Thursday, October 26, 2023

यो कुनै आकाश होइन

 'यो कुनै आकाश होइन। चाहेर पनि तिमीले अनन्त शान्त खुल्ला मैदान भेट्ने छैनौ। ताराहरू र ताराहरू बेगरका शान्त अँध्यारा रातहरू केवल एक कल्पना हो। तिमी अन्धकारमा चाहेर पनि शान्ती भेट्ने छैनौ। हामी बन्धनमा छौ। र हाम्रा आफ्नै बन्धनहरू छन्। हामी असीमित बन्धनहरूले सीमित छौ। मानिस केवल सीमितताको पर्याय हो, असीमितता त केवल एक भ्रम हो।'

ऊ एक फोटोग्राफर हो, ऊ आफ्ना फोटोहरूमा लामा-लामा क्याप्सन लेख्ने गर्छ। मलाई उसका फोटाहरूभन्दा उसले लेखेका क्याप्सन मनपर्छ। माथिका अक्षरहरू उसको रात्रीकालीन फोटोको एक क्याप्सन हो।

उसका फोटाहरूमा म बिरलै उज्याला दिनहरू भेट्छु। किन ऊ अँध्यारोलाई यति धेरै प्रेम गर्छ, मलाई थाहा छैन। मेरो नाम सन्ध्या भए पनि मलाई उज्याला दिनहरू मनपर्छ। तर किन-किन मलाई ऊ पनि मनपर्छ र उसले लेख्ने क्याप्सनहरू पनि। उसका क्याप्सन झैँ ऊ अनौठो छैन। उसलाई देख्दा मलाई कहिल्यै लाग्दैन ऊ कुनै फोटोग्राफर हो र ऊ यति सुन्दर क्याप्सन लेख्छ।

मैले उसलाई कुनै फोटोग्राफरको रुपमा चिनेको पनि होइन। उसले मलाई मेरा फोटाहरू कस्तो लाग्छ भनेर सोध्दा पनि सोध्दैन। म उसलाई 'गोपी' भन्छु, नाम गोपाल भए पनि। ऊ मलाई सन्ध्या नै भन्छ। ऊ मेरो डेरावाला छिमेकी हो। जब म ग्वार्कोबाट चाबहिल बस्न पुगेँ ऊ अनायासै मेरो छिमेकी बन्न पुग्यो। यदाकदा चाबहिलको गणेस्थान वरपर क्यामरा बोकेको देखेपछि मात्र मलाई ऊ फोटोग्राफर हो भन्ने थाहा भएको हो।

मैले उसलाई खासै कोठामा देख्दैन थिएँ। एकदिन क्यामरासहित देखेपछि प्वाक्क सोधेकी थिएँ, 'तिमी फोटो पनि खिच्छौ हो?'

उसले हाँस्दै 'हो' भनेको थियो। म फोटोप्रति त्यति धेरै जिज्ञासु नभएको कारण मैले थप केही भनिनँ। एकदिन अचानक केही कारणबस उसको कोठामा छिर्दा बल्ल थाहा पाएँ कि ऊ कुनै मामुली फोटोग्राफर होइन रहेछ, ऊ सुन्दर क्याप्सन लेख्ने लेखकीय फोटोग्राफर रहेछ।



त्यसपछि भने म ऊ बारे जिज्ञासु भएकी हुँ। उसका प्रत्येक फोटाको क्याप्सनले मलाई अनौठो महसुस गराउँछ। मैले अहिलेसम्म यति लामो र सुन्दर क्याप्सन लेख्ने फाटोग्राफर भेटेकी छैन। त्यसैले पनि ऊ मलाई चाखलाग्दो लाग्छ। उसका प्रत्येक फोटो तल लामा-लामा क्याप्सन हुनेगर्छ जसले मलाई क्याप्सन सुन्दर कि फोटो भन्ने कुरामा सधैँ झुक्याउँछ।

यदाकदा 'किन तिमी यति लामा क्याप्सन लेख्छौ?' भन्दा ऊ सधैँ भन्छ, 'कलाले दिने परिणाम सधैँ एकोहोरो हुँदैन, म एक माध्यमले मात्र आफ्ना कुरा भन्न सक्दिनँ, यो मेरो कमजोरी हो सन्ध्या।'



