Sunday, June 21, 2026

चौँतिस


राती राम्रो निद्रा परेन । रातभर डरलाग्दा सपनाहरुले छोडेनन् । हुन त सपनाहरुले कहिलेकाही दिउँसो पनि छोड्दैनन् । बिहानै सबेरै बिउँझे । त्यही दोहोरीने दैनिकी । चियाका कप । जुठा भाडा । असरल्ल ओछ्यान । मैला कपडा । समेट्ने सधैँ त्यही नै हो । हरेक दिन फैलने पनि तिनै हुन् । सबैसबैलाई समेटे आफूलाई बाहेक ।

रातभर पानी पर्यो बिहानी उज्यालो छ । यो चौतिँसलाई बिदा गर्ने अन्तिम दिन हो । थाहै नपाई तिस कटेको पनि चार बर्ष भएछ । तिन बर्ष अघि एउटा कथाझै केही लेखेको थिएँ । त्यो एक्लो यात्राको कथा थियो । जान त म चौतिँसौ बर्षको अन्तिम दिनमा कहि कतै यात्रा गर्न चाहन्छु । एक्लै । असारको महिना छ खोलानालाले लोभ्याउँछन् । बाटाघाटामा हरियाली भेटिन्छ । तर सोलो सोलो भनेर एक्लो यात्रा गरेको छैन । तर मन छ ।

तिसमा पनि कहिलेकाही तिनको महशुस गर्नु नौलो होइन । आज रातभर म तिनकै थिएँ । सपनाले निस्सासिएर बिउँझिएको बेला कसैले के भयो भनेर अँगालेको भएँ आमालेझै, म रोइदिने थिएँ । तिसभित्र तिन पनि हुन्छ भन्ने कुरा महशुस गरेको केही बर्ष भयो । हरेक दिन म भित्रको सोह्र , सत्र, अठारले मलाई कहिल्यै छोड्दैन । कहि नअटेको महशुस आज पनि हुन्छ । हिजो पनि भएको थियो । त्यसैले डायरीहरु भरीएका छन् । 

सत्रमा झै जीवनको घिसिपिटि सकिएको छैन । बाहिर देखिएझै शान्त नभएको कयौ बर्ष भयो ।  आज पनि गरिरहेको काम छोडिदिएर कहि अन्तै हिडिदिउँझै कहिलेकाही लाग्छ । हिजै लागेको थियो । आफन्तको भिडले आज पनि तर्साउँछ । एक्लोपन हिजो पनि थियो । आज पनि छ । सायद भोली पनि रहनेछ तर हिजोझै आज एक्लोपनले तर्साउँदैन । 

जति उमेरको भएँ त्यतिको कहिल्यै महशुस गर्दिन । हिजो तीनको थिएँ । आज सत्रको छु । सायद भोली पच्चिसको हुनेछु । तर पच्चिसको पनि म बिरलै हुन्छु । यदाकदा लाग्छ मलाई बिसले छोडेको छैन । आज पनि अधिकांश दिन म सत्रकै महशुुस गरेँ । यो उमेरको कथा हो । हुर्कदै गर्दा लाग्थ्यो तिस कट्नु बुढो हुनु हो । थाक्नु हो । तर होइन रहेछ । उमेरसँगै कहिले बालख कहिले यूवा पनि भैँदोँ रहेछ ।

तिस यी चार बर्षहरुले मलाई समाजभित्र नअट्को छोरीमान्छे हुनुको अनुभूती दियो । तिसको उमेरमा पनि लोग्ने नहुनु, केटाकेटी नहुनुलाई समाजले आफ्नो ठान्दैन । समाज कठोर छ । जर्जर । उसलाई लाग्छ मानिसले यो भन्दा पर आफ्नो हात फैलाउँन हुँदैन । सपनाहरुमा उड्न हुँदैन ।  सायद मैले त्यही गरेँ आफ्नो हात अल्लि पर फैलाएँ । जे जिएँ जे जिउँदैछु त्यो मेरो हो । तर मलाई लाग्दैन समाज मेरो पनि हो । त्यो त केटाकेटी हुँदा पनि लाग्थेन । किनाराको हुनु सबैको हुनु हो । 

