Sunday, November 30, 2025

अन्तिम


यो पत्र हो । वा होइन पनि । तिम्लाई यो पत्र नलागेर अरु केही लाग्यो भने पनि ठिकै छ । यहि नै लाग्नुपर्छ भन्ने केही छैन । यो अन्तिम भनेर पनि यो अन्तिम नहुन सक्छ । अन्तिम नभनेको भए पनि यो अन्तिम हुन पनि सक्थ्यो । तर अन्तिमपटक धन्यवाद भन्न चाहन्छु । भेटियौ खुसी छु । भेटरे पनि भेटिएनौ त्यसमा पनि खुसी छु । 

महिनौ भयो पत्रझै केही लेख्न चाहन्थेँ । तर लेख्न खोज्दा हातहरु कामेँ । मैले लेख्न सकिन । लेख्छु भन्दैमा कहाँ लेख्न सकिन्छ र । आज पनि म चाहेको कुरा नलेख्न सक्नेछु । महिनौ पहिले लेखेकी थिएँ तिमी त्यस्तो कविता हौ जसलाई म लेख्न चाहन्छु । तर चाहेजस्तो कविता कहाँ लेख्न सकिन्छ र ? 

कहिलेकाही लाग्छ म पत्र लेख्न जन्मेकी होइन । मैले लेख्दैमा पढ्नैपर्छ भन्ने पनि त छैन । कयौ बर्ष अघि तिमीलाई झै अरु कसैलाई पनि लेखेकी थिएँ । उसले पनि कहाँ पढेको थियो र । नपढ्न तिमी पनि सक्नेछौ । तर लेख्नु म हुनु हो । सायद आफू हुनु सबैभन्दा सुन्दर कुरा हो । म आफैँलाई पनि सबैभन्दा सुन्दर लेखेकै बेला भेट्छु । सायद तिमी भेटिका हुँन्थ्यौ भने पनि म केही भन्ने थिइन । सायद म कवितामात्र लेख्ने थिएँ । सायद तिमी नभेटिएको गुनासो पनि म पत्रहरुमा मात्र लेख्नेछु ।

हिजो कुनै अन्जान सडकमा त्यसै टहलिए । सायद आफैँलाई खोज्दै । खोज्दैमा कहाँ भेदिन्छ र आफू पनि । गुनासो पनि कति गर्नु भनेर मैले हिजोबाट आफूलाई खोज्न पनि छोडिदिएँ । तिमीलाई पनि मैले आफैँलाई झै नै खोजको हुँ । कहिलेकाही लाग्छ नि अरु पनि आफू नै हो । कहिलेकाही अरु कसैको प्रतिबिम्ब पनि आफ्नो झै लाग्छ  नि । हो मलाई तिमी त्यस्तै केही लागेको थियो । त्यो भ्रम थियो । तर भ्रम त त्यो पनि थियो जसले तिमीलाई र मलाई बाधेको थियो । थिएन भने किन आफ्नो झै लाग्यो । किन घण्टौ घण्टा  निमेसभरको सेकेन्डझै भयो । अप्राप्ति पनि किन प्राप्तिझै लाग्यो । हुन त म हरेक भ्रमलाई भ्रम नठानेर हिड्ने मानिस हुँ । यर्थाथको गणित सधैँ कमजोर नै त थियो । यर्थाथमै बाचेको भए पनि म  कहि पुग्दैनथेँ । यर्थाथलाई नबुझ्नुमा कुनै गुनासो पनि रहनेछैन ।

हो शब्दहरुझै कहिलेकाही म पनि मौन भैदिन्छु । त्यो मौनताभित्र म कोलाहललाई बोकेर हिड्छु । केही दिन अघि त्यसै गरेँ । आज पनि सायद त्यही गर्नेछु । यूद्धभैm जीवन पनि कहाँ खोजेझै शान्त छ र । तिमी भेटियौ । तिमी भेटिएनौ पनि । भेटिएपछि म भेटिएको होइन पनि भन्यौ । र भेट्नै नचाहेको मलाई भेटाउँन कोसिस पनि गर्यौ । सायद तिमी भित्रको यर्थाथ यति जगडिएको थियो कि तिमीले नजिकैको भ्रम भनिरहेको यर्थाथलाई पनि देख्न सकेनौ । वा तिमीले देख्न चाहेनौ । 

  कहिलेकाही जब सडकछेउ बेच्न राखेका लामबद्ध बार्बि डलहरु देख्छु यस्तो लाग्छ नबेचेर बाकि रहेको सुन्दर बार्बिडल मनै हुँ । तिमीलाई पनि थाहा होला सबै बाकि रहेका तिजहरु कसमल होइनन् । म पनि सायद थिइन र होइन । तथापी कुरुप त समयले बनायो । भ्रमले बनायो । यी अक्षर बनेर लेखिए पनि । यस भित्र पिडा मात्र छ । हुनसक्छ यो पिडा पनि तिमीलाई भ्रम मात्र लाग्न सक्छ । यो डेलुलुको संसार हो । यो भ्रमित संसार हो । म भ्रममा छु भन्दा म भित्र कुनै लज्जाबोध छैन ।

आज अक्षरहरु पनि आँशु बनेर लेखिएका छन् । तर म यो पनि भन्न चाहन्न । तर भन्न पनि चाहन्छु । आशु झार्नु कुनै कमजोरी होइन । भावना ब्यक्त गर्नु पनि कुनै कमजोरी होइन  । यो पत्र लेख्नु पनि कमजोरी होइन । तिमीबाट केही आशा नगर्नु पनि केही कमजोरी होइन । आफैँलाई पर्खेर हेर्नु पनि कमजोरी होइन ।

हो कमजोरी नै कमजोरी बिच पनि म कमजोर थिइन र होइन । तिमी पनि कमजोर थिएनौ र होइन । यति हो मेरो सत्यलाई तिमीले सधैँ भ्रम ठान्यौ । जुन समयको भ्रम थियो त्यसलाई तिमीले सधैँ सत्य ठान्यौ । यो दुखेसो सधै छ र रहिरहनेछ ।

बर्षौ पछि फेरी तिमीले पढ्यौ भने वा मैले सम्झे भने यसले केही अर्थ राख्छ वा राख्दैन मलाई थाहा छैन । तर सत्य हो यो लेखाईले मलाई केही शान्ति दिएको छ ।

Saturday, November 29, 2025

पर्पल डायरी


दिन ओसिलो छ । सडकमा मानिसहरु दौडिँदैछन् । हिमाललाई बादलले ठाकेको छ । भर्खरै एक कप चिया भ्याएकी छु । साथमा बुवाले दिएको पर्पल डायरी छ । डायरीमा केवल तीन शब्दहरु छन् । “आजको लागि धन्यवाद । 

यो मेरो पहिलो डायरी होइन । आजसम्म मलाई कसैले उपहारस्वरुप डायरी दिएको पनि छैन । यो डायरी पनि खासमा बुवाले दिनुभएको होइन । यो उहाँको डायरी हो । जुन खाली थियो मलाई लाग्यो यसलाई मैले भर्नुपर्छ । आजबाट यो मेरो भएको छ । यो पर्पल डायरी , अब यो मेरो हो । हुन त मसँग डायरी लेख्नको डायरी कहिले नै थियो र । म त सधै नोटकपिलाई डायरी बनाएर लेख्ने गर्थे । ममिलाई लाग्थ्यो त्यो रफ कपि हो त्यसैले उहाँले कहिल्यै मेरो डायरी पढ्नुभएन । म बिना डायरी पनि म डायरी लेख्थे । कसैले मलाई किन लेखिस् वा लेख्दैगर भन्दैनथ्यो । तर मसँग लेख्ने स्वतन्त्रता थियो । तर आज पहिलोपटक डायरी लेख्नकै लागी भनेर मसँग डायरी छ । 

डायरी अगाडी मसँग काठको पुतली थियो । त्यो डायरी नभएर पनि त्यो मेरा लागि डायरी नै थियो । मलाई लाग्थ्यो उ मेरो साथी हो । जसलाई म बेप्रवाह जे पनि भन्न सक्थेँ । डायरी पनि मेरो साथी नै हो । डायरीलाई पनि म कसैलाई भन्न नमिल्ने कुरा भन्ने गर्छु । तर म नछुने भएपछि ममिलाई लाग्यो अब छोरी ठूली भै उसले डायरी खेल्न हुन्न । योनीमा देखापरेको रगतसँगै मैले आफ्नो प्रिय साथी जो मसँग बर्षौदेखी थियो त्यो डायरीलाई पनि गुमाएँ । पुतली गुमाएपछि मैले आफ्नो मनका कुरा भन्ने साथी खोजे । डायरी साथी बनेर आयो । तर अब म यो डायरीमा डायरी होइन कथा लेख्न चाहन्छु । त्यस्तो कथा जसले मलाई उड्ने स्वतन्त्रता दिनेछ । म कथासँगै उडेर वा भनौ बगेर कतै पर पुग्नेछु ।

हो म कथा लेख्न चाहन्छु । मलाई लाग्थ्यो कुनै दिन म आफ्ना कथाहरुसँगै  पर पुग्नेछु । पर पुगिसकेकी मलाई फेरी मेरा कथाहरुले डाक्नेछन् । म निमन्त्रणामा आउँनेछु । मेरा पात्रहरुले यदाकदा मलाई दुख पनि दिनेछन् । र पात्रहरु प्रति म धेरैनै सम्बेदनशील बन्नेछु । तर त्यस्तो केही भएन । म कहि पुगिन । कहिलेकाही पुगेझै लागेपनि फेरी फर्केर आएँ । आफैलाई पुरानो स्वरुपमा लान खोजेँ । आफैलाई कहि नपुगेकोमा गालि पनि दिएँ । तर म सधैँ कथा लेख्न चाहन्थेँ । डायरीमा मेरा कथाहरु नै थिएँ । पुतलीले पनि मेरा कथाहरु बोकेर कुनै दिन घरकै अगेनामा जलेको थियो । हो मैले थाहा पाएदेखी म कथानै लेख्न चाहन्थे । कथा बन्न नसकेका सबै सबै चिजहरु कथा नै थिए ।