मलाई किन-किन उसले प्रयोग गर्ने दुई माध्यम उसको कमजोरी हो जस्तो कहिल्यै लाग्दैन।

ऊ शान्त देखिन्छ। ऊ भित्रको हलचल मैले उसको अनुहारमा कहिल्यै देखेको छैन। ऊ सामान्य लाग्छ। अधिकांश फोटोग्राफरजस्तो लाग्ने उसमा केही त्यस्ता संकेतहरू छैनन्। ऊ रातमा कैद गरेका दृष्यहरूमा अनौठा क्याप्सन लेख्छ।

'अँध्यारामा दूरीहरू देखिँदैनन्। देखिन्छन् त केवल क्षितिज नाघेर आएका प्रकाशका कथाहरू। देख्नेहरूले त केवल नाघिआएका प्रकाशहरू मात्र देख्छन्। नाघ्नेहरूको सिंगो संसार कहीँकति तिनै दूरीहरूमा अड्किरहन्छ। र बन्छ एक अकल्पनीय अँध्यारो नजिर।'

रातमा परबाट आएको प्रकाशलाई उसले कैद गरेको यो पछिल्लो फोटोको क्याप्सन हो। जसले मलाई फेरि अर्कोपटक उथलपुथल बनाएको छ। तर ऊ शान्त लाग्छ। ऊ आफ्नै क्यामराका कामहरूमा मग्न हुन्छ।

म भन्छु, 'थाहा छ गोपी, तिमी जति सरल देखिन्छौ त्यति नै तिम्रा क्याप्सनहरू मलाई सरल लाग्दैनन्। मलाई थाहा छैन तिमी कसरी र किन फोटोग्राफर बन्न पुग्यौ तर तिम्रो सरलता भित्र लुकेको यो अनौठोपनले यदाकदा मलाई अचम्मित बनाउँछ।'

उसले केही प्रतिक्रिया दिँदैन र भन्छ, 'आज पनि म राति फोटो खिच्न जाँदैछु, राति फोन गर्छु गेट खोल्देऊ ल।'

म 'हुन्छ' भन्छु र ऊ सरासर आफ्नो बाटो लाग्छ।  

राति एक बज्दै गर्दा उसको फोन रिङले मलाई बिउँझाउँछ।

'ए तिमी आयौ?' भनेपछि 'अँ' भन्दै ऊ आफ्नो कोठाभित्र छिर्छ।

मलाई लागेको थियो उसले त्यस दिन कैद गरेका दृश्यहरूबारे केही भन्छ। भोलिपल्ट कतिबेला उसले कोठाको ढोका खोल्छ र म उसका फोटाहरू र क्पापसन पढ्न पाउँछु भनेर म हतारिन्छु। तर १२ बजिसक्दा पनि ऊ ढोका खोल्दैन।

बिरामी पो भएको छ कि भनेर ढोका ढकढकाउँदा थाहा पाउँछु ऊ बिउँझिसकेको रहेछ। 'तिमी किन अहिलेसम्म बाहिर ननिस्केको?' भन्दा ऊ त्यसै भनेर फेरि ढोका लगाउँछ।

यी यस्तै उसका बानीहरूले मलाई ऊ बारे निराश बनाउँछ। म चाहेर पनि ऊसँग नजिकिन सक्दिनँ। उसका फोटाहरू हेर्न र क्पाप्सन पढ्न पनि मैले धेरै नै कष्ट गर्नुपर्ने हुन्छ। किन-किन अघिल्लो रात उसले खिचेका फोटाहरूभन्दा मलाई उसका फोटाका क्पाप्सनहरू पढ्न हतार हुन्छ।

त्यस दिन पनि करिब चार बजेतिर हतारिँदै 'के छ गोपी? हिजोको फोटो देखाउन' भन्दै म उसको कोठाभित्र छिर्छु। ऊ डेक्सटपमा फोटोहरूमा क्पापसन लेख्दै रहेछ। रातको समयमा नदीमा बग्दै गरेका छालहरूलाई कैद गरेको फोटो तल ऊ लेख्छ,

'बगेर जानेहरूको कथा सायद यात्राको कथा हो। तर नबगेका हलचलबारे किन कोही बोल्दैन? चाहेर पनि बग्न नसक्नु कम पीडादायक हुँदैन। यात्राझैँ तरलता र बगाइका कथा मात्र किन मान्छे लेख्छ? यो अनौठो विस्मयको कथानक हो। चाहेर पनि यात्रा गर्न नसकेको अयात्राको कथा। आफ्नै परिधिमा कष्टपद लोप हुन पर्ने किल्लाको कथा। यो नदीहरूमा हराएका छालहरूको कथा हो।'

उसको क्याप्सनले फेरि अर्कोपटक मलाई हुरुक्क बनाउँछ। म भन्छु, 'कसरी तिमी यति सुन्दर क्याप्सन लेख्छौ गोपी?'

