Monday, May 12, 2025

निजत्व लेखन - कुण्ठा वा सेल्फ सेलेब्रेसन ?

     सानैबाट हामीलाई मानिस सामाजीक प्राणी हो भनेर पढाइयो । सामाजीक भन्नेबित्तिकै त्यसका आफ्नै दायरा र दृष्ठिकोणहरु छन् । सामाजीक भन्ने शब्द सुन्नेबित्तिकै हामी आफू कम  र आफूले देखेको समाजको बारेमा बढी सोच्ने गर्छौ । साहित्यमा पनि त्यसको प्रभाव हुनुपर्छ हामीले केटाकेटीमा पढेका कथामा म भन्दा पनि ‘उ’ सर्वनाम प्रयोग गरेका पात्रहरु बढी भेट्थ्यौँ । र किनकिन ती पात्रहरु आफू जस्तो लाग्दैनथ्यो अरुनै दुनियाका मानिसहरु जस्तो लाग्थ्यो, उनिहरुको भोगाइ आफ्नो जस्तो लाग्दैनथ्यो । त्यसैले आज साहित्यमा निजत्वको प्रयोग र त्यसको प्रभावको बारेमा केही भन्न मन लाग्यो ।

 

निजत्व भन्नेबित्तिकै हामी आफूलाई सम्झन्छौं । चाहेर नचाहेर कुनै पनि लेख्य चिज लेखकको निजत्वको परिणाम हो । सिग्मण्ड फ्रायड भन्छ्न् लेखन भनेको लेखकको अबचेतन चाहनाहरुको परिणाम हो । त्यसैले मेरो लेखाई मैले देखेको सोचेको दुनिया हुँदै होइन भन्न कुनै पनि लेखकलाई गार्हो छ । सायद मानिस त्यस्तो प्राणी हो जसले आफू बिनाको संसार कल्पना गर्नै सक्दैन । त्यसैले लेखकको निजी अनुभव उसको लेखनमा आउँनु कुनै नौलो कुरा होइन भन्ने मलाई  लाग्छ ।

 

नेपाली साहित्यमा निजत्व लेखनबारे बहस नभएको त होइन तर बहसको घेरा चैं सधैं साघुरिएको जस्तो लाग्छ । कतिपयलाई लाग्छ निजत्व लेखन भनेको कुण्ठा लेखन मात्र हो । र यही कुराले निजत्व लेखनको बृहतर बहसलाई रोकिदिन्छ र सधैझै हामी मानिदिन्छौ निजत्व लेखन भनेको कुण्ठा लेखन मात्र हो । तर के निजत्व लेखन कुण्ठा लेखन मात्र हो त ?


एकमानेमा निजत्वलाई सेलेब्रेट गर्नु भनेको आफ्नो अस्तित्वलाई सेलेब्रेट गर्नु पनि हो । मलाई लाग्छ हामी जतिनै समाजको बारेमा लेखेपनि हाम्रो जीवनको वृत्त ‘म’ बाट सुरुहुन्छ र ‘म’ मानै अन्त्य हुन्छ । म गलत पनि हुनसक्छु तर कहिलेकाही लाग्छ जीवनको भनेको एकदमै व्यक्तिगत भोगाइ अथवा नीजि भोगाइ हो हामीलाई सामाजीक प्राणी भनिएतापनि । सायद यी नीजि वृत्तहरुको सामूहिक प्रतिक्रिया नै समाज हो । निजत्वबाट भिन्न बृहतर समाजको कल्पना म गर्न सक्दिन । लाग्छ साहित्यमा पनि त्यहि लागुहुन्छ हामीले आफूलाई लेखेनौं भने साहित्यको वृत्त अल्लि ढोंगी पो हुन्छ की ?