हो कथा लेख्दा लेख्दै म आफैँलाई लेख्छु र आफैँलाई गाली पनि गर्छु । म अरुको भागको गालि पनि आफैँलाई दिन्छु कहिलेकाही । मेरा पात्रहरुले कहिल्यै गालि दिएका छैनन् । कहिलेकाही लाग्छ उनीहरु पनि म झै लेख्दा रहेछन् । म झै रुँदा रहेछन् । म झै सोच्दा रहेछन् । कहिलेकाही सोच्छु आफैँलाई लेख्नु कथा लेख्नु हो र ? होइन । होइन भने म किन लेखेझै गर्दैछु । र सधै सोचिरहन्छु म कथा नै लेख्दै छु । 

हुन त म कसैलाई गालि दिन चाहन्छु । तर मलाई म मेरा पात्रहरु झै गालि दिन सक्दिन । मलाई लाग्छ गल्ति मेरो थियो । किन गल्ति सधै आफ्नो मात्र थियो झै लाग्छ । मेरा डायरीमा ग्लानी मात्र छ । कुण्ठामात्र पनि हुनसक्छ । हुनसक्छ म आफैँलाई कुनै निद्रो मानिसझै प्रमाणित गर्न चाहन्छु । तर म निद्रो कहिल्यै थिइन । सानो हुनु निद्रो हुनु होइन । म त भिडमा पनि भाग्न सक्थेँ । तर मलाई लाग्यो मेरो निद्रोपननै म भित्रको कथा हो । मैले कथामा पनि, डायरीमा पनि, आफैँलाई छोड्न सकिन ।

के यो कथाझै केही हो ? होइन, होइन भने बषौबर्ष म किन लेखिरहेछु । त्यस्को मसँग कारण छैन । बस् म लेख्न चाहन्छु । म कथा लेख्न चाहन्छु । यो पर्पल डायरीमा पनि म कथा मात्र लेख्न चाहन्छु । तथापी यो कारणसहितको यात्रा होइन । मैले लेख्न खोजेका हरेक शब्दहरु एक प्रकारले मेरो मौनताको लेख्न स्वरुप हुन् । यी म भित्रका ठूला यूद्घहरु हुन् जसबाट म जित हार होइन मूक्ति चाहन्छु । तर थाहा छ म मूक्त पनि हुन सक्दिन । म  डायरी  भनेर कथा लेख्छु । कथा भनेर डायरी लेख्छु । जे होइन त्यो हुँ भनेर पनि लेखिदिन्छु । जे हुँ त्यो होइन भनेर पनि लेखिन्छ । मेरा डायरीमा नभएका सत्यहरु र मेरा कथाहरुमा नभएका कल्पनाहरु छन् । मलाई लाग्दैन मैले सत्य र असत्यको कुनै जाच दिनुपर्नेछ । हुनसक्छ मसँग पर्पल डायरी पनि छैन । मैले कहिल्यै डायरी पनि लेखिन । तर लेखेँ कथाझै केही जसको सत्यले मलाई बाध भनेन । जसभित्रको असत्यले मलाई पख भनेन । सत्य भन्दैमा पनि सबैकुरा सत्य हुन्छ र  । हुँदैन । मैले मेरा डायरीमा भन्दा बढी सत्य त मेरा कथाहरुमा लेखेकी छु । वा दुबैमा लेखेकी पनि हुनसक्छु ।

यो अकथाको निरन्रता हो । सबैले कथा लेख्छन् भन्ने छैन् । वास्तबमा मलाई धेरैलाई गालि दिनु थियो तर म गालि दिन सक्दिन । त्यसेले शब्दहरु बन्छन् । आज लेख्नु अर्कै थियो । मलाई कोही अरु बन्नु थियो । अरु केही लेख्नु थियो । तर चाहेझै हुन्छ भन्नेछ छ र ? मेरो डायरीको रंगझै मेरा अक्षरहरुले पनि प्रस्ट बोलदैनन् । म प्रस्टताको आशा पनि राख्दिन । तर सत्य यहि हो मसँग पर्पल डायरी छ । म कथाझै केही लेख्न चाहन्छु ।

म कथाझै लाग्ने परिकथाहरु लेख्न सक्दिन ।  म जीवनको त्यो मोडमा छैन जसले जीवनलाई सोचेझै भेट्यो । कयौ सुन्दरझै लाग्ने चिजहरु कुरुपझै बनेर टुङ्गिए । तर म आफैँ त्यसलाई कुरुप भन्न सकिन । सायद त्यो म भित्रको बिरोधाभाष थियो । अथवा म हरेक कथाहरुलाई  अकथा मान्ने गर्छु ।

कथालाई अकथा र अकथालाई कथाझै ठान्दैछु । तर पर जानु छ कहाँ थाहा छैन । कहिलेकाही लाग्छ आफैँले गरेको यात्रालाई बिर्सनु छ । र कुनै अर्कै स्वरुपमा रुपान्तरित हुनु छ । यो अकथा लेख्नेको कथा हो । अकथा लेख्नेहरु पनि अकथा नै हुन् । तर म कथा लेख्न चाहन्छु । म यो डायरीमा चाहेर पनि डायरी लेख्न सक्दिन म कथाहरुनै लेख्नेछु । सायद ति अकथा बनेर टुङ्गिनेछन् ।

Wednesday, November 19, 2025

यो कुनै आकाश होइन

 

“यो कुनै आकाश होइन । चाहेर पनि तिमीले अनन्त शान्त खुल्ला मैदान भेट्ने छैनौ । ताराहरु र ताराहर बेगरका शान्त अध्यारा रातहरु केवल एक कल्पना हो । तिमी अन्धकारमा चाहेर पनि शान्ती भेट्ने छैनौ । हामी बन्धनमा छौ । र हाम्रा आफ्नै बन्धनहरु छन् । हामी असिमित बन्धनहरुले सिमित छौ । मानिस केबल सिमितताको पर्याय हो, असिमितता  त केबल एक भ्रम हो ।” ऊ एक फोटोग्राफर हो , ऊ आफ्ना फोटोहरुमा लामा लामा क्याप्सन लेख्ने गर्छ । मलाई उसका फोटाहरु भन्दा उसले लेखेका क्याप्सन मनपर्छ । माथीका अहरफहरु उसको रात्रीकालीन फोटोको एक क्याप्सन हो । उ हरेक दिन यसरी नै फोटो खिच्छ ।  र यसरी नै  राम्रा राम्रा क्यापसन लेख्ने गर्छ । उसका क्यासनहरु उसले खिच्ने फोटाहरु भन्दा सुन्दर र गहिरा हुने गर्छन् । 

उसका फोटाहरुमा म बिरलै उज्याला दिनहरु भेट्छु । किन ऊ अध्यारोलाई यति धेरै प्रेम गर्छ मलाई थाहा छैन । मेरो नाम सन्ध्या भएपनि मलाई उज्याला दिनहरु मनपर्छ । तर किनकिन मलाई ऊ पनि मनपर्छ र उसले लेख्ने क्याप्सनहरु पनि ।  उसका क्याप्सन झै ऊ अनौठो छैन । उसलाई देख्दा मलाई कहिल्यै लाग्दैन ऊ कुनै फोटोग्राफर हो र ऊ यति सुन्दर क्याप्सन लेख्छ । उ देख्दा तपाई हामी जस्तै लाग्छ । बस् उ म जस्तो धेरै बोल्दैन ।

मैले उसलाई कुनै फोटोग्राफरको रुपमा चिनेको पनि होइन । उसले मलाई मेरा फोटाहरु कस्तो लाग्छ भनेर सोध्दा पनि सोध्दैन । र सोधेको पनि छैन । सोध्ला भन्ने पनि लाग्दैन । म उस्लाई “गोपी” भन्छु । तर उसको नाम गोपाल हो । ऊ मलाई सन्ध्या नै भन्छ । ऊ मेरो डेराबाला छिमेकी हो । जब म गोर्वाको बाट चावहिल बस्न पुगेँ ऊ अनायासै  मेरो छिमेकी बन्न पुग्यो । यदाकदा चावहिलको गणेस्थान वरपर क्यामरा बोकेको देखेपछि मात्र मलाई ऊ फोटोग्राफर हो भन्ने थाहा भएको हो ।

मैले उसलाई खासै कोठामा देख्दैनथेँ । एक दिन क्यामरासहित देखेपछि प्वाक्क सोधेकी थिएँ , “तिमी फोटो पनि खिच्छौ हो” उसले हास्दै हो भनेको थियो । म फोटोप्रति त्यतिधेरै जिज्ञासु नभएको कारण मैले थप केही भनिन । एक दिन अचानक केही कारणबस उसको कोठामा छिर्दा बल्ल थाहा पाएँ की ऊ कुनै मामुली फोटोग्राफर होइन रहेछ ऊ सुन्दर क्याप्सन लेख्ने लेखकीय फोटोग्राफर रहेछ । उसको क्यापसन देखेर म पहिलोपटक नै उसका शब्दहरुलाई प्रेम गर्न थालेँ ।

उसका प्रत्येक फोटाकोे क्याप्सनले मलाई अनौठो महसुस गराउँछ । मैले अहिलेसम्म यति लामो र सुन्दर क्याप्सन लेख्ने फाटोग्राफर भेटेकी  छैन त्यसैले पनि ऊ मलाई चाखलाग्दो लाग्छ । उसका प्रत्येक फोटो तल लामा लामा क्याप्सन हुनेगर्छ जसले मलाई क्याप्सन सुन्दर कि फोटो भन्ने कुरामा सधैँ झुक्याउँछ । यदाकदा किन तिमी यति लामा क्याप्सन लेख्छौ भन्दा ऊ सधै भन्छ, “ कलाले दिने परिणाम सधै एकोहोरो हुँदैन , म एकमाध्यमले मात्र आफ्ना कुरा भन्न सक्दिन । यो मेरो कमजोरी हो सन्ध्या ।” मलाई किन किन  उसले प्रयोग गर्ने दुई माध्यम उसको कमजोरी हो जस्तो कहिल्यै लाग्दैन ।

