Friday, June 5, 2026

खाली कागज

 

  खाली हुन सजिलो छैन  । जस्तो कि खाली कागज । म सधैँ कागज भर्न चाहन्थेँ । ममि भन्नुहुन्थ्यो जसका पानाहरु भरिएका हुन्छन् उसले लामो यात्रा गर्छ । मलाई भर्न होइन यात्रा गर्न मन थियो । जीवनभरी मैले पानाहरु मात्र भरेँ । तर फर्केर हेर्दा यस्तो लाग्छ जरुरी त खाली हुन थियो .......

कुनै समय म यस्तै यस्तै लेख्थेँ । भरीएका डायरीहरु पल्टाउँछु । डायरी भित्र सबै चिज निराशा आशा, प्रेम, स्नेह क्रोध छन् । तर सबैभन्दा धेरै त क्रोध रहेछ । हो म रिसाएकी रहेछु । आज पनि म रिसाएकी नै छु । तर म अक्षरहरुमा मात्र रिसाउँछु । सायद फर्केर हेर्दा खाली हुन सजिलो रहेनछ । सायद म खाली हुन चाहेर पनि वा भएर पनि खाली थिइन । 

आज पनि म केही लेखेर पानाहरु भर्न चाहन्थेँ । तर यसको कुनै अर्थ छैन । मैले भरेका पानाहरुले केही अर्थ राख्दैनन् । मलाई लाग्छ म बाहेक यसलाई कसैले बुझ्दैनन् । मैले चाहेको पनि यही हो । म केही भन्न चाहन्छु । तर म यसरी भन्न चाहन्छु जसलाई कसैले नबुझोस् । फेरी यदाकदा कसैले बुझोस् भन्ने पनि लाग्छ । हो म भित्र बर्षौबर्षसम्म लेखेर पनि नलेखेका यस्तै झिना कुराहरु छन् । बिरोधाभाषहरु छन् जसलाई म चाहेर पनि मेट्न सक्दिन । जे छन् अपुरा छन् सग्लो र स्पष्ट केही छैनन् ।

हिजो कसैले भन्यो तिमी जे लेख्छौ त्यो तिमी नहुन पनि सक्छौ । मैले उसको कुरालाई मौन सहमती जनाएँ । हो म पनि त्यस्तै गर्छु । मैले जे लेखेँ त्यो सबै सत्य होइन । मलाई लाग्छ म लेख्दा पनि आफैँलाई झुटो बोल्छु । म मेरा पुन्टे कथाहरुलाई यसरी प्रस्तुत गर्छु मानौ त्यो कथा मनपरेको मानिसको मनपर्दो कथा हो । तर म भित्र मलाई आफैँलाई मननमर्ने अनेकौ कथाहरु छन् । त्यो म जस्ताको तस्तै लेख्दिन । मलाई लाग्छ म हरेक दिन झुटो लेख्छु । म मेरा अध्यारा कथाहरुलाई पनि अक्षरमा लेख्दा कुनै उज्याला पानाहरुझै प्रस्तुत गर्छु ।

जीवनमा जे छ कोलाहरुलमा छ । लयमा केही छैन । संसारमा माधूर्यता बिरलै भेटिन्छ । आफ्नै पाइलाहरुलाई फर्केर हेर्छु, भेट्छु कोलाहm मात्र । तर म जे लेख्छु त्यो लयमा लेखेझै गर्छु । म शब्दहरुले कुनै उज्यालो र असल मानिसझै प्रस्तुत हुन चाहन्छु । तर म भित्र क्रोध, मोह र प्यास मात्र छ । जे छ धमिलो छ । जे छ अष्पष्ट र जेलिएको छ । तर शब्दमा मेरो त्यो अष्पष्टता म बिरलै प्रस्तुत गर्छु । कुनै उज्यालो नायकझै मेरा वाक्यहरुमा म सम्मोहक पनि देखिन सक्छु । तर म जे लेख्छु त्यो हुँदै होइन र छैन । आज डायरी पल्टाएर हेरेँ । कसैले नपढ्ने मेरा डायरीहरुमा पनि आदि कुरा त असत्य रहेछ । 

हो म खाली हुन चाहन्छु । मेरी आमाले भनेझै पानाहरु भरेर कहि पुगिन्छ भनेर अब पानाहरु भरिरहने मुडमा पनि छैन । स्पष्टताका लागि पनि रित्तो हुन जरुरी छ । हो म रित्तो हुन चाहन्छु ।

No comments:

Post a Comment

चौँतिस

राती राम्रो निद्रा परेन । रातभर डरलाग्दा सपनाहरुले छोडेनन् । हुन त सपनाहरुले कहिलेकाही दिउँसो पनि छोड्दैनन् । बिहानै सबेरै बिउँझे । त्यही ...