Tuesday, May 13, 2025

वैचारिक विविधता वा एकरुपताको वर्चस्व ?


निर्जला अधिकारी

को बुद्धिजीबी हो ?को होइन ? प्रश्न सरल लागे पनि उत्तर दिन सजिलो छैन । पहिलेझै जसको विचार पत्रपत्रिकामा छापिन्थ्यो जसलाई समाज आफ्नो आवाज मान्थ्यो ति मात्र बुद्धिजीबी हुन् भन्ने अबस्था रहेन र रहनु पनि हुँदैन । प्रबिधिको बिकाससँगै बुद्धिजीबीको दायरा पनि फराकिलो भएको छ । अब अधिकांश पढ्लेख्न सक्ने वा आफ्नो विचार प्रस्तुत गर्न सक्ने सबै आफ्नै हिसाबका बुद्धिजीबी हुन् भन्दा फरक नपर्ला । तथापि विचार निर्माण र त्यसको छलफलमा को र कस्तो लाई बुद्धिजीबी भन्ने कुराले अबस्य महत्व राख्छ । 

वैचारिक विविधता वेगरको उदारबादी समाजको कल्पना हामी बिरलै गर्न सक्छौ । विचारमा विविधता बारे छलफल भएन भने समाज हामीले सोचेझैँ उदार बन्न कठिन छ । तर विविधताको कुरा गर्दा ज्ञानको वर्चस्व कसको हातमा छ भन्ने कुराले महत्व राख्छ । ज्ञान र त्यसको निर्माणमा हाम्रा विचार निर्माणका संस्थाहरु विश्वविध्यालय, पत्रपत्रिका, नागरीक समाज र आमसञ्चारका माध्यमको महत्वपूर्ण भूमिका रहँदै आएको छ  । यदि यी संस्थाहरु नै विविध वर्ग, धर्म, लिङ्ग तथा विविध तप्काको विचारको (समावेशितामा चुकेँ भने वैचारिक विविधतामा समाज र समग्र राष्ट्र सधै पछाडी पर्नु सामान्य हो । 

अब कुरा गरौ हाम्रो आफ्नै बुद्विजीबी जगतको र वैचारिक विविधतालाई विरलै सम्बोधन गर्न सक्षम हाम्रो सञ्चार जगत र विश्वबिध्यालयको  । सुरुवात सञ्चार माध्यम बाटै गरौ । किन हाम्रा नाम चलेका पत्रपत्रिकामा एकै नामका र एकै खाले मानिसहरु बारम्बार दोहोरीन्छन् ? किन तिनै मानिसहरु सँग मात्र ज्ञानको स्रोत छ भन्ने मान्छ मिडिया ? किन उनीहरुको विचार मात्र सबैले सुन्नुपर्छ भन्ने हामीलाई लागिरहन्छ ? किन कुनै अमूक ब्यक्ति चाहेर पनि मूलधारको पत्रिकाको विचार पृष्ठमा बिरलै छाउँछ । किन चामचलेका टेलिभिजन संम्बादमा उहीँ ब्यक्तिहरु सबै कार्यक्रमको अतिथि बन्न पुग्छन् ? के ति बाहेका अरुका विचारहरुले मान्यता राख्दैन वा हामी वारम्वार केही ब्यक्तिको सिमिततालाई ज्ञानको समग्रता मानिरहेका त छैनौ । सुन्दा र लेख्दा अप्रिय लाग्ने यी कुराहरुले अहिले समग्र नेपाली समाजको विचार निर्माण प्रक्रियालाई जनाउँछ ।

करिब एक महिनामा हाम्रा नाम चलेका संवाद कार्यक्रम लाई हेर्यौ भने उहिँ मान्छे प्रत्येक कार्यक्रममा दोहोरीएको भेट्छौ ।  दोहोरीनु एउटा कुरा तर उहाँहरुको संबादको बिषय र उहाँहरुको प्रस्तुतीमा पनि खासै भिन्नता देखिँदैन । फलतः विचार र विचार निर्माण प्रक्रियामा केही सिमित ब्यक्ति र तत्पकाको मात्र वर्चस्व रहन्छ । जसको अन्त्य  सांघुरो र  केही ब्यक्ति सिमित वैचारीक दृष्टिकोणमा मात्र वैचारिक प्रक्रिया निर्भर रहन पुग्छ ।

