कोलाहलको बिच पनि कोही किन यति शान्त भैदिन सक्छ । कोही किन अरु कसैको केन्द्रमा रमाइदिन सक्छ । थाहा छैन तिम्रो हृदयका डोबहरु किन अरुकाझै गहिरा छैनन् । भेट्नेहरुलाई लाग्छ तिमी केही होइनौ । तिमी छिनभरमै मेटिन पनि सक्छौ । छिनभरमै भेटिन पनि सक्छौ । एक छिन सुस्ताउँदा पनि मानिस नदी बनिदिँदो रहेछ । नदी सँगै बग्दो रहेछ । र तिमीलाई केही नठानी फर्कदो रहेछ । तिमी हिजो पनि थियौ । आज पनि छौ । सायद भोली पनि रहनेछौ । सायद मानिसलाई अस्थिरता मनपर्छ । गडगडाउँदो आरोह र अबरोह मनपर्छ । क्षणभरमै डुबाउँने गहिराइ मनपर्छ । र क्षणभरमै उडाउँने बतास मनपर्छ । सायद मानिसलाई हलचल मनपर्छ । डुब्न र उर्तन मनपर्छ । मनपर्थेन भने किन सधैँ किनारा .... किनारानै बनेर एकतमासले नदीको भएर पनि नभएकोझै सुस्ताइरहेछ ।
यो तिम्रो कथा हो तर तिमी होइनौ । थाहा छैन तिमी अरुले सोचेझै शान्त छौ वा छैन । वा तिमीबिचको कोलाहल मैले साचेझै क्षणिक छ वा छैन । यो मैले कोरेको तिम्रो चित्र हो । सायद म आफ्नै लयमा तिमीलाई कोर्छु । कहिलेकाही लाग्छ एउटा किनाराले अर्को किनारालाई बुझ्छ । र यस्तो सधैँ लाग्दैन । कहिलेकाही त लाग्छ यो बुझ्नु बुझाउँनु बेर्थ हो । चाहेर पनि कसैले कसैलाई बुझ्न सक्दैन । यो हाम्रो कथा हो । यो तिम्रो कथा हो । यो मेरो कथा हो । यो किनारझै आफूलाई सम्झनेहरु सबैको सामूहिक कथा हो ।
यो तिम्रो मात्र होइन यो त नदी किनारामा जन्मेर पनि नदिलाई मात्र सम्झनेको कथा पनि हो । हुर्कदै गर्दा कहिल्यै लागेन नदी सँगै किनारा पनि त थियो र छ । यस्तो लाग्थ्यो उपस्थितिका बिम्बहरु नदी र हिमाल मात्र हुन् । नदीसँगै जोडिएको तिम्रो प्रतिबिम्ब एक अपरिचित प्रतिबिम्ब थियो । यतीका वर्षसम्म मैले तिमीलाई अपरिचित ठानिरहेँ । सबैभन्दा परिचित त तिमी रहेछौ । र सबैभन्दा नजिक पनि तिमी नै रहेछौ । यो क्षितिज काटिसकेपछि भित्रिएको अनूभूती हो । सायद म किनारामा मै रहिरहेको भए किनाराबारे बुझ्ने थिइन । सायद दुरीहरु दुरीहरु मात्र होइनन् बुझाइ पनि हुन् । जब आज फर्केर हेर्छु मष्र्याङ्दी भन्दा बढी त किनारा मेरो थियो । किनाराको छाल मेरो थियो । डोब मेरो थियो । बालुवामा देखिने प्रतिबिम्ब पनि मेरो नै थियो । नजिकैको बएरको झाडी पनि मेरो आफ्नो थियो । तर सधैँ लागिरह्यो जे हो नदी हो किनारा केही होइन ।
आज म तिमीलाई बुझ्छु पनि बुझ्दिन पनि । तर तिमीमा आफैलाई कताकता भेट्ने गर्छु । सायद यो बतास हावा र आधिहुरीको कोलाहल बिच कहि कतै तिम्रो न्यानोपन पनि खोजिबस्छुु । न्यानेपनको आशा बताससँग छैन । भिडमा केही नबुझिने कोलाहलसँग पनि छैन । उचाइको प्रतिबिम्ब लाग्ने हिमालसँग पनि छैन । तर आज लाग्छ मे जे हुँ किनारानै हुँ । नदी आफ्नो लागेर पनि आफ्नो थिएन । म उ सँगै बग्न कहिल्यै सकिन । हिमाल सुन्दर भएर पनि क्षितिज पारी थियो । आफ्नो भनेर दावी गर्न मिल्ने केही थिएन ।
सायद यो बुझाइको पहिलो बिन्दु हो । म किनारानै थिएँ र हुँ । कुनै दुर क्षितिजमा आफ्नै परिचयहरुलाई मेट्दै कोर्दै आफ्नै कथालाई केन्द्र नठानेर बकबक गरिरहनु किनारा नै हुनु हो । मलाई लाग्छ एक मानिस भएर मानिस नभएझै गर्नु हजारौ मानिसलाई म झै हुँन् भन्नु हो । हरेक दिन मैले कोर्ने शब्दहरु किनाराका शब्दहरु हुन् । यी ब्यक्तिगत र राजनैतिक दुबै हुन् । प्रत्येक किनाराझै मसँग आफ्नै परिचयलाई बहिष्करणमा राखेर आफैलाई कोर्नुको प्रतिसोध सधै छ र रहिरहनेछ ।
म प्रतिसोध बोकेर हिडेको मानिस हुँ । किनारामा रहनुको चोट छैन भन्न म सक्दिन । तर यो सामुहिकता हो । किनारा एक्लो देखिए पनि एक्लो हुँदैन । यी शब्दहरु पनि एक्ला जस्ता लाग्लान् । तर यी एक्ला कहिल्यै थिएनन् र हुँदैनन् । यो किनाराको आवाज थिएन भने म कहिल्यै अर्काइभ गर्ने थिइन । मेरी आमा र हजुरआमासँग चाहेर पनि आफूलाई ब्यक्त गर्ने न समय थियो न माध्यम नै । कहिलेकाही लाग्छ यो किनाराको कथाभित्र मैले मेरो बंशका हरेक छोरीमान्छेलाई कोर्दैछु । छोरी मान्छे हुनु भनेको निजत्व बिहिन हुनु थिएन । मलाई लाग्छ मैले हरेक दिन उतारेका यी शब्दहरु मेरो बंशका छोरी मान्छेको निजत्वको इतिहास हो । मैले कोरीन भने थाहा छैन म तलका कसैले कोर्ने थिए वा थिएनन् । अनुभूूतीलाई सधैँ झिनो ठान्ने हाम्रो समाजमा छोरी मान्छे हुनु भनेको अनुभूती मात्र जम्मा गर्नु हो । यो शब्दहरुलाई चाहेर पनि म कुनै प्रकाशन गृह सम्म र बोर्डसिटसम्म पुर्याउँन सक्दिन । किनकी यो अनुभूती हो त्यो पनि छोरीमान्छेको । त्यसैले हरेक दिन आफ्ना अनुभूतीलाई अर्काइभ गर्नु किनाराको कथा लेख्नु हो ।
हो मेरो इतिहास किनाराको इतिहास हो । मेरो अनुभूती छापिन अलाएक झिनो निजत्वको ब्याख्या हो । त्यसैले यी शब्दहरु किनाराका शब्द हुन् । किनारामा रहन सजिलो छैन । अरुस्ाँग जस्तै मस्ाँग पनि डोब मात्र छ । डोबका कथाहरु मात्र छन् ।
No comments:
Post a Comment