“यो कुनै आकाश होइन । चाहेर पनि तिमीले अनन्त शान्त खुल्ला मैदान भेट्ने छैनौ । ताराहरु र ताराहर बेगरका शान्त अध्यारा रातहरु केवल एक कल्पना हो । तिमी अन्धकारमा चाहेर पनि शान्ती भेट्ने छैनौ । हामी बन्धनमा छौ । र हाम्रा आफ्नै बन्धनहरु छन् । हामी असिमित बन्धनहरुले सिमित छौ । मानिस केबल सिमितताको पर्याय हो, असिमितता त केबल एक भ्रम हो ।” ऊ एक फोटोग्राफर हो , ऊ आफ्ना फोटोहरुमा लामा लामा क्याप्सन लेख्ने गर्छ । मलाई उसका फोटाहरु भन्दा उसले लेखेका क्याप्सन मनपर्छ । माथीका अहरफहरु उसको रात्रीकालीन फोटोको एक क्याप्सन हो । उ हरेक दिन यसरी नै फोटो खिच्छ । र यसरी नै राम्रा राम्रा क्यापसन लेख्ने गर्छ । उसका क्यासनहरु उसले खिच्ने फोटाहरु भन्दा सुन्दर र गहिरा हुने गर्छन् ।
उसका फोटाहरुमा म बिरलै उज्याला दिनहरु भेट्छु । किन ऊ अध्यारोलाई यति धेरै प्रेम गर्छ मलाई थाहा छैन । मेरो नाम सन्ध्या भएपनि मलाई उज्याला दिनहरु मनपर्छ । तर किनकिन मलाई ऊ पनि मनपर्छ र उसले लेख्ने क्याप्सनहरु पनि । उसका क्याप्सन झै ऊ अनौठो छैन । उसलाई देख्दा मलाई कहिल्यै लाग्दैन ऊ कुनै फोटोग्राफर हो र ऊ यति सुन्दर क्याप्सन लेख्छ । उ देख्दा तपाई हामी जस्तै लाग्छ । बस् उ म जस्तो धेरै बोल्दैन ।
मैले उसलाई कुनै फोटोग्राफरको रुपमा चिनेको पनि होइन । उसले मलाई मेरा फोटाहरु कस्तो लाग्छ भनेर सोध्दा पनि सोध्दैन । र सोधेको पनि छैन । सोध्ला भन्ने पनि लाग्दैन । म उस्लाई “गोपी” भन्छु । तर उसको नाम गोपाल हो । ऊ मलाई सन्ध्या नै भन्छ । ऊ मेरो डेराबाला छिमेकी हो । जब म गोर्वाको बाट चावहिल बस्न पुगेँ ऊ अनायासै मेरो छिमेकी बन्न पुग्यो । यदाकदा चावहिलको गणेस्थान वरपर क्यामरा बोकेको देखेपछि मात्र मलाई ऊ फोटोग्राफर हो भन्ने थाहा भएको हो ।
मैले उसलाई खासै कोठामा देख्दैनथेँ । एक दिन क्यामरासहित देखेपछि प्वाक्क सोधेकी थिएँ , “तिमी फोटो पनि खिच्छौ हो” उसले हास्दै हो भनेको थियो । म फोटोप्रति त्यतिधेरै जिज्ञासु नभएको कारण मैले थप केही भनिन । एक दिन अचानक केही कारणबस उसको कोठामा छिर्दा बल्ल थाहा पाएँ की ऊ कुनै मामुली फोटोग्राफर होइन रहेछ ऊ सुन्दर क्याप्सन लेख्ने लेखकीय फोटोग्राफर रहेछ । उसको क्यापसन देखेर म पहिलोपटक नै उसका शब्दहरुलाई प्रेम गर्न थालेँ ।
उसका प्रत्येक फोटाकोे क्याप्सनले मलाई अनौठो महसुस गराउँछ । मैले अहिलेसम्म यति लामो र सुन्दर क्याप्सन लेख्ने फाटोग्राफर भेटेकी छैन त्यसैले पनि ऊ मलाई चाखलाग्दो लाग्छ । उसका प्रत्येक फोटो तल लामा लामा क्याप्सन हुनेगर्छ जसले मलाई क्याप्सन सुन्दर कि फोटो भन्ने कुरामा सधैँ झुक्याउँछ । यदाकदा किन तिमी यति लामा क्याप्सन लेख्छौ भन्दा ऊ सधै भन्छ, “ कलाले दिने परिणाम सधै एकोहोरो हुँदैन , म एकमाध्यमले मात्र आफ्ना कुरा भन्न सक्दिन । यो मेरो कमजोरी हो सन्ध्या ।” मलाई किन किन उसले प्रयोग गर्ने दुई माध्यम उसको कमजोरी हो जस्तो कहिल्यै लाग्दैन ।
