Skip to main content

Posts

Showing posts from June, 2015

कालो पाटिको भित्ताहरुमा

खुँइलिएको सर्ट च्यातिएको जुत्ता उकाली र ओराली चक र डस्टर त्यो तिम्रो जीवन हो र सायद मेरो पनि बिस बर्ष भैसकेछ तिमीले खुइलिएको आदर्श सिकाउँन थालेको कालो पाटिको भित्ताहरुमा अनी स-साना नानिहरुको स-साना मगजहरुमा जुन दिन तिम्रो पेशा बलियो हुनेँछ त्यो दिन तिमी कमजोर हुनेँछौ अनि बिनाकारण गलत्याइनेछ तिम्लाई तिम्रो स्वप्न महलबाट अयोग्यको ट्याग सँगै त्यो दिन तिमी ढल्नेछौ आफ्नै आदर्शबाट र म पनि किनकी तिम्रो अयोग्य ज्ञानले मलाई योग्य बनाएको छ ।

म र उ

उसको सिङ्गो उपस्थिति मेरो सिङ्गो आयु थियो उसको उचाइ देखेर मैले आफ्नो पुड्काइ थाहा पाँए उसको अग्लाईले मलाई बग्न सिँकायो उ पग्लिएर बनेको गहिराइले मलाई डुब्न सिकायो उसको सेतो टल्काइले मलाई चम्कन सिकायो फरक यती हो उ परको हिमाल हो म वरको नदी ।  

म फेरी आमा हुन चाहन्छु

म फेरी आमा हुन चाहन्छु यो संसारकी आमा यो भुमण्डलकी आमा र यो विश्वकी नै आमा म देख्न सक्दिन पिडा ढुख र चित्कारहरु म सुन्न सक्दिन अणुबम बाट निस्केका तिखा संगीतहरु म आमा हुँ आमा तिम्री हाम्री र ब्रह्माण्डकी नै आमा म देख्न सक्दिन आफ्नै सन्तान बाट निर्मित बिक्षिप्त संसार म चाहन्न मेरा सन्तानहरु हिटलर,मुसोलेनी र लादेनहरु बनुन् म बुद्दत्व चाहन्छु ताकी आफुले आफैलाई शान्ती दिन सकुँ म बुद्धहरु जन्माउँन चाहन्छु म क्राइस्टहरु हुर्काउन चाहन्छु म भन्न चाहन्छु मेरा सन्तानलाई कसरी बने मुहम्मद र राम भनेर म सुनाउँन चाहन्छु मेरा भावी सन्तानहरुलाई बब मार्ली, लतामङ्गेसकर र नारायण गोपालका स्वरहरु म देखाउँन चाहन्छु भ्यानगग, दाभिन्ची र पिकासोका पेन्टिङहरु म बुझाउँन चाहन्छु सुकरात ब्यास र ओशोका दर्शनहरु म सिकाउँन चाहन्छु कौटिल्य र मार्क्सका अर्थनीतिहरु म मेरा भावी सन्तानहरुमा बुद्धत्व देख्न चाहन्छु नाकी आफैँ भित्र हराएको स्वविवेकता त्यसैले म फेरी आमा हुन चाहन्छु

तिम्ले नदेखेको 'क'

खोइ तिम्रा संसार जितेका अक्षरहरुले मलाई कहिल्यै लेखेनन् झुक्किएर पनि देखेनन् म तिम्रो बर्णमालामा कहिल्यै अटाइन त्यसैले समात्दै छु आफ्नै 'क' सानो पातलो र खुँइलिएकै किन नहोस् म लेख्नेछु मेरो 'क' ले म जस्तै स-साना मान्छेहरु ति स-साना फूलहरु स-साना जीवनहरु स-साना घरहरु लिलिपुट नै किन नहुन्  मेरो  यो सानो खिएको 'क' ले मेरो यो दुर्लभ 'क' ले यती मात्र लेख्न सक्छु संघारमै हराएका जीवनहरु ।