आज दिनभर बुकमार्कलाई फे्रमिङ गरेँ । मलाई लाग्छ यो मेरो जीवनको अर्को बुकमार्क हो । पुस्तकपसलेले आजकल मलाई किताबभन्दा बढी बुकमार्क दिन्छन् । मानब कौलको पुस्तक अझै पढी भ्याएको छैन । केही पानाहरु अझै बाकी छैन् । नियम र संरचनालाई नाघेर लेख्नेहरु मलाई लोभलाग्दा  लाग्छन् । मानव कौल तिनै मध्धे एक हुन । बिना संरचनाको जीवनमा हामी संरचना मात्र खोजिरहन्छौ । तिसले मलाई कोलाहलमा आफूलाई नखोज भन्यो मैले खोज्न छोडिदिएँ । यो डायरी पनि संरचनाभन्दा पर भागेकी केटीको डायरी हो । म डायरीमा लेख्छु म तिसकी होइन म सत्र बर्षकी भएँ ।

भोली बिहानै उमेर सोध्दा अर्को अंक थप्नु पर्नेछ । म त्यसको लागि तयार छैन । हो आज पनि सत्रकै भएर बाच्न चाहन्छु  । कसैले उमेर सोध्यो भने म सत्रकी भएँ भन्न पनि सक्नेछु । सत्रकी हुँदा डायरीमा जे लेख्थेँ आज पनि कहिलेकाही डायरीमा त्यही लेख्छु । सानो हुनुको झिनोपनले आज पनि छोडेको छैन । कहिलेकाही त संसारको सबैभन्दा सानो हुनुको कल्पना गर्छु ।

हो यो मेरो चौँतिसको अन्तिम दिन हो । तर म साँच्चै भन्दा सत्रकी भएँ । हू केर्यस् । म फेरी भन्न चाहन्छु – म सत्र बर्ष अघि जन्मिएकी थिएँ । मलाई पढ्न र लेख्न मनपर्छ । डियरी चौतिस् , दिस् मच फर टु डे । बिस् यू गुड लक ।


Thursday, June 18, 2026

ह्याप्पी बर्थडे माउन्टेन म्यान

  पानी पर्यो । घाम लाग्यो । मानिसका पाइला जमिनमा परेँ । पानी बाफ भएर माथि माथि उड्यो । फुल फूल्यो । चराहरु उडेँ । जन्मिनु सायद त्यस्तै हो । जन्मिनु केही होइन भन्ने कुरा मैले तिमीबाट सिकेँ । जसलाई जन्मदिन केही लाग्दैन उसैको लागि यो संदेश लेखिरहेछु । 

तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना । जे छौ लोभलाग्दो छौ । सायद यो प्रेम हो मलाई तिम्रा कमजोरीहरु पनि राम्रै लाग्छ । बादलझै उड्नु तर बर्षा बनेर जमिनमा फर्कनुु । यो डाँडाकाडा लेक बेसिमा फेरी पनि फर्कनु । गुड फर्कनैकै लागि बनेको हो । प्रिय माउन्टेन म्यान, तिम्रा कथाहरु लोभलाग्दा छन् । करपोरेट जबमा त्यती नभुल, सायद तिम्रा कथा तिमीबाहेक अरुले लेख्न सक्ने छैनन् । लेखे भने पनि त्यस्तै लेख्ने छैनन् । 

कथाबनेर बनेर आफ्नै माटोमा फर्कनु । अस्ताउँन लागेका मानिसका कथाहरु मैले तिमीबाट नै सिकेकी हुँ । मलाई लाग्छ सिमाहरुले तिमीलाई बाध्दैन । यो भुगोल तिम्रो हो । यो पहाड अझ तिम्रो हो । फेरी पनि ह्याप्पी बर्थडे माउन्टेन म्यान ।

Saturday, June 13, 2026

वाक्य : Beyond Conviction


प्रिय वाक्य,

म तिमीलाई प्रेम गर्छु । सायद जति नदिलाई गर्छु । जति हिमाललाई गर्छु । हुनसक्छ आफूलाई जति गर्छु  सायद त्यती नै । मलाई लाग्छ म मानिस कम र वाक्य बढी हुँ । मलाई लाग्छ म जाँदै गर्दा पनि वाक्य नै बनेर बिदा हुँ । यो प्रेम मात्र होइन यो मैले रोजेको बाटो हो । यो रोजाइ हो । मलाई लाग्छ म केही रहिन भने पनि वाक्य मात्र बनेर रहुँ । 

