Saturday, March 15, 2025

आकाश माथिको आकाश

 

घाम लागेको छ । आकाश खुल्ला छ । निलो आकाश नदेखेको धेरै भएको थियो । झ्यालबाट आकाश प्रष्ट देखिएको छ । सानोमा लाग्ने गथ्यो हाम्ले देख्ने आकाश माथि पनि अर्को आकाश छ । जहाँ जुन, तारा र भगवानहरु बस्छन् । हामी पनि त्यही आकाशबाट धरतीमा झरेका हौँ । अब त्यो त लाग्दैन र पनि आकाश माथिको आकाशमा कहि कतै बिश्वास लाग्छ ।

सायद बिश्वास यस्तै यस्तै कुरामा अडिएको हुन्छ । आज पनि संसारमा रहेका केही अद्भूत चिजहरु यस्तै पो हुन् कि भन्ने लाग्छ । सायद आकाश माथिको आकाश त्यो बिम्ब हो जसमा आज पनि म केही थान सपनाहरु सजाएर राख्छु । कहिलेकाही लाग्छ कल्पना नै नगरेका चिजहरु हुनु आकाश माथिको आकाश जस्तै हो । जो होइन वा छैन भन्ने पनि थाहा छ तर यदाकदा लाग्छ कतै छ कि ?

यो घमाइलो दिनमा बिश्वासको कुरा गर्दै छु । मन चंगा छ । पढ्ने लेख्ने जागर पनि छ । खुल्ला आकाश र फूलेका फूलहरुले अझ जीवनमा बहार थपेका छन् । आफैँ सँग खुसी छु । यस्तो अनुभूती सधै रहदैन दशकौमा एकपटका हुनेगर्छ । थाहा छ यो क्षणिक हो । तथापी यही क्षणिकतामा रमाउँदैछु ।  कहिलेकाही लाग्छ जीवन भनेको एक खाले यूफोरीया मात्र हो । संसारमा खुसीहरु छोटा हुन्छन् । यही छोटोपनलाई लामो र दिर्घकालिन सम्झेर हिड्र्नु राम्रो हो । 

यो बसन्तको मौसम हो । बसन्तले दिएको खुसी गृष्मले दिन सक्दैन । त्यसैले रमाउँन खोज्दैछु । वा रमाएको पनि छु । जे भन्दा पनि हुन्छ । खुसीहरुलाई समातेर राख्न सकिँदैन यी त बाफ झै हल्का हुन्छन् एकैछिनमा बिलाउँछन् । छोप्न चाहेको पनि होइन । तर यदाकदा लाग्छ यसलाई समातेर बसुँ । जान नदिउँ । तर पनि दुखको स्वागत नगरी बस्न सकिँदैन । जीवनमा जे पाइन्छ वा सिकिन्छ त्यो दुखले सिकाउँछ । दुखले सघर्ष सिकाउँछ । बाच्न सिकाउँछ । लड्न सिकाउँछ । आफ्नो बाटोमा हिड्न सिकाउँछ । सायद दुख बढी र कम सुखको संयोग हो जीवन । दुख ले जे दिन्छ त्यो सुखले कहिल्यै दिन सक्दैन ।

लेख्न पनि म प्राय दुखी भएकै बेला लेख्ने गर्छु । यदाकदाका अपवाद बाहेक । तर पनि खुसीको खोजी सधैँ रहन्छ । त्यसैले लेख्छु । त्यसैले पढ्छु । त्यसैले बिनामतलब बरालिन्छु । 

आज लेख्न चाहेको यो कुरा होइन । तर लेखेँ त्यसमा कुनै गुनासो पनि छैन । आज आकाश बारे कुरा गर्न चाहन्थेँ । सायद आकाश खुल्लापनको बिम्ब हो जसले हामीलाई संसारको बृहत्तता बारे बोल्छ । हाम्रा सपनाहरुका,े हाम्रा यात्राहरुको असिमितता बारे बोलिन्छ । त्यसैले हामी सजिलै भनिदिन्छौ आकाशको कुनै सिमाना हुँदैन । यो कसैको पनि होइन र सबैको पनि हो । यसले जीवनका पावन्धिहरुलाई तोडिन्छ । के हो, के होइनको परिभाषालाई पूर्नब्याख्या गरिदिन्छ । हुन त मैले चाहेको जीवन र आकाशको परिभाषा यहि हो । जहाँ बाधिएको महसुस नहोस् । तर त्यो मैले कल्पना गरको स्वस्न संसार हो । जुन जीवनको यर्थाथलाई नियाल्दा असम्भव छ ।

यो खुल्ला आकाशलाई साक्षि राखेर गरिएको जीवनबारेको उन्मूक्त ब्याख्या हो । यस समय मेरा औलाहरु कुनै सिमानाभित्र अटाएका छैनन् । यो एक अर्थमा आकाशमय लेखाइ हो । यसमा मैले कुनै संरचनात्मक विचारका पावन्धिहरु राखेकी छैनन् । लेखिकाले जे सोचि त्यही लेखी ..............................

No comments:

Post a Comment

अन्तिम दिन

बर्षहरु चाडै बिदा लिन्छन् । तर दिनहरु बाकी रहन्छन् । थाहा छैन कुनै दिन दिनहरु सिद्घिए भने के रहनेछ ? घाम उदाउँने छ वा छैन । आकाश रहने छ वा...