कोठा एक्लो छ । ओछ्यान एक्लो छ । पर्दाहरु एक्ला छन् । टेबल, टेबल माथिका किताबहरु पनि त एक्ला नै छन् । टेबलमा एक्लो एउटा किताब छ जसका केही पानाहरु मैले रित्तयाइसकेको छु । साथमा केही थान बुकमार्कहरु छन् । यो एक्लोपनप्रतिको गुनासो होइन । एक्लो छु खुसी छु भन्न चाहन्छु । तर एक्लो हुनुमा कुनै गुनासो छैन । तर मलाई लाग्छ म एक्लो छैन । कसैले एक्लो छस् भन्दैमा कहाँ एक्लो भैइन्छ र ! तर यो एक्लोपनप्रतिको गुनासो होइन ।
आकाश पनि त एक्लै छ । नदि पनि त एक्लै छ । फूलहरु पनि त एक्लै छन् । परको क्षितिज । सधै चम्कने ताराहरु । न्यानो घाम । सबैसबै एक्लै नै छन् । एक्लो छु त र आफ्नो समय छ । आफैँले आफ्ना लागि लेखेका चिठिहरु छन् । आफैँले आफ्ना लागि संगालेका यादहरु छ । जे छ आफ्नो मात्र छ ।
यो ओछ्यान आफ्नो हो । यी किताबहरु आफ्ना हुन् । यी चियाका कपहरु । यो सुत्ने पलङ । ओछ्यानका लागि किनेका सेता नमैलेका तन्नाहरु सबै सबै आफ्ना हुन् । अघि नै भनिसकेँ चाहेको पनि यही हो । आफूँ आफ्नो हो भन्नुको अनुभूती अरु कसैले चाहेर पनि कहाँ दिन सक्छ । दिन पनि आफ्नो हो । रात पनि आफ्नो हो । रातमा चिहाउँने जून पनि आफ्ना हो । जूनलाई चिहाउँने मेरा आँखाहरु पनि आफ्ना हुन् ।
चाहेको पनि त यही हो । गुनासो कसरी गर्नु । गुनासो कसलाई गर्नु । गुनासो गरेर पनि के गर्नु । एक्लो भएर पनि एक्लोझै नलाग्ने कोलाहल बोकेर म बाच्छु । कहिलेकाही आफैँभित्रका अनेकौ मानिसहरुले पिरोल्छन् । तर म भित्र त्यस्ता मानिसहरु पनि छन् जसले मलाई प्रेम गर्छन् । जसले मलाई तँ पनि केही हो भनिदिन्छन् । अक्षरहरु पनि छन् साथमा जसले मलाई बिना अर्थका कुराहरुमा किबोड चलाउँन सिकाउँछन् । तर म भित्रका मानिसहरु सधै दयालु हुन्छन् र ! कसैले निकम्मा प्रमाणित गर्छन् । कसैले अपराधि ठहराइदिन्छन् । कसैले केही भएर पनि नभएभैे बनाइदिन्छन् । आफू हुनु पनि कहाँ सजिलो छ र । कहिले दिन रातझै बनाइदिन्छन् । कहिले रात दिनझै बनिदिन्छन् ।
त्यसैले त एक्लोभएर पनि एक्लोझै लाग्दैन । यो कोलाहल जो मसँग बाच्छ । जसले मलाई चिच्याउँन सिकाएको छ त्यसलाई म कसरी नकारु । जसले मलाई चिसो मौनता पनि दिएको छ त्यसलाई म कसरी बिर्सु ।
कहिलेकाही त आफू नै एक बजारझै लाग्छ । बस् बजारझै बिक्न र बिकाउँन जानेको छैन । यो कोलाहलको बजार भित्र यदाकदा सान्नाटा पनि भित्रन्छ । त्यस्तो सान्नाटा जहाँ बाच्नु र नबाच्नुले कुनै अर्थ राख्दैन । आज पनि त मलाई बाचेँझै कहाँ महसुस भएको छ र । बस् सान्नाटाले मलाई छोड्न सकेको छैन ।
आज कसैलाई चिठी लेखेँ तर त्यो आफैँलाई थियो । म प्रापक र प्रेसक दुबै हुँ र थिएँ । तर त्यसले के अर्थ राख्छ र । सुन्ने पनि मै हुँ र सुनाउँने पनि मै हुँ । बस् सुनाएको जस्तो कहिलेकाही गर्छु । सुनेको जस्तो कहिलेकाही गर्छु । म भित्र सुन्ने र सुनाउँने दुबै मानिसहरु छन् ।
एक्लो भएर पनि कहाँ एक्लो हुदो रहेछ र मानिस । म भित्र मानिसहरुको एक कोलाहल सधैँ रहिरहन्छ । यो भिड मै हुँ । असन र इन्द्रचोकझै चिच्याउँने पनि मै हुँ । बाग्मतिको बगरझै निस्सार पनि मै हुँ । एक्लो भएर पनि कहाँ एक्लो छु र ! सडकका हरेक चेहेरा मेरो आफ्नो पनि हो । कहिलेकाही त लाग्छ किन हेर्नु र ऐना । किन पुछ्नु र दाग । हरेक उज्याला र अध्यारा । हरेक कुरुप र सुँन्दर । हरेक दाग र बेदाग । सबै सबै मेरा हुन् । ऐनामा देखाएझै सपाट कहाँ छ र चेहेरा । हरेक अध्यारा उज्याला गल्लिका । हरेका सडक चोकका कर्कश र मधुर । हेरक चोकको धुवा र बतास म भित्र पनि छ । कसरी भनुँ म एक्लो । एक्लो भएर पनि कहाँ एक्लो छु र । यो डिसेम्बरको चिसो । त्यो जेठको घाम । त्यो असारको बर्षा म नै भएर भित्रन्छ र जान्छ । हो जे हुँ सबै सबै हुँ । कहाँ एक्लो ? कसरी एक्लो ? कसले भन्यो एक्लो ?
आजकल न एक्लोपन सँग नै गुनासो गर्छु । मलाई कहिलेकाही लाग्छ यी बिना अर्थ आवाजहरु बिना, अर्थको के महत्व । बाच्नुको के महत्व । अनुभूतीको के महत्व । म अर्थ बिहिनतामा पनि अर्थ खोजिरहन्छु । र खोज्दिन पनि । तथापी एक्लोपन पिरोल्दैन । पिरोल्छ त कोलाहलले । जे छ यी बिनाअर्थको हल्लामा छ । यो समाजले चाहेर पनि कहाँ एक्लो बन्न दिन्छ र ? मसँगै एकहुल मानिसहरु बाच्छन् जसले हरेका रात मलाई मानिस हुनुको आधार माग्छन् । हो म हरेक रात कुनै केस चलिरहेको कैदिझै आफू हुनुको आधार पेस गर्दागर्दै एक मानिस भएकोमा अपराधि ठहरिन्छु । कहाँ एक्लो छु र !
आज पनि बिना मतलबका केही रेखाहरु कोरेँ र अर्थ खोजे । थाहा छ अर्थको पनि कुनै महत्व छैन । बेअर्थले पनि कहि पुर्याउँदैन । यसैमा अडिएको छु भनेर दावी गर्नुको कुनै तुक छैन । सायद यहि नै कोलाहल हो । म भित्र सधै हल्ला बाच्छ । हल्लापछि एक सान्नाटा बाकी रहन्छ । सायद म एक्लो भएर पनि एक्लो छैन ।
No comments:
Post a Comment