Wednesday, June 12, 2024

किनारा


कोलाहलको बिच पनि कोही किन यति शान्त भैदिन सक्छ । कोही किन अरु कसैको केन्द्रमा रमाइदिन सक्छ । थाहा छैन तिम्रो हृदयका डोबहरु किन अरुकाझै गहिरा छैनन् । भेट्नेहरुलाई लाग्छ तिमी केही होइनौ । एक छिन सुस्ताउँदा पनि मानिस नदी बनिदिँदो रहेछ । नदी सँगै बग्दो रहेछ र तिमीलाई केही नठानी फर्कदो रहेछ । तिमी हिजो पनि थियौ आज पनि छौ सायद भोली पनि रहनेछौ । सायद मानिसलाई अस्थिरता मनपर्छ । गडगडाउँदो आरोह र अबरोह मनपर्छ । क्षणभरमै डुबाउँने गहिराइ मनपर्छ । र क्षणभरमै उडाउँने बतास मनपर्छ ।

यो तिम्रो कथा हो तर तिमी होइनौ । थाहा छैन तिमी अरुले सोचेझै शान्त छौ वा छैन । वा तिमीबिचको कोलाहल मैले साचेझै क्षणिक छ वा छैन । यो मैले कोरेको तिम्रो चित्र हो । सायद म आफ्नै  लयमा तिमीलाई कोर्छु । कहिलेकाही लाग्छ एउटा किनाराले अर्को किनारालाई बुझ्छ । यो हाम्रो कथा हो । यो किनारझै आफूलाई सम्झने सबैको सामूहिक कथा हो ।

यो तिम्रो मात्र होइन यो त नदी किनारामा जन्मेर पनि नदिलाई मात्र सम्झनेको कथा पनि हो । हुर्कदै गर्दा कहिल्यै लागेन तिमी पनि छौ । मेरो लागि उपस्थितिका बिम्बहरु नदी र हिमाल मात्र थिएँ । नदीसँगै जोडिएको तिम्रो प्रतिबिम्ब एक अपरिचित प्रतिबिम्ब थियो । यतीका वर्षसम्म मैले तिमीलाई अपरिचित ठानिरहेँ । सबैभन्दा परिचित त तिमी रहेछौ । र सबैभन्दा नजिक पनि तिमी नै रहेछौ । यो क्षितिज काटिसकेपछि भित्रिएको अनूभूती हो । सायद म किनारामा मै रहिरहेको भए किनाराबारे बुझ्ने थिइन । सायद दुरीहरु दुरीहरु मात्र होइनन् बुझाइ पनि हुन् । 

आज म तिमीलाई बुझ्छु पनि बुझ्दिन पनि । तर तिमीमा आफैलाई कताकता भेट्ने गर्छु । सायद  यो बतास हावा र आधिहुरीको कोलाहल बिच कहि कतै तिम्रो न्यानोपन पनि खोजिबस्छुु । न्यानेपनको आशा बताससँग छैन । भिडमा केही नबुझिने कोलाहलसँग पनि छैन । उचाइको प्रतिबिम्ब लाग्ने हिमालसँग पनि छैन । सायद यो बुझाइको पहिलो बिन्दु हो । कुनै दिन अर्को पाइला चालेँ भने फेरी तिम्रै छायाँमा आफ्ना पैतालाका डोबहरु सहित फर्कनेछु ।

No comments:

Post a Comment

डायरी लेख्ने केटी– पार्ट २

  यो डायरीको कथा होइन यो त त्यो केटीको कथा हो जो डायरी लेख्छे । तपाईहरु सोच्न सक्नुहुन्छ उसको डायरीको रंग कस्तो होला । वा डायरी लेखिसकेपछि...