हिजो नै त हो तिमीलाई एकपटक सम्झे र अर्कोपटक नसम्झने बाचा गरेँ । सम्झिन्न भनेको पनि हो सम्झिराखेको पनि हो । सायद सम्झदा सम्झदैँ बिर्सिदिनेछु कुनै दिन । बिर्सिएको तिमीलाई भेट्न मन छ ।
बिर्सिएको तिमी, भेटेको दिन फेरी अर्को पटक म तिमीलाई ् प्रेम गर्ने छु वा छैन । तिमीलाई देखेर रमाउँने छु वा छैन । मलाई बिर्सिएको तिमी भेट्न मन छ । एक गहिरो निद्रा पछि तिमी भेटिँदा सायद म तिमीलाई अरु कुनै नौलो आँखाले पहिलोपटक हेर्नेछु । मलाई त्यही नौलो तिमी भेट्नु छ ।
तिमीलाई भेटेको हिजोझै लाग्छ । तिमीलाई भेटेको दिन मैले आफैँलाई भेटेको पनि हुँ । समयसँगै नदीको पानी धमिलियो । तिमी र म जो थियौँ त्यही रहेनौँ । मैले तिमीलाई बिर्सन पनि चाहेँ र सम्झिराखेँ पनि । यो सम्झिने बिर्सिने प्रकृयामा सायद तिमी र म बिच थियो र हुनुपथ्र्यो त्यो रहेन । मलाई हुनुपर्ने चिज भेट्न मन छ ।
यो बिर्सिनेको कथा होइन । यो त सम्झिराख्नेको कथा हो । बिर्सन्छु भन्दाभन्दै सम्झनेको कथा हो । यदाकदा लाग्छ म त नदी किनाराको मानिस हु । बिर्सनु मेरो नियती हो । म किनाराका डोबहरुलाई चाहेर पनि राख्न नसक्ने हुनुपर्ने । नदीले मलाई उसको नियती दिएन वा म उसको हुन सकिन । मलाई आज पछुतो छ । म नदीझै बिर्सने हुनुपर्ने । केटाकेटी बेला नदीले जे दिन्छ त्यो मेरो हो । आज पनि सपनामा म मस्र्याङ्दीको धुन र मस्र्याङ्दी किनाराका घरहरु मात्र देख्छु । तर बुझ्ने बेलामा नदी छुट्यो । नदी किनाराको घर पनि छुट्यो उसँग जे लिनुपर्ने त्यो चिज पनि छुट्यो ।
कहिलेकाही स्मृतिहरु पनि बिष्मृति बनिदिन्छ । नचाहेर पनि सम्झिराख्नु सायद बिष्मृति नै हो । तिमीलाई सम्झिदा एक पिडाबोध हुन्छ । हो म पिडामा बाच्न चाहन्न ।
सम्झनुलाई अब म नसम्झनु बनाउन चाहन्छु । जस्तो कि पिडालाई खुसी । तर कहिलेकाही लाग्छ समयसँगै कुनै दिन म चाहेर पनि नसम्झने बनिदिन्छु । तब जसरी अहिले नसम्झनुले पिडा दिएको छ सम्झनुले पनि पिडा दिने छ ।
No comments:
Post a Comment