Tuesday, June 25, 2024

प्रिय डायरी,

 

यो खुल्ला डायरी हो । यो सायद डायरीहरुको सामूहीक कोलाज हो । सायद यो लेख्नेहरुको एक भाष्यात्मक अभिब्यक्ति मात्र हो । यो केही हो र केही होइन पनि । यो शब्दहरुको सिम्फोनी पनि हो । यो शब्द बिहिनता पनि हो । यो जे हो त्यो होइन तर सबै चिज हो ।

म चाहन्थे मेरा डायरीहरु मेरा बनुन् । तर मेरा डायरीहरु मेरा मात्र रहेनछन् । मैले बाचेका समयका पनि रहेछन् । म सँग जेडिनेका पनि रहेछन् । र म भन्दा पर भाग्नेहरुका पनि रहेछन् । सायद मलाई लाग्थ्यो डायरी भनेको मेरो मात्र हो तर त्यो रहेन । आजबाट मेरो डायरी तपाइको पनि बन्यो । सायद यो कसैले पढिरहेछ भने पढ्नेको पनि हो ।

तर मलाई लाग्छ आज म जे लेख्दै छु त्यो मेरो होइन । अथवा मैले जे लेख्न चाहिरहेको छु त्यो लेखिरहेको छैन । सायद हुनसक्छ म डायरीसँग पनि डराउँछु ।  मलाई सधैँ लाग्छ मेरा शब्दहरु कठोर नबनुन् । तर किन किन म भित्र कठोरता पनि जन्मदैछ । सायद म भित्रको कठोरतालाई म सलेब्रेट गर्न चाहन्न तर म नर्कान पनि सकिरहेको छैन । 

कहिलेकाही लाग्छ म समयभन्दा अगाडी छु । कहिले लाग्म म समयभन्दा पछाडी छु । तर म आज अगाडी बढ्न चाहन्न । मलाई शब्दमा आफ्ना केही अनौठा भावनाहरु पोख्नु छ तर किनकिन लागिरहेछ म चाहेर पनि पोख्न सक्दिन । कहिलेकाही लाग्छ नि कसैका अगाडी रुन सकियोस् । एक नाङ्गो मानिसझै एकपटक फेरी त्यही बन्न सकियोस् जो आफू बन्नु हो । तर म चाहेझै बन्न सकिरहेको छैन । सायद म भित्र अर्को लेएर जम्मा भएको छ जसले मलाई भन्दैछ तँ तीसको भैस केटाकेटी झै नभएस् ।

तर म आज स्रोहको महशुस गर्दैछु । मलाई लाग्दैछ म मज्जाले रिसाउँ र मज्जाले रोइदिउँ । न रिसाउँन सजिलो छ न रुन । एक मौन यात्रामा छु । तर भित्रभित्र सब कोलाहल मात्र छ । त्यस्तो कोलाहल जसले आफैलाई प्रश्न गर्दैछ । तर यो मेरो आफ्नो यात्रा हो चाहेर पनि म आफ्नो यात्रालाई नर्कान सकिरहेको छैन । सायद हामी सबै यस्तै नै छौ । सायद यी शब्दहरुले हामीलाई कि चाहेभन्दा निर्मम बनाउँछ कि चाहेभन्दा कठोर । तर म चाहन्छु म जे महसुस गर्दैछु त्यो भन्न सकुँ । सायद म चाहन्छु म भित्र जे छ त्यो पोखियोस् । जम्नु भन्दा पोखिनु बेस् म जम्नभन्दा पोखिन चाहन्छु । म आफैँलाई चिसा पर्खालहरुले बाध्न चाहन्न । सायद यो म हुनु हो । 

तर थाहा छैन किन म आफैँ बन्न सकिरहेको छैन । म चाहन्थे म भित्रका आधि र  हुरीहरु चिसा पहाडहरु नबनुन् । तर म समयसँगै चिसो  बन्दैछु जो म होइन । आफैँले आफैलाई अपरिचित भेट्दैछु । आफूले आफैलाई नचिन्नु अनौठो अवस्था हो । प्रिय डायरी कुनै दिन तिमीले मलाई चिनेझै ठान्यौ एक पटक फर्केर बोलाउँनु ल । 

No comments:

Post a Comment

डायरी लेख्ने केटी– पार्ट २

  यो डायरीको कथा होइन यो त त्यो केटीको कथा हो जो डायरी लेख्छे । तपाईहरु सोच्न सक्नुहुन्छ उसको डायरीको रंग कस्तो होला । वा डायरी लेखिसकेपछि...