प्रिय वाक्य,
म तिमीलाई प्रेम गर्छु । सायद जति नदिलाई गर्छु । जति हिमाललाई गर्छु । हुनसक्छ आफूलाई जति गर्छु सायद त्यती नै । मलाई लाग्छ म मानिस कम र वाक्य बढी हुँ । मलाई लाग्छ म जाँदै गर्दा पनि वाक्य नै बनेर बिदा हुँ । यो प्रेम मात्र होइन यो मैले रोजेको बाटो हो । यो रोजाइ हो । मलाई लाग्छ म केही रहिन भने पनि वाक्य मात्र बनेर रहुँ ।
हुन त तिमी भन्दा पहिले मैले हिमाल रोजेँ । त्यसपछि नदी । हुर्कदै गर्दा हिमाल र नदी पाउँनु हजारौ पुण्य थियो । सायद सुखद् नियती थियो । मलाई लाग्छ आज पनि म नदी किनाराकै मानिस हुँ । बिहानै सुसायझै गरेको मस्र्याङ्दीले आज पनि बिउँझ्याउँछ । तर त्यी रोजाइहरु थिएनन् । सायद नियती थिए । तर तिमी रोजाइ हौ । त्यस्तो रोजाइ जसलाई कसैले छिन्दैन । मेरो हो भनेर दावी नै गरे पनि कसैले पूर्नदावी गर्दैन । हुनसक्छ कुनै दिन वाक्यहरु बिच नबुझिने बिन्दु बनेर म कतै रहनेछु ।
बषौ देखी त्यही दोहोर्याइरहेछु सायद वाक्यहरु बनाउँने निउँमा । सायद म केही भन्न चाहन्छु । हुनसक्छ केही भन्न चाहन्न । तर म सधैँ केही भन्न चाहन्थे । जस्तो कि आज । तर जब वाक्यहरुले केही भन्न खोज्छु शब्दहरुले मलाई जिस्क्याउँछन् । म आफूलाई भन्न छोडेर शब्दहरुको लय पछ्याउँछु । मैले आजसम्म जे लेख्न चाहन्थेँ त्यो कहिल्यै लेखेको छैन । सायद कहिल्यै लेख्ने पनि छैन । हुनसक्छ यसरी नै जीवन चल्छ सायद हामी जे बन्न र भन्न चाहन्छु त्यो कहिल्यै भन्न सक्दैनौ । दिन दिनै डायरीझै केही लेख्छु । जो आफूजस्तै लाग्छ तर े आफू होइन । अर्थ खोज्यो भने अर्थ पनि भेटिँदैन । केही नमिलेका, केही निराश, केही भत्केका वाक्यहरु बिच म आफूलाई भेट्छु । वाक्यहरु पनि मलाई अड्मिल्दा मानिसहरुझै लाग्छ । जो समयमा भेटिँदैनन् । जो समयलाई न पर्खन्छन् न समयमा नै देखा पर्छन् । म जस्तै मानिसका प्रतिबिम्बहरु म मेरा वाक्यहरु भेट्छु । कहिले केही नभएझै । कहिले कोही भएझै । कहिले सबैचिज भएझै । म कुनै कलाकारझै आफ्नै वाक्यहरुमा अभिनय गर्छु । मलाई लाग्छ यो राम्रो अभिनय प होइन । सायद म वाक्यहरुमा जे बोल्छु त्यसले धेरैलाई बोल्दैन । सत्यबाट टाढा भागेको अभिनय के अभिनय । लेखाई के लेखाइ । वाक्यहरु के वाक्यहरु....
तर यो मेरो रोजाई हो । सायद म यहि नै चाहन्थेँ र चाहन्छु । तर थाहा छ यी वाक्यहरुले पूर्ण केही बोल्दैनन् । कुनै बर्बराहट जस्तो गरेर म हरेक दिन केही निचोरेर आफैँलाई पस्कन्छु । र केही क्षण नाङ्गो महशुस गर्छु । लेख्नु नागिंनु हो । अब म सँग आफ्नो मात्र भनेर दावी गर्न मिल्ने केही छैन । जे छु यी शब्दहरुमा मात्र छु । जे छैन त्यो पनि शब्दहरुमा नै छैन । लेख्य र अलेख्य शब्दहरु बिच म आफैँलाई खोजिरहन्छु । सायद खोजिरहनेछु ।
यो कुनै तर्क होइन । वाक्यमाथि दावी गर्न मिल्ने केही रहँदैन । खासमा प्रेममा के दावी के अदावी । म त वाक्यलाई प्रेम गर्न मानिस न हुँ । अमिल्दा वाक्यहरुलाई पनि म हरेक प्रेम गरेको मानिसलाई झै कमजोरी सहित आफ्ना डायरीहरुमा लुकाएर राख्छु । सायद यो प्रेम नै हो । मैले लुकाएका वाक्यहरु मेरा प्रेमीहरु हुन् । सायद प्रेमी नै भएर बिदा हुन चाहन्छु । सायद म जे हुँ वाक्य मात्र हुँ ।
प्रिय वाक्य म तिमीलाई प्रेम गर्छु ।
No comments:
Post a Comment