यो डिजिटल डायरीको कथा हो । यस्तो कथा जसलाई नभन्दा पनि हुन्थ्यो । तर भन्न चाहेँ । यो डायरी लेख्नेको कथा हो । यो डायरी लेख्ने केटीको कथा हो । यो त्यो केटीको कथा हो जसलाई लाग्यो कुनै दिन उ आफ्नाजस्तै मान्छेहरुको कथा भन्नेछ । र आज पनि उसलाई त्यही नै लाग्छ ।
उ कथा सानैदेखी भन्थी । तर उसलाई कहिल्यै लागेन उसका कथाको केही महत्व छ । उसको कथा भन्ने साथी थियो उसको काठको पुतली । उसकी आमालाई सबैभन्दा चिन्ता उसले त्यही काठको पुतली खेलेकोमा लाग्थ्यो । तर उ आमासँग लुकीलुकी भएपनि खेल्ने गर्थी । उसको लागि उसकी पुतली साथी मात्र थिइन उसको कथाकी पात्र पनि थिइ । आमालाई चिन्ता थियो छोरीले कहिल्यै काठको पुतली छाड्दीन की भन्ने । छोरीलाई चिन्ता थियो आमाले कुनै दिन आफ्नो काठको पुतली फाल्दी हाल्छिन् कि भन्ने । तर आमाको हठको अगाडी उसको केही चलेन । एक दिन आमाले उसको पुतली जलाइदिइन् । त्यसपछि उसको र उसको काठको पुतलीको भेट कहिल्यै भएन ।
यो त्यही केटीको कथा हो जसले आज पनि डायरी लेख्ने गर्छे । आज पनि आफ्ना केही डायरीहरु लुकाएर राख्छे । कसैले पढ्दिइ हाल्छन् कि भन्ने कुराहरु अंगे्रेजीमा लेख्छे ।
आमाले काठको पुतलीलाई जलाइदिएको केही समयपछि उसलाई लाग्यो अब उसले आफ्ना कथाहरु भन्ने नयाँ साथी खोज्नुपर्छ । उसले डायरी भेटी । उसलाई लाग्यो डायरी पनि उसको साथी नै रहेछ । आज पनि उसलाई लाग्छ डायरीभन्दा असल साथी अरु कोही हुन सक्दैन ।
सायद उसलाई लाज पनि लाग्छ उसका कथाको महत्व कहीँ छ भने डायरी मै छ । केही वर्षपछि कसैले भनिदियो ब्लग बनाउँ । कसैले बनाइदियो पनि । र उसको डायरी उसको ब्लग बन्यो । आज पनि उसको लागि उसको ब्लग उसको डायरी नै हो । डायरीले सायद स्वतन्त्रता दिन्छ सायद आफ्नोपन पनि दिन्छ । सायद यो ब्लगको कथा हो । सायद यो डायरीको पनि कथा हो । सायद यो लेख्नेहरुको कथा हो । सायद यो लेख्छु भन्न लाज मान्ने तर लेखिरहनेको कथा हो ।
ब्लगको कथा ब्राह बर्षको भयो । ब्राह बर्षहरुमा जीवनमा धर्काहरु थपिएँ । भन्नका लागि कथा थपिएँ । केही धर्काहरु अल्लि चहकिला र केही अल्लि धुमिल बन्दै गएँ । र केही मेटीए पनि । सायद केही मेटिने तरखरमा छन् । तर उसका डायरीका कथाहरु सिद्घिएका छैनन् । सायद कहिल्यै सिद्विने पनि छैनन् । सायद कुनै दिन उ रहनेछैन । सायद उसका कथाहरु उ सँगै सिद्विने पनि छन् । वा छैनन् पनि । तर यो यात्रामा उसले लेखेका कथा उसकै बनेर जानेछन् ।
उसलाई दावी गर्न कसैले सिकाएनन् । छोरीहरुलाई दावी गर्न कसले पो सिकाएको छ र । तर उसलाई आज लाग्छ उसले आफ्ना लागि केही भन्न सिक्नुपर्छ । सायद उसका डायरी उसका उदासीका र असन्तुष्टिका केही रंगहरु मात्र ्होइनन् । सायद यी ब्यक्तीगत भएर पनि यी ब्यक्तिगत मात्र होइनन् ।
अनुभूतीका केही भाष्यहरु बाकेर उसले सुरु गरेको उसको यो यात्रालाई थाहा छैन उसले आफैले फर्केर हेर्दा केही अर्थ राख्नेछ वा छैन । अहिलेसम्म उसले जे देखी जे महसुस गरी त्यही लेखी । कहिलेकाही आफूभित्रको खुसीले कही लेख भन्यो कयौपटक आफैभित्रका केही दुखेसाहरुले । सायद दुखेको बेला मान्छेले धेरै लेख्ने गर्छ । हुनसक्छ उ दुखेका कुराहरु धेरै छ । आफैभित्र बोकिआएका अप्राप्तीका पर्खालहरु छन् ।
देख्नेहरुले लाग्न सक्छ उसले बाचेको जीवन एक सरल रेखा हो । एकले अर्काको जीवन हेर्दा त्यस्तो सबैलाई लाग्छ । तर उसलाई लाग्छ उसले किनारामा बाची र किनारामै बाच्नेहरुको लागि लेखी ।
सायद अहिले पनि उ त्यही काठको पुतलीको खोजीमा लेख्ने गर्छे । वा पुतलीझै उडेका उसका सपनाको खोजीमा लेख्ने गर्छे । कथा अझै बाकी छ बाकी अर्को दिन .........................
No comments:
Post a Comment