Sunday, November 9, 2025

शहर ः एक अनुभूती


दिन शान्त छ । मनमा शान्ति भएको बेला बादलले भरीएको दिन पनि मनपर्छ ।  झरी मनपर्छ । बतास पनि मनपर्छ । हावाहुरी र चट्याङ पनि मनपर्छ । आज त्यस्तै कुनै दिन हो । घण्टाघर तल छु ।  घण्टाघर तल कुनै चियापसलमा । घण्टाघर आफ्नै लयमा घुमिरहेछ । जसरी म घुमिरहेछु । सायद समय यसरी नै घुम्छ । बिस्तारै थाहा नपाएझै गरी ।  घुमेको आभाष कहाँ छ र ! र पनि घुमिरहेछौँ । तपाई । म । घण्टाघर । समय । सबैसबै ।

सायद यो जीवनको गति हो । सायद मानिस पनि आफ्नै लयमा घुम्न चाहन्छ ।  वा यसरी नै समय चलिरहन्छ । नचल्नुको विकल्प पनि त छैन । हुनसक्छ यो बिना बिकल्पको हिडाइ हो । वा घुमाइ हो । हत्तारीँदै हिडेर पनि कही पुग्नु छैन । वा पुगेर पनि फर्कनु छ । हुनसक्छ पुगेर पनि नपुगेझै गर्नु छ ।

 हामी सबैको गन्तब्य एकै हो । थाहा छैन हत्तारीँदै हिड्नेहरु कहाँ पुग्छन् । सायद लामा पाइला चाल्नेहरुको यात्रा छोटो हुन्छ । यात्रा अयात्राको यो वृत्तमा हामी  घुमिरहेछौ  । सायद यही नै जीवन हो ।

चियापसलमा छु । भर्खरै एक मधुर मुस्कानले छोडेर गएको छ । मुस्कान एक सामुहिक भाव हो । दुख पिडालाई हामी सामूहिक बनाउँन सक्दैनौ । दुखको बदला दुख सापटी दिन सक्दैनौ । सायद मुस्कान नै त्यस्तो अनुभूती हो जसले सामूहिकता रोज्छ । मुस्काउँदै हिड्नेहरुले अनौठो अनुभूती दिएर जान्छन् । उसले त्यही  दिएर गएको छ । थाहा छैन उ किन मुस्कुरायो । थाहा छैन मैले किन उसको मुस्कानलाई साथ दिएँ । 

शहर आफ्नै गतिमा छ । चाहेर पनि हामी शहरको गतिलाई रोक्न सक्दैनौ । चियापसलबाट शहरको एक दृश्य कैद गर्दैछु । यो दृश्य मेरो हो ।  शहर सामुहिक भए पनि हामी सबैको आफ्नै भर्सनको सहर छ । यो मेरो भर्सनको शहर हो । कहिलेकाही लाग्छ म झै सहर पनि एक्लो छ । सबैसँग भएर पनि एक्लो । आफ्नै भएर पनि एक्लो । 

सबै आफ्नै लयमा पाइला चाल्दैछन् । किन कहाँ कसैलाई थाहा छैन । वा थाहा छ । वा थाहा भएर पनि थाहा नपाएझै गर्दैछन् । नानीहरु स्कुलका लागि पाइला चाल्दैछन् । नानीका बाआमाहरु कामका लागि पाइला चाल्दैछन् । केही नहुनेहरु हतारमा केही पाउँनका लागि पाइला चाल्दैछन् । म आफ्नै ठानेर उनीहरुको पाइला गन्दैछु ।

यो पाइलाहरुको कोलाहलमा आफ्ना पाइला खोज्दैछु । सायद म पनि आफ्नै दौडमा छु अरुजस्तै । तर थाहा छैन मलाई कहाँ पुग्नुछ, के पाउँनु छ । के मेरा पाइलाहरु प्राप्तिको दौडमा छन् ? तर थाहा छैन मेरो गन्तब्य के हो । आफैलाई खोज्दाखोज्दै म कहाँ पुग्नेछु । वा कुनै दिन थाकेर खोज्न छोडिदिनेछु । शहर अमुक छ । उसले मलाई पनि त कहिल्यै प्रश्न गरेन । सायद सहर सबैप्रति एक दुरी राख्छ । सहर उदार र अनुदार दुबै छ । उसले चाहेर पनि न मानिसलाई अगाल्छ न लत्याउँछ ।

  के सब यी दौडिरहेका मानिसहरु आफैलाई खोज्दैछन् । वा शहरको धुनमा त्यसै नाच्दैछन् । मलाई अरुको लयमा नाच्नेहरु अनौठा लाग्छन् । थाहा छैन नाच्दानाच्दै उनीहरु कहाँ पुग्नेछन् , के पाउँनेछन्  । सायद यो शहरको बिशेषता हो । यसले आफ्नै धुनमा नचाउँछ । वा हामी सबै आफ्नै धुनलाई सहरको धुन ठान्छौँ ।

 तर सबैसँग आफ्नै परिकल्पनाको शहर हुन्छ । मेरो शहर मेरो रोजाइको शहर हो । म शहरलाई सिंगो ठानेर हेर्न सक्दिन । मलाई त शहर आफैँजस्तो लाग्छ । टुक्रिएको । निराश । म आफ्नै प्रतिबिम्बमा शहरलाई हेर्छु । मलाई लाग्छ, मेरा वाक्यहरुझै मैले बाचेको शहर पनि सग्लो छैन । म टुक्रिएका अमुक वाक्यहरुलाई सहर ठानेर हेरीदिन्छु । सहरले आफ्नो परिभाषा लाद्दैन । सहरले मेरो परिभाषालाई तेरो परिभाषा भएन भन्दैन । सहरले आफ्नो रोजाइ लाद्दैन ।