निजत्वको चर्चा नेपाली समाज र साहित्यमा नभएको त होइन तर साहित्यको नाममा हामी बढीनै आफ्ना कुण्ठा र कहरहरु लेखीरहेका त छैनौं भन्ने प्रश्नचैं अल्लि बढि नै गरिने गर्छ । र कतिपयले निजत्व लेखनलाई साहित्य होइन कुण्ठा हो भन्ने पनि गर्नुहुन्छ । तर कहिलेकाही लाग्छ  मात्र कल्पना गरेर अथवा देखेर लेखेको संसार भन्दा आफूले भोगेको संसार लेख्नुमा गलत नै के छ र ? आफ्ना कथाहरु लेख्नु मात्र कुण्ठा लेख्नु, वा समाजवाट  बिल्कुल अलगिनु पनि त होइन । अहिलेका नेपाली लेखकहरुले निजत्वलाई यसरी सेलेब्रेट गर्नुभएको छ की, निजत्व लेखनलाई साहित्यबाट अलग्गै राखेर वा साहित्यनै होइन भन्ने अवस्था भने पक्कै  छैन ।

 

निजत्व लेखनलाई नेपाली साहित्य मात्र नभएर बिश्व साहित्य मार्फत पनि हेर्यौ भने यसको फराकिलोपन हामीलाई पक्कै महसुस हुन्छ । बिश्व चर्चित लेखक हेलेन केलरको पहिलो पुस्तक, "द स्टोरी अफ माई लाईफ" उनको आफ्नै कथा थियो । जसमा उनले सेरेबल पल्सीजस्तो  रोगसँग कसरी जुधेर लेखक बनिन् भनेर आफ्नै निजी कथा लेखेकी थिइन् । जसले कालन्तरमा उनलाई साहित्यकार मात्र बनाएन विश्व साहित्य समाजमा अर्को नयाँ बिषयबस्तुका साथसाथै साहित्यमा अपाङ्गतालाई बुझ्ने अर्को बैकल्पिक दृश्ठिकोण पनि दियो ।   त्यसैगरी सिल्भिया पाथ यस्ती कवी हुन् जसले कवितामा पनि आफ्नै निजी कथाहरु लेखिन् जसले तत्कालिन् पितृसतात्मक समाजलाई अर्को झड्का दियो । यसरी हेर्दा निजत्व लेखन पनि साहित्यको एउटा महत्वपूर्ण कडी हो भन्ने कुरा हामीलाई महसुस हुन्छ ।

 

यसैगरी भारतीय मूलकी हलिउड फिल्म निर्देशक मिरा नायर भन्छिन्, “ यदि हामीले आफ्ना कथाहरु भनेनौं भने अरु कसैले भन्दैनन् ।” सायद यो भनिरहँदा उनले निजत्व भन्ने शब्द प्रयोग नगरेपनि निजत्वको पक्षमा भनेउनी  दरै उभिएकी छन् ।  मलाई लाग्छ हाम्रा आफ्ना भोगाइहरु र दृश्ठिकोणहरु अरु कसैले लेखिदिनुभन्दा आफैंले लेख्नु बढि उचित हो की ? र अर्को कुरा आफ्नो  कथा आफूले लेख्दा जति अथेन्टिक हुन्छ अरुले लेखिदिंदा अल्लि कम हुन्छ की ? यसको अर्को पाटो भनेको समाजको मूलधारबाट अल्ली परको समाजको कथालाई यसले  भन्न मद्धत गर्छ । साहित्य यस्तो चिज हो जसको गुणस्तर लेख्न र पढन इतिहासले निर्धारण गर्छ तर समाजको त्यस्तो तप्का जसको लागी लेखन र पढन संस्कृती अझै नयाँ नै  छ त्यसको लागी  निजत्त्व लेखन यस्तो  अवसर हो जसले गुणस्तरीयताले भन्दा पनि कथाको नबिनता र समाबेसिताको हिसाबले अर्को  अवसर खुलाउँछ ।


