनेमामा मात्र मन पर्छ । तिमीसँगै भित्रने बतासलाई म आज पनि अपनाउँन सक्दिन । यो अस्विकृतिलाई तिमीले स्विकानैर्छ ौ भन्ने मलाई लाग्छ । हुन त स्विकृती र अपनत्वबिना बाच्नु के हो मलाई थाहा छ । तर माघ सक्किने बेला हरेक बर्ष मलाई लाग्ने गर्छ तिमी नआइकन चैत आओस् वा बैशाख नै आइदियोस् ।

यो कठोर महिनाको कोमल दिन हो । दिनभर हुरी चल्यो तर घाम पनि लाग्यो । बतासले घामलाई लखेट्न सकेन । सायद साँझपख पानी पर्नेछ । पानीका थोपाहरु सुकेका सुख्खामाटाका डल्लाहरुमा पर्नेछन् र अनौठो बास्ना छाउनेछ् । हो म यहि पर्खाइमा छु । मलाई माटोको बास्ना सुघ्नु छ । मलाई फेरी माटोझै भएर धुमिलिनु छ र आफ्नै लयमा सग्लिनु पनि छ ।

आज म कथा लेख्न चाहन्थेँ कसको बारेमा तिम्रो बारेमा । तर के तिमी बारे लेख्दैमा तिमी मेरो प्रिय बन्नेछौ..... कदापी बन्ने छैनौ । तिमीसँगै उडेका म भित्रका केही स्थिरताहरु म आज पनि बोटल्न खोज्छु । तर सक्दिन । तिमीले उजाडेको सिँगो म फेरी कहिल्यै सिँगो हुनेवाला छैन । हरेक फागुनले मलाई फेरी अर्को पटक त्यही बिष्मृतिमा लग्छ जहाँ म कहिल्यै फर्कन चाहन्न । जहाँ म कहिल्यै पुग्न पनि चाहन्न तर प्रत्येक वर्ष पुग्ने गर्छु । 

तिमी बारे लेख्छु पनि मेट्छु पनि । कहिले मेट्छु अनि फेरी लेख्छु । तर प्रत्येक पटक बिम्बमा लेख्छु । कसैले नबुझुन् झै लेख्छु तर यदाकदा बुझुन भन्ने पनि लाग्छ । कहिलेकाही लाग्छ म मेरो भावनाको सबैभन्दा खराब अनुवादक हो । म चाहेर पनि म मेरा भावनालाई निष्बस्त्र नाङ्गै प्रस्तुत गर्न सक्दिन । म काँतर छु । कठोरतासित म कोमल भएर प्रस्तुत हुन्छ । हुरी बतासहरुलाई पनि केही सिँगारेर प्रस्तुत गर्छु । भावनाहरु नाङ्गा हुन्छन् तर यदाकदा तिनलाई पनि कोमल बिम्बमा प्रस्तुत गर्छु । सायद शब्दमा प्रस्तुत गर्दा पनि म आफू कम र शब्दहरुको लालित्यता बढी हुन्छ ।

यो तिमीलाई लेखेको अस्विकृती पत्र हो । म तिमीलाई स्विकार्न चाहन्न । मलाई तिमीसँगै भित्रने बतास, हुरी र असिनासँग डर लाग्छ । तर यो पढिरहँदा तिमीलाई प्रेम पत्रझै पनि लाग्न सक्छ । मैले पनि आजसम्म सबैभन्दा सुन्दर पत्रहरु अस्विकृति पत्र नै पाएकी छु । स्विकृती दिन सजिलो छ, प्रेम गर्न सजिलो छ तर प्रेमपूर्वक अस्विकृती ब्यक्त गर्न गाह्रो छ । सायद म त्यही गर्दै छु । म तिमीलाई जीवनबाट टाढा पठाउँन चाहन्छु तर प्रेमपूर्वक । सायद म घृणालाई प्रेममा ब्यक्त गर्न खोज्दै छु । 

प्रिय फागुन, फेरी पनि मेरो अस्विकृती पत्रलाई प्रेम पूर्वक स्विकार । चाहेर नचाहेर तिमीले जे दियौ त्यो मलाई स्विकार्य थिएन । म त यदाकदा आफैँलाई पनि स्विकार्दीन तिमीलाई त परको कुरा । म फेरी सिँगो हुन चाहन्छु । आफैँसँग जुध्न चाहन्छु । आफैँलाई भेट्न चाहन्छु । नदी र हिमालझै अग्लिन र डुब्न दुबै चाहन्छु । तिमी आएपछि मैले बिर्सेकी छु म त नदीकिनाराकी हुँ । मेरा डोबहरु क्षणिक हुन्  । मेरा पाइलाहरु, मेरा दुखसुख, मेरा पाइलाहरु सबैसबै निमेशभरका हुन् भनेर । म चाहन्न म टुक्रिएर बनेका चोइटाहरुले मलाई नै बिझाउँन । म त बाफ झै उड्न र नदी झै बग्न चाहन्छु । तर मलाई तिमीसँगै भित्रने बताससँग डर लाग्छ । के तिमी मलाई बर्षात् मात्र दिन सक्दैनौ ?

No comments:

Post a Comment

नेपथ्य

यो नेपथ्यको आवाज हो । जसलाई यो मेरो आवाज हो भनेर भन्नु छैन । अथवा भनेर पनि नभनेझै गर्नुछ । अथवा दावी गर्नु छैन । बाचेर पनि नबाचेझै गर्नु छ...