Friday, August 14, 2026

एक मानिस एक कथा

 

“यो अंकको कथा होइन । तर मानिस पनि त अंक नै हो । के मानिसलाई अंक मान्दिँदा हुन्छ ? वा भनिदँदा हुन्छ तिमी अंक होइनौ अरु केही हौ ।” उ भन्छ– “मानिस कथा हो । मात्र कथा । एक मानिस, एक कथा” 

उ सपनामा यस्तै यस्तै भन्छ । म सपनाबाट बिउँझन्छु । सोच्छु मानिस कथा हो वा अंक हो । वा केही होइन । उसले दिएका मानिस र जीवनका प्रतिकहरु बारे म किन सोचौ । तर उ सपनामा आइरहन्छ र यस्तै कुरा गर्छ । उ सपनामा किन आउँछ र किन यस्ता कुरा गर्छ । कयौ पटक सपनामै उसले मलाई तर्साएको पनि छ । म उ देखी डराएकी पनि छु । उ सपनाको मानिस हो । म यस्ता कुरा गने मानिस बिपनामा भेट्दिन । बिपनामा भेटौ भेटौ भन्ने नलागेको पनि होइन । तर भेट्दिन । दुखी छु उ सपनामा मात्र आउँछ ।

आज दिनभर घाम लागेन । कामबाट फर्के । लाग्यो बिना घामको दिनलाई साथ दिनु भन्दा बिना सिमानाको सपनालाई साथ दिउँ । आज दिउसै सपनामा उ आयो र यस्तै यस्तो कुरा गर्यो । किन किन आज मलाई सपनामानै लाग्यो किन तिमी बिपनामा आउँदैनौ । मैले उसलाई बिपनामा आउँन आग्रह गरेँ । उसले मेरो आग्रहलाई नकार्यो र भन्यो “एक सपना एक मानिस, म सपनाको मानिस हुँ “ । यति भनिसकेपछि म बिउँझे तर उ मसँग थिएन । उ त सपनाको मानिस थियो । उ सपनाबाटै बिदा भयो । यसमा किन दुखि हुनु । सपनाहरु कहिले बिपना भएका छन् र ।

फेरी सोचे किन उ सपनामा मात्र आउँछ र यस्तै यस्तै कुरा गर्छ । किन म बिपनामा उ झै अरु भेट्दिन । तर फेरी किन  सोचिबस्छु  उ सपनामा आउँछ भनि । सायद उसले भनेको ठिकै हो । उ कथा हो । उ कथाकै स्वरुपमा आउँछ र कथाकै स्वरुपमा बिदा हुन्छ । तर बिपना किन सपना झै हुँदैन । म  उसलाई बिपनामा नभेटेको मा दुखी छु । दुखी भन्दा बढी बेखुस छु । तर दुखि हुनुपर्ने पनि त छैन । तर म किन दुखि भएँ 

प्रिय सपनाको मानिस, 

सपनामा मात्र होइन बिपनामा पनि तिम्रो पर्खाइमा छु । सायद पर्खनु मेरो नियती हो । सायद पर्खाउँनु तिम्रो नियती हो । हुनसक्छ पर्खाउँनु पर्खिनु हामी दुबैको नियती हो । तिमीझै अरु कोही बिपनामा नभेटेकोमा दुखी छु । तिमीलाई सपनामा भेटेकोमा खुसी छु । म जीवनलाई अंक मान्छु । तिमी जीवनलाई कथा मान्छौ । थाहा छैन कुनै दिन मेरो अंक र तिम्रो कथा जोडियो भने हामी एक कथा बन्नेछौ  कि छैनौँ । म अंकको पर्खाइमा छु । हुनसक्छ तिमी कथाको पर्खाइमा छौ । तर म तिम्रो जीवनको कथा बन्न चाहन्न । म त अंक बनेर जोडिन चाहन्छु । 


 नोट टु बि नोटेड्– यो कथा पनि होइन । उ सपनामा आएको पनि होइन । तर लेखिका चाहन्छीन उ सपनामा आओस् । लेखिका त उ  बिपनामा आएको पनि देख्न चाहन्छीन् । यो लेखिकाको आफैँभित्रको मनोभाव मात्र हो । न जीवन अंक हो । न जीवन कथा हो ..............

