यो पत्र हो । वा होइन पनि । तिम्लाई यो पत्र नलागेर अरु केही लाग्यो भने पनि ठिकै छ । यहि नै लाग्नुपर्छ भन्ने केही छैन । यो अन्तिम भनेर पनि यो अन्तिम नहुन सक्छ । अन्तिम नभनेको भए पनि यो अन्तिम हुन पनि सक्थ्यो । तर अन्तिमपटक धन्यवाद भन्न चाहन्छु । भेटियौ खुसी छु । भेटरे पनि भेटिएनौ त्यसमा पनि खुसी छु ।
महिनौ भयो पत्रझै केही लेख्न चाहन्थेँ । तर लेख्न खोज्दा हातहरु कामेँ । मैले लेख्न सकिन । लेख्छु भन्दैमा कहाँ लेख्न सकिन्छ र । आज पनि म चाहेको कुरा नलेख्न सक्नेछु । महिनौ पहिले लेखेकी थिएँ तिमी त्यस्तो कविता हौ जसलाई म लेख्न चाहन्छु । तर चाहेजस्तो कविता कहाँ लेख्न सकिन्छ र ?
कहिलेकाही लाग्छ म पत्र लेख्न जन्मेकी होइन । मैले लेख्दैमा पढ्नैपर्छ भन्ने पनि त छैन । कयौ बर्ष अघि तिमीलाई झै अरु कसैलाई पनि लेखेकी थिएँ । उसले पनि कहाँ पढेको थियो र । नपढ्न तिमी पनि सक्नेछौ । तर लेख्नु म हुनु हो । सायद आफू हुनु सबैभन्दा सुन्दर कुरा हो । म आफैँलाई पनि सबैभन्दा सुन्दर लेखेकै बेला भेट्छु । सायद तिमी भेटिका हुँन्थ्यौ भने पनि म केही भन्ने थिइन । सायद म कवितामात्र लेख्ने थिएँ । सायद तिमी नभेटिएको गुनासो पनि म पत्रहरुमा मात्र लेख्नेछु ।
हिजो कुनै अन्जान सडकमा त्यसै टहलिए । सायद आफैँलाई खोज्दै । खोज्दैमा कहाँ भेदिन्छ र आफू पनि । गुनासो पनि कति गर्नु भनेर मैले हिजोबाट आफूलाई खोज्न पनि छोडिदिएँ । तिमीलाई पनि मैले आफैँलाई झै नै खोजको हुँ । कहिलेकाही लाग्छ नि अरु पनि आफू नै हो । कहिलेकाही अरु कसैको प्रतिबिम्ब पनि आफ्नो झै लाग्छ नि । हो मलाई तिमी त्यस्तै केही लागेको थियो । त्यो भ्रम थियो । तर भ्रम त त्यो पनि थियो जसले तिमीलाई र मलाई बाधेको थियो । थिएन भने किन आफ्नो झै लाग्यो । किन घण्टौ घण्टा निमेसभरको सेकेन्डझै भयो । अप्राप्ति पनि किन प्राप्तिझै लाग्यो । हुन त म हरेक भ्रमलाई भ्रम नठानेर हिड्ने मानिस हुँ । यर्थाथको गणित सधैँ कमजोर नै त थियो । यर्थाथमै बाचेको भए पनि म कहि पुग्दैनथेँ । यर्थाथलाई नबुझ्नुमा कुनै गुनासो पनि रहनेछैन ।
हो शब्दहरुझै कहिलेकाही म पनि मौन भैदिन्छु । त्यो मौनताभित्र म कोलाहललाई बोकेर हिड्छु । केही दिन अघि त्यसै गरेँ । आज पनि सायद त्यही गर्नेछु । यूद्धभैm जीवन पनि कहाँ खोजेझै शान्त छ र । तिमी भेटियौ । तिमी भेटिएनौ पनि । भेटिएपछि म भेटिएको होइन पनि भन्यौ । र भेट्नै नचाहेको मलाई भेटाउँन कोसिस पनि गर्यौ । सायद तिमी भित्रको यर्थाथ यति जगडिएको थियो कि तिमीले नजिकैको भ्रम भनिरहेको यर्थाथलाई पनि देख्न सकेनौ । वा तिमीले देख्न चाहेनौ ।
कहिलेकाही जब सडकछेउ बेच्न राखेका लामबद्ध बार्बि डलहरु देख्छु यस्तो लाग्छ नबेचेर बाकि रहेको सुन्दर बार्बिडल मनै हुँ । तिमीलाई पनि थाहा होला सबै बाकि रहेका तिजहरु कसमल होइनन् । म पनि सायद थिइन र होइन । तथापी कुरुप त समयले बनायो । भ्रमले बनायो । यी अक्षर बनेर लेखिए पनि । यस भित्र पिडा मात्र छ । हुनसक्छ यो पिडा पनि तिमीलाई भ्रम मात्र लाग्न सक्छ । यो डेलुलुको संसार हो । यो भ्रमित संसार हो । म भ्रममा छु भन्दा म भित्र कुनै लज्जाबोध छैन ।
आज अक्षरहरु पनि आँशु बनेर लेखिएका छन् । तर म यो पनि भन्न चाहन्न । तर भन्न पनि चाहन्छु । आशु झार्नु कुनै कमजोरी होइन । भावना ब्यक्त गर्नु पनि कुनै कमजोरी होइन । यो पत्र लेख्नु पनि कमजोरी होइन । तिमीबाट केही आशा नगर्नु पनि केही कमजोरी होइन । आफैँलाई पर्खेर हेर्नु पनि कमजोरी होइन ।
हो कमजोरी नै कमजोरी बिच पनि म कमजोर थिइन र होइन । तिमी पनि कमजोर थिएनौ र होइन । यति हो मेरो सत्यलाई तिमीले सधैँ भ्रम ठान्यौ । जुन समयको भ्रम थियो त्यसलाई तिमीले सधैँ सत्य ठान्यौ । यो दुखेसो सधै छ र रहिरहनेछ ।
बर्षौ पछि फेरी तिमीले पढ्यौ भने वा मैले सम्झे भने यसले केही अर्थ राख्छ वा राख्दैन मलाई थाहा छैन । तर सत्य हो यो लेखाईले मलाई केही शान्ति दिएको छ ।
No comments:
Post a Comment