ऊ शान्त देखिन्छ । ऊ भित्रको हलचल मैले उसको अनुहारमा कहिल्यै देखेको छैन । ऊ सामान्य लाग्छ । बस् उ रातमा कैद गरेका दृष्यहरुमा अनौठा क्याप्सन लेख्छ । “ अध्यारामा दुरीहरु देखिँदैनन् । देखिन्छन् त केबल क्षितिज नाघेर आएका प्रकाशका कथाहरु । देख्नेहरुले त केबल नाघिआएका प्रकाशहरु मात्र देख्छन् । नाघ्नेहरुको सिंगो संसार कहि कति तिनै दुरीहरुमा अड्किरहन्छ । र बन्छ एक अकल्पनिय अध्यारो नजिर ।” रातमा परबाट आएको प्रकाशलाई उसले कैद गरेको यो पछिल्लो फोटोको क्याप्सन हो । जसले मलाई फेरी अर्कोपटक उथलपुथल बनाएको छ । तर ऊ शान्त लाग्छ । ऊ आफ्नै क्यामराका कामहरुमा मग्न हुन्छ । अर्को फोटोमा उ लेख्छ, “अध्यारोको छाँयामा उज्यालो पनि अध्यारो नै बन्छ । उज्यालो पनि कहाँ अध्यारो बिनाको छ र । म हरेक चम्किलो चिजमा नपत्याउँदो अन्धकार देख्छु ।”

म भन्छु “थाहा छ गोपी, तिमी जति सरल देखिन्छौ त्यति नै तिम्रा क्याप्सनहरु मलाई सरल लाग्दैनन् । मलाई थाहा छैन तिमी कसरी र किन फोटोग्राफर बन्न पुग्यौ ? तर तिम्रो सरलता भित्र लुकेको यो अनौठोपनले यदाकदा मलाई अचम्मित बनाउँछ” उसले केही प्रतिक्रिया दिँदैन र भन्छ, “ आज पनि म राती फोटो खिच्न जाँदैछु राती फोन गर्छु गेट खोल्देउ ल ।” म हुन्छ भन्छु र उ सरासर आफ्नो बाटो लाग्छ । 

  राती एक बज्दै गर्दा उसको फोन रिङले मलाई बिउँझाउँछ । , “ए तिमी आयौ भनेपछि , अँ भन्दै ऊ आफ्नो कोठाभित्र छिर्छ ।  मलाई लागेको थियो उसले त्यस दिन कैद गरेका दृश्यहरुबारे ऊ केही भन्छ । भोलीपल्ट कतिबेला उसले कोठाको ठोका खोल्छ  र म उसका फोटाहरु र क्पापसन पढ्न पाउँछु भनेर म हतारिन्छु । तर बा्रह बजीसक्दा पनि उ कोठा खोल्दैन । बिरामी पो भएको छ की भनेर, ठोका ठक्ठक्काउँदा थाहा पाउँछु ऊ बिउँझिसकेको रहेछ ।  “तिमी किन अहिलेसम्म बाहिर ननिस्केको भन्दा ऊ त्यसै भनेर फेरी ठोका लगाउँछ ।

यी यस्तै उसका बानीहरुले मलाई ऊ  बारे निराश बनाउँछ । म चाहेर पनि उसँग नजिकिन सक्दिन । उसका फोटाहरु हेर्न र क्पाप्सन पढ्न पनि मैले धेरै नै कष्ट गर्नुपर्ने हुन्छ । किनकिन अघिल्लो रात उसले खिचेका फोटाहरु भन्दा मलाई उसका फोटाका क्पाप्सनहरु पढ्न हतार हुन्छ ।  त्यस दिन पनि करिब चार बजेतिर हतारिदै के छ गोपी, हिजोको फोटो देखाउँन भन्दै म उसको कोठाभित्र छिर्छु । उ डेक्सटपमा फोटोहरुमा क्पापसन लेख्दै रहेछ । रातको समयमा नदिमा बग्दै गरेका छालहरुलाई कैद गरेको फोटो तल ऊ लेख्छ, “बगेर जानेँहरुको कथा सायद यात्राको कथा हो । तर  नबगेका हलचलबारे किन कोही बोल्दैन । चाहेर पनि बग्न नसक्नु कम पिडादायक हुँदैन । यात्राझै तरलता र बगाइका कथामात्र किन मान्छे लेख्छ ।  यो अनौठो बिष्मयको कथानक हो । चाहेर पनि यात्रा गर्न नसकेको अयात्राको कथा । आफ्नै परिधिमा कष्टपद लोपहुन पर्ने किल्लाको कथा । यो नदिहरुमा हराएका छालहरुको कथा हो ।” उसको क्याप्सनले फेरी अर्कोपटक मलाई हुरुक्क बनाउँछ । उ अर्को फोटोमा लेख्छ, “हरेक दिन बगेझै सायद मेरो नियती हो । तर म नबगेको कयौ बर्ष भै सकेको । मेरो स्थिरताको कथा त किनारालाई मात्र थाहा छ ।” म भन्छु, “कसरी तिमी यति सुन्दर क्याप्सन लेख्छौ गोपी ?”  “ ऊ हास्छ र बिस्तारै मलाई थाहा छैन सन्ध्या । सायद म दृष्यहरुमा बग्छु भावनामा जस्तै ।” मैले सोधेका प्रश्नहरुमा उसका उत्तरहरु जहिले छोटा हुन्छन् । म चाहेर पनि अरु थप केही भनन् भन्न सक्दिन ।

आज किन किन म उस्लाई केही प्रश्न सोध्ने मूडमा छु तर किन किन सोध्न सक्दिन । उसले किबोडमा चलाएका अक्षरहरुमा मेरा आँखा पर्न जान्छन् । ऊ लेख्छ, “यो सन्ध्याको उज्यालो हो । उज्यालोका आफ्नै परिभाषाभित्र पर्न नसकेको अध्यारोको उज्यालो । यो जुनेनी रात होइन र पनि दिन झै उज्यालो छ । यो निराशामा फूलेको आशाको कथा हो । अध्यारोको निमेशतालाई बुझेको यो उज्यालोको अर्को पाना हो । त्यस्तो पाना जहाँ बिना किरण फूल फुल्न सक्छ, ।  घाम लाग्न साक्छ र मानिसहरु सदाझै प्रेमका गीतहरु गाउँन सक्छन् ।”  रातमा देखिएको चकमन्न जुनलाई कैद गरीएको उक्त फोटोको यो आशावादी क्याप्सन देखेर मलाई ऊ खुसी रहेछकी भन्ने महशुस हुन्छ । अर्को फोटो तल उ लेख्छ, “उज्योलोलाई कहिलेकाही म पनि उज्यालो कै हुँ । नर्कादैमा कहाँ नर्कान सकिन्छ । हुनसक्छ अध्यारोको एक कथाबोकेर म उज्यालोकै खोजिमा म हरेक दिन निस्कन्छु । नर्कादैमा सबै चिज आफ्ना चिज अर्काका हुने पनि त होइनन् । म बिस्तारै सोध्छु, “ के तिमी खुसी छौ हो आज ? किन ? ऊ भन्छ ।” “किनकिन तिम्रो क्याप्सन पढ्दा यस्तै लाग्छ ।” केही प्रतिक्रिया नदिई ऊ भन्छ, “अब म फोटो खिच्न जान्छु ल म राती नआउँन पनि सक्छु।” म केही भन्दिन । ऊ क्यामरा बोकेर सरासर निस्कन्छ ।

मलाई लाग्छ ऊ राती हिजोझै फर्कन्छ र म केही उसका बारे सोध्न सक्छु । तर आज रातीको दुई बझ्दा सम्म पनि ऊ फर्केको छैन । म लामा लामा क्याप्सन लेख्ने फोटोग्राफरको पर्खाइमा अत्तालिएकी छु । प्रश्न त मैले आफैलाई सोध्नुपर्ने भएको छ किन म उसको पर्खाइमा उत्तालिदैँ छु ? बाहीर हेर्छु चकमन्न अध्यारो छ यस्तो लाग्छ कसरी त्यो सरल देखिनेँ गोपी यति असामान्य लाग्ने अध्यारोमा फोटो खिच्दै हिड्छ । किन ऊ रातदेखि डराउँदैन ? थाहा छैन किन ऊ त्यस्तो गर्छ । तर मैले ऊ बारे सोचिरहनुँ आवश्यक छैन । 

सोच्दासोच्दै म निदाएछु बिहान ठोका खोलेर हेर्दा उसको ठोका बन्द नै छ । थाहा छैन ऊ आएपछि सन्धयाकालीन कस्ता दृष्यहरु र तिमाथी कोरीएका कस्ता अक्षरहरु बोकेर आउँछ । थाहा छैन फोटो र क्यापसनमा अध्यारो बोकी हिड्न उसले  उज्यालोलाई कसरी लिन्छ , प्रेमलाई कसरी लिन्छ । म सोध्न चाहन्छु तर उसको र मेरो सम्बन्धको आकाश खुल्ला छ  । म चाहन्न म प्रश्न गरेर असिमितताको आकाशलाई सिमिततामा बदलुँ ।

Wednesday, November 12, 2025

मौनता

 

“त्यसै त यति राम्री छौ, भोली कस्ती हौली” सायद बिहे अघिको उसको यो अन्तिम म्यासेज हो । रातको एघार बजेको छ । घरभरी मान्छे छन् । हातमा उसको नामको मेहेन्दी सजिएको छ । तर म निदाउँन सकेकी छैन । दिदी र म एउटै खाटमा सुतेका छौ । दिदी निदाइसकेकी छ । म चाहेर पनि दिदी बिउँझिन्छेकी भनेर हलचल गर्न सकेको छैन । तर आँखामा निद्रा पटक्कै छैन ।

घर माला र तोरणहरुले सजिएको छ । बिहेकै लागि भनेर थप बत्तिहरु थपिएका छन् । चारैतिर उज्यालो छ । घरभरी मान्छे छन् । तर त्यो उज्यालो म भित्र छैन । मन भित्रभित्र कुडिएको छ । सानै देखी बिहे भनेपछि भुतुक्कै हुने म ,आफ्नै बिहेका लागि उत्साहित छैन । “बस् जे हुन्छ राम्रो हुन्छ” एक मन भन्छ तर आँखाहरुले दिदीको मलिन अनुहारलाई छाड्न सकेका छैनन् ।

दिदी म भन्दा एक बर्ष जेठी छ । तर भन्नेले अग्लो र मोटो भएकाले मैलाई दिदी भन्दिन्छन् । उ सुनिता अनि म अनिता । खासमा उ मलाई होइन मेरी दिदीको लागि हेर्न आएको थियो । ऊ आउँने दिन बाआमाले दिदीलाई भन्नुभएको थियो , “अल्लि राम्री भएर बस तँलाई हेर्न कोही आउँदैछ । घरपरिवार राम्रो छ, केटो पनि इन्जिनियर हो रे उसले मन परायो भने नाइ नभनेस् ।” दिदी केही बोलिन । ऊ दिदीको लागि हेर्न आएको पहिलो केटो थिएन । यो भन्दा पहिले कयौले उसलाई हेरे । तर हेरे मात्र । हेर्नेले बिहे गर्छु कसैले भनेनन् । पछि खबर आउँथ्यो केटालाई केटी मन परेन । 