निजत्वको कुरा गरिरहदा मलाई किनकिन महिलाको निजत्वको बारेमा पनि चर्चा गर्न मन लाग्यो । हामी हुर्केको समाज यस्तो थियो की एउटा महिलाले आफ्नो एकदमै निजि कुरा लेख्नु बोल्नुलाई अचम्मको रुपमा लिइन्थ्यो खैर अहिले परिस्थिति अल्लि भिन्न भइसकेको छ । तथापी हामी एकदमै निजिकुरा लेख्न अहिले पनि डराउछौं । सर्वनाम ऊ प्रयोग गरेर त लेखौंला तर म प्रयोग गरेर लेख्न अझै डगमगाउँछौं । पुरुषलाई प्रेम सम्बन्धको बारेमा लेख्न जति सजिलो देखिन्छ महिलाई त्यति गाह्रो । अझै पनि हाम्रा निजि भोगाइहरु, आमा, छोरी, प्रेमिका, श्रीमती हुनुको अनुभूति साहित्यमा अल्लि कम नै पाउँछौ ।  पुरुषले बनाएको प्रेमिका पात्र र एउटा महिला आफैंले अनुभुत गरेको प्रेम  शब्दहरुमा उर्तानु अथेन्टिसिटिको हिसाबले अल्लि फरक हुन्छ की । त्यसैले यदाकदा लाग्छ म भएर लेख्न जति सजिलो देखिन्छ त्यति सजिलो पनि छैन र निजत्व लेखन कुण्ठा लेखन मात्र पनि होइन ।

 

माथी भनेझै निजत्व लेखन अथवा आफ्नो भोगाइहरु लेख्न जती सजिलो जस्तो लाग्छ त्यती सजिलो भने पक्कै छैन तर यसले हाम्रा व्यक्तिगत भोगाइहरुलाई सामाजीक छलफलको बिषय भने पक्कै बनाउँछ । कतिपय कुराहरु मिरा नायरले भनेझै हामीले आफूले  लेखेनौ भनेनौ भने अरु कसैले नभन्न वा नलेख्न पनि सक्छ । त्यसकारण निजत्व लेखनले कुण्ठा मात्र होइन सामाजिक छलफलमा आउनुपर्ने त्यस्ता बिषय बस्तु  पनि खोतल्न सक्छ जुन अहिलेसम्म  सामाजीक प्ल्याट्फर्ममा आएकै छैनन् उदाहरणका लागी अहिले बिश्वब्यापी रुपमा आएका मि टु का स्टोरीहरु । 

 

नेपाली साहित्यमा अहिले अटोबायोग्राफीको ट्रेण्ड एकदमै बलियो छ । नाम चलेका प्राय सबैको अटोबायोग्राफीको कतिको आयो कतिको आउँने क्रममा छ । अटोबायोग्राफी पनि निजत्व लेखनको एउटा अर्को वृत्त हो । तर अहिले प्रकाशित भएका निजत्वका कथाहरु यस्ता कथा हुन् जसको सम्बन्ध मार्केट्सँग छ । निजत्वको कुरा गर्दा हामीले महिला, दलित, आदिबासी वा आम निजत्वको कथाहरु बिर्सेयौ । र उनीहरुको निजत्व लेखनलाई साहित्य समाजले पनि कुण्ठा मात्र मानिराख्यो । के अब थिङ्स फल अपार्ट भनेझै आम निजत्व लाई पनि सेलेब्रेट गर्ने बेला भएन र ? 

निजत्व लेखन आफैंमा एउटा बैकल्पिक शिल्प हो जसले साहित्यका अरु बिधाझै बिम्ब पात्र कथाबस्तुको नाममा आफूलाई बाध्दैन  अथवा यसले साहित्यलाई लेखकको ब्यक्तीगत अनुभवभन्दा परको तत्व हो भन्ने धृस्टता गर्दैन ।  यसमा हामी अरु हुनु पर्दैन आफू हुने स्वतन्त्रता छ- यसले आफूलाई नै सेलेब्रेट गर्छ । त्यसैले त यसको अस्तित्वलाई मूलधारको साहित्य समाजले साहित्य नै होइन भन्ला तर यसको उपस्थितिलाई नकार्न सक्दैन । निजत्वलाई सेलेब्रेट गरेर लेख्ने केहि लेखक र कविहरु प्रति म सारै कृतज्ञ छु । यस लेखको अन्त्य पनि प्रसन्न घिमिरेको यो कविताबाट गर्न चाहन्छु :–
कति भत्किएको छु, भो नसोध
हरेक वर्ष
घर भत्काउँछ सरकार
बाटो फराक बनाउँछ सरकार
म उहि सरकारको सहर हुँ, सम्झ ।।

No comments:

Post a Comment

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...