भेट


कहिलेकाही लाग्दैन आफैँलाई नभेटेको कयौ बर्ष भयो ? लाग्छ नी । अनिदा दिन र अनिदा रातहरुको साक्षी कि त बादल बन्छ । कि त जून । मानिसहरु कहाँ मानिसका साक्षि बन्छन् र ! भेटेर पनि नभेटेझै लाग्ने अनकौ भेटहरुलाई साक्षि बनेर परिचितझै लाग्नेहरु पनि अपरिचित झै बनिदिन्छन् । कतिलाई नभेटेर पनि भेटेझै लाग्छ कति भेटेर पनि नभेटेभैmे लाग्छ । कतिलाई सधैँ भेटेर पनि कहिल्यै नभेटेझै लाग्छ ।

यदाकदा आफू पनि अपरिचितझै लाग्छ । आफैँलाई भेट्न पनि कहाँ सजिलो छ र ! अनेकौ मुखडाहरु बोकेर हामी आफूलाई दावी गछौ । दावी गर्न सजिलो छ तर आफू भएर बाच्न कहाँ सजिलो छ र ! अनेकौ चेहेराहरु साक्षि हामी आफ्नै बन्छौ । जुन चेहेराहरुका नजिक हामी कहिल्यै पुग्न सक्दैनौ । यी शब्दहरु पनि मेरा चेहेराहरु हुन् । केबल चेहेराहरु । आफू हुनु कहाँ चेहेरा मात्र हुनु हो र !

भेट्न सजिलो छैन । भेटेर पनि भेटिराख्न कहाँ सजिलो छ र ! भेटेर पनि छुटेको आफूँ । नभेटेर पनि भेटेझै लागेको आफू । परिचित माझ अपरिचित झै बनको आफूँ । यी नै अपरिचित चेहेराहरु बिच आफैँलाई खोज्न खोजेको पनि कयौ बर्ष भयो । कहाँ चाहदैमा भेटिदो रहेछ र आफू पनि आफैँ जस्तो ।

कहिलेकाही घर घरजस्तो लाग्दैन । मानिस मानिस जस्तो लाग्दैन । परिधिहरुले निस्सासिएँ जस्तो लाग्छ । छुट्न लागेको प्रेमीझै कहाँ छुट्छ र जीवन त्यसै । कहिलेकाही त हआफैँले आफैँलाई पनि नयाँ जुत्ताले गोडालाई घाउँ बनाएजस्तो घाउँ बनाउँछ । त्यो त गोडाको घाउँ हो , मनको घाउँ कहाँ देखिन्छ र ! मनको घाँउले त चोप्छ मात्र ।

कहिलेकाही इरेजरले आफैँलाई मेटिदिउँ जस्तो पनि लाग्छ । कहिलेकाही अर्को नयाँ आकृति बनाउँ जस्तो पनि लाग्छ । कहाँ मेट्छु भन्दैमा मेट्न सक्छौ र आफूलाई । कहाँ चाहँदैमा बन्छ र अर्को नयाँ आकृति । हरेक भेटमा आफूँ आफूँ जस्तो लाग्दैन । कहिलेकाही त आफ्नो आकृति देखेर आफेँ तर्सिए जस्तो लाग्छ । 

यो भुगोलबाट भागेर पनि भागिँदैन भन्ने थाहा हुँदाहुँदै पनि मन हो भाग्न खोज्छ । थाहा छैन भागेपछि स्मृति बनेर फेरी भुगोल फर्कन सक्छ ।  तर म कयौ दिन निस्सासिन्छु । बिद्रुप आफैँलाई भेट्न कुनै बिद्रुप सहरमा रुमलिन्छु । कहाँ कथा र शब्दहरुभmै छ र जीवन । शब्दमा त अध्यारो पनि उज्यालो झै लाग्छ । अप्रेम पनि प्रेम झै लाग्छ । निराशा पनि आशा झै लाग्छ । अजीवन पनि जीवनझै लाग्छ । तर जीउँदा सबै अध्यारा नै हुन्छन् । सबै निस्सार । धुमिल । अनुत्तरित्त । अपरिभाषित ।

