दिन ओसिलो छ । सडकमा मानिसहरु दौडिँदैछन् । हिमाललाई बादलले ठाकेको छ । भर्खरै एक कप चिया भ्याएकी छु । साथमा बुवाले दिएको पर्पल डायरी छ । डायरीमा केवल तीन शब्दहरु छन् । “आजको लागि धन्यवाद ।
यो मेरो पहिलो डायरी होइन । आजसम्म मलाई कसैले उपहारस्वरुप डायरी दिएको पनि छैन । यो डायरी पनि खासमा बुवाले दिनुभएको होइन । यो उहाँको डायरी हो । जुन खाली थियो मलाई लाग्यो यसलाई मैले भर्नुपर्छ । आजबाट यो मेरो भएको छ । यो पर्पल डायरी , अब यो मेरो हो । हुन त मसँग डायरी लेख्नको डायरी कहिले नै थियो र । म त सधै नोटकपिलाई डायरी बनाएर लेख्ने गर्थे । ममिलाई लाग्थ्यो त्यो रफ कपि हो त्यसैले उहाँले कहिल्यै मेरो डायरी पढ्नुभएन । म बिना डायरी पनि म डायरी लेख्थे । कसैले मलाई किन लेखिस् वा लेख्दैगर भन्दैनथ्यो । तर मसँग लेख्ने स्वतन्त्रता थियो । तर आज पहिलोपटक डायरी लेख्नकै लागी भनेर मसँग डायरी छ ।
डायरी अगाडी मसँग काठको पुतली थियो । त्यो डायरी नभएर पनि त्यो मेरा लागि डायरी नै थियो । मलाई लाग्थ्यो उ मेरो साथी हो । जसलाई म बेप्रवाह जे पनि भन्न सक्थेँ । डायरी पनि मेरो साथी नै हो । डायरीलाई पनि म कसैलाई भन्न नमिल्ने कुरा भन्ने गर्छु । तर म नछुने भएपछि ममिलाई लाग्यो अब छोरी ठूली भै उसले डायरी खेल्न हुन्न । योनीमा देखापरेको रगतसँगै मैले आफ्नो प्रिय साथी जो मसँग बर्षौदेखी थियो त्यो डायरीलाई पनि गुमाएँ । पुतली गुमाएपछि मैले आफ्नो मनका कुरा भन्ने साथी खोजे । डायरी साथी बनेर आयो । तर अब म यो डायरीमा डायरी होइन कथा लेख्न चाहन्छु । त्यस्तो कथा जसले मलाई उड्ने स्वतन्त्रता दिनेछ । म कथासँगै उडेर वा भनौ बगेर कतै पर पुग्नेछु ।
हो म कथा लेख्न चाहन्छु । मलाई लाग्थ्यो कुनै दिन म आफ्ना कथाहरुसँगै पर पुग्नेछु । पर पुगिसकेकी मलाई फेरी मेरा कथाहरुले डाक्नेछन् । म निमन्त्रणामा आउँनेछु । मेरा पात्रहरुले यदाकदा मलाई दुख पनि दिनेछन् । र पात्रहरु प्रति म धेरैनै सम्बेदनशील बन्नेछु । तर त्यस्तो केही भएन । म कहि पुगिन । कहिलेकाही पुगेझै लागेपनि फेरी फर्केर आएँ । आफैलाई पुरानो स्वरुपमा लान खोजेँ । आफैलाई कहि नपुगेकोमा गालि पनि दिएँ । तर म सधैँ कथा लेख्न चाहन्थेँ । डायरीमा मेरा कथाहरु नै थिएँ । पुतलीले पनि मेरा कथाहरु बोकेर कुनै दिन घरकै अगेनामा जलेको थियो । हो मैले थाहा पाएदेखी म कथानै लेख्न चाहन्थे । कथा बन्न नसकेका सबै सबै चिजहरु कथा नै थिए ।
हो कथा लेख्दा लेख्दै म आफैँलाई लेख्छु र आफैँलाई गाली पनि गर्छु । म अरुको भागको गालि पनि आफैँलाई दिन्छु कहिलेकाही । मेरा पात्रहरुले कहिल्यै गालि दिएका छैनन् । कहिलेकाही लाग्छ उनीहरु पनि म झै लेख्दा रहेछन् । म झै रुँदा रहेछन् । म झै सोच्दा रहेछन् । कहिलेकाही सोच्छु आफैँलाई लेख्नु कथा लेख्नु हो र ? होइन । होइन भने म किन लेखेझै गर्दैछु । र सधै सोचिरहन्छु म कथा नै लेख्दै छु ।
