Monday, March 24, 2025

स्मृति


झिसमिसे साँझ पर्दैछ । सायद घरअगाडीको आँपको रुखमा चराहरु बास बस्नको लागि चिरबिर गर्दै होलान् । आमा बाख्राहरुलाई खोर भित्र हुल्न लाग्दै हुनुहोला । घाम हिमाल नजिक पुग्यो होला । मस्र्याङ्दीको आवाज अझ चर्को सुनिन थाल्यो होला । झ्याउँकिरीहरु पनि आए होलान् । आज घर स्मृति बनेर फर्केको छ । जहाँ पुगे पनि सम्झने त घर नै रहेछ । यो घरमय साँझ हो । म घरको स्मृतिमा लिप्त छु ।

यसरी नै स्मृतिहरु फर्कन्छन् । यसरी नै तिमी फर्कन्छौ । कहिलेकाही समयले पनि पछाडीको यात्रा गर्छ । यात्रालाई फेरी फर्केर हेर्छ । तिमीलाई पनि म कहिलेकाही त्यसरीनै फर्केर हेर्छु । सायद हेरीरहनेछु । सायद हेर्नेछैन । सायद अर्को पटकबाट कहिल्यै हेर्नेछैन । दूई महिना हुन लागिसकेछ  सायद तिमी स्मृती बनिसकेछौ ।

दूई महिना अघि केही महिना यही समय म तिम्रो फोनको प्रतिक्षामा हुन्थेँ । त्यो स्मृति थिएन त्यो त समय थियो । अब त्यो रहेन । तर सम्झना नआउँने होइन । तर त्यो सम्झनामा बाचिरहँन सक्दिन । कहिलेकाही लाग्छ जीवनमा निमेशभरको यूफोरीया कहिल्यै नआओस् । मलाई जीवनका लामा यात्राहरु मनपर्छ । मिठा बिदाईहरु मनपर्छ । तुफानसरि आएका केही हलचलहरुले तुफाननै सरी छोडीजाँदा रहेछन् ।

सायद त्यो तिम्रो चाहना थियो । सायद त्यो बाध्यता थियो । सायद परिस्थति त्यस्तै थियो । म नियती र बाध्यताहरुलाई मज्जाले बुझ्छु । बुझ्दिन त तूफान र जीवनका आधिहुरीहरुलाई । र निमेशभरको शून्य बिदाईलाई । कहिलेकाही लाग्छ मानिस कसरी आयो भन्दा पनि कसरी जीवनबाट बिदा लियो भन्ने बढी महत्वको रहेछ । 

हो तिमी स्मृति बनिसकेछौ तर कस्तो स्मृति थाहा छैन । तिम्रो बिदाइसँगै केही चीजहरु आफ्नै लागि साचेर राखेकी छु । त्यो आफू नै हो । परिस्थितिलाई जोगाउँन भन्दा आफूले आफैँलाई जोगाउँन ग्राहो पर्दो रहेछ । पछिल्ला केही महिनाहरुमा महिले आफैँलाई जोगाएँ पनि र पाएँ पनि । सायद तिमी जानु र मैले आफैलाई भेट्नु एक संयोग मात्र हो ।

अब धुमिल भैसकेका छौ । म चम्किलो बनाउँन पनि चाहन्न । कतिपय रेखाहरु बिनाअर्थ कोरीन्छन् त्यसमा कुनै गुनासो पनि रहनेछैन । जानु आउनुको नियतीलाई मैले नबुझेको पनि होइन । सायद यो यात्रा हो । सायद जो पनि जोडिनसक्छ । जोडिनुको अर्थ नखोजेकै राम्रो । आजकल स्मृतिमा पुग्दा आफूले आफैँलाई यही भन्ने गर्छु 

 सायद कुनै दिन म लामो यात्रामा जानेछु । त्यस्तो यात्रा जसले मलाई भन्नेछ यो तिम्रो यात्रा हो । केही थान किताबहरु र मेरो पर्पल डायरी साथमा हुनेछ । मेरा परिधिहरु सिमानाहरुलाई तोक्ने कोही हुनेछैन । सबैले सोच्नेछन् उ किन गै । तर उनीहरुलाई थाहा हुनेछैन म फर्कनकै लागि गएकी हुँ उनीहरुको लागि जसलाई मैले पछाडी छोडेँ ।

No comments:

Post a Comment

एक अन्त्य एक सुरुवात

फेरी अर्को दिन भैसकेको छ । चराहरु उड्न थालेका छन् । बादलहरु आकाशभरी मडारिएका छन् । मानिसहरुको आवाज गुन्जिन थालेको छ । केटाकेटीहरु निद्राबा...