म हरेक दिन बिद्रुप आफैँलाई भेट्छु । असफल र कुरुपझै लाग्ने आफूलाई भेट्न कहाँ सजिलो छ र । लघुताभाषभित्र आफैँलाई खोजेर कहाँ उड्न सकिन्छ र । दुई क्षितिज बिचको दुरी अध्यारो नै हुन्छ । हुनसक्छ म किनाराबाट मात्र जीवन हेर्छु । र हरेक दिन जीवनका डोबहरुलाई मात्र गन्ने गर्छु । कहाँ जीवन जीवन जस्तो छ र ! कहाँ बाच्नु बाच्नु जस्तो छ र । हरेक दिन र रात एकै हो भनिदिँदा पनि हुन्छ ।

जीवनका बृत्तहरु मानक बनेर तर्साउँछन् हरेक दिन । मानक भित्र नअटाउनुको पिडा यदाकदा आफ्नै शब्दहरुले पुरेझै लागेपनि म भित्र सधैँ रहनेछ । तर थाहा छ मानक मानक मात्र हो । त्यसभित्र नअट्नु मेरो दोष होइन । तर त्यो भनिदिने पनि त को नै छ र । कोही भैदिएको मान्ने पनि थिएँ होला ।  आफैँले आफैँलाई प्रमाणित गरेँझै गर्नुजस्तो झुर काम केही होइन । म त्यो खिएको आफूलाई लुकाउँन अरु कोही बनेझै गरिदिन्छु । शब्दहरुले आफूलाई छोप्छु । 

हो यसरी नै दिन, महिना र रातहरु बित्दैछन् । मैले आफैँलाई नभेटेको कयौ बर्ष भैसक्यो । यी अनिद्रा बर्षहरु हुन् । जसरी हरेक दिन सुन्दर हुँदैनन् । त्यसरी नै आफूँलाई कुरुप भेट्नु पनि कहाँ सुन्दर हुँन्छन् । सायद सडकको कुनै कोलाहलमा म हराएँ भने मैले आफैँलाई चिन्ने छैन । एैना हेर्दैमा कहाँ आफैँलाई चिनिन्छ । 

यस्तै कुरुप शब्दहरुको ठेली म हरेक दिन आफ्नो डायरीमा कोर्ने गर्छु । कुनै बाटोमा छुटेको बिरक्तीझै म भित्रको बिरक्तिलाई म यसरी नै पोख्ने गर्छु । भेट पनि अनौठो हुन्छ । कुनै भेट सुन्दर । कुनै भेट कुरुप । हो आफूले आफैँलाई कुरुप भेट्न सजिलो छैन ।

Wednesday, August 5, 2026

चिठी...... एक सम्झना

 

प्रिय चिठीका पाठकहरु,

यो पत्र तपाईहरुको लागि नै हो । बर्षौ पहिले सायद जब म पढ्न लेख्न भर्खर सुरै गर्दै थिएँ त्यही बेला हजुरबाले बुवाहरुको चिठी पढेको सम्झन्छु । चिढीमा लेखिएका सम्झनाहरु सुमधुर हुने गर्थे । चिढी पढ्दै गर्दा हजुरबाका आँखा मलिन र हजुरआमाका आँखा रसाएका हुन्थे । आमाहरुको आँखामा चन्चलता हुन्थ्यो । समयसँगै फोन भित्रियो । फोन पछि सामाजिक सञ्जाल । गाउँ, शहरबाट चिठीहरु लापत्ता भएँ । कुनै हराएर नभेटिएको छोरोझै चिठीहरु कुनै पौराणिक कथाहरुझै कालन्तरमा किंन्दन्ती बन्न पुगेँ ।

आजकल कहिलेकाही घर पुगेको बेला पुराना तस्विरहरु भएका बाकस पल्टाउँछु । काका, फुपु , हजुरबा, हजुरआमाका तस्विर भेटिने बाकसभित्र चिठीहरु भेटिँदैनन् । चिठीको कथा त्यही मात्र अन्त्य हुँदैन । स्कुले जीवनमा आफ्ना मायालुका चिठिहरु कुर्ने मेरा सहपाठीहरु पनि सम्झन्छु । लाहुरमा पुगेको कुनै प्रेमीले आफ्नो स्कुले प्रेमिकालाई लेखेका त्यी चिठीहरु पनि सायद मेरा घरका चिठिहरुझै कुनै कथानक बनेर मस्र्याङ्दीको पानीझै कहाँ पुगे थाहा छैन ।

