यो सपना थियो वा सपना थिएन । सपना नै भए पनि सपनाहरु बद्लन्छन् । अनौठो सपनाबाट बिउँझिएकी छु । बिहान भएको छ तर बिहानी भैसकेको छैन । चराहरु सायद आफ्नै गुडमा छन् । नानीहरुको रुवाई सुनिएको छैन । बाटोमा हिड्नेको पदचापका आवाजहरु मेरा कानमा आइसकेका छैनन् । बिहानी एक मधुर आवाज बोकेर सायद आफ्नै धुनको यात्रामा छ ।
सायद यो बिहानलाई आफ्नै लयमा अर्काइभ गर्दैछु । सायद म चाहन्छु म जे होइन त्यो मेरो बिहानीमा नआओस् । सायद म चाहन्छु त्यसलाई भन्न सकुँ । त्यसैले बिहानीनै रोजेकी छु । यो निर्मम समय हो । तपाई रातलाई झै बिहानी ठाट्न सक्नुहुन्न । तपाई नचाहेर पनि तपाइलाई पोखिदिनुहुन्छ सायद म त्यही गर्दैछु ।
यी मेरा वाक्यहरु मैले जीएको बिहानीका साक्षिहरु हुन् । म चाहन्छु बिहानीहरु बिहानी नै बनुन् । तर किनकिन कहिलेकाही बिहानीहरु पनि रातझै बनिदिन्छ । सायद यो यस्तै यात्रा हो । अनुभूतीको यात्रा । आफ्नोझै लागेर आफ्नो नभएको बिहानीको यात्रा । सायद जीवन भनेको यस्तै नै हो समयसँगै सबै चिजलाई केही नभएझै निहाल्नुपर्छ र एक कुरुप सपना ठानेर बिर्सिदिनुपर्छ । सायद सपनाका पनि डोबहरु रहनेछन् । सायद डोबहरुले कहिलेकाही बिजाउँनेपनि छन् ।
सायद यात्रा न हो । नदीझै यसको गति कुनै दिन फरक भैदेला । आज कुरुप झै लागेको चिज कुनै दिन सुन्दर झै पनि बनिदिएला । एक शान्त तर सान्नाटामय बिहानीमा साचमग्न आयामहरुले बिचलित छु । त्यसैले शब्दहरुले पोखिएकी छु ।
प्रिय सपना फेरी अर्को पटक आउँदा केही स्थिरता बोकेर आउँनु । बिहानीझै बनिदिनु । रातको चमकता केही दिनको हो । मलाई त सधै उदाउँने सुन्दर बिहानी चाहिएको छ ।
No comments:
Post a Comment