आमाबासँग केही नभने पनि त्यो पटक दिदी खुसी देखिन्थी । उसलाई पढेका मान्छे मनपथ्र्यो तर जब बिहेका लागि कुरा चल्थ्यो उसको भागमा प्रमाणपत्रका धनिहरु कहिल्यै पर्दैनथे । उ बेलाबखत भन्थी, “मैले बिबिएस पास गरेर के काम लाग्यो त । “ तर कुरा चलाउँनेहरुले उसका लागि पढेकाहरु कहिल्यै देखाएनन् । उ पहिलो केटो थियो जो दिदीले खोजेझै पढेको थियो ।

आमाबाले हामीलाई उसको नाम भन्नुभएन । उ कस्तो छ त्यो पनि भन्नुभएन । तथापी दिदीका आँखाहरुमा एक खालको चञ्चलता देखिन्थ्यो । ऊ त्यस दिन अफिसबाट चाँडो घर फर्कि । बाआमाले भनेझै राम्री बन्न उसलाई सुहाउने कुर्था लगाई । अनुहारमा अलिअलि लिपपोत गरी ।

म र दिदी सँगै हिड्दा दिदीलाई राम्री कसैले भन्दैनन् । केटाकेटी बेला मलाई रमाइलै लाग्थ्यो दिदी भन्दा म राम्री रहेछु भनेर । अहिले पनि मलाई राम्री भन्नेले उसलाई राम्री कहिल्यै भन्दैनन् । आजकल कहिलेकाही मलाई राम्री भनिदिएकोमा दुख लाग्छ । म किन राम्री उ मेरो अगाडी किन नराम्री ? सँगै हुर्केका उ र म विच राम्री र नराम्रीको भेद सधै रहिरह्यो । 

उ हेर्ने आउँने दिन आमाले मलाई सुटुक्क भान्छामा बोलाएर भन्नुभयो “कान्छि, आज ति मान्छे आएका बेला दिदीको नजिक नगएस्” । मैले किन भनेर सोध्न सकिन । घरमा एकाएक नौला मान्छे आए । बैठक कोठामा चहलपहल सुरु भयो । दिदी निराश नभएपनि आत्तिएकी थिइ । आमाले बोलाएपछि उ पनि बैठकतिर गै । मलाई कताकता खसखस भयो । आफू पनि जाउँजाउँ भयो । एक्कासी सबै भए छेउ टपक्क टप्किएँ । आमाले झस्केर मलाई हेर्नुभयो ।  बाले बिस्तारै कान्छि छोरी भनेर सबैलाई चिनाउँनुभयो तर बाका आँखामा एक खाले त्रास थियो । मैले सबैलाई नमस्कार गरेँ । दिदीलाई हेर्न आएको ऊ दिदी छेउ थियो । एकछिनपछि दिदी र उसलाई अर्को कोठामा गफ गर्न पठाइयो । उ र दिदी गए । के गफ गरे मलाई थाहा भएन । उसँग को गफ पछि दिदीको आँखामा निराशा भने प्रष्ट देखिन्थ्यो ।

हामी तपाइहरुलाई पछि खबर गर्नेछौ भन्दै उनीहरु घरबाट निस्के । आमाले दिदीलाई कस्तो लाग्यो केटो भन्दा दिदीले ठिकै मात्र भनी । मैले सोध्दा केही भनिन । एकाएक त्यसपछि दिदी मसँग कम बोल्न थाली । भोलीपल्ट खबर आयो केटोले दिदीलाई होइन मलाई मनपरार्यो रे भनेर । त्यस दिन बाआमा केही बोल्नुभएन । दिदी अफिस गई आई तर कोहीसँग बोलिन । ... घरमा एकाएक सन्नाटा छायो  । दिदीलाई कसैले मनपराउँदिन भनेको, राम्री रैनछ भएको त्यो पहिलो पटक थिएन तर घरमा एकाएक मौनता छाएको थियो ।

भोलीपल्ट बिहान आमाले फेरी मलाई भान्छामा बोलाउँनुभयो । “आमा किन बोलाउँनुभएको” भन्दै म गएँ । “तँसँग एउटा कुरा गर्नुछ” आमाले भन्नुभयो । “दिदीलाई हेर्ने आएकोलाई तँ मनपरेछ । दिदी होइन तँ पाए बिहे गर्छु भन्छ रे , गर्छेस् त त्योसँग बिहे ? घरपरिवार राम्रो छ । हामीले निर्णय गर्यौ भने नाइ नभनेस् । दिदीको नभएनि तेरो गर्न पाएँ हाम्रो आधा शिर हल्का हुने थियो । त्यसैनि छोरो छैनन्ं..... दिदी छोरा भएर बस्नेछ ।” आमाले आँखामा टल्पलाएका आशु पुछ्दै भन्नुभयो । मैले आफ्ना आँखाका आशुहरु रोक्न सकिन । कोठाभित्र छिरे भित्रैभित्र बेस्सरी भक्कानिए ।

बेलुका फेरी बाले बोलाउँनुभयो । सधै दिदी बहिनीलाई सँगै बोलाउँने बाले आज मलाई मात्र बोलाउनुभयो । दिदी र आमा भान्छामा हुनुहुन्थ्यो । “तँलाइ एउटा कुरा भन्नुथियो कान्छी” कोठाभित्र छिर्नेबित्तिकै बाले भन्नुभयो ।  “ तेरी आमाले र मैले त्यो केटासँग तेरो बिहे गर्दिने निर्णय गर्यौ । घरपरिवार राम्रो छ । केटो पनि राम्रो स्वभावको छ भन्छन् सबैले । तेरो जीवन खुसी हुनेछ । हुन्छ भन” बाको बोलीले मलाई झन् बोल्न नसक्ने बनायो । ....दिदीको अनुहार सम्झे .... हुन्छ भन्न सकिँन । तर बाआमाको प्रस्ताबलाई नाई भन्न पनि सकिँन । आँखाका आँशुलाई रोक्न सकिँन.... बालाई नहेरी हुन्छ भनिदिएँ । 

बेलुकीको खानापछि सदाझै कोठामा छिरे । दिदी एकतमासले झ्याल बाहिर हेरेर बसेकी थिइ । सदाझै मैले दिदी भनेर बोलाउँन सकिन । त्यो दिन दिदी अरु दिनभन्दा चाडै सुती । म भित्रैभित्र भक्कानिय तर दिदीलाई भन्न सकिँन । .... त्यो मेरो जीवन पहिलो सान्नाटा थियो । म पहिलोपटक राम्री भएकोमा दुखी भएँ । पहिलोपटक कसैले मनपराएकोका पनि दुखी भएँ । त्यस दिन मैले आकाशका ताराहरुसँग बिताए । देख्दा चम्किला देखिने ति रातका किरणहरुझै मैले पनि एक्लो र चिसो महशुस गरेँ । त्यो दिन मसँग चिसोपन मात्र थियो ।

भोलीपल्ट म नउठ्दै दिदी कलेज गैसकेकी थिई । आमाले चिया यहाँ छ कान्छी भनेपछि बल्लबल्ल ओछ्यानबाट बाहिर निस्के । मंशिरको महिना बाहिर चिसो हावा चल्दै थियो । आमाले आज दिउसो कुरा पक्का गर्न उनीहरु आउँछन् कही नगयस् भन्नुभयो । आमाले भनेझै गरीब दुई बजेतिर उनीहरु आए । आमाले मलाई आफ्नो लागि किनेको गुलाबि रंगको साडी लगाइदिनुभयो । सधै साडी लगाउँदा फरुङ्ङ हुने म, मन भित्रका कोलाहलहरुलाई छिचोलेर रमाउन सकिन । दिदी कलेजबाट डाइरेक्ट अफिस गैसकेकी थिई । देख्दा ठिकै देखिने उ मलाई देखेर दङ्ङ देखिन्थ्यो । एकअर्कालाई औठि लगाएपछि उसले मलाई उसँगै सेल्फी खिच्न आग्रह गर्यो । मैले हुनेवाला लोग्नेको त्यो आग्रहलाई टार्न सकिँन । तर आँखाले दिदीको मौनतालाई छोड्न सकेन ।

सदाझै अफिसबाट करिब ६ बजे दिदी घर फर्की । आमाबाका आँखा पनि उदास थिए । मैले मेरो हातको औठि उसलाई देखाउँन सकिन । तर दिदीले आफूभित्रको सान्नाटालाई कता छोडेर आइ त्यो दिन, आउँनेबित्तिकै, “खै कस्तो ल्याएछन् औठी देखाँ त” भनी । उसले केही नभएझै गरी । त्यो हृदयको कोलाहल खै कहाँ लुकाएर राखी उसले । 

त्यस दिनप्रश्चात उसको आगमन भयो मेरो जीवनमा तर उसको आगमनले न म खुसी थिए,ँ छु , न उत्साहित । मेरो लागि बस् उ हुने वाला लोग्ने हो ।

बिहेको लागि एक हप्ता पछिको दिन जुराइयो । उ मसँग भेट्न चाहन्थ्यो तर किनकिन मलाई उसलाई देखेपछि दिदीका आँखामा छाएको उदासी याद आउँथ्यो । “तिम्रा यी आँखाहरु मलाई असाध्दै मनपर्छ “ उसले एक दिन भन्यो मैले त्यही क्षण मेरा दिदीका आँखाहरु सम्झे ्। 

  आज उसको नामको मेहेन्दी लगाएको छु तर आँखामा दिदीको उदासी बोकेकी छु । दिदी खुसी भएझै देखाउँछे । भोली बाट उसलाई कुरुप ठान्नेलाई उसले ज्वाई भन्नुपर्छ । कुन हृदयलाई साक्षि राखेर उसले ज्वाई भन्नेछ ? वा कुन आँखाहरुले  उसले मेरो लोग्नेलाई स्वागत गर्नेछ ? वा कुन स्वाभिमानलाई कुल्चेर उ केही नभएझै गरी हास्नेछ ? थाहा छैन ... म कुन हृदय बोकेर दिदी छेउ उ मेरो लोग्ने भनेर चिनाउँनेछु ।

यो एक हप्तामा हृदय भरीएको छ । म उसलाई लोग्ने मान्दै गर्दा मसँगै हुर्केकी मेरी दिदीको हृदयलाई कुल्चनु पर्नेछ । भरीएको हृदयलाई म पोख्न चाहन्छु......तर कसरी थाहा छैन ......

