Monday, December 8, 2025

डियर लिटल डग,


प्रिय ओसन वोङ, कुनै दिन, केही बर्ष अघि, अनायासै किताब पसलमा तिमीलाई भेटेँ । तिमीले सजिलै भनिदियौ यो संसारमा हाम्रो उपस्थिती आंशिक रुपमा मात्र सुन्दर छ । त्यो अध्यारोको कथा थियो । भियतनाम यूद्घ चलिरहेकको  समयमा आफ्नो बाआमाले बनाइदिएको लोग्नेलाई छोडेर आफ्नो प्रेमी रोजेकी तिम्री हजुरआमाले नजन्मिदै तिम्रा लागि नयाँ बाटो रोजिदिएकी थिइन । आज तिमीले गर्ने अस्तित्वको प्रश्न, सायद उनले नै तिमीलाई सिकाएकी थिइन् । सिकाउँने तिम्री हजुरआमाले सायद अरु धेरै मानिसहरुझै अस्तित्वको प्रश्न नगरी बिदा भैन । हुन त उनी छोरी मान्छे थिइन, उनलाई अस्तित्वको प्रश्न गर्न कसले पो सिकायो र? तर उनको नातीलाई उनले सिकाइन् । तिमीले बाचेको आंशिक सुन्दर जीवनको प्रतिबिम्ब उनले दिएको क्षितिजको मैदान हो ।

प्रिय ओसन, एक भियतनामीको अंग्रेजी लेखाइले  संसारलाई अचम्मीत बनाउँनु सानो कुरा होइन । एक अपठित आमाले शब्दको जादुगरलाई हुर्काउनु पनि सानो कुरा होइन । किताबमा तिमी आमालाई चिठी लेख्छौ र सजिलै भनिदिन्छौ म तिम्रो भावना र बिचारको अंग्रेजी अनुवादक हुँ । थाहा छैन कहिल्यै अक्षर नचिनेकी तिम्री आमाले तिम्रा अंग्रेजीका वाक्यहरुलाई कसरी लिइन र कसरी बुझिन् । कहिलेकाही लाग्छ संसार स्वार्थि छ । सबैभन्दा सुन्दर चिजहरु सबैभन्दा कठिन माध्यमबाट जन्मिन्छन् । जसको लागि तिम्ले किताब लेख्यौ उनले नै पढ्न र बुझ्न सक्दिनन् त्यो दूर्भाग्य हो । सायद जीवन दूर्भाग्यहरुकै संयोग हो ।

तिमीले अर्को पुस्तकमा भनिदियौ आमा भनेको समय हो । आमा नरहेपछि समय पनि बिस्तारै ओझेल पर्दै जान्छ । सायद तिमीले तिम्रो आमा र हजुरआमाले दिएको इतिहासलाई सम्मान गरेका थियौ । सायद आमाको त्यही सम्मानले तिम्रा शब्दहरु ममतामयी कोमल बनेका थिए । तर तिम्रा पात्रहरु निर्दा छन् । पुस्तकमा आफैँलाई तिमीले किन लिटल डग भनेर सम्बोधन गर्यौ । तिमीले आफूले आफैँलाई दिएको झिनो बिम्बले यदाकदा मलाई दुखी बनाउँछ । म आफैँ पनि सुस्मताको बिम्बमा कयौ बर्ष बाचेँ । म अरुको लागि मात्र होइन आफ्नै लागि पनि सानो मानिस थिएँ । मलाई सानो बिम्बमा आफू हेर्ने आफैँजस्ता लाग्छ । जसरी म आफूलाई सानो र बिनानामको बिम्बमा देख्न चाहन्न त्यसरीनै तिमीलाई पनि चाहन्न ।

यो एक पाठकले एक लेखकको लागि वा भनौ एक पात्रको लागि गरिएको कामना हो । जसरी तिमीले आफ्नो आमा माझ फेरी पुग्नको लागि लेख्ने गछौ वा अपठित आमाको अस्तित्व चिनाउँन । म पनि आफ्नो अस्तित्वलाई आफैँले स्विकार्न लेखिरहेछु । कहिलेकाही लाग्छ फरक त हामीले बाचेको भूगोल मात्र हो । कथाहरु त साझा हुन् । यूद्घका डोबहरुले जसरी तिमीलाई शब्दमा बोल्ने बनायो त्यो पनि आंशिक सत्य हो । सायद तिमी लेख्नकै लागि जन्मिएका थियौ । अथवा शब्दहरुको लय तिम्रो भागमा भागमा पर्यो ।  वा तिमीले त्यही रोज्यौ ।

प्रिय वोसन, तिमी लिटल थिएनौ र होइनौ । तिमी त शब्दका जादुगर हौ जसले लेख्न लागि मात्र लेखेन । यो परको भूगोलबाट तिमीलाई सम्झिराख्नको लागि धेरै कुरा छन् । म सम्झिन्छु र सम्झिरहनेछु ।

यो चिठीको पहिलो अंक थियो । म  यसलाई च्यात्न चाहन्थे । तर च्यातिन किनकी म लेखक बनेँ ।  म मेरो परिवारको कलेज पुग्ने पहिलो ब्यक्ति थिएँ । तर यो सबैले केही अर्थ राख्दैन । मलाई थाहा छैन म कसरी लेखक बनेँ, कसरी म कहिल्यै कसैले नभनेका सबै कुरा भन्न सक्ने भएँ ।

