Thursday, March 27, 2025

पुग्छु भनेर हिडेको बाटो


तिमी कहाँ पुग्यौ भनेर कसैले सोध्यो भने म झस्किने गर्छु । म कहाँ पुगेँ म आफैलाई सोध्ने गर्छु । अनि अनुत्तरीत भेट्छु । उत्तर र अनुत्तरीत हुनु बिच कहि कतै म छु । हिडेको बाटो कहाँ पुग्छ थाहा पनि छैन । कहाँ पुग्नु छ त्यो पनि थाहा छैन । बाटोमा नहिडेको पनि होइन । गन्तब्यहरु नभएका पनि होइनन् । तर पुगेर पनि सधैँ पुग्छु भनेको ठाँउ पुगेको छैन ।

बाटाहरु सधैँ खुल्ला देख्छु । पैतालाहरु थाकेका पनि छैनन् । तथापी पुग्छु भनेर हिडेको बाटो सधै अपुरो र अधुरोझै लाग्छ । कहाँ पुगेपछि बाटो टुङ्गिन्छ थाहा पनि छैन । हरेक दिन बिहानै बाटामा हिड्नेहरुको लर्को देख्छु । बिहानै मर्निङबाकमा जानेको लर्को । त्यसपछि झोला बाकेर बिध्यालय जानेहरुको लर्को । त्यसपछि फेरी काममा जार्नेहरुको लर्को । हिड्नेहरुलाई एकतमास हेर्छु । के उनीहरु हिडेको बाटो आफ्नो रोजाइको बाटो हो ? के मानिस त्यसै हिड्छ मन नलागी नलागी जसरी म पनि हिड्छु कहिलेकाही ?

कहिलेकाही  लाग्छ हिडेको बाटो बाटो मात्र हो तर मेरो बाटो होइन । आफ्नो नलागे पनि म हिडिदिन्छु । म अर्थ खोज्दिन । बिनाअर्थ हिड्नु छ र कही नपुगी फर्कनु पनि छ । हिडेको झै त मलाई यी किबोडहरुमा आफ्ना औला दौडाउँदा मात्र लाग्छ । नत्र बेअर्थ बिनामतलब बेपरर्वाहा हिडिदिन्छु ।

हिजो नै त हो । कुलेश्वर बल्खु किर्तिपुर बेअर्थ कुदेँ र आफ्नै गुणमा फर्के । बाटामा मानिसहरु मात्र होइन झरेका पातहरु, फूलेका फूलहरु र मुस्कुराएका रुखहरु भेटेँ । त्यो कहि पुग्छु भनेर हिडेको बाटो थिएन । के बरालिनु हिड्नु होइन । म त किबोडमा पनि बेअर्थ आफ्ना औलाहरु चलाउँछु । मलाई थाहा छैन मेरा अक्षरहरु कहाँ पुगे र कहाँ पुग्नेछन् । कहि पुगे भने त्यो संयोग हो । पुगेनन् भने ती मेरा हुन् । यो हिड्छु भनेर पनि गन्त्ब्य नतोकेको बाटो हो । 

ममि भन्नुहुन्थ्यो अक्षर भनेको नदी त्यसले तिमीलाई पर लग्नेछ । त्यो बिम्बमा थियो । मैले बुझिन पनि र बुझ्दैछु पनि । मेरी आमा र हजुरआमाले नहिडेको वा हिड्न नसकेको बाटो मेरो बाटो हो । म सँग बिना शब्दको इतिहास छ जसलाई म शब्दमा भन्न चाहन्छु । तर पुग्नु कहि छ भने त्यो कसैले नबोलेको क्षितिजमा पुग्नु छ र कोर्नु छ आफू हिडेको बाटो । तर म यो सब आमालाई भन्न सक्दिन । भन्छु त यिनै अक्षरहरुमा । 

कहिलेकाही लाग्छ पुग्नु र पाउँनु आफैँलाई रहेछ । बाटोमा गुमाउँनु पनि आफैँलाई रहेछ । आफ्नै प्रतिबिम्बले तर्साउँछ पनि । आफ्नै अहमले डराउँछ पनि । तर नि हिड्नु पनि छ र कहि पुग्नु पनि छ, पुगेपछि नपुगेझै महशुस गर्नु पनि छ । यो हिड्नुको एक प्रतिकात्मक वर्णन हो हिड्दैमा हिडिन्छ भन्ने पनि छैन । पुगेको ठाउँ आफ्नो हो भन्ने पनि छैन । 

हिडाइ र आफूविचको दुरीहरुलाई यदाकदा नाप्ने गर्छु । कहिलेकाही लाग्छ यी दुरीहरु मैले बचाइराखेका जीवनका अवशेषहरु हुन् । तर थाहा छैन कुने दिन यीनीहरुले सामिप्यता रोजेँ भने ..... यी विन्दुहरुझै हामी जोडिनेछौ वा रोज्नेछौ आफ्नै बाटो ।

No comments:

Post a Comment

एक अन्त्य एक सुरुवात

फेरी अर्को दिन भैसकेको छ । चराहरु उड्न थालेका छन् । बादलहरु आकाशभरी मडारिएका छन् । मानिसहरुको आवाज गुन्जिन थालेको छ । केटाकेटीहरु निद्राबा...