Sunday, June 21, 2026

चौँतिस


राती राम्रो निद्रा परेन । रातभर डरलाग्दा सपनाहरुले छोडेनन् । हुन त सपनाहरुले कहिलेकाही दिउँसो पनि छोड्दैनन् । बिहानै सबेरै बिउँझे । त्यही दोहोरीने दैनिकी । चियाका कप । जुठा भाडा । असरल्ल ओछ्यान । मैला कपडा । समेट्ने सधैँ त्यही नै हो । हरेक दिन फैलने पनि तिनै हुन् । सबैसबैलाई समेटे आफूलाई बाहेक ।

रातभर पानी पर्यो बिहानी उज्यालो छ । यो चौतिँसलाई बिदा गर्ने अन्तिम दिन हो । थाहै नपाई तिस कटेको पनि चार बर्ष भएछ । तिन बर्ष अघि एउटा कथाझै केही लेखेको थिएँ । त्यो एक्लो यात्राको कथा थियो । जान त म चौतिँसौ बर्षको अन्तिम दिनमा कहि कतै यात्रा गर्न चाहन्छु । एक्लै । असारको महिना छ खोलानालाले लोभ्याउँछन् । बाटाघाटामा हरियाली भेटिन्छ । तर सोलो सोलो भनेर एक्लो यात्रा गरेको छैन । तर मन छ ।

तिसमा पनि कहिलेकाही तिनको महशुस गर्नु नौलो होइन । आज रातभर म तिनकै थिएँ । सपनाले निस्सासिएर बिउँझिएको बेला कसैले के भयो भनेर अँगालेको भएँ आमालेझै, म रोइदिने थिएँ । तिसभित्र तिन पनि हुन्छ भन्ने कुरा महशुस गरेको केही बर्ष भयो । हरेक दिन म भित्रको सोह्र , सत्र, अठारले मलाई कहिल्यै छोड्दैन । कहि नअटेको महशुस आज पनि हुन्छ । हिजो पनि भएको थियो । त्यसैले डायरीहरु भरीएका छन् । 

सत्रमा झै जीवनको घिसिपिटि सकिएको छैन । बाहिर देखिएझै शान्त नभएको कयौ बर्ष भयो ।  आज पनि गरिरहेको काम छोडिदिएर कहि अन्तै हिडिदिउँझै कहिलेकाही लाग्छ । हिजै लागेको थियो । आफन्तको भिडले आज पनि तर्साउँछ । एक्लोपन हिजो पनि थियो । आज पनि छ । सायद भोली पनि रहनेछ तर हिजोझै आज एक्लोपनले तर्साउँदैन । 

जति उमेरको भएँ त्यतिको कहिल्यै महशुस गर्दिन । हिजो तीनको थिएँ । आज सत्रको छु । सायद भोली पच्चिसको हुनेछु । तर पच्चिसको पनि म बिरलै हुन्छु । यदाकदा लाग्छ मलाई बिसले छोडेको छैन । आज पनि अधिकांश दिन म सत्रकै महशुुस गरेँ । यो उमेरको कथा हो । हुर्कदै गर्दा लाग्थ्यो तिस कट्नु बुढो हुनु हो । थाक्नु हो । तर होइन रहेछ । उमेरसँगै कहिले बालख कहिले यूवा पनि भैँदोँ रहेछ ।

तिस यी चार बर्षहरुले मलाई समाजभित्र नअट्को छोरीमान्छे हुनुको अनुभूती दियो । तिसको उमेरमा पनि लोग्ने नहुनु, केटाकेटी नहुनुलाई समाजले आफ्नो ठान्दैन । समाज कठोर छ । जर्जर । उसलाई लाग्छ मानिसले यो भन्दा पर आफ्नो हात फैलाउँन हुँदैन । सपनाहरुमा उड्न हुँदैन ।  सायद मैले त्यही गरेँ आफ्नो हात अल्लि पर फैलाएँ । जे जिएँ जे जिउँदैछु त्यो मेरो हो । तर मलाई लाग्दैन समाज मेरो पनि हो । त्यो त केटाकेटी हुँदा पनि लाग्थेन । किनाराको हुनु सबैको हुनु हो । 

आज दिनभर बुकमार्कलाई फे्रमिङ गरेँ । मलाई लाग्छ यो मेरो जीवनको अर्को बुकमार्क हो । पुस्तकपसलेले आजकल मलाई किताबभन्दा बढी बुकमार्क दिन्छन् । मानब कौलको पुस्तक अझै पढी भ्याएको छैन । केही पानाहरु अझै बाकी छैन् । नियम र संरचनालाई नाघेर लेख्नेहरु मलाई लोभलाग्दा  लाग्छन् । मानव कौल तिनै मध्धे एक हुन । बिना संरचनाको जीवनमा हामी संरचना मात्र खोजिरहन्छौ । तिसले मलाई कोलाहलमा आफूलाई नखोज भन्यो मैले खोज्न छोडिदिएँ । यो डायरी पनि संरचनाभन्दा पर भागेकी केटीको डायरी हो । म डायरीमा लेख्छु म तिसकी होइन म सत्र बर्षकी भएँ ।

भोली बिहानै उमेर सोध्दा अर्को अंक थप्नु पर्नेछ । म त्यसको लागि तयार छैन । हो आज पनि सत्रकै भएर बाच्न चाहन्छु  । कसैले उमेर सोध्यो भने म सत्रकी भएँ भन्न पनि सक्नेछु । सत्रकी हुँदा डायरीमा जे लेख्थेँ आज पनि कहिलेकाही डायरीमा त्यही लेख्छु । सानो हुनुको झिनोपनले आज पनि छोडेको छैन । कहिलेकाही त संसारको सबैभन्दा सानो हुनुको कल्पना गर्छु ।

हो यो मेरो चौँतिसको अन्तिम दिन हो । तर म साँच्चै भन्दा सत्रकी भएँ । हू केर्यस् । म फेरी भन्न चाहन्छु – म सत्र बर्ष अघि जन्मिएकी थिएँ । मलाई पढ्न र लेख्न मनपर्छ । डियरी चौतिस् , दिस् मच फर टु डे । बिस् यू गुड लक ।


No comments:

Post a Comment

चौँतिस

राती राम्रो निद्रा परेन । रातभर डरलाग्दा सपनाहरुले छोडेनन् । हुन त सपनाहरुले कहिलेकाही दिउँसो पनि छोड्दैनन् । बिहानै सबेरै बिउँझे । त्यही ...