चिठीको कथा मलाई कुनै परिकथाझै लाग्छ । किशोर अवस्थामा मलाई कुनै बेर्ला  मेरो जीवनमा पनि कोही माया गर्ने आउँनेछ र मेरा स्कुले सहपाठीहरुलाईझै हातका पसिनाले भिजेका सुमधुर चिठीहरु लेख्नेछ भन्ने नलागेको होइन । त्यो सायद मेरो आफ्नो भर्सनको परिकथा थियो । कुनै अपुरो सपनाझै करिब एक बर्ष अघि कुनै प्रेमीलाई झै मैले आफैँले आफैँलाई चिठीहरु लेखेँ । त्यो चिठी मात्र थिएन मेरो जीवनबाट हराएको र नभेटिएको कुनै कथानक थियो ।

कहिलेकाही हजुरबा सपनामा आउँनुहुन्छ । कहिलेकाही हजुरआमा । हजुरआमा जानुभएको पनि एक बर्ष भयो । बाचुन्जेल मैले उहाँहरुलाई त्यी हराएका चिठीबारे कहिल्यै सोधिन । हजुरआमा हँुदासम्म लाग्थ्यो एक इतिहास अझै जिउँदै छ । जाँदै गर्दा , करिब दश बर्ष हजुरआमालाई सबैले छोडेँ , आफैँले जन्माएका दुई छोरीहरुले तर डिमेन्सीयाले छोडेन । आमा बालिकाझै हुनुभयो । म उहाँकी दिदी भएँ । जे सोध्न सकिन्थ्यो त्यो अपुरो नै रह्यो । “हुँदै गर्ला भेट, खाँदै रहुँला चुरोट” बाहेक उहाँको स्मृतिबाट सबैकुरा हराए । आमाको समय बालखकालमै अड्कियो ।

हजुरआमा गुमाएपछि ति नभेटिएका चिठीबारे प्रश्न मैले कसैलाई गरिन । मलाई लाग्यो स्मृतिहरु छोटा हुँदा रहेछन् । सायद चिठीहरुले थिएँ जसले केही बचाएका थिएँ । अब त लेखेर गर्ने सम्वाद एक कृत्रिम वार्तालापझै भएको छ । भावनाहरुलाई सजिलै इमोजिले प्रतिस्थापन गरेको छ । थाहा छैन, अबको दश बर्षपछि मानिसहरुले बिना एआइको सहारा आफ्ना अनुभुतीहरु लेख्न सक्ने छन् वा छैनन् । भावनालाई सुन्दर भाषामा प्रस्तुत गर्नेहरु चिठीझै कथानक बनेर हराउँन पनि सक्नेछन् । तर म जस्ता जसलाई लाग्छ लेखेर गरिने संवाद संवादको सबैभन्दा सुन्दर प्रतिबिम्ब हो, उनीहरु सायद रहनेछन् वा छैनन् ।

यो एक बर्षमा मैले चिठीका स्वरुपमा जे लेखेँ ति मेरा अत्यन्त भित्री भावनाहरु थिएँ । यो एक बर्षमा मलाई लाग्यो मेरो सबैभन्दा भित्री अन्त्र्यका कुरा चिठीमा मात्र प्रस्तुत गर्ने सक्ने रहेछु । चिठीलाई यति सुन्दर तबरले मैले यही एक बर्षमा हेरेँ । यहि एक बर्षमा मैले लेखेका चिठीहरु पढेर कसैले मलाई प्रतिउत्तरमा केही लेख्नेछ कि भन्ने आशा नलागेको पनि होइन । प्रिय चिठीका पाठकहरु, तपाईको जन्मदिनमा वा अरु कुनै समयमा कसैले मलाई चिठी लेखेर पठाओस् भन्ने लाग्यो भने मलाई सम्झनुहोला । 

मलाई लाग्छ , हामी नरहेपनि चिठीहरु सधैँ रहिरहुन् । 

उही 

चिठी प्रेमी 

Sunday, August 2, 2026

अनुत्तरित


हिजो उसको अगाडि नाङ्गिएकी थिएँ  । आज उ कहाँ छ थाहा छैन । म कसैको अगाडिएको नाङगिएको पहिलो पटक हो । कसैको अगाडि म बिना प्रेम नाङ्गिन सक्दिन भन्ने कुरा उसलाई पहिले नै थाहा थियो । मेरो लागि त्यो प्रेम थियो । सायद उसका लागि अरु केही नै ।