विचार निर्माण र छलफलको प्रक्रियामा जब सबै खाले मानिसको सहभागिता रहन्न तब केही सिमित ब्यक्तिमा मात्र बुद्धिजिवि र बिज्ञको ताज अड्कन पुग्छ र समग्रमा विचारको भिन्नता र त्यसको सम्मानमा समाज र समग्र राष्ट्र नै चुक्न पुग्छ । उदाहरणको लागी भर्खरै प्रकाश सपुतको गीतको बिरोधमा जसरी सिंगो पाटी नै उत्रियो त्यसले जनाउँछ कि अझै पनि हामी वैचारीक विविधता र त्यसमाथिको छलफललाई पचाउँन सक्दैनौ । किन सक्दैनौ उत्तर सजिलो छ अझै पनि विचार र ज्ञानको सम्प्रेसनमा केही सिमित ब्यक्तिको मात्र बाहुल्यता छ फलतः हामी आत्माआलोचना कमजोर बन्न पुगेका छौ ।

अब कुरा गरौ हाम्रा विश्वबिध्यालयको, विना विश्वविध्यालय विचार र विचार माथीको मन्थन आधुनिक समाजमा असम्भव जस्तै बन्न पुग्छ । जब विश्वविधालय नै विविधता वेगरको वन्न पुग्छ तब त्यसको समग्र असर जताततै देखिन पुग्छ । अहिले पनि हाम्रा विश्वविधालयमा महिला, जनजाति र दलित प्राध्यापक कति छन् भनेर संख्याले मात्र पनि एक तप्काका मानिसहरुको वर्चस्व लाई छरपष्ट पार्छ । लैङ्गिक छलफल मजाले रमाउँने अंग्रेजी केन्द्रिय बिभागमा अहिले पनि महिला प्राध्यापकको संख्या एक बाट दुई भएको छैन । जब संख्यामा नै विविधताको कमि रहन्छ तब विचार निर्माण र त्यसको छलफलमा पनि त्यसको प्रत्यक्ष असर देखिन पुग्छ । जति विचार र त्यसको विविधतामा विश्वविध्यालय लाग्नुपर्ने हो लागेको देखिँदैन ।

भनिन्छ साहित्य भनको समाजको ऐना हो । समाजको बहुआयामिकता र वैचारिक विविधतालाई साहित्य जगतले सम्बोधन गनुपर्छ भन्ने हामी सबैलाई लाग्छ । साहित्य र कलाबिना  विचार र ज्ञान निर्माणको प्रक्रिया अधुरो बन्न पुग्छ । केही बर्ष यता नेपालमा पनि साहित्य र समाजका विविध पाटाहरु माथी  छलफल र बिमर्श गनुपर्छ भन्ने हेतुले केही साहित्य महोत्सवहरु .आयोजना भैराखेका छन् । यो एक हिसाबले सराहनीय कार्य हो । तर प्रत्येक महोत्सवमा तिनै मान्छेहरुको उपस्थितिले एकै खाले विचार  एकै खाले मान्छैको वैचारीक महोत्सव जस्तो पनि लाग्छ । टेलिभिजनमा देखिने, पत्रपत्रिकामा छाउँने, सामाजिक सञ्जालमा हजारौ फलोहर भएका ति मानिसहरुको विचारलाई फेरी पुनः छलफलमा राख्न आवस्यक छ वा छैन अब हामीले सोच्नुपर्ने अवस्था आएको छ । महोत्सवसँगै विविधता र समावेशितामा अल्लि बढी गृहकार्य गर्ने हो भने यस्ता कार्यक्रमहरुले बौद्धिक जगतमा अर्कै आयाम अवस्य पुर्याउँछ । 

