बिहानै चराहरु उड्न थाले । बादलहरु आकाशमा भरिए । मानिसहरुको पाइला सडकमा पर्न थाल्यो । सपनाहरुको भिडमा मैले एक सपना गुमाए । सायद संसार यहि नै हो । वा संसारको लागि यो केही होइन । तर मन हो मान्दैन । फेरी टुक्रिनु छ एकपटक फेरी जुट्नु छ अर्कोपटक । एक निरन्तरता....
म टुक्रिनुको निरन्तरतालाई तोड्न चाहन्थे । एक सपना बोकेर अर्को सपना छेउ पुग्न चाहन्थे । पहिलोपटक कक्षा चारमा चौंथो हुँदा जसरी टुटेकी थिएँ आज फेरी अर्कोपटक त्यसरी नै टुटेकी छु । कहि जानु थियो । कहि भाग्नु थियो, आफैँबाट , समाजबाट वा भनौ आफन्तबाट । जहाँ म छु त्यहा म निस्सासिएकी छु । मलाई हरेक मंशिर, बैशाख असार र फागुनहरुले नयाँ ट्रमा दिएर जान्छन् । मलाई त्यो ट्रमाबाट भाग्नु पनि छ । र कहि कतै गएर आफैँलाई खोज्नु पनि छ । तर दौडिएर समात्न खाजेका सपनाहरु मेरा मुठ्ठिहरुबाट भाग्छन् । सायद उनीहरुलाई अरु कसैको मुठिमा पुग्नु छ । यी खाली हत्केलाहरु बोकेर फेरी हिड्नु छ, दौडनु छ र कहि नपुगी फर्कनु छ अर्कोपटक ।
कहिलेकाही बिहानीहरु बिहानी बोकेर आउँदैनन् । खबरहरु अध्यारो रात बोकेर आउँछन् । आज बिहानै कसैले मलाई अर्को अदिनो रात खबरमा पोको पारे पठाइदिएको छ । अब मसँग बिहानी छैन । बिना बिहानीको दिनको प्रतिक्षामा छु । यी अध्यारा बिहानीहरुले सपनाको अन्त्य गरिदिन्छन् । मैले आज त्यसरीनै एक सपनाको अन्त्य गरेँ । हिड्ने मान्छे लड्छ भन्छन् । यदि मान्छे हिड्ने बित्तिकै लडेर उठ्नै सकेन भने के गर्ने ? हो म त्यसरीनै लडेको लड्यै छु । तपाइहरुले पढ्ने यी सुन्दर शब्दाबलीको पछाडी कयौ अध्यारा दिनहरु साक्षि छन् ।
प्रिय समय, किन तिमी सपनाको समाप्तिको मात्र खबर बोकेर आउँछौ । यी बिरक्तीका अक्षरहरु लेख्दादेख्दा म थाकिसकेँ ..........................
No comments:
Post a Comment