हुन त तिमी भन्दा पहिले मैले हिमाल रोजेँ । त्यसपछि नदी । हुर्कदै गर्दा हिमाल र नदी पाउँनु हजारौ पुण्य थियो । सायद सुखद् नियती थियो । मलाई लाग्छ आज पनि म नदी किनाराकै मानिस हुँ । बिहानै सुसायझै गरेको मस्र्याङ्दीले आज पनि बिउँझ्याउँछ । तर त्यी रोजाइहरु थिएनन् । सायद नियती थिए । तर तिमी रोजाइ हौ । त्यस्तो रोजाइ जसलाई कसैले छिन्दैन । मेरो हो भनेर दावी नै गरे पनि कसैले पूर्नदावी गर्दैन । हुनसक्छ कुनै  दिन वाक्यहरु बिच नबुझिने बिन्दु बनेर म कतै रहनेछु ।

बषौ देखी त्यही दोहोर्याइरहेछु सायद वाक्यहरु बनाउँने निउँमा । सायद म केही भन्न चाहन्छु । हुनसक्छ केही भन्न चाहन्न । तर म सधैँ केही भन्न चाहन्थे । जस्तो कि आज । तर जब वाक्यहरुले केही भन्न खोज्छु शब्दहरुले मलाई जिस्क्याउँछन् । म आफूलाई भन्न छोडेर शब्दहरुको लय पछ्याउँछु । मैले आजसम्म जे लेख्न चाहन्थेँ त्यो कहिल्यै लेखेको छैन । सायद कहिल्यै लेख्ने पनि छैन । हुनसक्छ यसरी नै जीवन चल्छ सायद हामी जे बन्न र भन्न चाहन्छु त्यो कहिल्यै भन्न सक्दैनौ । दिन दिनै डायरीझै केही लेख्छु । जो आफूजस्तै लाग्छ तर े आफू होइन । अर्थ खोज्यो भने अर्थ पनि भेटिँदैन । केही नमिलेका, केही निराश, केही भत्केका वाक्यहरु बिच म आफूलाई भेट्छु । वाक्यहरु पनि मलाई अड्मिल्दा मानिसहरुझै लाग्छ । जो समयमा भेटिँदैनन् । जो समयलाई न पर्खन्छन् न समयमा नै देखा पर्छन् । म जस्तै मानिसका प्रतिबिम्बहरु म मेरा वाक्यहरु भेट्छु । कहिले केही नभएझै । कहिले कोही भएझै । कहिले सबैचिज भएझै । म कुनै कलाकारझै आफ्नै वाक्यहरुमा अभिनय गर्छु । मलाई लाग्छ यो राम्रो अभिनय प होइन । सायद म वाक्यहरुमा जे बोल्छु त्यसले धेरैलाई बोल्दैन । सत्यबाट टाढा भागेको अभिनय के अभिनय । लेखाई के लेखाइ । वाक्यहरु के वाक्यहरु....

तर यो मेरो रोजाई हो । सायद म यहि नै चाहन्थेँ र चाहन्छु । तर थाहा छ यी वाक्यहरुले पूर्ण केही बोल्दैनन् । कुनै बर्बराहट जस्तो गरेर म  हरेक दिन केही निचोरेर आफैँलाई पस्कन्छु । र केही क्षण नाङ्गो महशुस गर्छु । लेख्नु नागिंनु हो । अब म सँग आफ्नो मात्र भनेर दावी गर्न मिल्ने केही छैन । जे छु यी शब्दहरुमा मात्र छु । जे छैन त्यो पनि शब्दहरुमा नै छैन । लेख्य र अलेख्य शब्दहरु बिच म आफैँलाई खोजिरहन्छु । सायद खोजिरहनेछु ।

यो कुनै तर्क होइन । वाक्यमाथि दावी गर्न मिल्ने केही रहँदैन । खासमा प्रेममा के दावी के अदावी । म त वाक्यलाई प्रेम गर्न मानिस न हुँ । अमिल्दा वाक्यहरुलाई पनि म हरेक प्रेम गरेको मानिसलाई झै कमजोरी सहित आफ्ना डायरीहरुमा लुकाएर राख्छु । सायद यो प्रेम नै हो । मैले लुकाएका वाक्यहरु मेरा प्रेमीहरु हुन् । सायद प्रेमी नै भएर बिदा हुन चाहन्छु । सायद म जे हुँ वाक्य मात्र हुँ ।

प्रिय वाक्य म तिमीलाई प्रेम गर्छु ।

Friday, June 5, 2026

खाली कागज

 

  खाली हुन सजिलो छैन  । जस्तो कि खाली कागज । म सधैँ कागज भर्न चाहन्थेँ । ममि भन्नुहुन्थ्यो जसका पानाहरु भरिएका हुन्छन् उसले लामो यात्रा गर्छ । मलाई भर्न होइन यात्रा गर्न मन थियो । जीवनभरी मैले पानाहरु मात्र भरेँ । तर फर्केर हेर्दा यस्तो लाग्छ जरुरी त खाली हुन थियो .......