बिहानै नुहाएकी छु । म भित्र जे थियो त्यो पखाल्न चाहन्छु । मिल्छ भने म भित्र उसका लागि रहेको प्रेम र स्नेह पनि पखाल्न चाहन्छु । पानीले आफ्नो ज्यानलाई यति धेरै पटक पखालेँ कि उसले छोएको केही पनि मेरो ज्यानमा बाकी नरहोस् । खोइ किन आँखाबाट आशु राकिएको छैन । मुटु दुखेझै गरेको छ । चाहेर पनि म पहलेकोझै हुन सकेकी छैन ।

उसलाई मैले डेटिङ एपमा भेटेकी थिएँ । मेले बायोमा लेखेककी थिएँ बिहे गर्ने कोही मानिसको खोजिमा छु नट फर क्याजुखल रेलेसनसिप । म्याच भएपछि पहिलोपटक उसले मलाई म्यासेज पठाएको थियो । बिस्तारै ह्वाट्स एपमा गफ हुन थाल्यो । म उमेरले कसैको लागि सजिलै मरिहत्ते गर्ने उमेरमा पनि थिइन । मैले पहिलो सुरुवाती गफमा नै भनेकी नो क्याजुअल हुकअपस्स । म यहाँ बिहेको लागि नै आएकी हु । नभए यो उमेरमा डेटिङ एपमा छिर्ने मलाई कुनै रहन थिएन ।

म तिस कटिसकेकी थिएँ । समाजका लागि मेरो उमेर भनेको बिहेको लागि अल्लि पाको उमेर थियो । उमेरमै हुँदा पनि बिहे मेरो लागि सजिलो बिषय कहिल्यै भएन । किनकी म जस्तो देखिन्छु समाजको परिभाषा अनुसार सुन्दर छैन । केटी मान्छेका लागि सबैचिज भएर पनि समाजको परिभाषा अनुसार सुन्दर नहुनु सबैचिज नहुनु हो । यस्को लागि कस्तो मान्छे आउँला भनेर आफन्तहरु हाँसेको आज पनि सम्झन्छु । सम्झन त के के सम्झन्छु के के । स्कुलमा मलाई हेरेर हाँस्ने मानिसहरु । बाटोमा कस्ती केटी फर्कि फर्कि हेर्ने मानिसहरु । क्लासमा अरुलाई के के भनेर मलाई पसले बन्छे भन्ने सर । सायद यस्तै चिजले मलाई आफू बन्न दिराखेको छैन । 

सायद यिनै कारणहरु थिएँ जसले मलाई सधैँ लागिराख्यो म अरुजस्तो छैन , कसैले मलाई मनपराउँन सक्दैन । बाआमालाई सधैँ मेरो बिहे बोझ जस्तो बनिराख्यो । म भन्दा साना बैनि भाइको पनि भएपछि झन् घरमा तनाव थपिन थाल्यो । बाआमाको त्यही तनाब कम गर्नलाई म डेटिङ याप छिरेकी थिएँ । आशा थियो त्यहाँ कोही भेट्ने ।

उसलाई पनि त्यसरी नै भेटेकी थिएँ  । मलाई थाहा थिएन मानिसहरु एकअर्काको अगाडी बिना प्रेम पनि नाङ्गिन सक्नेछन् । मेरो संसार साघुरो थियो । मैले देखेको दुनियाभित्र त्यस्ता मानिसहरु थिएनन् । मलाई लाग्यो उ जसरी मसँग बोल्छ, त्यो उसको प्रेम हो । दुनिया यती फरक भैसकेको छ भन्ने कुरा मलाई महशुस नै थिएँन ।

पहिलोपटक गफको क्रममा जब उसले मलाई सेल्फ पेल्जरको बारेमा सोध्यो । म तर्सिएँ । मलाई कोही लोग्ने मानिसले त्यसरी कहिल्यै सोधेको थिएँन । म लजाएँ । उसले आफ्ना अनुभवहरु मज्जाले बतायो । मलाई लाग्यो म साघुरो रहेछ । संसारमा यस्ता कुरा लोग्नेमान्छे र छोरीमान्छे बिच हुनु सामान्य रहेछ । मैले उसका कथाहरु एक पाठकको तबरले सुनेँ । मलाई लाग्यो यस्ता गोप्य कुराहरु कोही लोग्ने मानिसले कोही स्त्रिलाई भन्छ भने त्यो आफ्नो जीवनभरीको पार्टनरलाई भन्न सक्छ । 