वोसन वोङ

डियर ओसन, 

यो पत्रको देस्रो अंश हो । म तिमीलाई नलेख्न पनि सक्थेँ । लेखेर च्यातिदिन पनि सक्थेँ । जीवन संयोग हो । मैले तिमीलाई पढ्नु पनि त्यस्तै संयोग हो । तिम्रो पहिलो पुस्तकको कुनै पानामा तिमीले काठमाडौँको कुरा गरेका थियौ मलाई यस्तो लाग्यो तिमीले मलाई चिन्छौ । त्यस दिन पछि सधैँ लागिरह्यौ तिमीले मलाई सधैँ चिन्छौ ।

मंशिरको महिना छ म घाममा सुन्तला र बदाम खादै तिमीलाई पढ्दै छु । तिमीलाई पढ्नु अब संयोग मात्र रहेन । अब त्यो रोजाइ बनेको छ । अघिल्लो महिना तिमीलाई खोजेर किने । तिमीलाई थाहा छ मेरो जस्तो देशमा तिमीलाई खोजी खोजी पढ्नु सजिलो काम पक्कै होइन । सायद मैले तिम्रो पुस्तक किन्न करिब करिब एक दिनको कमाइ खर्च गरेकी छु । हुन त तिम्रा अक्षरहरुलाई भित्रयाउनु मूल्यमा दाज्ने कुरा होइन । तर कहिलेकाही रोजाइहरु पनि महङ्गा पर्छन भन्न खोजेको मात्र हो ।

किताब पल्टाउछु यस्तो लाग्छ मैले तिमीलाई सधै चिनिरहनेछु । आज पारिलो घाममा तिम्रा पानाहरु पल्टाएँ । तिम्रो पात्र निराश तर उ उन्नाइस बर्षको छ । असी बर्षकी डिमेीन्सयाले सताएकी गाज्रियालाई लाग्छ उ दुखी हुनु हुँदैन । अझ उन्नाइसमा त दुखी हुनु दूर्भाग्य हो । तर असी पुगिसकेकी उसकी हजुरआमा वा भनौ जिजुआमाकी उमेरकी ग्राजीया पनि कहा खुसी छ  र । अबको दुनियामा खुसी छु भन्नु सायद असामान्य कुरा हो । खुसी त म पनि छैन । सायद खुसी त तिमी पनि छैनौ । तर किन पुस्तकको नाम खुसीको साम्राज्य राख्यौ । यो टुक्रा टुक्रामा जीउने समयमा, खुसी र दुख पनि कहाँ साम्राज्यझै भित्रन्छ र यो दुनियामा । सायद हामी दुखी र खुसी दुबै टुक्रा टुक्रामा छौ । जीएझै र मरेझै पनि टुक्रा टुक्रामै गरिरहेछौ ।

म उन्नाइसको कुरा गर्न चाहन्छुु । धेरैलाई लाग्न सक्छ बिसमा नपुग्नु खुसी हुनु हो । तर त्यो दूर्भाग्य हो ।मानिस उन्नाइसमा पनि दुखी नै हुन सक्छ । जस्तोकि म थिएँ । म तिमीलाई उन्नाइसको कथा भन्न चाहन्छु । म पनि सबैभन्दा दुखी उन्नाइसमै थिएँ । फरक यति हो म हानझै सोसाइडल हुन सकिन । सबैलाई लाग्थ्यो उन्नाइसको हुनु सुख र खुसीको साम्राज्यमा हुनु हो तर भनेझै कहाँ हुन्छ र । उमेरले खुसी दिन सक्दैन भन्ने कुरा हान र ग्राजियलाई हेर्दा नै थाहा हुन्छ । मलाई लाग्छ अब हामीले साम्राज्यलाई बिर्सन पर्छ । मलाई बृहतताको मानक आफैँमा अनौठो लाग्छ । जे छ शुष्मतामा मात्र छ । तिमीले रचना गरेको यो शुष्मताको कथानकलाई स्रामाज्य भनेर नामाकरण गर्नु आफैँमा अनौठो कुरा हो । तिमीले भनेझै यो संसारमा जे छ अंशमा छ । कहाँ सिँगो भएर जिएका छौ र हामीले । यो अंश अंशमा बिभाजित जीवनलाई कसरी साम्राज्य भन्न सकिन्छ र ?

प्रिय ओसन, मलाई आज पनि लाग्छ तिमीले मलाई चिन्छौ । मलाई लाग्छ हामी कुनै  दिन सडकमा भेटियौ भने पनि हामीलाई लाग्ने छैन हामी अपरिचित हौँ । मलाई लाग्छ र विश्वास पनि छ, कुनै दिन म तिमीलाई न्यूयोर्कको गल्लिमा अनायासै भेट्ने छु । तर यो मलाई सधै सत्य झै लाग्छ । मलाई लाग्छ, संसार त्यती फराकिलो पनि छैन कुनै दिन तिमी र म भेट्न नसकौँ । सायद भेटेको दिन म तिमीलाई अगाल्नेछु, र भन्नेछु प्रिय ओसन, कृपया खुसीको साम्राज्य हुँदैन । यो टुक्रा टुक्रामा बिभाजित खुसीलाई जोड्न नखोज । जे छ अंश अंशमा छ । 

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...