के पानाहरु खाली छोडिदिउँ कविता अघिको कागज झै । यो बिरक्ति होइन । निसारता पनि होइन । थाहा छैन यो के हो । ब्यक्त गर्न जति सजिलो छ बिना कुनै अभिब्यक्ति बाच्न पनि त गाह्रो छ ।
इस्परेन्जा आएकी छ सपनामा । उ चाहन्छे उ झै म पनि मेरो आफ्नो नामाकरण आफैँ गरु । हुन त म पनि उ झै बन्न चाहन्थेँ । उ सान्द्रा सिस्नेरोजको भूगोलबाट मेरो आगनमा आइपुगेकी म थिइ । पहिलोपटक उस्लाई भेट्दा लागेको थियो उ म नै हो । फरक यति हो उसको झै मेरो कपाल कुच्चो जस्तो छैन । उ झै म पनि कुनै दिन आफ्ना कथाका किताबहरु बोकेर पर भाग्न चाहन्थे र फेरी फर्कन चाहन्थे । तर त्यस्तो भएन म मेरा कथाहरुलाई बोकेर कही हिड्न सकिन । मेरा कथाहरु कहि कतै मेरो ल्यापटपको किबोडहरुमा चिप्किराखे जसरी रुखहरु जमिनमा चिप्कन्छन् । म कथा बोकेर कहि कतै पर भाग्न चाहन्थेँ । खै किन मैले भाग्ने भुगोल भेटिन ।
प्रिय स्परेन्जा सपनामा तिमी आउनु नौलो होइन । तर तिमी किन आयौ भन्ने कुराले यदाकदा मलाई झस्काउँने गर्छ । म कथाका किताबहरु बोकेर कहि कतै पर भुगोलमा अरु कुनै कथा खोज्न म जान सकिन । मलाई थाहा थियो मसँग त जन्मदै मस्र्याङ्दीको धुन थियो र साथमा किनारा पनि थियो । मसँग बग्ने डुब्ने दुबै स्वतन्त्रता थियो । मस्र्याङ्दीले मलाई भाषा र लय दुबै दिएको थियो । तर नदिको भाषा बुझ्न पनि नदिभन्दा पर पुग्नु पर्ने रहेछ । बिना दुरी त आफैँलाई पनि नदेखिदो रहेछ ।
तिमी झै थाहा छैन कुनै आफैँलाई खोज्दै निस्कनेछु र आफूलाई भेट्ने छैन । नभेटिएकी आफूलाई खोज्न खै कहाँ धाउँनेछु । सायद तिमीलेझै लेख्नेछु अनि लेखेकोमा लाज मान्नेछैन । कुनै दिन तिम्रा पानाहरु कहि कतै तिमीले भनेकी थियौ “सेम इज ब्याड यू नो” । सायद कुनै दिन मैले पनि आफूले आफैँलाई भन्नेछु ।
तर थाहा छैन किन तिमी सपनामा आएर गएको दिन मलाई सधै लाग्छ मैले आफैलाई भेटेँ । यो यत्रो दुनियामा आफूझै लाग्ने तिमीझै अरु कोही भेटेकी छैन । कथाहरु बोकेर कही कतै भाग्ने फेरी आफ्नो झै लाग्ने हामी दुबैका सपनाहरु हुन् । मैले पुरा गरे तिम्रो हुनेछ । तिमीले पुरा गरे मेरो हुनेछ । अनि कसैले नि पुरा नगरे थाहा छैन हाम्रा सपनाहर अरु कसको हुनेछ ।
म यी सबै कुराहरु पानामा उतार्छु तर मेरो इतिहासले मलाई त्यति पिरोल्दैन । म लेख्छु – यदाकदा आँप सडकले मलाई अलबिदा भन्छ । उसले मलाई बाँधेर राख्दैन । मलाई उड्न दिन्छ, आफ्नै सपनाको उडानमा ।
एकदिन जब म आफ्ना किताबकापी पोको पार्नेछु र साँच्चिकै आँप सडकलाई अलबिदा भन्नेछु तब म उसलाई सदासदाका लागी हृदयमा राख्न सक्ने भैसकेकी हुनेछु । एकदिन म यहाँँबाट पर पुग्नेछु ।
साथीहरु र छिमेकीहरुले भन्नेछन्, के भयो यो स्पिरेन्जालाई ? किन ऊ किताबकापीसँगै गई ? किन ऊ यति पर गई ?
तर उनीहरुलाई थाहा हुनेछैन, म फर्कनकै लागि गएकी हुँ । उनीहरुका लागि जसलाई मैले पछाडि छोडेँ । उनीहरुका लागि जो यो सडकबाट कहिल्यै बाहिर निस्कन सक्दैनन् ।
No comments:
Post a Comment