बिहान भैसकेको पनि हो । बिहानी नआइसकेको पनि हो । बाहिर अध्यारै छ । सडकमा केही जोर पैतलाहरु भित्रिएका छैनन् । नानीहरु रोएको आवाज सुनिएको छैन । फूलहरु फूलिसकेका छैनन् । घाम उदाइसकेको छैन । बिहानी भित्रिसकेको छैन तर बिहानी भैसकेको छ ।
सायद मेरो बिहानी हो । यसले मलाई आफू बन्ने स्वतन्त्रता दिन्छ । कहिलेकाही लाग्छ मैले यो समयको प्रहरलाई दावी गर्न सक्छु । बिहानै किबोडमा हातहरु सलबलाएका छन् । केही नभएको अवस्थामा पनि केही भएको छ भनेर म दावी गर्न चाहन्छु । सायद म दुनीयालाई भन्न चाहन्छु म बाच्दैछु ।
यसरी बाचेको झै गरेर मैले धेरै दिन बिताएको छु । म चाहन्छु म बाचुँ । तर सधैँझै म बाचेकोझै देखाउँन चाहने रहेछु । अब केही बेरमा मानिसहरु दौड सुरुहुनेछ । को सानो को ठूलो । को राम्रो को नराम्रो । को धनि को गरिव । दौड यस्तै नै हो । दौडेर मानिसहरु कहि पुग्दैनन् तर सबैलाई दौडनु छ अनि कहि पुग्नु छ ।
म पनि त्यहि दौडमा । मलाई थाहा छ म कहि पुग्दिन तर मलाई पनि कहि पुगेकोझै देखाउँनु छ । आफ्नै पाइलाहरु गन्नु छ र आफैलाई बिजेता घोषणा गर्नु छ । हिडिसकेका पाइलालाई जीवनका ठूला प्रहावहरु ठान्नु छ । कस्तो अनौठो भाष्य । कस्तो अनौठो प्रबृति । तर धेरैलाई यो नै जीउँनु हो ।
केही दिन अघि एक मित्रले आफ्नो जीवनको लक्ष्य २७ करोडको कमाउँन हो भनेर बताए । मैले आफूलाई फकिरको संज्ञा दिए त्यस्ता सपना नभएको बताएँ । कसरी सपनालाई पुजिँसँग मात्र कसरी तुलता गर्न सक्छौ । त्यसो भए आफ्नै घर र बैभव छोडेर यात्रामा निस्कने बुद्घ को थिएँ ? कबिर को थिएँ ? कसरी बैभव सपना बन्न सक्छ । कसरी कसैले मेरो यती करोडको सपना छ । तेरो छेन तँ सपना बिहिन झिनो मानिस हो भन्न सक्छ । आज म बिहानी भैनसकेको बिहानीमा त्यही सोचिरहेछु । मात्र त्यही सोचिरहेछु ।
No comments:
Post a Comment