ऊ हाँस्छ र विस्तारै 'मलाई थाहा छैन सन्ध्या, सायद म दृष्यहरूमा बग्छु, भावनामा जस्तै।'

मैले सोधेका प्रश्नहरूमा उसका उत्तरहरू जहिले छोटा हुन्छन्। म चाहेर पनि अरु थप केही भन्न सक्दिनँ।

आज किन-किन म उसलाई केही प्रश्न सोध्ने मूडमा छु तर किन-किन सोध्न सक्दिनँ। उसले किबोर्डमा चलाएका अक्षरहरूमा मेरा आँखा पर्न जान्छन्। ऊ लेख्छ,

'यो सन्ध्याको उज्यालो हो, उज्यालोका आफ्नै परिभाषाभित्र पर्न नसकेको अँध्यारोको उज्यालो। यो जुनेनी रात होइन र पनि दिन झैँ उज्यालो छ। यो निराशामा फूलेको आशाको कथा हो। अँध्यारोको निमेशतालाई बुझेको यो उज्यालोको अर्को पाना हो। त्यस्तो पाना जहाँ बिना किरण फूल फुल्न सक्छ, घाम लाग्न साक्छ र मानिसहरू सदाझैँ प्रेमका गीतहरू गाउन सक्छन्।'

रातमा देखिएको चकमन्न जूनलाई कैद गरिएको उक्त फोटोको यो आशावादी क्याप्सन देखेर मलाई ऊ खुसी रहेछ कि भन्ने महसुस हुन्छ। म विस्तारै सोध्छु, 'के तिमी खुसी छौ हो आज?'

'किन?' ऊ भन्छ।

'किन-किन तिम्रो क्याप्सन पढ्दा यस्तै लाग्छ।'

केही प्रतिक्रिया नदिई ऊ भन्छ, 'अब म फोटो खिच्न जान्छु ल, म राति नआउन पनि सक्छु।'

म केही भन्दिनँ। ऊ क्यामरा बोकेर सरासर निस्कन्छ।

मलाई लाग्छ ऊ राति हिजोझैँ फर्कन्छ र म केही उसका बारे सोध्न सक्छु। तर आज रातिको दुई बझ्दासम्म पनि ऊ फर्केको छैन। म लामा-लामा क्याप्सन लेख्ने फोटोग्राफरको पर्खाइमा अत्तालिएकी छु। प्रश्न त मैले आफैलाई सोध्नुपर्ने भएको छ- किन म उसको पर्खाइमा उत्तालिदैँ छु?

बाहिर हेर्छु चकमन्न अँध्यारो छ। यस्तो लाग्छ, कसरी त्यो सरल देखिने गोपी यति असामान्य लाग्ने अँध्यारोमा फोटो खिच्दै हिँड्छ? किन ऊ रातदेखि डराउँदैन? थाहा छैन किन ऊ त्यस्तो गर्छ! तर मैले ऊ बारे सोचिरहनु आवश्यक छैन।

सोच्दासोच्दै म निदाएछु। बिहान ढोका खोलेर हेर्दा उसको कोठा बन्द नै छ। थाहा छैन ऊ आएपछि सन्धयाकालीन कस्ता दृष्यहरू र तीमाथि कोरिएका कस्ता अक्षरहरू बोकेर आउँछ। थाहा छैन फोटो र क्याप्सनमा अँध्यारो बोकी हिँड्न उसले उज्यालोलाई कसरी लिन्छ, प्रेमलाई कसरी लिन्छ?

म सोध्न चाहन्छु तर उसको र मेरो सम्बन्धको आकाश खुल्ला छ। म चाहन्न प्रश्न गरेर असीमितताको आकाशलाई सीमिततामा बदलुँ।

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...