हुन त म कसैलाई गालि दिन चाहन्छु । तर मलाई म मेरा पात्रहरु झै गालि दिन सक्दिन । मलाई लाग्छ गल्ति मेरो थियो । किन गल्ति सधै आफ्नो मात्र थियो झै लाग्छ । मेरा डायरीमा ग्लानी मात्र छ । कुण्ठामात्र पनि हुनसक्छ । हुनसक्छ म आफैँलाई कुनै निद्रो मानिसझै प्रमाणित गर्न चाहन्छु । तर म निद्रो कहिल्यै थिइन । सानो हुनु निद्रो हुनु होइन । म त भिडमा पनि भाग्न सक्थेँ । तर मलाई लाग्यो मेरो निद्रोपननै म भित्रको कथा हो । मैले कथामा पनि, डायरीमा पनि, आफैँलाई छोड्न सकिन ।
के यो कथाझै केही हो ? होइन, होइन भने बषौबर्ष म किन लेखिरहेछु । त्यस्को मसँग कारण छैन । बस् म लेख्न चाहन्छु । म कथा लेख्न चाहन्छु । यो पर्पल डायरीमा पनि म कथा मात्र लेख्न चाहन्छु । तथापी यो कारणसहितको यात्रा होइन । मैले लेख्न खोजेका हरेक शब्दहरु एक प्रकारले मेरो मौनताको लेख्न स्वरुप हुन् । यी म भित्रका ठूला यूद्घहरु हुन् जसबाट म जित हार होइन मूक्ति चाहन्छु । तर थाहा छ म मूक्त पनि हुन सक्दिन । म डायरी भनेर कथा लेख्छु । कथा भनेर डायरी लेख्छु । जे होइन त्यो हुँ भनेर पनि लेखिदिन्छु । जे हुँ त्यो होइन भनेर पनि लेखिन्छ । मेरा डायरीमा नभएका सत्यहरु र मेरा कथाहरुमा नभएका कल्पनाहरु छन् । मलाई लाग्दैन मैले सत्य र असत्यको कुनै जाच दिनुपर्नेछ । हुनसक्छ मसँग पर्पल डायरी पनि छैन । मैले कहिल्यै डायरी पनि लेखिन । तर लेखेँ कथाझै केही जसको सत्यले मलाई बाध भनेन । जसभित्रको असत्यले मलाई पख भनेन । सत्य भन्दैमा पनि सबैकुरा सत्य हुन्छ र । हुँदैन । मैले मेरा डायरीमा भन्दा बढी सत्य त मेरा कथाहरुमा लेखेकी छु । वा दुबैमा लेखेकी पनि हुनसक्छु ।
यो अकथाको निरन्रता हो । सबैले कथा लेख्छन् भन्ने छैन् । वास्तबमा मलाई धेरैलाई गालि दिनु थियो तर म गालि दिन सक्दिन । त्यसेले शब्दहरु बन्छन् । आज लेख्नु अर्कै थियो । मलाई कोही अरु बन्नु थियो । अरु केही लेख्नु थियो । तर चाहेझै हुन्छ भन्नेछ छ र ? मेरो डायरीको रंगझै मेरा अक्षरहरुले पनि प्रस्ट बोलदैनन् । म प्रस्टताको आशा पनि राख्दिन । तर सत्य यहि हो मसँग पर्पल डायरी छ । म कथाझै केही लेख्न चाहन्छु ।
म कथाझै लाग्ने परिकथाहरु लेख्न सक्दिन । म जीवनको त्यो मोडमा छैन जसले जीवनलाई सोचेझै भेट्यो । कयौ सुन्दरझै लाग्ने चिजहरु कुरुपझै बनेर टुङ्गिए । तर म आफैँ त्यसलाई कुरुप भन्न सकिन । सायद त्यो म भित्रको बिरोधाभाष थियो । अथवा म हरेक कथाहरुलाई अकथा मान्ने गर्छु ।
कथालाई अकथा र अकथालाई कथाझै ठान्दैछु । तर पर जानु छ कहाँ थाहा छैन । कहिलेकाही लाग्छ आफैँले गरेको यात्रालाई बिर्सनु छ । र कुनै अर्कै स्वरुपमा रुपान्तरित हुनु छ । यो अकथा लेख्नेको कथा हो । अकथा लेख्नेहरु पनि अकथा नै हुन् । तर म कथा लेख्न चाहन्छु । म यो डायरीमा चाहेर पनि डायरी लेख्न सक्दिन म कथाहरुनै लेख्नेछु । सायद ति अकथा बनेर टुङ्गिनेछन् ।
No comments:
Post a Comment