प्रिय दिदी, 

थाहा छैन कुन भावनाको कोलाज बोकेर तँ बाचेकी छस् ? मेरो हातमा लेखिएको उसको नाम देख्दै गर्दा तँलाई कस्तो महसुस भयो ? तँलाई अस्विकार्नेलाई भोली तँ ज्वाई मानेर कसरी स्विकार्नेछस् ? म  बेहुली हुँदै गर्दा  तेरा उज्याला आँखाहरु देख्न चाहन्थे, यो अध्यारो क्यानभाषलाई साक्षि राखेर म कसरी जीवनमा उज्यालो रंग पोत्नेछु ? यी यस्तै प्रश्नहरुले म रुमलिएकी छु । मलाई माफी दे केटी । तँ जसरी उज्यालो भएर मसँग उभिस् त्यसरी म पनि अडिग भएर उसको प्रस्तावलाई कुल्चन सक्नुपथ्यो । तर मैले सकिन केटी म काँतर रहेछु ।  जाँदैगर्दा तँलाई खुसी भएको देख्न चाहन्छु । तर यो पढ्दै गर्दा आँखाबाट आँशु नझारेस् । 

प्रिय ओसन,

 प्रिय ओसन, 

यो चिठी तिम्रो लागि हो । मलाई थाहा छ तिमीले नेपाली बुझ्दैनौ र पनि नेपालीमै लेखिरहेछु  जसरी तिमीले आफ्नो आमाको लागि अंग्रेज्मिा लेखेका थियौ । तिम्रो दोस्रो पुस्तक पढ्दैछु । तिम्रो पात्र निराश छ । उन्नाइस बर्षको तिम्रो पात्र हाइलाई निराश नहौ भन्नको लागि असि बर्षकी ग्राजीना छन् । कस्तो बिरोधाभाष र पनि सुन्दर । जसरी तिम्रा कुरा बुझाउँन तिमीले अंग्रेजीमा लेख्यौ मैले मेरो कुरा बुझाउँन नेपाल्ीमा लेखिरहेछु । कहिलेकाही शब्दले नबुझे पनि मान्छेले मान्छेलाई बुझ्न सक्छ । मलाई लाग्छ तिमीले मलाई बुझ्न सक्छौ ।

म तिमीलाई प्रेम गर्छु । सायद तिम्रा शब्दहरुलाई । सायद म तिमीलाई शब्दहरु बेगर पनि प्रेम गर्छु । मलाई तिमीजस्तै दयालु र भावना बुझ्ने छोरामान्छे मनपर्छ । मलाई लाग्छ कुने दिन न्यूवोर्क पुगेँ भने म तिमीलाई भेट्नेछु । मलाई सधै लाग्छ कसरी थाहा छैन तर म तिमीसँग कुनै दिन भेट्नेछु । भेटेको दिन सायद म मेरो टुटेफुटेको अंग्रेजीमा म तिमीलाई माया गर्छु भन्नेछु । र म तिमीलाई सधैँ माया गरिरहनेछु ।

तर मैले तिमीलाई माया गर्छु भन्न मात्र यो पत्र लेखेकी होइन । म चाहन्छु तिमीले मैले नलेखेका कुराहरु पनि बुझ्नेछु । मलाई थाहा छ, तिमीले एउटा पाठकले एउटा लेखकलाई प्रेम गर्नु के हो भन्नेकुरा राम्रोसँग बुझ्छौ । मलाई लाग्छ लेखक हुनु त तिमीजस्तै गहिरो हुनु नत्र नहुनु । त्यो इतिहासलाई पनि बुझ्नु जो लेखिएको छैन । 

मलाई थाहा छ गरिव घरमा जन्मेर लेखक हुनु सजिलो काम होइन । तिमीबाट समाजले कयौ आशा गर्छ तर राम्रा वाक्यहरुको आशा गर्दैन । तिमीले जस्तै मैले पनि म लेख्छु भनेर मेरी आमालाई कहिल्यै भनेको छैन । भनेँ भने पनि त्यसले कुनै ठूलो अर्थ राख्दैन । तर बुझाउँन त तिमीले जस्तै मैले पनि आमालाई नै चाहेको हो ।

प्रिय ओसन, तिमी जन्मेको समयमा जन्मनुलाई पनि म भाग्यको कुरा ठान्छु । सायद यो सुन्दर संयोग हो । हुनसक्छ कुनै दिन हामी बाटामा भेटिन सक्छौ । गफका लागि हामीसँग सुन्दर वाक्यहरु रहनेछन् । सायद लेखक हुनुको दुख तिमीसँग पनि छ । त्यो गहिराइमा जीवनलाई बुझ्नु सजिलो काम पक्कै होइन । तिमीले भनेझै हामी सधै कुनै किनारमा नै रहन्छौ । एक किनारा न छोड्न सक्छौ न अर्को किनारालाई अपनाउँन सक्छौ । मलाई लाग्छ तिमीले मलाई पनि बुझ्छौ म जस्ता धेरैलाई बुझ्छौ । कसैले कसैलाई बुझ्नु कम सुन्दर कुरा हो । 

मलाई लाग्छ हामी दुबैस्ाँग यसियाली रगत हुनुको नाता छ । वा भनौ शब्दहरुलाई प्रेम गर्नु नाता छ । प्रात्रहरुझै निर्मम भएर आउँनको नाता छ । हो हामी नातै नाताले बाधिएका छौ । त्यसैले कुनै दिन न्यूयोर्कको गल्लिमा भटियौँ भने पनि हामीलाई लाग्नेछ हामीले त पहिल्यै एक अर्कालाई भेटिसकेका थियौ ।

हो मलाई लाग्छ म तिमीलाई कुनै दिन भेट्नेछु । हो नचाहेरै पनि भेट्नेछु । अनायासै भेट्नेछु । र हामी एक अर्कालाई देखेर मुस्कुराउनेछौ ।

यो पत्र मेरो प्रिय लेखक ओसन वोङको लागि हो । वोङको दोस्रो पुस्तक पढ्दैछु । मलाई लाग्छ उनी शब्दका जादुगर हुन् । उनी लेख्नकै लागि जन्मिएका थिए र छन् । र मलाई सधैँ लाग्छ म उनीलाई कुनै दिन भेट्नेछु । 

Tuesday, November 11, 2025

. एक बिन्दु ..


सपनाहरु साझा होइनन् ।  भोगाइहरु पनि होइनन्  । अरुझै म चाहेर पनि सामूहिकतामा आफूलाई भेट्दिन । सायद त्यसैले लेख्छु । लेख्नु मेरो लागि सोख होइन । यो त केबल म पनि छु भनेर आफ्नो अस्तित्वको रुपान्तरण मात्र हो । तँ पनि छस् है भनेर कसैले भन्दिएको भए सायद आफैँँले आफैँलाई म पनि छु भनेर भन्ने थिइन होला । यी कथाहरु ब्यक्तिगत भएर पनि कहिलेकाही ब्यक्तिगत मात्र भनेर छोड्दििन सक्दिन । त्यसैले लेख्छु । सायद आफैँले आफैँलाई दावी गर्न लेखिरहेछ!ु ।

सायद लेख्नेहरुले धेरै पटक आफैलाई दोहोर्याउँछन् । दोहोरीनु एक प्रक्रिया मात्र होइन नियती पनि हो । दोहोरीनु नियती पनि हो । शुष्मता र भब्यताका अनौठा मानक बिच मानिसले आफैँलाई खोजिरहन्छ । कतिलाई लाग्दो हो उसको उपस्थितीलाई सबैले  अपनाउँछन् । तर मलाईझै धेरैलाई लाग्छ उसको उपस्थिती संसारको बृहतताभित्र एक नदेखिने बिन्दुझै हो । तर यो अनुभूतीसम्म आइपुग्न सजिलो थिएन । म केही होइन भन्नु दर्शनको हिसाबले मूक्तीको मार्ग होला तर सामान्य मानिसका लागि त्यो अनौठो दन्द हो आफैँभित्रको दन्द ।  आफैँलाई कोर्दै मेट्दै यो केही होइन भन्दै अरुलेझै धेरै वर्षहरु बिताएँ । सायद आज पनि  त्यही प्रश्नमा रुमलिरहछु । र रुमलिरहेछु ।

केटाकेटी बेला जगले बाल्टिले छोपिने म धेरैका लागि एक सानी मानिस मात्र थिएँ । यो कता हराइ यो कहिल्यै ठूली हुनी भैन – सुनीरहेँ । बुवा अहिले पनि भन्नुहुन्छ, धेरैको यही  प्रश्नको जवाफ उहाँ यसरी दिनुहुन्थ्यो “यो यस्तै भै राखी भने म यसलाई झोलामा बोकेर हिड्नेछु” । सायद आफूहुनुको झिनोपन त्यहीबाट आयो । स्कुलमा पनि छोपिन्थे । कलेजमा पनि छोपिन्थेँ । यूनिभष्टिमा पनि छोपिन्थेँ । सायद अरुको अगाडी म पनि छु भनेर देखाउँन मैले लेखेँ । मैले सम्झने बेलादेखी म लेख्थेँ । मैले नलेखीकन बसेका दिनहरु मलाई याद छैन । तर त्यसले केही अर्थ राख्छ वा राख्दैन भन्ने थाहा थिएन । आज पनि थाहा छैन ।

सायद कलाहरु यसरी नै जीवनमा भित्रन्छन् । लेख्नेहरुल,े गाउँनेहरुले वा कलाको कुनै पनि माध्यम रोज्नेहरुले कुनै समय यसरी हिनताबोधमा बाचेका हुन्छन् जसलाई रोज्नु अरु कुनै पेषा रोज्नुझै होइन । आफैलाई पोख्ने माध्यम रोज्नु मात्र हो । आज पनि कहिलेकाही लाग्छ अरुको अगाडी म पनि म पनि छु है भन्न म लेख्छु । सायद आफूजस्तै मानिसहरु भेट्न म पढ्छु । धेरैको भिडमा आफूलाई नपाउँनुको एक खाले पिडाबोध आज पनि हुन्छ । स्कुले पिक्नीकहरु साथी नभएकाले नगएको कुरा सम्झदा एदाकदा आज पनि दुख्छ । भिडमा आज पनि डराउँछु । नजिकिएका मानिसहरु समातेर राखौँ झै आज पनि लाग्छ । तँ पसले हुन्छेस् भनेको सम्झदा आज पनि चिडचिडाउँछु । सायद अनुभूतीहरुका यीनै श्रीङ्खलाहरु  बिच आफैलाई खोज्ने गुमाउँने प्रकृया जारी छ । सायद यीनै चिजहरु थिएँ जसले आज पनि अगाडी बढ भन्छन् र कहिलेकाही पडाडी पनि धकेलिदिन्छन् । कहिले अगाडी बढ्छु कहिले पछाडी फर्कन्छु । 

यो बिन्दुझै बाच्नेहरुको कथा हो । संसारको बृहतता भित्र उनीहरु हराउँन पनि सक्छन् । तर अस्तित्वको लडाइले सानो ठूलो भन्दैन । आफ्नो संसारको मालिक मानिस आफैँ हो । उसलाई कसैले सुनोस् झै लाग्छ, । कसैले उसको लागि बोलिदियोस् जस्तो पनि लाग्छ । आज सम्बोधनहरुको भिडमा आफैँलाई सम्बोधन गर्दैछु......