ऊ शान्त देखिन्छ । ऊ भित्रको हलचल मैले उसको अनुहारमा कहिल्यै देखेको छैन । ऊ सामान्य लाग्छ । बस् उ रातमा कैद गरेका दृष्यहरुमा अनौठा क्याप्सन लेख्छ । “ अध्यारामा दुरीहरु देखिँदैनन् । देखिन्छन् त केबल क्षितिज नाघेर आएका प्रकाशका कथाहरु । देख्नेहरुले त केबल नाघिआएका प्रकाशहरु मात्र देख्छन् । नाघ्नेहरुको सिंगो संसार कहि कति तिनै दुरीहरुमा अड्किरहन्छ । र बन्छ एक अकल्पनिय अध्यारो नजिर ।” रातमा परबाट आएको प्रकाशलाई उसले कैद गरेको यो पछिल्लो फोटोको क्याप्सन हो । जसले मलाई फेरी अर्कोपटक उथलपुथल बनाएको छ । तर ऊ शान्त लाग्छ । ऊ आफ्नै क्यामराका कामहरुमा मग्न हुन्छ । अर्को फोटोमा उ लेख्छ, “अध्यारोको छाँयामा उज्यालो पनि अध्यारो नै बन्छ । उज्यालो पनि कहाँ अध्यारो बिनाको छ र । म हरेक चम्किलो चिजमा नपत्याउँदो अन्धकार देख्छु ।”
म भन्छु “थाहा छ गोपी, तिमी जति सरल देखिन्छौ त्यति नै तिम्रा क्याप्सनहरु मलाई सरल लाग्दैनन् । मलाई थाहा छैन तिमी कसरी र किन फोटोग्राफर बन्न पुग्यौ ? तर तिम्रो सरलता भित्र लुकेको यो अनौठोपनले यदाकदा मलाई अचम्मित बनाउँछ” उसले केही प्रतिक्रिया दिँदैन र भन्छ, “ आज पनि म राती फोटो खिच्न जाँदैछु राती फोन गर्छु गेट खोल्देउ ल ।” म हुन्छ भन्छु र उ सरासर आफ्नो बाटो लाग्छ ।
राती एक बज्दै गर्दा उसको फोन रिङले मलाई बिउँझाउँछ । , “ए तिमी आयौ भनेपछि , अँ भन्दै ऊ आफ्नो कोठाभित्र छिर्छ । मलाई लागेको थियो उसले त्यस दिन कैद गरेका दृश्यहरुबारे ऊ केही भन्छ । भोलीपल्ट कतिबेला उसले कोठाको ठोका खोल्छ र म उसका फोटाहरु र क्पापसन पढ्न पाउँछु भनेर म हतारिन्छु । तर बा्रह बजीसक्दा पनि उ कोठा खोल्दैन । बिरामी पो भएको छ की भनेर, ठोका ठक्ठक्काउँदा थाहा पाउँछु ऊ बिउँझिसकेको रहेछ । “तिमी किन अहिलेसम्म बाहिर ननिस्केको भन्दा ऊ त्यसै भनेर फेरी ठोका लगाउँछ ।
यी यस्तै उसका बानीहरुले मलाई ऊ बारे निराश बनाउँछ । म चाहेर पनि उसँग नजिकिन सक्दिन । उसका फोटाहरु हेर्न र क्पाप्सन पढ्न पनि मैले धेरै नै कष्ट गर्नुपर्ने हुन्छ । किनकिन अघिल्लो रात उसले खिचेका फोटाहरु भन्दा मलाई उसका फोटाका क्पाप्सनहरु पढ्न हतार हुन्छ । त्यस दिन पनि करिब चार बजेतिर हतारिदै के छ गोपी, हिजोको फोटो देखाउँन भन्दै म उसको कोठाभित्र छिर्छु । उ डेक्सटपमा फोटोहरुमा क्पापसन लेख्दै रहेछ । रातको समयमा नदिमा बग्दै गरेका छालहरुलाई कैद गरेको फोटो तल ऊ लेख्छ, “बगेर जानेँहरुको कथा सायद यात्राको कथा हो । तर नबगेका हलचलबारे किन कोही बोल्दैन । चाहेर पनि बग्न नसक्नु कम पिडादायक हुँदैन । यात्राझै तरलता र बगाइका कथामात्र किन मान्छे लेख्छ । यो अनौठो बिष्मयको कथानक हो । चाहेर पनि यात्रा गर्न नसकेको अयात्राको कथा । आफ्नै परिधिमा कष्टपद लोपहुन पर्ने किल्लाको कथा । यो नदिहरुमा