प्रिय तिमी,
हो पर्खिरहेको छु । हो पर्खिरहेको पनि थिएँ । सायद पर्खिरहने पनि छु । सायद यो भूत बर्तमान र भविष्य सबै सबै हो । तर पर्खाइमा छु । आज रातभरी पर्खन चाहन्छु । हिजो दिनभरी पनि त पर्खेको हुँ । म पर्खन चाहन्छु । भन्न यति मात्र खोजेको हुँ ।
जसरी कुनै सानो बिन्दु बिन्दुबाट शब्द नबनेसम्म पर्खन्छ । हो म पनि त्यसरी नै पर्खन चाहन्छु । तिमीलाई लाग्ला जीवन छोटो छ । पर्खाइ लामो नबनाउँ । तर मलाइ त जीवन पनि लामो नै लाग्छ । तिमीले कसैलाई केही क्षण पर्खेर हेरेका छौ । पर्खाइ मलाई सधैँ सुन्दर नै लाग्छ । तिमी आएनौ भने पनि अथवा तिमीलाई मैले भेटिन भने पनि पछुतो कहिल्यै रहने छैन ।
डिसेम्बर चलिरहेछ । फर्केर हेरेँ एक नयाँ बर्ष पनि तिमीलाई पर्खेर नै बितेछ । तिमीलाई लाग्ला बर्ष छोटो हुन्छ डिसेम्बर लामो हुँन्छ । कहिल्यै कसैलाई पर्खेर हेरेका छौ पर्खनेको लागि त एक दिन पनि एक जीवन बराबर नै हो । मलाई लाग्छ मैले हजार जीवन बाचिसकेको छु ।
तिमीलाई कुरी बसेको पनि हजार दिन बढी भै सकेछ । यो हजार जुनी हो । रात छन् अझ लामो हुन्छ । कहिलेकाही बिना निर्दा पनि तिमीलाई कुरी बसेको छु । अनिदा रातहरु । तर निर्दालाई झै अनिद्रालाई पनि अपनाएको छु । जसरी तिमीलाई नहुनुलाई पनि तिमी हुनुभैे ठानेर अपनाउँछु । नियास्रो नलाग्ने होइन । कहिलेकाही त सपनामै भएपनि तिमीलाई अगाल्न चाहन्छु । तर सपनामा पनि जब अगाल्न खोज्छु तिमी भाग्छौ । त्यसैले मैले ताराहरुलाई साथी बनाएको छु । लाग्छ तारा भनेका तिमी हुन् । आज पूर्णिमाको रात हो आज तिमीलाई पर्खेर बसिरहेछु ।
यो चिसो हिउँदमा एक्लै एक्लै पर्खिनु कहाँ सजिलो छ र । मन हो न्यानोपन पनि खोज्छ । तर तिमी भए पो न्यानोपन । त्यस्सैले अचेल मलाई हिउँद र बर्खा एकै लाग्छ । के हिउँद । के बर्खा । कति खोजिरहनु । कति पर्खिरहनु । दिन , महिना , साल । बिहान, रात दिन । तर मन हो पर्खिरहन्छ । कहिलेकाही त लाग्छ मलाई सम्झेर नफर्के पनि गुण सम्झेर, खेत खलियान सम्झेर, कागती र सुन्तलाका रुखहरु सम्झेर , बुढा भैसकेका बाआमा सम्झेर त फर्कनुपथ्र्यो । त्यो उजाड भूमीमा झरेका पातहरु हेर्दा झर्नै लागेका बाआमाको न्यास्रो लाग्दैन । लाग्न त लाग्दो हो तर मुखले भन्दैनौ । कथाझै म बुझेझै गरिदिन्छु ।
हिजो बाटोमा तिमी झै कोही देखेँ । हेरीराखे । तिमी भएको भए तिम्रा हातहरु समाएर हिड्न थिएँ । तिमी छैनौ । दोबाटोमा भेटिएका मानिसहरु पनि तिमीझै लाग्छ । तिमीझे लाग्ने भेटेपछि अझ न्यास्रो लाग्छ । न्यास्रो नै मेटाउँन भए पनि कहिलेकाही त सपनामा आउँनु है ।
No comments:
Post a Comment