Wednesday, May 14, 2025

आफ्नै नाममा एक पत्र – बैशाख


प्रिय तिमी, 

नयाँ बर्ष, नयाँ अंक । थाहा छैन, अंकहरु बिच तिमीले आफूलाई भेट्यौ वा गुमायौ । अब तीन र चार अंकले तिमीलाई पछ्याउँनेछन् । थाहा छैन तिमीले ति दुई अंकलाई अपनाउनेछौ वा अस्विकृत गर्नेछौ । अघिल्लो बर्ष कठिन थियो । कठिनताबिच तिमीले आफूलाई नै रोज्यौ । यो वर्ष अझ कठिन बन्न सक्छ । तथापी आफूलाई रोज्न नछोड्नु ।

कहिलेकाही लाग्ला म त्यही केटी हो जसका मानकहरु नदी र हिमाल मात्र थिए

 । जसलाई बग्नु थियो कतै पर तर साथमा किताब नभएर काठको पुतली थियो । पुतली हरायो । किताब आयो । तर नदीझै बग्ने सपना अझै बाकी नै छ । आफ्ना सपनाहरुलाई साना नसम्भिनु । उड्नु, दौडनु, कुँद्नु तर आफैँलाई नछोड्नु ।

आफ्नो कुण्ठा अरुलाई नथोपर्नु । आफ्नो यात्रा आफ्नोमात्र हो सम्झनु । रोज्ने र गुमाउँने दुबै आफूलाई मात्र हो । रोजे नदेखेको भूगोल टेकिन्छ । गुमाए भएको पनि गुम्झ । क्षितिजहरुलाई ठूला नसम्झनु । यात्रा न हो हिडेपछि नपुगिने कहि छैन ।

यी बर्षहरुले जे दियो त्यसमा कृतज्ञ हुनु । थाहा छैन समयले के दिनेछ । वर्षहरुलाई जोगाउन खोजेर पनि जोगिने होइनन् । जीवनलाई जीवननै ठानेर बाच्नु । जति हलुका ठान्यो त्यही हलुका हो जीवन । आफ्नै लागि जीउनु । आफ्नै तबरले जीउँनु । 

गएको बर्ष जे गुमायौ त्यसलाई सधै लिएर नहिड्नु । जति छोड्न सक्यो त्यती सजिलो बन्छ जीवन । छोड्नेलाई माफी दिनु । रहनेसँग कृतज्ञ बन्नु । हरेक महिना यसरी नै तिमीमाझ आउँन चाहन्छु । अहिलेलाई यति नै ।।

उहि तिमी उही म 

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...