सायख धेरै चिज नदेख्नु राम्रो हो । कमसेकम हामी आफ्नो अगाडी भएपनि इमानदार बन्न सक्छौ । मेरो लागि कसैले आफ्नो इतिहास सबै भन्नु भनेको इमान्दार हुनु थियो । उसको त्यही इमान्दारीतालाई मैले प्रेम गरेँ । त्यही इमान्दारीतालाई मैले मन पराएँ । तर उसको लागि इमान्दारीतामात्र थियो या थिएन मलाई थाहा छैन ।

यसरी कुराकानीहरु दिनदिनभर रातरातभर हुन थाल्यो । उसका लागि यौन प्रेम झै थियो प्रेम नै थियो । मलाई पनि लाग्यो बिना यौन कसरी हुनेवाला लोग्ने स्वास्नीको प्रेम हुनसक्छ । उसले जे भन्छ त्यो ठिकै होला भन्ने मलाई लाग्यो । बिना अनुभवको मान्छेलाई सबै पहिला कुराहरु नौलाझै लाग्छन् । अनौठा झै लाग्छन् । मेरा लागि उसले बेलाबेलामा निकाल्ने प्लेजरका कुराहरु तिनै हुन् झै लाग्थ्यो ।

यसरी डेटिङ यपबाट सुरुभएको हाम्रो कुराकानी अब फोन सम्म पुगिसकेको थियो  । बिस्तारै भेट्ने रहर पनि लाग्न थाल्यो । हामीले भेट्ने निर्णय गर्यौ । पहिलोभेट अनामनगरको कुनै क्याफेमा भएको थियो । क्याफेको नाम मलाई याद छैन । अनुमानस्थान नजिककै जस्तो लाग्छ । पहिलोभेटमा उसले मलाई अँगाल्यो र चुमेझै गर्यो मलाई लाग्यो त्यो प्रेम हो । स्नेह हो । जीवन बिताउने आशाले भेटेको मानिसको लागि देखाएको सम्मान थियो । पहिलो भेट त्यसरीनै सिद्धियो ।

कुराकानी पहिलो भेट पछि पनि त्यसरीनै चल्दै थियो । घण्टौ कि फोन कलमा कि म्यासेजमा । फेरी उसले दोस्रो पटक भेट्ने रहर गर्न थाल्यो । रहर त मलाई पनि नलागेको होइन तर म सँग त्यसरी खुल्मखुल्ला फेरी भेटौँ भन्न सक्ने आट थिएन । हिजो हाम्रो दोस्रो भेट थियो । पहिलो भेट जस्ते दोस्रो भेटको लागि पनि म त्यती नै उत्साही थिएँ । उसले दोस्रो भेट आफ्नै फ्ल्याटमा गरौँ भन्यो । मलाई त्यसरी उ बस्ने ठाउँमा गैहाल्ने रहर थिएन । तर उसले त्यही भेटौँ भनेपछि मैले आफूलाई रोक्न सकिन । 

दोस्रो भेट अनौठो बन्न पुग्यो । उनी एक्लै बस्ने भएकाले मलाई उसको घरमा पुग्न त्यति गाह्रो त थिएन । तर मलाई कम्फरटेबल फिल पनि भएको थिएन । मलाई लागेको थियो उसले त्यसै आफू बस्ने ठाउँ देखाउन बोलाएको होला । मैले त्यो भन्दा बढी केही सोचेकी पनि थिइन । त्यस दिन म आफ्नो स्कुटरमा नभइ क्याब बुक गरेर गएकी थिएँ । खोइ किन म त्यस्तो नभर्स कहिल्यै महसुस भएकी थिइन । उ बस्ने घरको रंग खैर थियो । मलाई लिन उ तल चोकसम्म आएको । हिजो शनिबार थियो । मानिसहरु सायद आफ्नै काममा ब्यस्त थिएँ ।

म उ बस्ने घरमा पुग्दा सायद बिहानको एघार बजेको थियो । मलाई लागेको थियो उसले खाना बनाएर राखेको होला । तर पुग्दा त्यस्तो केही थिएन । उसले मलाई लिभिङ रुममा बस भन्यो । अन्कम्फरटेबल हुनु पर्दैन पनि भन्यो । तर खोइ किन म कम्फरटेबल भने थिइन । म कोही छोरामान्छे बस्ने ठाउँमा पहिलोपटक गएकी थिएँ ।  सायद छोरीमान्छेको रुपमा मैले नाघेको पहिलो पर्खाल त्यही थियो ।

