Thursday, November 6, 2025

डियर कथाकार, “यो संसार तिम्रो पनि हो ।”

 डियर कथाकार,

“यो संसार तिम्रो पनि हो ।” थप मैले केही भनिन । यति भनिरहँदा उसका आँखा रसिला भएका थिए । तर उसले केही भनेन । धन्यवाद पनि भनेन । मेरो कथा पढेकोमा खुसी लाग्यो पनि भनेन । उसका आँखा निराश थिए । उसका कथाका पात्रकाझै । तर उसले केही भनेर । बस् मैले एक घण्टा मेरो प्रिय कथाकार सँग बिताएँ । 

खोइ उ कतै हराएको थियो । सायद कथाकार हुनु दुखी हुनु हो । एक निस्सार मानिस हुनु हो । हुनसक्छ मानिसको जुनीलाई धिक्कारनु हो । थाहा छैन । तर खोइ किन म मेरो प्रिय कथाकारलाई भेटेर पनि खुसी छैन । मलाई लागेको थियो अरुको दुख लेख्ने मानिस खुसी पनि हुनसक्छ । तर त्यस्तो होइन रहेछ । दुख लेख्नु दुखी नै हुनु रहेछ । 

उ कथामा लेख्छ , “ जीवन कथा होइन । म कथा होइन जीवन लेख्दैछु ।” तर जीवनमा दुख मात्रै पनि त कहाँ छ र । हिजो नै त मैले कोही बाटोमा भेटेँ । सायद उ कसैको प्रेममा पहिलोपटक परेको थियो । त्यसलाई पछि उसलाई नजिकैको क्याफेमा भेटेँ । उ कोही छोरी मान्छेसँग कफी खाँदै थियो । त्यसपछि उसले कफी मात्र खाएन । सायद उसले अरु कसैको अरु चिज पनि खायो । तर मैले भन्न खोजेको कुरा यो होइन । मैले भन्न खोजेको कुरा अरु केही हो । तर उसको जीवन कुनै सुन्दर कथाको झै थियो जुन मेरो र कथाकारको छैन । 

उ कथाकार भएर पनि किन जीवनसँग अनुदार देखिन्छ । किन उ कथामाझै लचकदार छैन । उसलाई भेटेपछि मलाई लाग्यो – जीउन सजिलो छैन । कथाकार भएर त अझ सजिलो छैन । उ कथाकार हो । मलाई थाहा छ उ कथाकार हो तर कथाकार मात्र होइन । उ मानिस पनि हो । तर उ कथा देख्ने मानिस हो । सायद उ कल्पना पनि गर्छ । हुनसक्छ उ जे मन लाग्छ त्यही लेख्छ । वा उ कथा देख्ने भएर नै दुखी छ । 

तर दुखी त म पनि छु सायद उसले देख्ने भन्दा बढी नै । तर खोइ मलाई लाग्छ म देख्दा उजस्तै निराश देख्दिन । तर उसका कथा पनि त निराश नै छन् । उ हरेक कथामा आफ्नो प्रेमिकाको हत्या गर्छ । र हत्याको दोश लिन्छ । तर हत्यानै गरे पनि उ मरिसकेकी प्रेमिकालाई बिर्सदैन । उसलाई सम्झेर यदाकदा रुन्छ पनि । 

म उसको घर हेर्न चाहन्छु । उ कस्ता किताब पढ्छ, कस्ता सिनेमा हेर्छ त्यो पनि बुझ्न चाहन्छु । त्यो मात्र होइन । म उसले कस्तो खाना खान्छ त्यो पनि हेर्न । म सब सब चिहाउँन चाहन्छु । हुनसक्छ म पनि कथाकार नै बन्न चाहन्छु । तर मलाई कथाकार हुनु छैन । मलाई त मानिस हुनु । एक कठोर मानिस जसले अरुको कथा देख्न सक्दैन । आफ्नो कथामा आफैँ हिरो बन्छ र आफ्नै तारिफममा केही लाइनहरु लेख्छ । हो मलाई यस्तै मानिस हुनु छ ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...