हराएका छालहरुको कथा हो ।” उसको क्याप्सनले फेरी अर्कोपटक मलाई हुरुक्क बनाउँछ । उ अर्को फोटोमा लेख्छ, “हरेक दिन बगेझै सायद मेरो नियती हो । तर म नबगेको कयौ बर्ष भै सकेको । मेरो स्थिरताको कथा त किनारालाई मात्र थाहा छ ।” म भन्छु, “कसरी तिमी यति सुन्दर क्याप्सन लेख्छौ गोपी ?” “ ऊ हास्छ र बिस्तारै मलाई थाहा छैन सन्ध्या । सायद म दृष्यहरुमा बग्छु भावनामा जस्तै ।” मैले सोधेका प्रश्नहरुमा उसका उत्तरहरु जहिले छोटा हुन्छन् । म चाहेर पनि अरु थप केही भनन् भन्न सक्दिन ।
आज किन किन म उस्लाई केही प्रश्न सोध्ने मूडमा छु तर किन किन सोध्न सक्दिन । उसले किबोडमा चलाएका अक्षरहरुमा मेरा आँखा पर्न जान्छन् । ऊ लेख्छ, “यो सन्ध्याको उज्यालो हो । उज्यालोका आफ्नै परिभाषाभित्र पर्न नसकेको अध्यारोको उज्यालो । यो जुनेनी रात होइन र पनि दिन झै उज्यालो छ । यो निराशामा फूलेको आशाको कथा हो । अध्यारोको निमेशतालाई बुझेको यो उज्यालोको अर्को पाना हो । त्यस्तो पाना जहाँ बिना किरण फूल फुल्न सक्छ, । घाम लाग्न साक्छ र मानिसहरु सदाझै प्रेमका गीतहरु गाउँन सक्छन् ।” रातमा देखिएको चकमन्न जुनलाई कैद गरीएको उक्त फोटोको यो आशावादी क्याप्सन देखेर मलाई ऊ खुसी रहेछकी भन्ने महशुस हुन्छ । अर्को फोटो तल उ लेख्छ, “उज्योलोलाई कहिलेकाही म पनि उज्यालो कै हुँ । नर्कादैमा कहाँ नर्कान सकिन्छ । हुनसक्छ अध्यारोको एक कथाबोकेर म उज्यालोकै खोजिमा म हरेक दिन निस्कन्छु । नर्कादैमा सबै चिज आफ्ना चिज अर्काका हुने पनि त होइनन् । म बिस्तारै सोध्छु, “ के तिमी खुसी छौ हो आज ? किन ? ऊ भन्छ ।” “किनकिन तिम्रो क्याप्सन पढ्दा यस्तै लाग्छ ।” केही प्रतिक्रिया नदिई ऊ भन्छ, “अब म फोटो खिच्न जान्छु ल म राती नआउँन पनि सक्छु।” म केही भन्दिन । ऊ क्यामरा बोकेर सरासर निस्कन्छ ।
मलाई लाग्छ ऊ राती हिजोझै फर्कन्छ र म केही उसका बारे सोध्न सक्छु । तर आज रातीको दुई बझ्दा सम्म पनि ऊ फर्केको छैन । म लामा लामा क्याप्सन लेख्ने फोटोग्राफरको पर्खाइमा अत्तालिएकी छु । प्रश्न त मैले आफैलाई सोध्नुपर्ने भएको छ किन म उसको पर्खाइमा उत्तालिदैँ छु ? बाहीर हेर्छु चकमन्न अध्यारो छ यस्तो लाग्छ कसरी त्यो सरल देखिनेँ गोपी यति असामान्य लाग्ने अध्यारोमा फोटो खिच्दै हिड्छ । किन ऊ रातदेखि डराउँदैन ? थाहा छैन किन ऊ त्यस्तो गर्छ । तर मैले ऊ बारे सोचिरहनुँ आवश्यक छैन ।
सोच्दासोच्दै म निदाएछु बिहान ठोका खोलेर हेर्दा उसको ठोका बन्द नै छ । थाहा छैन ऊ आएपछि सन्धयाकालीन कस्ता दृष्यहरु र तिमाथी कोरीएका कस्ता अक्षरहरु बोकेर आउँछ । थाहा छैन फोटो र क्यापसनमा अध्यारो बोकी हिड्न उसले उज्यालोलाई कसरी लिन्छ , प्रेमलाई कसरी लिन्छ । म सोध्न चाहन्छु तर उसको र मेरो सम्बन्धको आकाश खुल्ला छ । म चाहन्न म प्रश्न गरेर असिमितताको आकाशलाई सिमिततामा बदलुँ ।
No comments:
Post a Comment