प्रिय सानी मान्छे,

पानी परिरहेको यो धमिलो दिनमा सायद आफैँसँग धमिलिँदै छु । एक खाली पानामा आफैँलाई लेखेकी छु । सायद पहिचान र अस्तित्वको भागदौडमा म यहि बिन्दु नै हो । हुन त अब मलाई बिन्दुझैँ बाच्नुमा कुनै दुखेसो छैन । स्कुले एक साथी भन्ने गथ्र्यो म तँलाई झ्यालबाट फालिदिन्छु, । थाहा छैन उ कहाँ छ । सायद उसको नाम अब्दुल थियो । एकपटक होइन यो कुरा पटकपटक दोहोर्याउथ्यो । तर कहिलेकाही लाग्छ उसले त्यो सानो मानिसलाई त्यो नभनी दिएको भए मैले आफैलाई अरु कसैको झ्यालबाट कहिल्यै हेर्ने थिइन । मैले आफैँले आफैँलाई उनीहरुको झ्यालबाट मात्र हेरेँ । सायद शुष्मताको बिन्दुबाट हेरिराखेँ । 

बृहत के शुष्ष्म के यो आज आएर कहिलेकाही आफैँलाई सोध्ने गर्छु । कमिलाको लागि उ सानो की बृहत । सायद यो बारे सोचीरहनु त्यही सानो मानिस हुनु हो । त्यो सानो मानिस अझै म भित्र छ ।

त्यो त्यस्तो प्रतिबिम्ब बन्यो जो होइन भन्दा पनि हो भन्ने जिकिर बेलाबखत गरीरहन्छ । कहिलेकाही लाग्छ– म किनाराको हुँ जो सँग डोबहरु छ । संसारको प्रमत्त शक्तिले नचिनको पनि हुनसक्छ । तर किनारा नै हो जसले मलाई बाधेको छ । 

थाहा छैन कहिलेसम्म तिम्रो प्रतिबिम्ब बोकेर हिड्नेछु । मानकहरु फेरीए, मष्र्याङ्दीको पानीले कति रंगहरु फेर्यो । कति पटक धमिलियो । कति पटक सग्लियो ।  रंग फेरीयो । अंक्षहरु प्mmेरीए । तर कसैले तँ यो होस् भनेर भनिदिएको प्रतिबिम्बले मलाइृ कहिल्यै छोड्न सकेन । कयौ दिन र कयौ रातहरु मैले त्यही प्रतिबिम्ब बोकेर बाचेकी छु ।.....र बाचिरहेछु । अब त यति बानि परिसकेको छ नकार्न पनि कठिन लाग्छ ।

कहिलेकाही लाग्छ उसले किन मलाई झ्यालबाट फालिदिन्छु  भन्न्यो । मैले त उसलाई कहिल्यै भनिन । किन त्यो दिन उसलाई तैँले किन फाल्छु भनिस् भन्न सकिन । किन म चुपचाप रहेँ । किन उसँग त्यसपछि पनि शिर उठाएर बोलिन । वा बोल्न सकिन । किन उसले दिएको निर्मम प्रतिबिम्बमा आज पनि म आफूलाई हेरीरहन्छु । आफ्नै शब्दहरुमा आफैँलाई निरिह प्रमाणित गरिरहन्छु .....

प्रिय सानी मान्छे, यो सानोको बिम्बबाट म तिमीलाई मूक्त गर्न चाहन्छु । हुन त सानो र ठूलोको बिब्ब समयसँगै खिएर पनि जाला । तथापी मनमा यसरी बसेको म त्यसबाट मूक्त हुन सकेको छैन । तर म चाहन्छु अब म यो निर्मम बिम्ब बोकेर नबाचु । कसरी मूक्त हुने त्यो पनि थाहा छैन । सायद  म त्यसैको खोजिमा छु । भेटिएको दिन म फेरी तिमीमाझ आउँनेछु .........

यो कथा होइन । यो जीवनका लागि कैद गरेको आफ्नै प्रतिबिम्ब हो । सानोको निर्मम प्रतिबिम्बले अझै मलाई छोड्न सकेको छैन । यी कथाहरु । सायद यी शब्दहरु निर्ममताबाटै उठेका हुन् । आज पनि लेख्छु भन्न हिचकिचाउछु , लाग्छ संसारले साना मान्नेहरुले लेख्न सक्दैनन् । तर यनि भनिरहदा म यो प्रतिबिम्बलाई प्रेम पनि गर्छु । म जे हु त्यसैको बिकसित स्वरुप हु । यी अक्षरहरु त्यसैका देन हुन ।

Sunday, November 9, 2025

शहर ः एक अनुभूती


दिन शान्त छ । मनमा शान्ति भएको बेला बादलले भरीएको दिन पनि मनपर्छ ।  झरी मनपर्छ । बतास पनि मनपर्छ । हावाहुरी र चट्याङ पनि मनपर्छ । आज त्यस्तै कुनै दिन हो । घण्टाघर तल छु ।  घण्टाघर तल कुनै चियापसलमा । घण्टाघर आफ्नै लयमा घुमिरहेछ । जसरी म घुमिरहेछु । सायद समय यसरी नै घुम्छ । बिस्तारै थाहा नपाएझै गरी ।  घुमेको आभाष कहाँ छ र ! र पनि घुमिरहेछौँ । तपाई । म । घण्टाघर । समय । सबैसबै ।

सायद यो जीवनको गति हो । सायद मानिस पनि आफ्नै लयमा घुम्न चाहन्छ ।  वा यसरी नै समय चलिरहन्छ । नचल्नुको विकल्प पनि त छैन । हुनसक्छ यो बिना बिकल्पको हिडाइ हो । वा घुमाइ हो । हत्तारीँदै हिडेर पनि कही पुग्नु छैन । वा पुगेर पनि फर्कनु छ । हुनसक्छ पुगेर पनि नपुगेझै गर्नु छ ।

 हामी सबैको गन्तब्य एकै हो । थाहा छैन हत्तारीँदै हिड्नेहरु कहाँ पुग्छन् । सायद लामा पाइला चाल्नेहरुको यात्रा छोटो हुन्छ । यात्रा अयात्राको यो वृत्तमा हामी  घुमिरहेछौ  । सायद यही नै जीवन हो ।

चियापसलमा छु । भर्खरै एक मधुर मुस्कानले छोडेर गएको छ । मुस्कान एक सामुहिक भाव हो । दुख पिडालाई हामी सामूहिक बनाउँन सक्दैनौ । दुखको बदला दुख सापटी दिन सक्दैनौ । सायद मुस्कान नै त्यस्तो अनुभूती हो जसले सामूहिकता रोज्छ । मुस्काउँदै हिड्नेहरुले अनौठो अनुभूती दिएर जान्छन् । उसले त्यही  दिएर गएको छ । थाहा छैन उ किन मुस्कुरायो । थाहा छैन मैले किन उसको मुस्कानलाई साथ दिएँ । 

शहर आफ्नै गतिमा छ । चाहेर पनि हामी शहरको गतिलाई रोक्न सक्दैनौ । चियापसलबाट शहरको एक दृश्य कैद गर्दैछु । यो दृश्य मेरो हो ।  शहर सामुहिक भए पनि हामी सबैको आफ्नै भर्सनको सहर छ । यो मेरो भर्सनको शहर हो । कहिलेकाही लाग्छ म झै सहर पनि एक्लो छ । सबैसँग भएर पनि एक्लो । आफ्नै भएर पनि एक्लो । 

सबै आफ्नै लयमा पाइला चाल्दैछन् । किन कहाँ कसैलाई थाहा छैन । वा थाहा छ । वा थाहा भएर पनि थाहा नपाएझै गर्दैछन् । नानीहरु स्कुलका लागि पाइला चाल्दैछन् । नानीका बाआमाहरु कामका लागि पाइला चाल्दैछन् । केही नहुनेहरु हतारमा केही पाउँनका लागि पाइला चाल्दैछन् । म आफ्नै ठानेर उनीहरुको पाइला गन्दैछु ।

यो पाइलाहरुको कोलाहलमा आफ्ना पाइला खोज्दैछु । सायद म पनि आफ्नै दौडमा छु अरुजस्तै । तर थाहा छैन मलाई कहाँ पुग्नुछ, के पाउँनु छ । के मेरा पाइलाहरु प्राप्तिको दौडमा छन् ? तर थाहा छैन मेरो गन्तब्य के हो । आफैलाई खोज्दाखोज्दै म कहाँ पुग्नेछु । वा कुनै दिन थाकेर खोज्न छोडिदिनेछु । शहर अमुक छ । उसले मलाई पनि त कहिल्यै प्रश्न गरेन । सायद सहर सबैप्रति एक दुरी राख्छ । सहर उदार र अनुदार दुबै छ । उसले चाहेर पनि न मानिसलाई अगाल्छ न लत्याउँछ ।

  के सब यी दौडिरहेका मानिसहरु आफैलाई खोज्दैछन् । वा शहरको धुनमा त्यसै नाच्दैछन् । मलाई अरुको लयमा नाच्नेहरु अनौठा लाग्छन् । थाहा छैन नाच्दानाच्दै उनीहरु कहाँ पुग्नेछन् , के पाउँनेछन्  । सायद यो शहरको बिशेषता हो । यसले आफ्नै धुनमा नचाउँछ । वा हामी सबै आफ्नै धुनलाई सहरको धुन ठान्छौँ ।

