Tuesday, December 9, 2025

दावी


सायद जन्मदा केही थिएन । जन्मेपछि पनि केही थिएँन । मेरो नै हो भनेर दावी गर्न त मैले अहिलेसम्म सिकेको छैन । थाहा पाउँने भएपछि मेरो हो भनेर दावी गर्न मिल्ने काठको पुतली थियो । कालन्तरमा आफैँले बनाएको पुतली पनि आफ्नो रहेन । आमालाई लाग्यो ठूलो भएपछि पनि आफ्नो भनेर दावी गर्नु राम्रो कुरा होइन । केटाकेटी जन्माउने उमेरकाले पुतली खेलाउँदैनन् । त्यसपछि काठको पुतली पनि आमाको भयो । कुनै अर्को दिन आमाले पुतलीलाई आगोमा जलाइदिनुभयो । त्यपछि मैले दावी गर्न बिर्से । डायरी पनि अंग्रेजीमा लेख्न थालेँ । लाग्यो कुनै अर्को दिन मेरो डायरी पनि अरु कसैले खोस्नेछ र अरु कसैको बन्नेछ । त्यसपछि दावी नै गर्नको लागि अक्षरहरु मात्र बाकी रहेँ । अक्षरसँगै आफ्नै हुन् भनेर लेखिएका कथाहरु बाकी रहेँ । तर संरचनाभित्र यी छैनन् , जसरी संम्झनाहरु कुनै संरचना भएर लयमा आउँदैनन् । त्यसरीनै मैले गर्ने दावी मेरो जीवनको अनियमिततका उपज हुन् । 

इो पाश्वकथा हो । तर यो बिहानीको पनि कथा हो । कथालाई कथा मात्र मान्दा हुन्छ । वा यो कथा भन्दा पर केही हो । बिहानै उज्यालो छ । नानीहरु झोलाहरु बोकेर सडकमा निस्किसकेका छन् । एक दर्जन पदचापहरु सडकको यात्रामा छन् । सायद हिड्रदैछन् वा हिडेझै गर्दैछन् । म झ्रयालबाट उनीहरुलाई हेर्दैछु । फूलहरु फूलीसकेका छन् । घाम उदाइसकेको छ । हातमा चियाको कप छ । टेबलमा इस्परेन्जा बसेकी छ । म उसँग वार्तालापमा छु । उ झै आफ्नै भनेर दावी गर्न मिल्ने घरको खोजिमा छु ।

मनु मन्जिलको कविता “यो सहर कसको हो” पढिरहेको छु । सहरबारे म त्यती सोच्दिन । यो कसको हो मलाई थाहा थिएन । र छैन । हुन त गाउँ पनि मेरो थिएन । अहिले पनि गाउँ मेरो होइन । म कहिको पनि थिइन । गाउँबारे मैले भन्ने, मेरा जस्ता लाग्ने दुई चिज मात्र छन् । ति हुन् नदी र हिमाल । त्यो बाहेक गाउँ मेरो थिएन । मस्र्याङ्दी किनारामा मेरा पदचाप पनि थिए तर केही समयमै मेटिए । त्यो मेरो माटो हो भनेर म दावी गर्न सक्दिन । न मेरा पूर्खाले मेरो नाम लिनेछन् । न त्यो माटो मेरो हुनेछ । त्यो त मेरो आमाको पनि थिएन । त्यो त मेरो हजुरआमाको पनि थिएन । थियो त अरु कसैको थियो । आफ्नो नबनेको त्यो माटोलाई म किन दावी गरुँ । त्यसैले यदाकदा भन्ने गर्छुृ म कहिको पनि थिइन र होइन । छोरी मान्छेसँग आफ्नो हो भनेर दावी गर्न मिल्ने केही हुँदैन ।

मसँग दावी नै गर्न मिल्ने केही छैन । स्परेन्जाले भनेझै घरको कल्पना म पनि गर्छु जुन कविता अघिको कागजझै शान्त हुनेछ । तर त्यो कल्पना मात्र हो । त्यो मेरो घर कल्पनाको घर हो । जो कुनैदिन मसँग हुनेछ वा हुनेछैन थाहा छैन । तर यो निराशाको कथा होइन । केही नहुनु सबैचिज हुनु पनि हो । कहिलेकाही लाग्छ मसँग नभएर नै पनि सबैचिज छ । खुल्ला आकाश छ । म आकाशको हुँ । मेरो लागि यो आकाश नै घर हो ।