सुरुमा उसले मलाई पानी अफर गर्यो । मैले खाँदिन भनेँ । उसले मलाई त्यसपछि कफि अफर गर्यो मैले हुन्छ भने । यताउता गफ चल्न थाल्यो । त्यसरी भेट्दा खोइ किन म अल्लि लजाएकी पनि थिएँ । लिभिङ रुममा एउटा टिभी र सोफ सेट बाहेक अरु केही थिएन । सायद उ कुनै इङ्लिस् सिरिज हेरिरहेको थियो । घर सायद एक्लै बस्ने भएकाले त्यस्तो सफा थिएन । किचन झन् फोहोर थियो । सामानहरु अर्सल्ल एताउता फैलिएका थिएँ । उसको बेड रुम हेर्न भने म गैन ।

गफ गर्न थालेको केही समयपछि उसले मलाई आज बिदा पनि छ म बिएर खान्छु तिमी बिएर नभए वाइन खाउ भन्यो । मैले सुरुमा नाइ भने । पछि उसले नै केही हुन्न मलाई कम्पनी मात्र देउ भन्यो । मैले अरु बेलामा कहिलेकाही साथीहरुलाई साथ दिन पिउँने गथेँ । उसले केही बेर कर गरेपछि हुन्छ भनेँ । उसले आफ्नो लागि फुल ग्लास बिएर लिएर आयो मेरो लागि हाफ ग्लास वाइन । मेरो ग्लासमा मैले कहिलेकाही पिउँनेभन्दा बढी नै वाइन थियो ।

उसले साथमा चिस्स पनि ल्याएको थियो । मैले कल्पनामा पनि साचेकी थिइन हामी पहिलोभेटमै त्यसरी पिउँनेछु भनेर । बिस्तारै बाइन ले गर्दा कम्फरटेबल हुँदै गएँ । उसले थप दुई ग्लास बिएर खायो । म त्यतिकैमा उ भन्दा बढी टिप्सी भएझै भएकी थिएँ । बिस्तारै गफ नर्मल कुराकानी भन्दा अल्लि इन्टिमेट हुन थाल्यो । उसले मलाई , “इफ यू आर कम्फरटेबल क्यान आइ किस् यू भन्यो “ । मैले हुन्छ पनि हुन्न पनि भन्न सकिन ।  उ  अगाडि बढ्दै गयो । बिस्तारै जे को लागि कम्फरटेबल भएकै थिइन त्यही भयो एकछिनमा मेरा कपडाहरु उसको सोफा भन्दा तल लत्रिएका थिए । म निवस्त्र थिएँ । कम्फरटेबल भै नसके पनि उसलाई मैले नाइ भन्न सकिन ।  उ म भन्दा अल्लि मातेको थिएँ । उसले अन्त्यमा मलाई हेर्यो मलाई लाग्यो ति मायालू आँखा थिएनन् । मैले उ भित्र त्यो दिन प्यास मात्र देखेँ । मैले जे लाई माया ठान्थेँ त्यो माया रहेनछ भन्ने मैले पहिलोपटक महशुस गरेँ ।

उ वासरुम गएको बेलामा मैले कपडा लगाएँ  । खोइ त्यसपछि मैले केही भन्न सकिन । खुसी भने म पट्क्कै थिइन । उसले पठाउबाट क्याब बुक गरिदियो । म घर फर्के ।

फर्केपछि मलाई लागेको थियो उसले फोन गर्नेछ । हाउ यू फिलिङ भनेर सोध्नेछ भन्ने लागेको थियो । तर फोन आएन । राती मैले नै म्यासेज गरेँ । “मलाई राम्रो फिल भैराछैन । इज इट अल फर म्यारिज अर नट भनेर मैले प्रश्न गरेँ” । उत्तरमा “हाहा .. लोल.... डन्ट थिङ्क टु मच , इट्इज जस्ट क्याजुअल थियो ................त्यसपछि ैले पठाएका प्रश्हरु  अनुत्तरीत भए ।

एक मानिस एक कथा

  “यो अंकको कथा होइन । तर मानिस पनि त अंक नै हो । के मानिसलाई अंक मान्दिँदा हुन्छ ? वा भनिदँदा हुन्छ तिमी अंक होइनौ अरु केही हौ ।” उ भन्छ–...