 तर सबैसँग आफ्नै परिकल्पनाको शहर हुन्छ । मेरो शहर मेरो रोजाइको शहर हो । म शहरलाई सिंगो ठानेर हेर्न सक्दिन । मलाई त शहर आफैँजस्तो लाग्छ । टुक्रिएको । निराश । म आफ्नै प्रतिबिम्बमा शहरलाई हेर्छु । मलाई लाग्छ, मेरा वाक्यहरुझै मैले बाचेको शहर पनि सग्लो छैन । म टुक्रिएका अमुक वाक्यहरुलाई सहर ठानेर हेरीदिन्छु । सहरले आफ्नो परिभाषा लाद्दैन । सहरले मेरो परिभाषालाई तेरो परिभाषा भएन भन्दैन । सहरले आफ्नो रोजाइ लाद्दैन ।

मैले बुझेको शहरको कल्पना एकात्मक हो ।  यो एकात्मकताको बिम्बमा अडिएको छ । मैले शहरमा रहनुको अनुभूतीलाई सामूहिकतामा ब्याख्या गर्न सक्दिन । मेरो शहर तपाईको होइन । तपाईको शहर मेरो होइन । यो घण्टाघर तल म मेरो समयको कुरुपतालाई मात्र देख्छु । हुनसक्छ तपाईलाई यी मानिसहरु, यी गाडिहरु, यी बिनामतलबका दौडधुपहरु राम्रै लाग्लान् ।

गाडी गुडेका छन् । मानिसहरु हतारमा छन् । चिया पसलबाट चियाका बाफहरु उड्दैछन् । यो शहरको बिहानी हो । सायद शहर यसरीनै बिउँझन्छ । स–साना नानीहरु स्कुलका लागि निस्कदैछन् । नानीहरुले शिरमा लगाएको रिबनका फूलहरुले थप सौन्दर्य थपेको छ । यी अनुभूतीका तंरगहरुलाई म कैद गर्न चाहन्छु । म चाहन्छु मसँग यस्ता अनुभूतीहरु रैरहुन् । सायद हामी सबै यी यस्तै अनुभूतीका भोका छौ । बिष्मृतिहरु छोटा हुन्छन् । सायद हामी सबै स्मृतिमा बाच्न चाहन्छौ ।

तर यी स्मृतिहरु कुनै दिन मबाट पर जानेछन् । म धुमिल बन्नेछु । मेरा दृश्यहरु धुमिल बन्नेछन् । सायद मसँग स्मृतिको नाममा केही रहनेछैन । न यो चियापसल । न यो घण्टाघर । न यी असननका गल्लिहरु । न शहर मेरो हो भन्ने अनुभूती । कुनैदिन मसँग केही रहनेछैन । मेरी हजुरमासँग पनि संसारबाट बिदा हुँदे गर्दा स्मृतिहरु बाकी थिएनन् । सायद म पनि त्यस्तै हुनेछु कुनै दिन । शहर रहनेछ म रहनेछैन । शहरलाई कसैले सम्झनेछ तर मैले सम्झनेछैन् ।

  शहरको यो निजात्मक ब्याख्या हो । हुनसक्छ कुनैदिन सामूहिक बन्नेछ । यो मेरो नभइ अरु कसैको बन्नेछ । यी चाहेर कैद गरेका शब्दहर हुन् । थाहा छैन कुनै दिन अरु कसैले शहरको अर्को भर्सन लेख्नेछ । तर यसरी नै नलेख्न सक्नेछ । म आफैले पनि अरु कुनै अर्को दिन कैद गरेँ भने शहरको अर्को कुनै कुरुप कर्कष पोर्टेट बन्नेछ । यो सहरमाथी गरिएको बेमेल रेखाहरुको एक अमूत ब्याख्या मात्र हो । क्यानभाष मेरो हो । रंगको रोजाइ तपाईको हुनेछ ।

 यो एक सपनाझै हो । सत्य हो म सहरमा छु । सहरमा भएर नै सहरबारे लेखिरहेछु । तर सत्य यहि हो म सहरिया मानिस होइन । सहरलाई चिहाउनु सहरको हुनु होइन । यो अबलोकन मात्र हो । म सहरलाई हरेक  दिन चिहाउँछु । जस्तो कि आज । तर हरेक दिन मलाई लाग्छ म सहरको होइन । मलाई लाग्छ मेरो भर्सनको सहर सहर होइन । मैले पिउँने चिया पसलहरु गाउँकाझै छन् । चाहेर नचाहेर उनीहरुले मैले पढ्ने किताबको रंग हेर्छन् । तर किन पढ्दैछस् भनेर प्रश्न गदैनन् ।  कहिलेकाही त मैले लेखेका पानाहरुलाई चिहाएर नयाल्छन् । त्यसपछि मलाई लाग्छ म गाउँमै छु । एक्लो चिया पसलमा एक्ली छोरी मान्छे बसेर चिया पिएको देख्दा उनीहरु हरेक चिया पसल झस्कन्छ । कतिले त किन एक्लै भनेर प्रश्न पनि गरिदिन्छन् । तर खास कुरो यो होइन । सहर पनि गाउँझै हुनु हो । म चाहेर पनि गाउँ फर्कन सक्दिन । मलाई गाउँका चिहाउँने आँखा देखेर डर लाग्छ । तर सहर पनि यदाकदा गाउँझै लाग्छ । कहिलेकाही त लाग्छ भागेर कुनै अर्को नौलो सहर जाउ । बिच बाटामा कोही बटुवासँग मज्जाले रोइदिउँ । आफ्नासँग त चाहेर पनि रुन सकिँदैन । त्यसैले यदाकदा सहरझै मानिसहरु पनि अपरिचित नै प्रिय लाग्छ । हुनसक्छ यो सहर मेरो गाउँझै परिचित भएको दिन म यसलाई पनि छोडिदिनेछु । मलाई कसैको हुनुसँग कुनै लगाव छैन । म त सहरको पनि हुन चाहन्न । सहर निरपेक्ष छ त्यसैले प्रिय छ । हुनसक्छ कुनै दिन अप्रिय पनि लाग्नेछ । यो घण्टाघर तल म हमेसा हिडिरहन्छु । यस्तो लाग्छ यो सहर कुनै अपरिचित मानिस  हो । गाउँझै लागेर पनि यो सहर मेरो होइन भन्ने मलाई थाहा छ । मेरो नभएकाले नै यो प्रिय छ । हो यो अपरिचित सहर हो ......

Thursday, November 6, 2025

डियर कथाकार, “यो संसार तिम्रो पनि हो ।”

 डियर कथाकार,

“यो संसार तिम्रो पनि हो ।” थप मैले केही भनिन । यति भनिरहँदा उसका आँखा रसिला भएका थिए । तर उसले केही भनेन । धन्यवाद पनि भनेन । मेरो कथा पढेकोमा खुसी लाग्यो पनि भनेन । उसका आँखा निराश थिए । उसका कथाका पात्रकाझै । तर उसले केही भनेर । बस् मैले एक घण्टा मेरो प्रिय कथाकार सँग बिताएँ । 

खोइ उ कतै हराएको थियो । सायद कथाकार हुनु दुखी हुनु हो । एक निस्सार मानिस हुनु हो । हुनसक्छ मानिसको जुनीलाई धिक्कारनु हो । थाहा छैन । तर खोइ किन म मेरो प्रिय कथाकारलाई भेटेर पनि खुसी छैन । मलाई लागेको थियो अरुको दुख लेख्ने मानिस खुसी पनि हुनसक्छ । तर त्यस्तो होइन रहेछ । दुख लेख्नु दुखी नै हुनु रहेछ । 

उ कथामा लेख्छ , “ जीवन कथा होइन । म कथा होइन जीवन लेख्दैछु ।” तर जीवनमा दुख मात्रै पनि त कहाँ छ र । हिजो नै त मैले कोही बाटोमा भेटेँ । सायद उ कसैको प्रेममा पहिलोपटक परेको थियो । त्यसलाई पछि उसलाई नजिकैको क्याफेमा भेटेँ । उ कोही छोरी मान्छेसँग कफी खाँदै थियो । त्यसपछि उसले कफी मात्र खाएन । सायद उसले अरु कसैको अरु चिज पनि खायो । तर मैले भन्न खोजेको कुरा यो होइन । मैले भन्न खोजेको कुरा अरु केही हो । तर उसको जीवन कुनै सुन्दर कथाको झै थियो जुन मेरो र कथाकारको छैन । 

उ कथाकार भएर पनि किन जीवनसँग अनुदार देखिन्छ । किन उ कथामाझै लचकदार छैन । उसलाई भेटेपछि मलाई लाग्यो – जीउन सजिलो छैन । कथाकार भएर त अझ सजिलो छैन । उ कथाकार हो । मलाई थाहा छ उ कथाकार हो तर कथाकार मात्र होइन । उ मानिस पनि हो । तर उ कथा देख्ने मानिस हो । सायद उ कल्पना पनि गर्छ । हुनसक्छ उ जे मन लाग्छ त्यही लेख्छ । वा उ कथा देख्ने भएर नै दुखी छ । 

तर दुखी त म पनि छु सायद उसले देख्ने भन्दा बढी नै । तर खोइ मलाई लाग्छ म देख्दा उजस्तै निराश देख्दिन । तर उसका कथा पनि त निराश नै छन् । उ हरेक कथामा आफ्नो प्रेमिकाको हत्या गर्छ । र हत्याको दोश लिन्छ । तर हत्यानै गरे पनि उ मरिसकेकी प्रेमिकालाई बिर्सदैन । उसलाई सम्झेर यदाकदा रुन्छ पनि । 

म उसको घर हेर्न चाहन्छु । उ कस्ता किताब पढ्छ, कस्ता सिनेमा हेर्छ त्यो पनि बुझ्न चाहन्छु । त्यो मात्र होइन । म उसले कस्तो खाना खान्छ त्यो पनि हेर्न । म सब सब चिहाउँन चाहन्छु । हुनसक्छ म पनि कथाकार नै बन्न चाहन्छु । तर मलाई कथाकार हुनु छैन । मलाई त मानिस हुनु । एक कठोर मानिस जसले अरुको कथा देख्न सक्दैन । आफ्नो कथामा आफैँ हिरो बन्छ र आफ्नै तारिफममा केही लाइनहरु लेख्छ । हो मलाई यस्तै मानिस हुनु छ ।

Saturday, November 1, 2025

निशब्दता


म बोल्न सकिन, लाग्यो अब शब्दको कुनै अर्थ छैन । थाहा छैन के भयो उसले केही नभनी फोन काट्यो । आँखाबाट पानीझै केही बग्यो । मैले  उसलाई फेरी फोन गरीन । थाहा छैन कुनै अधुरो अन्त्यझै मलाई यो अन्त्य नै हो । 

हाम्रो सम्बन्ध हेल्लो हाइ बाट सुरु भएको होइन । सायद अरु कोही र्यान्डम मान्छेलेझै बोलाएको भए वा क्रिपि तरिकाले बोल्न सुरु गरेको भए म सायद उसँग कहिल्यै बोल्दैनथेँ । सायद उ मेरो बल्ग पढ्ने गथ्र्यो । एकदिन अचानक मेरो कुनै र्यान्डम बल्ग तल एक लामो कमेन्ट भेँटेँ.............. 