आज के थियो मसँग र के थिएन मसँग भन्नेबारे बुझ्रदैछु । तर सबैचिज नभएर पनि धेरै चिज थियो । जब कोहीसँग अटाउँनको लागि बा भनौ आफ्नो हो भन्नको संरचनात्मक कुनै बक्स रहदैन तब उड्नको लागि खुल्ला मैदान रहन्छ । म कहिको थिइन भन्दाभन्दै पनि कहिलेकाही लाग्छ म जताततैको थिएँ । छोरी मान्छे हुनुका कतिपय यर्थाथहरु विश्वब्यापि हुन्छन् । हामीसँग पूर्खाले दिने बिरासत कहिल्यै रहँदैन । हामीले गरेको यात्रा हाम्रो मात्र हो । हाम्रो यात्रा पूर्खाको कुलिन इतिहासमा अटाउँदैन । हाम्रो यात्रा एक मजदुर यात्रा हो । ज्यालादारी पछि त्यो पदचाप कसको थियो कसैले सम्झनेछैन । 

कहिलेकाही लाग्छ सिकागोबाट स्परेन्जाले जे भन्छे त्यो मेरो पनि हो । मैले लेख्ने कथाहरु मेरा मात्र हुन् । मेरो इतिहास मेरो मात्र हो । छोरीमान्छे हुनु भनेको मजदुरी गर्नु हो । तपाईका पाखुराहरु चलुन्जेल त्यो तपाईको हो । त्यसपछि तपाइ एक बिर्सिएको कथानक हो । वा भनौ सम्झन अलाएक कथानक । 

बिना संरचनाका कथाहरु बोकेर म हरेक दिन किबोडमा आफ्ना औलाहरु दौडाउँछु । म मनमनै भन्छु यी औलाहरु र यी अक्षरहरु मेरा हुन् । यो मेरो इतिहासलाई मैले आफैँले गरेको अर्काइभ हो । म चाहन्छु यसमाथि मेरो पूर्णअधिकार रहोस् । अक्षरको इतिहासलाई मेट्न गाह्रो छ । यो एक मजदुरको दावी गर्न मिल्ने डायरी हो । यो दावी गर्न मिल्ने मेरो इतिहास हो ।

इतिहास भनिरहँदा म आफैँले गर्छु । के इतिहास ? कस्तो इतिहास ? लेख्देमा कहाँ बन्छ र इतिहास । तर यी अक्षरहरु मेरा हुन् । यी कथाहरु मेरा हुन् । यी संरचनामा भएझै लाग्ने बाक्यहरु पनि मेरा हुन् । तर यसले केही अर्थ राख्छ । राख्दैन भने दिनदिनै चलाउँने यी किबोडको हलचल किन मलाई मनपर्छ । तर मलाई लाग्छ म दावी गदैछु आफैँलाई । 

थाहा छैन यी दावी गरेँ भनेर आफैँलाई अर्काइभ गर्दैछु भनेर लेखिएका यी अक्षरहरु कुनै दिन छापिएँ भने मेरो दावीलाई मानिसहरुले कसरी लिनेछन् । सायद हास्नेछन् । मसिना गफ सम्झेर छाप्नका लागि खर्चिएका कागजहरुमाथि ग्लानी गर्नेछन् । तर मेरो इतिहास यही हो । मेरा किबोडभित्र पितापूर्खाले बिरासतमा दिएको कला र संरचनाको शिल्पि छैन । जोसँग इतिहास नै छैन उसले संगित भनेर पनि बिद्रोह नै लेख्न सक्छ ।  यो दावी हो । यो बिद्रोह हो । यो घरको खाजी हो । यो घर हुननसकेको घरमाथिको आक्रोश हो । यो दावी माथि गरिएको पूर्नदावी पनि हो ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...