मैले बुझेको शहरको कल्पना एकात्मक हो ।  यो एकात्मकताको बिम्बमा अडिएको छ । मैले शहरमा रहनुको अनुभूतीलाई सामूहिकतामा ब्याख्या गर्न सक्दिन । मेरो शहर तपाईको होइन । तपाईको शहर मेरो होइन । यो घण्टाघर तल म मेरो समयको कुरुपतालाई मात्र देख्छु । हुनसक्छ तपाईलाई यी मानिसहरु, यी गाडिहरु, यी बिनामतलबका दौडधुपहरु राम्रै लाग्लान् ।

गाडी गुडेका छन् । मानिसहरु हतारमा छन् । चिया पसलबाट चियाका बाफहरु उड्दैछन् । यो शहरको बिहानी हो । सायद शहर यसरीनै बिउँझन्छ । स–साना नानीहरु स्कुलका लागि निस्कदैछन् । नानीहरुले शिरमा लगाएको रिबनका फूलहरुले थप सौन्दर्य थपेको छ । यी अनुभूतीका तंरगहरुलाई म कैद गर्न चाहन्छु । म चाहन्छु मसँग यस्ता अनुभूतीहरु रैरहुन् । सायद हामी सबै यी यस्तै अनुभूतीका भोका छौ । बिष्मृतिहरु छोटा हुन्छन् । सायद हामी सबै स्मृतिमा बाच्न चाहन्छौ ।

तर यी स्मृतिहरु कुनै दिन मबाट पर जानेछन् । म धुमिल बन्नेछु । मेरा दृश्यहरु धुमिल बन्नेछन् । सायद मसँग स्मृतिको नाममा केही रहनेछैन । न यो चियापसल । न यो घण्टाघर । न यी असननका गल्लिहरु । न शहर मेरो हो भन्ने अनुभूती । कुनैदिन मसँग केही रहनेछैन । मेरी हजुरमासँग पनि संसारबाट बिदा हुँदे गर्दा स्मृतिहरु बाकी थिएनन् । सायद म पनि त्यस्तै हुनेछु कुनै दिन । शहर रहनेछ म रहनेछैन । शहरलाई कसैले सम्झनेछ तर मैले सम्झनेछैन् ।

  शहरको यो निजात्मक ब्याख्या हो । हुनसक्छ कुनैदिन सामूहिक बन्नेछ । यो मेरो नभइ अरु कसैको बन्नेछ । यी चाहेर कैद गरेका शब्दहर हुन् । थाहा छैन कुनै दिन अरु कसैले शहरको अर्को भर्सन लेख्नेछ । तर यसरी नै नलेख्न सक्नेछ । म आफैले पनि अरु कुनै अर्को दिन कैद गरेँ भने शहरको अर्को कुनै कुरुप कर्कष पोर्टेट बन्नेछ । यो सहरमाथी गरिएको बेमेल रेखाहरुको एक अमूत ब्याख्या मात्र हो । क्यानभाष मेरो हो । रंगको रोजाइ तपाईको हुनेछ ।

 यो एक सपनाझै हो । सत्य हो म सहरमा छु । सहरमा भएर नै सहरबारे लेखिरहेछु । तर सत्य यहि हो म सहरिया मानिस होइन । सहरलाई चिहाउनु सहरको हुनु होइन । यो अबलोकन मात्र हो । म सहरलाई हरेक  दिन चिहाउँछु । जस्तो कि आज । तर हरेक दिन मलाई लाग्छ म सहरको होइन । मलाई लाग्छ मेरो भर्सनको सहर सहर होइन । मैले पिउँने चिया पसलहरु गाउँकाझै छन् । चाहेर नचाहेर उनीहरुले मैले पढ्ने किताबको रंग हेर्छन् । तर किन पढ्दैछस् भनेर प्रश्न गदैनन् ।  कहिलेकाही त मैले लेखेका पानाहरुलाई चिहाएर नयाल्छन् । त्यसपछि मलाई लाग्छ म गाउँमै छु । एक्लो चिया पसलमा एक्ली छोरी मान्छे बसेर चिया पिएको देख्दा उनीहरु हरेक चिया पसल झस्कन्छ । कतिले त किन एक्लै भनेर प्रश्न पनि गरिदिन्छन् । तर खास कुरो यो होइन । सहर पनि गाउँझै हुनु हो । म चाहेर पनि गाउँ फर्कन सक्दिन । मलाई गाउँका चिहाउँने आँखा देखेर डर लाग्छ । तर सहर पनि यदाकदा गाउँझै लाग्छ । कहिलेकाही त लाग्छ भागेर कुनै अर्को नौलो सहर जाउ । बिच बाटामा कोही बटुवासँग मज्जाले रोइदिउँ । आफ्नासँग त चाहेर पनि रुन सकिँदैन । त्यसैले यदाकदा सहरझै मानिसहरु पनि अपरिचित नै प्रिय लाग्छ । हुनसक्छ यो सहर मेरो गाउँझै परिचित भएको दिन म यसलाई पनि छोडिदिनेछु । मलाई कसैको हुनुसँग कुनै लगाव छैन । म त सहरको पनि हुन चाहन्न । सहर निरपेक्ष छ त्यसैले प्रिय छ । हुनसक्छ कुनै दिन अप्रिय पनि लाग्नेछ । यो घण्टाघर तल म हमेसा हिडिरहन्छु । यस्तो लाग्छ यो सहर कुनै अपरिचित मानिस  हो । गाउँझै लागेर पनि यो सहर मेरो होइन भन्ने मलाई थाहा छ । मेरो नभएकाले नै यो प्रिय छ । हो यो अपरिचित सहर हो ......

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...