अब कुरा गरौ आफूलाई बौद्धिक ठान्ने हामी सबैको बौद्धिक जिम्मेबारीका कुरा । ग्रामस्किले भनेझै हामी कस्तो खाले बौद्घिक बन्ने कुरा हाम्रो बौद्धिक कामलले निर्धारण गर्छ । उनले भनेझै हामी एक तप्काको मात्र कुरा गर्ने वा जताततै आफ्नो उपस्थितिमा मात्र बौद्धिक उपस्थिति मान्न ठान्यौउँ भने अब हामी पुराना धर्मको आडमा र सत्ताको आडमा बसेर  बनेका बौद्धिक भन्दा अबस्य फरक रहने हैनौ । यदि हामी नयाँ खाले बुद्धिजिवि वा ग्रामस्किकै भाषामा भन्दा अर्गानिक बुद्धिजिवि बन्न चाहन्छौ भने अब हामीले आफ्नो लागी छुट्टाइएको केही अबसर, पत्रपत्रिकाको केही स्पेस र टेलिभिजन सम्वादको केही समय अब अरु कसैको लागि पनि हुनुपर्छ भनेर बोल्नुपर्ने दिन आएको छ । मानिसको रुपमा हामी सबैका केही कमजोरीहरु र सिमितताहरु पक्कै हुन्छन् । यदि हामीले ति सिमिततालाई नबुझिकन आफैँलाई सर्वोपरी ठान्न थालेयौँ भने अब हामी आफूलाई कुलिनताको एक हिस्सा मान्दा हुन्छ । कुलिनता र विविधता बिच हुने केही असामञ्जस्यता सदा रहेको थियो र सधै रहनेछ । यदि वैचारिकता वागडोर कुलिन वर्गमा मात्र सिमित रह्यो भने सत्ताँ र शक्तिवाट  अल्लि पर बसेको समाजको आवाज मूलधारमा कहिल्यै आउँने छैन । फलतः ज्ञानको श्रोत र विचारकाृ वर्चस्व सधैँ केही तप्काका ब्यक्तिमा मात्र रहिरहेछ ।

भर्खरै अदालतमा पुगेको बलात्कार सम्बन्धी एक केसमा जसरी एउटा उमेरका महिला अधिकारकर्मी र अर्को वर्ग र उमेरसमूहका महिलाकर्मी विच भएको बहस एदाकदा अल्लि नमिठो देखिएँ पनि वैचारिक रुपमा यसले पार गरेको प्रक्रियालाई एक साहसिक वैचारिक प्रकिया मान्दा हुन्छ । पत्रपत्रिकामा, टेलिभिजनमा आफ्ना विचार र दृष्टिकोणले ठाउँ पाउँदापाउँदै पनि मानिसको रुपमा र वैचारिक रुपमा पनि आफ्ना केही कमजोरीहरु र सिमितताहरु हुँदा रहेछन् र त्यसलाई सुर्धान आवस्यक छ भनेर अब बौद्विक जगतमा नाम र ठाम दुबै हुने पनि एक पटक आत्माआलोचना गर्न आवस्यक छ । साथै एक एर्काको विचारमा  आउने मतभेदहरुले नै ज्ञान निर्माण र वैचारिक विविधतालाई सम्बोधन गर्न सक्छ भन्ने कुरा अब हामी सबैले बुझ्नुपर्ने देखिन्छ ।

मतभेद र वैचारिक द्वन्द्व वेगर सामाजिक र साँस्कृतिक उदारता असम्भब छ । त्यसैले विचार निर्माण र त्यसको सम्प्रेसनमा मिडिया, विश्वविध्यालय, बौद्विक जगतको प्रभावकारी भूमिका रहेन भने वैचारिक संक्रिणता र असहिष्णुता समाजमा मात्र नभएर बौद्विक जगतमा पनि देखापर्छ । फलतः ज्ञान र विचारको वागडोर केही सिमित कुलिन प्रभावशाली वर्गमा मात्र  रहन पुग्छ । जसले समाजलाई अझ उदार बनाउँनुको अझ बढी अनुदार र साँघुरो बनाउँनेछ 

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...