प्रिय ओसन वोङ, कुनै दिन, केही बर्ष अघि, अनायासै किताब पसलमा तिमीलाई भेटेँ । तिमीले सजिलै भनिदियौ यो संसारमा हाम्रो उपस्थिती आंशिक रुपमा मात्र सुन्दर छ । त्यो अध्यारोको कथा थियो । भियतनाम यूद्घ चलिरहेकको समयमा आफ्नो बाआमाले बनाइदिएको लोग्नेलाई छोडेर आफ्नो प्रेमी रोजेकी तिम्री हजुरआमाले नजन्मिदै तिम्रा लागि नयाँ बाटो रोजिदिएकी थिइन । आज तिमीले गर्ने अस्तित्वको प्रश्न, सायद उनले नै तिमीलाई सिकाएकी थिइन् । सिकाउँने तिम्री हजुरआमाले सायद अरु धेरै मानिसहरुझै अस्तित्वको प्रश्न नगरी बिदा भैन । हुन त उनी छोरी मान्छे थिइन उनलाई अस्तित्वको प्रश्न गर्न कसले पो सिकायो र? तर उनको नातीलाई उनले सिकाइन् । तिमीले बाचेको आंशिक सुन्दर जीवनको प्रतिबिम्ब उनले दिएको क्षितिजको मैदान हो ।
प्रिय ओसन, एक भियतनामीको अंग्रेजी लेखाइले संसारलाई अचम्मीत बनाउँनु सानो कुरा होइन । एक अपठित आमाले शब्दको जादुगरलाई हुर्काउनु पनि सानो कुरा होइन । किताबमा तिमी आमालाई चिठी लेख्छौ र सजिलै भनिदिन्छौ म तिम्रो भावना र बिचारको अंग्रेजी अनुवादक हुँ । थाहा छैन कहिल्यै अक्षर नचिनेकी तिम्री आमाले तिम्रा अंग्रेजीका वाक्यहरुलाई कसरी लिइन र कसरी बुझिन् । कहिलेकाही लाग्छ संसार स्वार्थि छ । सबैभन्दा सुन्दर चिजहरु सबैभन्दा कठिन माध्यमबाट जन्मिन्छन् । जसको लागि तिम्ले किताब लेख्यौ उनले नै पढ्न र बुझ्न सक्दिनन् त्यो दूर्भाग्य हो । सायद जीवन दूर्भाग्यहरुकै संयोग हो ।
तिमीले अर्को पुस्तकमा भनिदियौ आमा भनेको समय हो । आमा नरहेपछि समय पनि बिस्तारै ओझेल पर्दै जान्छ । सायद तिमीले तिम्रो आमा र हजुरआमाले दिएको इतिहासलाई सम्मान गरेका थियौ । सायद आमाको त्यही सम्मानले तिम्रा शब्दहरु ममतामयी कोमल बनेका थिए । तर तिम्रा पात्रहरु निर्दा छन् । पुस्तकमा आफैँलाई तिमीले किन लिटल डग भनेर सम्बोधन गर्यौ । तिमीले आफूले आफैँलाई दिएको झिनो बिम्बले यदाकदा मलाई दुखी बनाउँछ । म आफैँ पनि सुस्मताको बिम्बमा कयौ बर्ष बाचेँ । म अरुको लागि मात्र होइन आफ्नै लागि पनि सानो मानिस थिएँ । मलाई सानो बिम्बमा आफू हेर्ने आफैँजस्ता लाग्छ । जसरी म आफूलाई सानो र बिनानामको बिम्बमा देख्न चाहन्न त्यसरीनै तिमीलाई पनि चाहन्न ।
यो एक पाठकले एक लेखकको लागि वा भनौ एक पात्रको लागि गरिएको कामना हो । जसरी तिमीले आफ्नो आमा माझ फेरी पुग्नको लागि लेख्ने गछौ वा अपठित आमाको अस्तित्व चिनाउँन म पनि आफ्नो अस्तित्वलाई आफैँले स्विकार्न लेखिरहेछु । कहिलेकाही लाग्छ फरक त हामीले बाचेको भूगोल मात्र हो कथाहरु त साझा हुन् । यूद्घका डोबहरुले जसरी तिमीलाई शब्दमा बोल्ने बनायो त्यो पनि आंशिक सत्य हो । सायद तिमी लेख्नकै लागि जन्मिएका थियौ । अथवा शब्दहरुको लय तिम्रो भागमा भागमा पर्यो । वा तिमीले त्यही रोज्यौ ।
प्रिय वोसन, तिमी लिटल थिएनौ र होइनौ । तिमी त शब्दका जादुगर हौ जसले लेख्न लागि मात्र लेखेन । यो परको भूगोलबाट तिमीलाई सम्झिराख्नको लागि धेरै कुरा छन् । म सम्झिन्छु र सम्झिरहनेछु ।
यो चिठीको पहिलो अंक थियो । म यसलाई च्यात्न चाहन्थे । तर च्यातिन किनकी म लेखक बनेँ । म मेरो परिवारको कलेज पुग्ने पहिलो ब्यक्ति थिएँ । तर यो सबैले केही अर्थ राख्दैन । मलाई थाहा छैन म कसरी लेखक बनेँ, कसरी म कहिल्यै कसैले नभनेका सबै कुरा भन्न सक्ने भएँ ।
वोसन वोङ
No comments:
Post a Comment