सायद लेख्नु आफैँमा सुन्दर कुरा हो । तर सम्झिराख्नु सबैसँग चाहेर पनि शब्दहरुसँग खेल्ने कला हुँदैन । जब तपाईका ब्लगहरु पढ्छु यस्तो लाग्छ तपाईसँग झै मसँग पनि रिक्तताको कहिल्यै नपुरीने खाडल छ । सायद सबै मानिसहरु अपुरा छन् । हुनसक्छ तपाईझै म पनि आफ्ना रिक्तताहरु सहित बाचिरहेछु । यदाकदा लाग्छ शब्दले रिक्ततालाई कसरी सम्बाोधित गर्ने । तर तपाईलाई पढेपछि लाग्छ सबैचिज सम्भव छ । लेखिरहनुस्......... म तपाईको सेक्रेट एडमाएरर

सायद उ मसँग बोल्न चाहन्थ्यो । सायद सबै मानिस आफूलाई सजिलोसँग ब्यक्त गर्न सक्ने मानिसको खोजिमा सधै रहन्छन् । सायद उ पनि त्यस्तै मानिसको खोजिमा थियो । सायद म पनि । सायद त्यही नै कारण थियो हामी दुबै सजिलै कनेक्ट भयौ । मलाई लाग्यो उ मेरो नाजुकतालाई कठोरतका साथ बुझ्दैन । मलाई मैरै पोजिसनमा बसेर सुनिदिने मानिस चाहिएको थियो । सायद उसलाई पनि । सायद हामी दुबैलाई कोही चाहिएको थियो । 

यसरी दिनहरु बित्दै गए । कमेन्टबाट हामीहरु इमेलमा पुग्यौ, इमेलबाट फोन कलमा , फोन कलबाट भिडियो कलमा । सायद आजकल सम्बन्धहरु यसरीनै बन्दै जान्छन् । सायद मसँग यस अघि भन्नको लागि सिंगो साम्रराज्य थियो तर सुनिदिने मानिस थिएँन । उ यसरी जीवनमा आयो लाग्यो अब मलाई सुनिदिने मानिसको कमि छैन ।

 म उसलाई धक नमानिकन सबै चिज सुनाउँने गथेँ । उसँग त्यस्तो केही चिज छैन जो मैले नसुनाएको होस् । प्रेमको, शरीरको , भावनाको सायद सबै सबै सुनाउँन मिल्ने र सुनाउँन सक्ने सबैसबै म सुनाउँथेँ । उ भन्थ्यो, “ जीवन यस्तै नै हो । यो त नियती हो जीवनको । यस्तो कुरालाई सामान्य घटना मानेर अघि बढ्नुपर्छ ।” सायद मेरा लागि उसले भनेका सबैभन्दा सुन्दर वाक्यहरु यीनै थिएँ । यस्तो लाग्थ्यो कोही जीवनमा यसरी आएको छ जसले आगमनले जीवनका अनेकौ अप्राप्तिहरु प्राप्तिझै बनेका छन् । जीवन पूर्णझै बनिदिएको छ ।

ति सब अनुभवहरु मेरा लागि सधै अनौठा थिएँ । मैले कहिल्यै नजिकबाट यसरी कसैलाई भेटेको थिइन । सायद कहिल्यै सोचेको पनि थिइन जीवनमा कोही त्यस्तो आउँनेछ जसले म भित्रका बिरोधाभाषहरुलाई अप्राप्तिहरुलाई एकाएक प्राप्तिझै बनाइदिनेछ । मलाई कहिल्यै लागेको थिएन मैले जीवनमा त्यस्तो कोही भेट्नेछु । 

थाहा थिएन उ म बाट के चाहन्थ्यो । सायद उसको लागि त्यो सब सधै कोहीसँग भेट्टिएपछि वा नजिकिएपछि हुने सामान्य बदलाव मात्र थियो । तर मेरो लागि ति सबै सबै चिज सुन्दर अनुभूतीहरु थिएँ । म यदाकदा भन्ने गर्थे जीवनमा तिमीले जे दिएका छौ त्यसले मेरो जीवनमा ठूलो अर्थ राख्छ । सायद उ चाहन्थ्यो मैले यी सब चीजलाई एक सामान्य घटना मानेर अघि बढुँ । उ भन्नेगथ्र्याे , “ तिमीले जे अनुभव गर्यौ त्यो सामान्य चीज हो । हरेक सामान्य घटना जब पहिलोपटक हुन्छ त्यो सधै असामान्य झै लाग्छ । तर जीवनमा एक .खाले दुरी सधै आवस्यक पर्छ । मैले भनेको मान्छेउ भने कृपया केही दुरीबाट मात्र हेरीदेउँ । डिट्याचमेन्ट सधै जीवनमा आवश्यक पर्छ । जहिले पनि जोसँग पनि”। सायद उसलाई जे भन्नु थियो त्यो उसले भनिसकेको थियो । 

मसँग उसका लागि त्यती धेरै अपेक्षाहरु थिएनन् । म त एक अपेक्षा बिहिन मान्छे थिएँ । स्कुलमा घरपरिवारबाट पनि मसँग केही अपेक्षा थिएन । म त केवल एक बतास थिएँ । सायद मसँग उड्नको लागि केही अक्षरहरु थिएँ । मैले नलेखेकोमा वा लेखेकोमा परिवारले मसँग न गुनासो गथ्र्यो न खुसी ब्यक्त नै गथ्र्यो । मेरा लागी शब्दको दुनिया आफैले आफैलाई खोज्नको लागि आइपरेको थियो । म लेख्थेँ किनकी म दुखी थिएँ । समाजसँग परिवारसँग मेरा केही गुनासाहरु थिए । सायद ति गुनासाहरुलाई बाहिर निकाल्न मसँग कुनै अर्को माध्यम थिएन । मैले चाहेर लेखेकी थिइन । अक्षरहरु त मेरा सारथी बनेर आएका थिए ।

उसको आगमनले म खुसी त भएँ तर किनकिन उसको प्रवेशसँगै मैले मेरो अक्षरसँगको सम्बन्धलाई बचाइराख्न सकिन । उ भन्ने गथ्र्यो , “ म तिमीलाई सबैभन्दा सुन्दर तिम्रा लेखाइहरुमा भेट्छु । लेख्ने काम कहिल्यै नछोड्नु ।” तर थाहा छैन किन उ जीवनमा आएसँगै मैले चाहेर पनि लेख्न सकिन । म चाहन्थे अब मैले धुमिलताका होइन केही उज्याला संयोगका कथाहरु लेख्नुपर्छ । तर थाहा छैन किन मैले संयोग र प्रेमका कथाहरु कहिल्यै लेख्न सकिन । 

उ कहिलेकाही भन्ने गथ्र्यो – “म आजकल तिमीसँग भएर पनि नभएझै महसुस गर्छु । मलाई लाग्थ्यो मेरो साथले तिमीमा रहेको लेखाइको कन्फिडेन्स अझ बढ्नेछ । तर किनकिन लेखकसँग नजिकिनु एक र्दुभाग्य रहेछ । यदाकदा मलाई तिमीसँग नजिकिएकोमा पछुतो लाग्छ ।” सायद उसले जे भन्यो त्यो एक पाठकको रुपमा असाद्घै सुन्दर अभिब्यक्ति थियो । तर एक साथिको रुपमा एक कठोर अभिब्यक्ति । किन किन म ति दुबै सम्बन्धहरुलाई गुमाउन चाहदैनथेँ । 

थाहा छैन किन किन तर म उसलाई गुमाउँन पनि चाहँदैनथेँ तर लेख्न नसकेकोमा पनि खुसी थिइन । म जे थिएँ म दुखी भएर पनि लेखाइमा थिएँ । मलाई आफूलाई गुमाउँन लागेकोमा एक खाले अनौठो ग्लानी थियो । तर उ मेरो जीवनमा यसरी आएको थियो जसले मलाई मान्छेको रुपमा एक पूर्णताको अनुभूती दिएको थियो । म त्यो अनुभूतीबाट पर भाग्न पनि चाहँदैनथेँ।

थाहा छैन के भयो एक दिन अचानक घुम्न जान्छु भनेर निस्केको उ पहिलेझै मेरो जीवनमा फेरी फर्केन । थाहा छैन उसले के सोच्यो । सायद उसलाई म भन्दा मेरो लेखाइ प्यारो थियो । उ बिनाका ति कयौ दिनहरु मेरा लागि सजिला थिएनन् । फेरी म अनौठो रित्तताको अनुभूती सहित बाच्न थालेको थिएँ । उ बिनाको अनुभूतीले फेरी म अक्षरसँग नजिकिन पुगेँ । सायद अक्षरसँग नजिकिनु भनेको आफैँििभत्रको अपूर्णतालाई सम्बाोधित गर्नु हो । उसको अनुपस्थितिले फेरी मलाई लेख्ने कर्म सँग नजिक बनायो । 

करिब दुई महिनापछि फेरी उ फर्कयो तर त्यही स्वरुपमा होइन । सायद उ मसँग जानाजान केही दुरी राख्न चाहन्थ्यो । थाहा छैन किन आज जब फेरी उसँग फोनमा बोलेँ मैले आफ्ना आँशुहरुलाई रोक्न सकिन । थाहा छैन उसले के सोच्यो उसले अनायास फोन काट्यो .................................................

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...