कापीका एक साइडमा एक बिन्दु अर्को साइडमा अर्को बिन्दु रहेको छ । सायद उनीहरुलाई लाग्ला उनीहरु बिचको दुरी कहिल्यै मेटिदैन । दुई बिन्दु बिचको यो दुरी नै सायद हामी सबै बिचका दुरीहरु हुन् ।
यो घर छोड्ने दिन हो । घर छोड्ने रात म आफैले पार गरेका दुरीहरु सम्झन्छु । सायद हामी सबैसँग आफैले सोचिराखेका दुरीहरु रहन्छ । कहिलेकाही लाग्छ के मेट्दैमा मेटिन्छन् वा मेटेर पनि डोबझै बाकी रहन्छ दुरीहरु ।
यी पैतालाका दुरीहरु मात्र होइनन् । सायद यी चक्रझै चल्ने नियतीका दुरीहरु हुन् । पहिलेपहिले लाग्थ्यो घर छोड्दैमा छोडिन्छ र घर ? पैतलाको डोबसँगै बड्छन् र दुरीहरु ? तर समयसँगै लाग्न थाल्यो पैतलासँगै सबै चिज छुड्दो रहेछ । छुटेकालाई भेट्न नसकिँदो रहेछ । पार गरेको दुरीलाई फेरी फर्केर हेर्दा धमिलो डोबमात्र बाकी रहदो रहेछ ।
हामी आफैँ बिच पनि एक आफू र अर्को आफू बिच कोसौका दुरीहरु रहने रहेछन् । कहिलेकाही लाग्छ म भित्रका महरुले एकले अर्कालाई चिन्दैनन् । एक भन्छ जे गर्दैछस् राम्रो गर्दैछस् जीउँने यसरी नै हो । अर्को मन भन्छ यसरी जीवन चल्दैन । कहिलेकाही लाग्छ यी दुरीहरु कहिल्यै मेटिदैनन् । सायद समयसँगै बढ्नेछन् । जीउँने नाममा एकअर्कालाई नचिनेझै गर्नेछन् । देखे पनि नदेखेझै गर्नेछन् ।
कहिलेकाही लाग्छ पाना एक र अर्को कुनाका दुबै डटहरु म नै हुँ । जोडिन सक्ने पनि म नै हुँ । नजोडिन चाहेकी पनि म नै हुँ । यी बिरोधाभाषहरु बिच आफैँलाई खोज्दैछु । कहिले एउटा बिन्दु हावी भैदिन्छ कहिले अर्को बिन्दु । तर दुबै बिन्दुलाई लाग्छ एक अर्काको मिलन सम्भव छैन । अरुसँग त परको कुरा कहिलेकाही आफैँबिचका दुरीहरुले पनि पिरोल्छ ।
यीनै दुरीबिच आफैँलाई खोज्दैछु । चाहेर नचाहेर हामी यीनै स–साना बिन्दुहरु रहेछम् । जोसँग दुरीहरुका कथाहरु छन् । नमेटिएका यीनै दुरीहरुलाई साथ लिएर मानीसहरु दुरदुरको यात्रामा निस्कन्छन् । देशदेसावरको यात्रा बिच लाग्छ घर बिरानो भयो मानीसहरु बिराना भए । चरा र फूलहरु बिराना भए ? कहिलेकाही लाग्दैन आफ्नो आफू नै बिरानो भयो ?
No comments:
Post a Comment