कुनै समय म यस्तै यस्तै लेख्थेँ । भरीएका डायरीहरु पल्टाउँछु । डायरी भित्र सबै चिज निराशा आशा, प्रेम, स्नेह क्रोध छन् । तर सबैभन्दा धेरै त क्रोध रहेछ । हो म रिसाएकी रहेछु । आज पनि म रिसाएकी नै छु । तर म अक्षरहरुमा मात्र रिसाउँछु । सायद फर्केर हेर्दा खाली हुन सजिलो रहेनछ । सायद म खाली हुन चाहेर पनि वा भएर पनि खाली थिइन । 

आज पनि म केही लेखेर पानाहरु भर्न चाहन्थेँ । तर यसको कुनै अर्थ छैन । मैले भरेका पानाहरुले केही अर्थ राख्दैनन् । मलाई लाग्छ म बाहेक यसलाई कसैले बुझ्दैनन् । मैले चाहेको पनि यही हो । म केही भन्न चाहन्छु । तर म यसरी भन्न चाहन्छु जसलाई कसैले नबुझोस् । फेरी यदाकदा कसैले बुझोस् भन्ने पनि लाग्छ । हो म भित्र बर्षौबर्षसम्म लेखेर पनि नलेखेका यस्तै झिना कुराहरु छन् । बिरोधाभाषहरु छन् जसलाई म चाहेर पनि मेट्न सक्दिन । जे छन् अपुरा छन् सग्लो र स्पष्ट केही छैनन् ।

हिजो कसैले भन्यो तिमी जे लेख्छौ त्यो तिमी नहुन पनि सक्छौ । मैले उसको कुरालाई मौन सहमती जनाएँ । हो म पनि त्यस्तै गर्छु । मैले जे लेखेँ त्यो सबै सत्य होइन । मलाई लाग्छ म लेख्दा पनि आफैँलाई झुटो बोल्छु । म मेरा पुन्टे कथाहरुलाई यसरी प्रस्तुत गर्छु मानौ त्यो कथा मनपरेको मानिसको मनपर्दो कथा हो । तर म भित्र मलाई आफैँलाई मननमर्ने अनेकौ कथाहरु छन् । त्यो म जस्ताको तस्तै लेख्दिन । मलाई लाग्छ म हरेक दिन झुटो लेख्छु । म मेरा अध्यारा कथाहरुलाई पनि अक्षरमा लेख्दा कुनै उज्याला पानाहरुझै प्रस्तुत गर्छु ।

जीवनमा जे छ कोलाहरुलमा छ । लयमा केही छैन । संसारमा माधूर्यता बिरलै भेटिन्छ । आफ्नै पाइलाहरुलाई फर्केर हेर्छु, भेट्छु कोलाहm मात्र । तर म जे लेख्छु त्यो लयमा लेखेझै गर्छु । म शब्दहरुले कुनै उज्यालो र असल मानिसझै प्रस्तुत हुन चाहन्छु । तर म भित्र क्रोध, मोह र प्यास मात्र छ । जे छ धमिलो छ । जे छ अष्पष्ट र जेलिएको छ । तर शब्दमा मेरो त्यो अष्पष्टता म बिरलै प्रस्तुत गर्छु । कुनै उज्यालो नायकझै मेरा वाक्यहरुमा म सम्मोहक पनि देखिन सक्छु । तर म जे लेख्छु त्यो हुँदै होइन र छैन । आज डायरी पल्टाएर हेरेँ । कसैले नपढ्ने मेरा डायरीहरुमा पनि आदि कुरा त असत्य रहेछ । 

हो म खाली हुन चाहन्छु । मेरी आमाले भनेझै पानाहरु भरेर कहि पुगिन्छ भनेर अब पानाहरु भरिरहने मुडमा पनि छैन । स्पष्टताका लागि पनि रित्तो हुन जरुरी छ । हो म रित्तो हुन चाहन्छु ।

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...